Skip to content


म उस्तो पुरातनवादी र अध्यात्मवादी मान्छे त होइन । यद्यपि मलाई आज जीवनको यो मोडमा आएर यस्तो अनुभूत भइरहेछ -कुन जन्मको कस्तो अक्षम्य अपराधको दण्ड स्वरुप मान्छे लेखक हुन्छ ? र मैनबत्तीझैं आफू पग्लिएर अविरल अश्रुधारा बगाउँदै अरुलाई उज्यालो दिन्छ ? किन लेख्ने-सबैद्धारा उपेक्षित यस्तो अनुत्पादक र अपाहिज साहित्य ? कतै अन्तरवार्तामा कवि- लेखकहरू उत्तर दिन्छन् -‘म आत्मसन्तुष्टिका लागि कलम समाउँछु ।’ हो, जीवनको एउटा पाटो त आत्मसन्तुष्टि नै हो । तर अर्को प्रमुख र सामाजिक पाटो भनेको अर्थ र दर्जा हो । के साहित्यले धन र पद दिन्छ ? अभावको पासो फुकाउछ कि फुकाउदैन साहित्यले ? समस्याको नदी सुकाउछ कि सुकाउदैन साहित्यले ?

लेख्नु त्यति सहज र ख्यालख्यालको कुरा पनि होइन । कुनै पक्षले स्पर्श गर्छ जव लेखकलाई,ऊ विरामी हुन्छ । मानसिक बिरामी र एउटा दीर्घ प्रसवपीडा ! ऊ छट्पटिन्छ, हुट्हुटिन्छ र बेलगाम अकाट्य पीडाबोध हुन्छ । अटेस-मटेस आफ्नो टाउको हलौं पार्न कलम र कपिको सहारामा लेखक अक्षरहरुमा व्यक्तिन्छ र एउटा सन्तानको जन्म हुन्छ । हो, पहिलो आत्मसन्तुष्टि लेखकले यहींनेर प्राप्त गर्छ तर के शिशु जन्माएर मात्र आमाको कर्तव्य पूरा हुन्छ ? विचरी सर्जक आमालाई अव सन्तान हुर्काउनु, बढाउनु र पढाउनुको दायित्व थपिएर अर्को पीडाबोधको आरम्भ हुन्छ । हो, यस्तै एउटा लेखक पनि आफ्नो सिर्जनालाई प्रकाशित गराएर सार्वजनिक गराउन लालायित हुन्छ । साफी गर्छ र सम्पादकसित गुहार माग्छ । दृष्टिकोण आ-आफ्नै हुन्छ र स्तरीयता ग्रहणशिलतामा भर पर्छ । कुनै सम्पादकलाई लेखकको नामदेखि नै एलर्जी हुन्छ र ऊ रचना पढ्ने कष्ट गर्दैन । यदि यसो भएमा एउटा जिन्दगीको अवसान हुन्छ तर हत्यारालाई कुनै कारबाही हुदैन ।

सम्पाकदज्यूको घैँटोमा घाम लाग्यो यदि भने एकवर्षपछि त्यो रचना छापिएर आउँछ । कसैले वास्ता गरेर नपढे पनि लेखकलाई दोस्रोपटक आत्मसन्तुष्टि प्राप्त हुन्छ । कसैले पढून्, नपढून- बबुरो लेखक भने छापा-अक्षरहरूमा पटकपटक दृष्टि फ्याँक्दै मक्ख पर्छ र आफ्नो कलममा उत्साहको एउटा सिंढी थप्छ ।

स्वाभाविक रुपले एउटा मान्छेसित अनन्त चाहना र असिमित इच्छाहरू विद्यमान रहन्छन् । जावो लेखक पनि एउटा तुच्छ, तल्लो दर्जाको मान्छे न हो आखिर ! आफ्ना फुटकर रचनाहरूलाई बटुलेर एउटा सिङ्गो किताव छाप्ने भोक जाग्छ लेखकलाई ! प्रकाशक र प्रकाशन संस्थाहरूमा पाण्डुलिपी लिएर खुबै धाउँछ । आखिरमा हातलाग्यो शून्य पाउँछ र भएको एकटुक्रा, आफ्नै घरवारी बेचेर आफ्नो पुस्तक छपाउँछ । हो, उसले यहाँनेर तेस्रोपटक आत्मसन्तुष्टि पाउँछ ।

साहित्यको किताव विकेर लगानी उठ्ने कुरा त सपनामा घिउ र भात खाएजस्तै हो । अर्थात् अझ भनूँ पश्चिमबाट सूर्य उदाउनु जस्तै हो । यद्यपि ऊ निराश र हतोत्साही हुदैन । बरु ऊ आफ्नो कृतिको यथोचित समीक्षाको कामना गर्छ र कुनै साहित्यिक पुरस्कारको अपेक्षामा बस्छ । कतै अन्तरवार्ताहरूमा चाहिं ‘मैले पुरस्कारको लागि लेखेकै होइन’-भन्दै गर्छ ।

बिना आफन्त र सूत्रधार उसको कृतिको समालोचना हुदैन र भान्सेहरूलाई उसको कितावले छुदैन । पुरस्कार त धाउनेहरूले पाउँछन् र भजन गाउनेहरूले पाउँछन् । दिनमा लिएर रातमा फिर्ता गर्नेहरूले पनि पुरस्कार पाउँछन् । कमण्डलु लिएर भिक्षा माग्नेहरूले पुरस्कार पाउँछन् । पर्दाभित्र पर्याप्त अदृश्य खेल र चलखेलहरू खेलिन्छन् ।

उता सँगैको साथी स्नातकोत्तर गरेर भन्सारको अधिकृत बन्छ । यता चालीस नाघेको कलमजिवी लेखक भने टाउकोमा हात राखेर छक्क पर्छ र भन्छ -‘लेखकहरूको खाने मुख र लाउँने आङ नहुनु पर्ने’ !

हिमालकुञ्ज, खोटाङ

मो. नं. ९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *