पानीले नभिज्ने
पोलिमर’ सपना
मायाले भिजेर –
गलित छन्
कोदोबारीमा /
आगोले नडढ्ने
वैजनी आस्था
मायाले डढेर
दग्ध छन् –
कोदोबारीमा /
केन्द्रबिन्दु काठमाडौं
धक्काहरु…
हामी सबैले भोगेका छौं ,
भोग्नुको नाममा
गरिवीका
वृत्तचित्र आरोपित छन् –
पर्दाहरुमा /
पर्दा च्यातेर
आँखाले-
सपना देख्न छाड्ने छैन-
कोदोबारीमा /
पर्दा च्यातेर
छातीले-
आस्था उमाल्न छाड्ने छैन-
कोदोबारीमा /
भो, नच्यात पर्दाहरु !
पर्दाहरुमा खण्डहर
सपनाहरु अल्झिंदैनन्
पर्दाहरुमा आयातित
आस्थाहरु अड्किंदैनन् /
चिसिए चिसिए झैं
लाग्ने आँखा
जूनको बाटो खस्तै गर्दा
शीत बनेर हृदय
कोदोबारीमा खसिदिन्छ /
मेटिए मेटिए झैं
लाग्ने सपना
मिर्मिरेमा झर्दै गर्दा
तारा बनेर हृदय
पंधेरीमा झरिदिन्छ /
कोदोबारीमा जूनसित
छरिन्छन्-
आस्थाका आवाजहरु ,
पंधेरीमा तारासित
भरिन्छन् –
सपनाका सगुनहरु /
सपना सिंचेको बारीमा
जूनको पवित्र पाइला हुन्छ
आस्था जमेको बारीमा
ताराको हिरण्य ज्योति हुन्छ
यद्यपि
मेरो कोदोबारी
मुर्छित हुँदैन
काठमाडौं जस्तो
घामको खोजीमा हरेक दिन
जूनको खोजीमा हरेक साँझ
ताराको खोजीमा हरेक मिर्मिरे/
छंग छंग गर्ने खोला हुन्छन्
खण्डहर खडेरी
मनहरुमा ,
सुकोमल सुरम्य इच्छा हुन्छन्
कंक्रिटहरुमा
त्यसैले म बोलाइरहेछु
आइज काठमाडौं !
आफ्नो अनुहार साट्न आइज
कोदोबारीको जूनसित /
कोदोबारी र काठमाडौं
संगै हुनु पर्छ /
काठमाडौंमा कोदोबारी
अनि
कोदोबारीमा काठमाडौं हुनु पर्छ /