Skip to content

चण्ड गर्मी, खलखल पसिना बगिरहेेको थियो। बसको यात्रा, त्यो पनि भीडभाड। ओहो किन कष्टकर यात्रा रोजिएछ? वैशाख महिना विक्रम सम्बतको हिसाबले नयाँ वर्षको प्रारम्भ हो। तर हामी नयाँ वर्षको भोज–भतेर खान होइन, मिथिलाको लोक–संस्कृतिसँग अझै नजिकिन यात्रा गरिरहेका थियाँै।

काठमाडौँ–गौर, गौर–लाहान यात्रामा मधेशको विविध रुप हेर्न भ्याइयो। एकसाता गौरमा बिताएर सीधै लाहान गइयो। गौर त्रासदी र त्यससँगको प्रत्यक्षता हृदयविदारक थियो। मैले बाटोभरी एउटै प्रश्नको उत्तर खोजिरहेँ। मिथिलाको संस्कृति हिंसाको संस्कृति त हुँदै होइन। यहाँ हिंसाको संस्कार कसरी विकास भयो? कारण के होला? कारक को होला? व्यक्ति र समूह भन्दा पनि हिंस्रक संस्कृतिको स्रोत खोतल्न थालेँ। बीचमै ‘क्यामेराम्यान’ साथी रमेश धमला बोल्नुभयो, “सर एक्लै गुम्मसुम्म (चुपचाप) के सोच्दै हुनुहुन्छ? बाटो काट्न अप्ठ्यारो पर्‍यो सर?”

मनमा उठिरहेको तरङ्ग छताछुल्ल पारिदिउँ जस्तो लाग्यो। ठीक समयमा ठीक साथी भेटेछु। मैले सोधेँ एउटा कुरा थाहा छ, तपाईंलाई धमलाजी? ‘मिथिला धर्म, दर्शन, न्याय र मीमांसाको स्थल हो। यहाँ युद्ध भएको छ। तर मिथिलाले युद्ध गरेको छैन।’

सशस्त्र होइन, शास्त्र घोक्न, विश्लेषण गर्न र शास्त्रार्थ गर्न मिथिलाले आफ्नो उर्जा व्यय गरेेको छ। तर आज हिंसाको कस्तो संस्कार, प्रवृत्ति, रगत हेरेर रमाउने कस्तो दानवी आचरण! कहाँबाट भित्रिएको होला मिथिलामा? तर्क–वितर्क गर्दै हामी लाहान पुग्यौँ। लाहान कमला र बलान संस्कृतिको सङ्गमस्थल हो। मिथिलाको लोक–साहित्य, लोकगाथा र लोक–नाट्यको उद्गमस्थल। मिथिलाका लोकनायक सलहेशको जन्म र कर्मस्थल सिरहा जिल्ला।

होटेलमा नुहाइ–धुवाइ गरेर राजा सलहेश माथि वृत्तचित्र बनाउने योजनालाई कार्यरुप दिन अग्रसर भयौँ। साँइ–साँइ चलिरहेको पछवा बसात (तेज गतिको पश्चिमी तातो हावा), छाला र रौँ नै डढ्ला जस्तो। म त यस्तै हावापानीमा हुर्केको, थेग्न सक्छु, तर तपार्इँ थेग्न सक्नु हुन्छ धमलाजी? मैले सोधेँ, “म पनि मधेशकै मान्छे हुँ, मेरो जन्मथलो झापा हो सर–यस्तो वातावरण मेरो लागि नौलो होइन।” उहाँको जवाफले मलाई स्फूर्ति र उर्जा दियो, हामी दुवै होटेलबाट निस्कियौँ।

रिक्सा–यात्रा मलाई मनपर्छ। संभवतः रिक्सा सर्वशुलभ भएर पनि होला। यसमा पनि संस्कार र संस्कृतिको कुरो आउँछ। मधेशको समथर भूभाग मान्छेले तान्ने सवारी, रिक्साको लागि उपयुक्त छ। त्यही परिवेशभित्र आफू हुर्केको हुनाले रोजाइ पनि यही भएको होला। रिक्सा लिएर–लाहानको फराकिलो बाटोमा गुडिरह्यौँ।

पत्रकार पवन श्रेष्ठले धेरै सघाउनुभयो। क्रमशः रामरिझन यादव र हीरालाल चौधरीसँगको भेटघाटपछि छायाङ्कनस्थल, दूरी, सहजता, विकटता उपयुक्त समय सबै छिनोफानो गरियो। धमलाजीले भन्नुभएको थियो, “भोलि बिहानदेखि काम थाल्नुपर्छ।” तर त्यसो भएन– आजै साँझदेखि काम थाल्नुपर्ने भयो। हामी लाहान भन्दा चार किलोमिटर पर सलहेशको क्रीडास्थल फूलवारीतिर लम्कियौं।

पूर्व–पश्चिम राजमार्गको विशाल र चौडा छाती माथि हाम्रो सानो रिक्सा गुडिरहेको थियो। रिक्साको गतिले आँखालाई दृश्य हेर्न बाधित (बञ्चित) गरिरहेको थिएन। राजमार्गको छेउछाउ हरिया–भरिया रूख र थारूहरूका चिटिक्क परेका घर देखिन्थे।

रिक्सा चालकले भने, “फूलबारी आबि गेलियै’, रिक्साबाट ओर्लियौँ। धमलाजी क्यामरासहितका समान मिलाउन थाल्नुभयो। मेरा आ‘खा पडरिया चोकदेखि दक्षिण दिशामा परे। चारैतिर वालीविहीन खेत, बीचमा केही विधामा जङ्गल जस्तो देखिने फूलबारी। मैले एकजना स्थानीय निवासीसँग सोधे फूलबारी यही हो। उनले हो भनेपछि हामी बाटोछेउकै एउटा सानो खाजा पसलको बेन्चमा बस्यौँ। क्यामरा र छायाङ्कनमा प्रयोग हुने अन्य सामग्री देखेरै होला–सबैका आँखा हामीतिर फर्केका थिए। म चिया खाँदै मैथिली भाषामा कुरा गर्न थालेँ। उनीहरू नजिकिए।

त्यो चिया त फूलबारी र वैशाख एक गते अर्थात् भोलि लाग्ने मेलाको विषयमा जान्ने वहाना मात्रै थियो। केही थाहा पाइयो र लागियो आफ्नो गन्तव्य अर्थात् फूलबारी। खेतैखेत एक किलोमिटर बाटो हिँड्नुथियो। हामी दुवै जना खेत र आली हुँदै जाँदै थियौँ– सलहेशको फूलबारीतिर।

दिनको तीन बजे कतै–कतै मान्छे देखिन्थ्यो। अस्थायी होटेल चलाउनेहरू बाँस–पाल टाँग्दैथिए, खासै रौनक थिएन। निर्जन, उजाड र उराठलाग्दो ठाउँमा के मेला लाग्नु? लाखौँ मान्छे आउने भनिएको मेलाको पूर्वसन्ध्यामा यस्तो सुनसान त हुँदैन होला? मलाई यो मेलामा लाखौँ मान्छे आउँछन् भन्नेहरू माथि अविश्वास हुन थाल्यो। यसै बीचमा धमलाजीले भनिहाल्नुभयो, “सरले त के के न हुन्छ भन्नुभएको थियो, यहाँ त त्यस्तो केही पनि देखिँदैन।”

हेरौँ के हुन्छ? म पनि विश्वस्त हुन सकिरहेको थिइनँ। तर पनि निराश हुनुहुँदैन भनेर यस्तो जवाफ दिएको थिएँ। हामी फूलबारीको चौहदी (सीमा) भित्र प्रवेश गरिसकेका थियौं। फूलबारीलाई चारैतिरबाट सिमाङ्कन गरेको थियो एउटा सानो खोलाले र बीचमा थिए रूख, बिरुवा र वनस्पतिहरू।

म वनस्पति चिन्ने–जान्ने र त्यसको विविधता स्पष्ट गर्न सक्ने ज्ञान राख्दिनँ। त्यसलाई प्रकृतिले मानवको सुरक्षाचक्रभित्र राखेको मैले अनुभूति गरेँ। चारैतिर मानववस्ती भएको ठाउँमा यतिको जङ्गल जोगिनु अस्वाभाविक नै हो। यसको कारण के होला? मेरो जिज्ञासा बढ्दैथियो।

वर्षौंदेखि सलहेश लोकलयमा बाँचेको छ, लोककण्ठमा छ। एउटा राजालाई सयौँ वर्षसम्म यसरी सम्झिनुको कारण के होला? सम्झिएको मात्र कहाँ हो र? सलहेशलाई देउता नै बनाइयो।

स्थापूर्वक पूजा गर्ने, भाकल गर्ने, मनोकामना पूर्ण हुन्छ भनेर सलहेशमाथि आस्था र विश्वास गर्ने मिथिलामा लाखौं छन्। उनीहरूलाई कसैले धर्मभीरु भन्लान्–तर उनीहरू आफ्नो ‘राजाजी’ अर्थात् सलहेशलाई धेरै श्रद्धा गर्छन्। कुनैबेला चूरेदेखि गङ्गाको मैदानसम्म राज्य गर्ने सलहेशले भूमिरक्षाको जिम्मेवारी, वन र वनजन्तु रक्षाको जिम्मेवारी, प्राकृतिक श्रोत बाँडफाँडको जिम्मेवारी, आफ्ना परिवार र मित्रलाई सुम्पेका थिए भने न्याय सम्पादनको जिम्मेवारी आफ्नै जिम्मामा राखेका थिए भन्ने विश्वास गरिन्छ। त्यसले अहिले पनि मिथिलामा कसैको पशुजन हरायो भने अन्हेरबाट (सलहेशको सहयोगी) लाई सम्झिइन्छ। कुस्ती लड्नु पर्‍यो भने बुधेसर (सलहेशको भाइ) को नाउँ स्मरण गरेर मात्रै अखाडामा जाने गरिन्छ। त्यस्तै अन्याय भयो भने सलहेश गहवर (पूजा स्थल) मा गुहार माग्न गइन्छ। वनमा जङ्गली जनावरबाट बच्न अहिले पनि सलहेशकी बहिनी वनसप्तीलाई स्मरण गर्ने विश्वास छ।

अब लागौँ फूलबारीतर्फ। म र रमेश धमलाजी सँगै छौँ। रात धेरै भइसकेको छैन। तर जङ्गल क्षेत्र अर्थात् फूलबारी अँध्यारोमा डुबेको छ, आफ्नो छाँया पनि नदेखिने अँध्यारो। एउटा सानो टर्चलाइटको भरमा एउटा स्वयंसेवकसहित जङ्गल छिरिरहेका छौँ।

हामी मालिन मन्दिरनिर पुग्याँै। सलहेशकी प्रेयसी मालिन, तन्त्र–मन्त्र विद्याका विशारद थिइन्। मन्दिर परिसरभित्रै हारम (एक प्रकारको रूख) को विशाल वृक्ष छ र माला आकारमा फूल टरम्म फुलेका छन्। सुवासित फूल सलहेशकै लागि सलहेश जयन्तीकै पूर्वसन्ध्यामा फुल्ने गर्छ र सलहेश मेलाको दिन फक्रिएको फूल साँझ हुँदाहुँदै मौलाउन थाल्छ। प्रत्येक वर्ष एकमात्र निर्धारित तिथिमा फुल्ने फूललाई लाखौँ जनसमूहले आश्चर्य मानेर दर्शन गर्छन्। यो लाखौँ जनताको आस्थाको फूल हो। मालिन र सलहेश प्रेमको प्रतीक पनि।

रात्रि समयमै सलहेशसँग उन्नति, प्रगति मागेर हामीले पुजारीका दुई शब्द सुन्यौँ र रात्रियात्रा टुङ्ग्यायौँ। फूलबारीलाई प्रणाम गरी बिहान फेरि आउने बाचा गरेर फर्कियाँै। भोलिपल्ट बिहान त फूलबारी अर्कै थियो मानिस नै मानिस। जतातता मान्छे। धमलाजीले भन्नुभयो, “लाख मात्र होइन यहाँ त लाखौँ मान्छे छ सर!”

कुनैबेला तिब्बती आक्रमणलाई निस्तेज पार्न राई, लिम्बूहरूसँग मिलेर शैन्यशक्ति निर्माण गर्ने सलहेश जस्तो दूरदर्शी राजनीतिज्ञ नभएको भए अहिले नेपाल र मिथिलाको अस्तित्व के हुनेथियो? यो प्रश्न मेरो मनले विगतलाई होइन वर्तमानलाई सोध्न चाहिरहेको थियो।

हिमाल खबरपत्रिका
पूर्णाङ्क २०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *