Skip to content


सम्पादकको सम्पादनबाट
भ्रूण हत्या भएर
काँचो वायु बनेको एउटा कविता
कविता लेखिरहेको मलाई पिर्न आयो ।
ऊ कहिले बत्ती निभाइ कागज उडाउथ्यो,
पूर्खाको नासो भनी जोगाड गरेको नक्साको
टिस्टा, काङ्गडा, सुस्तामा कालो पोतिदिन्थ्यो ।
कहिले रन्किएर
यो देशमा कविता छपाउन, पुरस्कार थाप्न
भाटगिरी, गुटबन्दी, रङ्गीन पानीको
नयाँ फेसनमा सम्झौता गर्नुपर्छ ।
तँ आधा प्लेट मःमःमा छाक टार्ने
दरिद्रको यत्रो दुस्साहास भन्दै
मेरो गिदीमा झञ्झवात ल्याइदिन्थ्यो ।
हामी दरिद्र छौं त्यसैले त बहादुर छौं ।
अँ, तिम्रो यस्तो अवस्था कसरी ?
म शान्त भावमा बरवराएँ ।
सम्पादक महोदयको पौरख
उसले सीमा अतिक्रमणको सुइरोले घोच्यो ।
तिम्रो मुक्ति कसरी हुन्छ ?
मेरो अस्तित्व स्वीकारेपछि
उसले लुको ट्याङ्क मेरो अनुहारमा कुदायो ।
अन्नतः हामीबीच सम्झौता भयो ।
मेरो अस्मिता उसले लिने ।
उसको अस्तित्व मलाई दिने ।
 
मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *