Skip to content

भिक्षुको साहित्यिक यात्रा : भुतुचाको आलोकमा

  • by


आज हामी नेपालीहरू पहाडी र मधेशी क्षेत्री बाहुन र जनजातिका रूपमा आ-आफूलाई वर्गीकृत गर्न जुरमुराउँदै छौं । हामीबाट साझा नेपाली जातिको अवधारणा पातलिंदै जाँदो छ । यसले राष्ट्रलाई फाइदा हुन्छ कि हानि – यस सन्दर्भमा तराईमा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अद्वितीय योगदान दिनु हुने कवि भिक्षुको जीवनी र काव्य साधना तर्फहामीले ध्यान दिनु वान्छनीय देखिन्छ ।

१. भिक्षुको जीवनी पक्ष :

भवानी भिक्षु -१९६६-२०३८) लुम्विनी अंचलको कपिलवस्तु जिल्लाको तौलिहवा बजारमा जन्मेका तराई मूलका साहित्यकार हुन् । उनको मातृभाषा अवधी हो । अवधी भाषा मैथिली, भोजपुरी जस्तै भारोपेली परिवारको भाषा हो । नेपालको तराई प्रदेशका रूपन्देही, कपिलवस्तु आदि जिल्लामा यो भाषा बोल्नेहरूको बसोबास पाइन्छ । भवानी भिक्षु सानै देखि चञ्चल तथा अध्ययनशील थिए । उनका बुबा इन्द्रप्रसाद गुप्ता र आमा यशोदादेवी गुप्ता थिए । भिक्षुभन्दा अगाडि ६ महिनाका एउटा छोरा -भिक्षुका दाजु) खेर गएका हुँदा आमाबाबु साह्रै दुःखी भएका थिए । भिक्षुजन्मेको दुइ अढाइ वर्षपछि गाउँमा बिफर रोग फैलियो । त्यसले बालक भिक्षुलाई पनि गाँज्यो । आमा यशोदा देवी नजिकै रहेको शितलादेवीको मन्दिरमा गएर माता भवानीसँग दिनरात प्रार्थना गर्न थालिन् -‘हे माता हे भवानी, मेरो छोराको जीवन भिक्षा दिनुहोस् π रोगबाट मुक्ति दिलाइ दिनुहोस् ।’ यसरी प्रार्थना गर्दा गर्दै भवानीका कृपाले बालकको विफर रोग निको भयो । भवानीले भिक्षा दिएको ठानी उनलाई त्यहींदेखि ‘भवानी भिक्षु’ भनिएको हो । उनको वास्तविक नामचाहिँ, ‘नोहरराम गुप्ता’ थियो । घरमा उनलाई सबैले बड्कूबाबु -ठूलो बाबु) भन्दथे । गाउँमा चाहिँ, ‘भिक्खाबाबु’ पनि भन्दथे । भवानी भिक्षु नाच गान गर्ने, कथा भन्ने, मीठो खाने कुरा पकाउने र समूहमा हास्य विनोद गर्ने रौसे किसिमका व्यक्ति थिए । कहिले नजिकैका भारतीय बजारतिर र कहिले आफ्नै कामत गोटिहवातिर डुल्दथे भने पढाइका विषयमा संगीसाथीहरूसँग आपसी छलफल पनि गर्दथे । त्यसबेला हिन्दीका प्रेमचन्द, वंगालीका रवीन्द्र, शरद्चन्द्र आदिका कथा पढ्ने र चर्चा गर्ने प्रचलन निकै लोकप्रिय थियो । भवानी भिक्षु पनि क्रमिक रूपले लेखन कार्य तर्फ आकषिर्त भए । प्रारम्भिक अवस्थामा उनले हिन्दीमा लेखे । एक पटक काठमाडौं जाने विशेष काम पर्‍यो । त्यो बेला उनले काठमाडौंमा कवि सिद्धिचरण श्रेष्ठ, गोरखापत्रका सम्पादक प्रेमराज शर्मा शारदा पत्रिकाका सम्पादक ऋद्धिबहादुर मल्लहरूसँग परिचित हुने अवसर पाए । तिनै साहित्यकारहरूको प्रेरणा र प्रोत्साहनले भिक्षु अब नेपाली भाषामा पनि लेख्न थाले । सुरुसुरुमा भिक्षुले हिन्दीमा लेखे सहयोगीहरूले नेपालीमा रूपान्तरण गरिदिए । पछिपछि भिक्षु स्वयम् हिन्दीमा सोचेर नेपालीमा उल्था गर्दै लेख्न थाले । मेहनत गर्दै गएपछि भिक्षुको लेखनले सबैको ध्यान आकृष्ट पार्‍यो । उनले क्रमशः तौलिहवामा भन्दा काठमाडौंमा बढी समय बिताउन थाले र साहित्यिक क्षेत्रमा प्रगति गर्दै गए । भिक्षुले नेपाली साहित्यमा पदार्पण गरेको वि.सं. १९९३ मा हो । त्यसको पाँचै वर्षछि उनी प्रसिद्ध कथाकार बन्न सफल भए । उनको ‘त्यो फेरि फर्कला -‘ भन्ने कथा १९९७ मा शारदामा छापियो । त्यसपछि १९९८ सालमै देवकोटाले उनलाई ‘नेपाली साहित्य गगनका नक्षत्र’ भनिहाले । यो भिक्षुको ठूलो सफलता र ‘हुने विरुवाको चिल्लो पात’ को लक्षण भनिन्छ । भिक्षुले लेखेका कविता संग्रह ‘छाया’, ‘प्रकाश’, ‘परिष्कार’ हुन् । उनका कथा संग्रह – गुनकेसरी, मैयाँसाहेव, आवर्त र अवान्तर हुन् । उनका ‘सुभद्रा बज्यै’, ‘आगत’, ‘पाइप नं. २’ तथा ‘सुन्तली’ नामक उपन्यास छन् । थुप्रै निबन्ध र विचारपरक लेख, समीक्षाहरू समेत उनले लेखेका छन् । समग्रमा भन्नुपर्दा भिक्षु नेपाली साहित्यका ठूला लेखक हुन् । तराईको एउटा सानो बजारमा जन्मेका भिक्षुले नेपाली भाषा सिकी त्यति धेरै कविता, कथा, उपन्यास, एउटा गीतिनाटक, निबन्ध, समीक्षा र संस्मरणहरू समेत लेखी नेपाली साहित्यमा विशिष्ट योगदान दिएको घटनालाई लरतरो मान्न सकिदैन । भिक्षुलाई हामीले सदा सर्वदा आदर र सम्मान गर्नु पर्दछ ।

२. भुतुचाको चर्चा

भिक्षु जीवनको उर्वर समयमा काठमाडौंमै रहेका हुँदा उनका कतिपय कथा र कवितामा काठमाडौंको जीवन अत्यन्तै सजीव रूपमा आएको छ । काठमाडौंको निम्न वर्गीय जीवनको झाँकी खोज्नु पर्‍यो भने प्रत्येक दिन झिसमिसे विहानीमा सडक बढारिरहेका ज्यामीहरूलाई भेट्नु पर्दछ । त्यस्ता श्रमिकहरू वर्षौंदेखि सडक सफा गरिरहेका हुन्छन् तर उनीहरूका जीवनमा उत्पन्न दैन्य र वाध्यता चाहिं यथावत् नै रहेको हुन्छ । यही कुराको चित्रण गर्दै भवानी भिक्षुले ‘भुतुचा’ भन्ने कविता लेखेका छन् । यो कविता अत्यन्तै चर्चित रहेको थियो ।

भुतुचा चर्चित भएको कारण सम्बन्धमा खोजी गर्दा यस कविताले स्वच्छन्दतावादी काव्य धारालाई परित्याग गरी यथार्थवादी काव्यधारातर्फ भिक्षुको ध्यान आकृष्ट पारेको देखिन्छ । भुतुचाको लेखन पछि नाम चलेका कविहरूभन्दा भिक्षुको चर्चा बढी हुन थाल्यो । भुतुचा एक त निम्न वर्गकी नारी पात्र हो त्यसमाथि दिन दिनै सडक बढार्ने कार्यमा प्रवृत्त रहेकी छ । यस्ता वर्गीय पात्र खोज्ने काममा भिक्षु सफल भएका छन् । भुतुचा राम्री छ तर उसको सौन्दर्यको कुनै मूल्य छैन । उ प्रत्येक दिन बिहानै दुइटा राँगाका हाडहरू बोकेर सडकमा थुपारिएका दुर्गन्धयुक्त रछान, फोहोर र घिनलाग्दा वस्तुहरू भेला पार्दै काठमाडौंलाई सुन्दर बनाउँदै छ । उसको शारीरिक सौन्दर्य हेर्दा त्यस्ती राम्री भुतुचाले त्यस्तो गनाउने सडक किन सफा गर्नु परेको हो जस्तो लाग्दछ । त्यस्तो फोहोर सडक सफा गर्न विधाताले त्यस्ती राम्री भुतुचालाई किन खटाएको होला – भुतुचा भित्र रहेको नारीत्व, कमनीयता, हिस्सी परेको अनुहार देख्ता लाग्दछ – यो प्रकृतिको उपद्रव हो । त्यति राम्री भुतुचा गनाउँछे, मानवीय मलमूत्रले आप्लावित बन्दछे । यस्ती भुतुचा माथि किन यति ठूलो अन्याय, यस्तो रछाने काम जिम्मा दिइएको – विचरी भुतुचा सुकुचाकी पत्नी हो । ऊ सेती छ, सुकुमारी छ, कलिली छ र अति राम्री पनि छ, तर नियति नै कति निष्ठुरी π त्यस्ती राम्री भुतुचाले बिहानै रछानमा फोहोरसँग लट्पटिनु पर्छ । काठमाडौंका जाडाका दिन रात्रिको न्यानो अँगालो पन्छाउँदै सडकमा ओर्लनु पर्ने विवशता र वाध्यता छ भुतुचालाई । काँधमा खर्पन बोकेर उ रछाने स्वर्ग तर्फलम्कन्छे । भुतुचाका आँखा आँसु झार्दैनन् । बिहानै उठेर ‘भगवान् π’ भन्दै उ बाटो लाग्छे । सडकका दुबै किनारमा स्वर्ग झैं सुन्दर घरहरू छन् जहाँ उन्मत्त अप्सरा र देउताहरू भुतुचालाई काममा लागिरहेको देख्तछन् तर भुतुचालाई उद्विग्नता छैन । कुनै पछुतो छैन । कर्म नै भुतुचाको गीता हो । उ सडकका सम्पूर्ण फाहोर सोहोर्दछे र सहरलाई स्वर्ग तुल्य र सुखमय बनाउँछे ।

यस कवितामा कवि भवानी भिक्षु मानवीय सम्वेदनाले द्रवीभूत भएका छन् । एउटी निरीह तर सुन्दर नारीको जीवन चर्या देखेर कविका मनमा दया पलाउँछ । भुतुचाको स्थिति देख्ता मनमा कारुणिक भावहरू सलबलाउँछन् कविका । सौन्दर्य र विपन्नताबीच असन्तुलन देख्तछन् कवि । आफ्नो कुलीन पेशाप्रति भुतुचाको निष्ठा र प्रतिवद्धता उल्लेखनीय देखिन्छ भने प्राकृतिक सौन्दर्यबोधबाट भने ऊ अनभिज्ञ रहेकी छ । कर्मलाई नै सर्वस्व ठान्ने उसको दैनिन्दनी देखेपछि उसका कथा व्यथालाई काव्यमा मुखरित पारिएको छ । छ भुल्कामा लेखिएको यो गद्य कवितालाई कविको सौन्दर्य चेत, मानवता तथा नारी महिमामा आधारित अभिव्यक्ति मान्न सकिन्छ । अलिकति क्रान्तिकारी भाव समेत यसमा व्यक्त भएको छ – भुतुचा रिसाइ भने तिम्रा देवता पनि सोहोरिदिन्छे त्यसैले नहुङ्कार कसैले पनि । नारी मुक्तिका केही आभास यहाँ पाइन्छन् । कविले ओजस्वी नारी अथवा स्वाभिमानिनी नारीका रूपमा भुतुचालाई चित्रण गरेका छन् । नेपाली काव्य वाटिकामा । यत्तिकी सशक्त कुचीकार नारीको चित्रण अन्यत्र पाउन सकिएको छैन । यसैले भिक्षुको कवित्व सशक्त र सफल छ, आज पनि यो कविता पठनीय र आस्वाद्य देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *