Skip to content


मलाई आज आचानक एउटा सोचले झस्कायो । सायद आजसम्म मैले त्यस दृष्टिकोणले हेरेको थिईन आफूलाई । सायद हुन सक्छ हेर्नुपर्ने दिननै आएको थिएन ।

म आफ्नो खाटमा घोप्टो परेर पल्टिरहेको थिए । चारैतिर सुन्यता थियो भनेर म मिथ्या कुरा गर्न चाहन्न । हल्ला उत्तिकै तेज थियो । त्यो हल्ला भन्दा पनि तेज एउटा आवाज मेरो कानमा गुन्जिरहेको थियो ।

“लब डब ” “लब डब” ।

यो कुनै नौलो आवाज थिएन मेरै मुटुको चित्कार थियो, बाध्यता थियो । मैले आज पहिलो पटक मेरो मुटु त्यति पीडाले चिच्याएको सुनेँ । मलाई मेरो मुटुले बोलाइरहेको जस्तो लाग्यो । मैले मेरो मुटुको आह्वानलाई स्वीकार्ने विचार गरेँ । त्यो आह्वानले मलाई कस्तो अचम्मले डोर्याएछ । मुटुको आवाज अझ बढ्दै थियो ।

मैले मुटुसँग भेट्ने आठोट गरिसकेको थिए । ममा रोकिने शक्ति थिएन र कसैमा मलाई रोक्ने शक्ति पनि । सायद “एनेस्थेसिया“ पीडाले छटपटाउनेहरूलाई चाहिन्छ । तर म पीडाबाट नडराउने मान्छे,त्यसैले मलाई “ईथर” चाहिएन “ह्यालोथेन” चाहिएन, “लिग्नोकेन” पनि चाहिएन । मलाई अपरेसन थिएटर चाहिएन सर्जनको टोली चाहिएन ।

मुटुको चित्कार यति तिखो थियो कि तिखो छुराले छातीका मासु मासु अनि हाड हाड काट्दा पनि मेरो न त हात नै काप्यो न त पीडा नै चिच्यायो । पहिले धेरै पटक आँसुमा डुब्थे, आज रगतमा पौडी खेल्दै रमाउदै थिएँ । अलि कस्तो कस्तो अनि अलिकति नुनिलो हुदोरहेछ आफ्नो रगत । सायद मुटुको पीडा अनि चित्कारले होला अलिकति तितो अनि अलिकति नमिठो पनि थियो रगत ।

पोखरीको रगतमा मैले “क्याल्सियम अक्जालेट” पनि हाल्न परेन । सायद तृष्णा जमेकाले वितृष्णामा रगत जम्न चाहेन । म अति हर्षित थिएँ । मेरो मुटुतर्फको यात्रामा अब एउटै ढुङ्गो थियो मैले पल्टाउन पर्ने । जन्मिदा गुलाबी भएपनि आहिले फोहोर र कपट भरिएर काला भएका मेरा फोक्साहरूले मलाई डराउनदिन खोजि रहेका थिए । त्यही दुइटा फोक्सोमध्ये देब्रे फोक्सोको पर्दालाई अलिकति हटाएर मेरो मुटु आझ जोडले “लब डब ” गर्दै मेरो आगमनलाई नियाली रहेको थियो । उसले आफ्नो स्वतन्त्रतालाई घोडामा उफ्रिदै आफूतिरै आइरहेको नियालिरहेको थियो । उसको चित्कार अब घट्दै थियो । उसले मलाई बोलाइरहेको थियो र म उसको नजिकै पुगिसकेकाले चिच्याएर तमासा देखाउन जरुरी पनि थिएन ।

मेरो बुद्धिको ठेगान नभएपनि मेरो मुटुको अलिकति दिमाग रहेछ । मलाई मेरो मुटुमाथि गर्भ लग्यो । म नजिकै पुगेँ अनि ती ठुला काला ढुंगा मध्ये देब्रेपट्टिको ढुंगालाई पल्टाएर मैले मेरो मुटुलाई सुम्सुमाएँ । मुटुले धेरै आँसु झार्दै रोएर रगतको पोखरीलाई भर्न खोज्यो ।

मेरा हल्लिन छाडेका आँखाले पनि खहरेको भेल तेर्साइदिए । पोखरी अब अलि धेरनै भरियो । पोखरीले एउटा कुनामा सानो बाटो बनाएर एउटा झरना जन्माइदियो । अति सुन्दर झरना । आँसु र रगतको संगमले बनेको यो पहिलो झरना थियो । मैले त्यसको नाम राखिदिए ” रसु झरना ” । मुटुले झरनाको नामलाई स्वागत अनि स्वीकार गर्यो ।

अब मुटु मेरो ओठको चुम्मन चाहन्थ्यो । म पनि मुटुलाई चुम्न चाहन्थेँ ।

छुराको धार मासु अनि हड्डीलाई रेट्दा पनि मरेको थिएन, रगत बग्ने नलीलाई एक एक गरी छिनाल्न मलाई पनि गाह्रो परेन । मेरो इच्छा मेरो सपना आज पुरा हुदै थियो ।

मुटुको चित्कारले सार्थकता पाउन थालेको थियो । मैले अब मुटुलाई हातमा लिइराखेको थिएँ । मुटु अलिक शान्त थियो,सायद पिंजडाबाट बाहिरी संसारमा आउनुको आनन्द पाएको थियो उसले । मेरा चल्न छोडेका पापी नजरले अझ पनि मुटुलाई एकोहोरो टोलाइरहेका थिए । मैले बिस्तारै मुटुलाई मेरो ओठको स्पर्श गराएँ ।

मलाई आफूमा अथाह शक्ति अनि विशाल जागरण प्रवाह भएको जस्तो लग्यो । सायद मेरो मुटुले पनि उसले चाहेको स्वतन्त्रता पायो होला । उसले अब चिच्याउन अतिनै कम गरिसकेको थियो ।

झस्काउदा मात्र बोल्दथ्यो ऊ । ऊ मेरा हातमा एउटा निद्रा निदाउन चाहन्थ्यो, धेरै पीडा पछिको त्यो लामो निद्रा ।

म पनि धेरै थाकिसकेको थिए । लामो निद्रामा जाने मेरो पनि मनसाय थियो । म पनि बिस्तारै निद्रामा लपेटिन थालिसकेको थिएँ ।

मेरो सामु मेरा हत्केलामा मुटु निदाउदै थियो, अनि उसलाई सधैझै साथदिदै म पनि उसंगै निदाउदै थिएँ । सदा सदालाई ऊ र म, मेरो मुटु र म निदाउदै थियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *