Skip to content


चिसो रातमा रक्सीको मात चढेपछि मलाई कसले छुन सक्नु ? बाइबल, कुरान, पुरान मुखमा जे जे आउँछ म तिनका उपदेश फलाक्दै आइरहेको थिएँ । सडकबाटै आफ्नो सर्वसत्ता घोषित गर्दै औधी मज्जा लिइरहेको थिएँ । त्यस्तैमा एउटा कालो छायाँ अगाडि आएर उभियो र मलाई एक्कासि घुच्चुकमा हानेर थुचुक्क पार्यो । सुरुवालमै तुरुक्क मुत खुस्कियो । धन्य म जुरुक्क उठेँ । ठूलै काल टरेजस्तो लाग्दैथियो तर त्यसले फेरि मेरो कठालो समाएर फुर्ती देखाउन लाग्यो । सुर्ती माडेको हात रहेछ, नाकमा ठ्वास्स खार लागेपछि पो मेरो होस खुल्यो । धत्तेरी ! लौ कसको हात परियो ?

छोटोछोटो जुँगा भएको मोटो मान्छे देखेँ । ऊ रात्रि सेवाको गाडीको हेडलाइटजस्तो ट्वाल्ल आँखा बालेर मलाई लछारपछार पार्दैथियो । चोर हो कि पुलिस हो के ठेगान ? रात परेपछि दुवैथरि उस्तै देखिन्छन् क्यारे ।

छ न त ज्यानबाहेक मसँग अरूथोक के थियो र सधैँ हिँड्ने चोकमा पनि खुट्टा कमाउनु । ज्यानै त के लेला ए गाँठे ! चोर भए छामछुम पार्ला । केही नभेटेपछि बोहनी बिग्रेको झोकमा सालाले गाला चड्काउला, जाला । पुलिस भए काइदै भो । भ्यानमा हालेर प्वाँ….पुँ….प्वाँ….पुँ…..पार्दै घरै पुर्याइदिन्छ । टन्टै खलास । लेखक हो भनी थाहा पायो भने त सलाम गर्न पो के बेर ! म यस्तै सोच्दै थिएँ । उसले अर्कोचोटि गालामै चड्काएपछि पो छर्लङ्ग भएँ, पुलिस त पुलिसै रहेछ तर साह्रै सन्काहा, यमराजजस्तो । धन्यको रहेछ ! अपराधीलाई समाउन नसके पनि जँड्याहालाई त समात्यो ।

अलि बढी नै हल्ला गरेँ हुँला र समात्यो क्यारे । आफूलाई भने हल्लामात्र होइन नाराबाजी नै गरुँजस्तो लागिरहेको थियो । कम्ती बेइज्जत रहनु परेको थिएन आज । हामी चल्तीका लेखकहरू पुग्नासाथ धार्नीको भाउ दिने भट्टीवालीले पाउजति पनि वास्ता गरिन । चट्टी बजाउँदै आउने रड्डी आइमाई नयाँ ग्राहकलाई जालमा पार्न अर्कै क्याविनमा त्रिपाल ओछ्याएर बसी छ । आधा बोतल छचल्काउँदै, तिघ्रा उचाल्दै आउँथी । आँखा सन्काउँथी । चुरोटले पटपट फुटेको ओठ चुच्चो पारेर तन्काउँथी । त्यसका हातले थपेको रक्सीको नसा नै अर्कै लाग्थ्यो । तै पनि आउँछे कि भनेर छोइला अर्डर गरेँ तर अर्कैलाई पठाई र पो म रिसले कोइला भएको थिएँ । दिनलाई रात चढेको मलाई मात चढेको, के चाहियो र ? भट्टीबाट बाहिर निस्किएर सडकमा फनफनिँदै मुटु-कलेजो ओकलिने गरी फलाक्दै थिएँ । भट्टी विरोधी अभिव्यक्ति दिएको कसुरमा पक्राउ परेँ ।

मापाकै रहेछ पुलिस त, घोक्राउँदै थानातिर हुल्ने सुर गरिहाल्यो । परेन आपत ? कसैले देख्यो भने, ‘फलानो लेखक पुलिसको खोरमा’ भनेर बल्ढ्याङ्ग्रे अक्षरमा छापिन के बेर तर मेरा दायाँबायाँ दौडिने र पटकपटक मलाई सुँघ्न आउनेहरू आफन्त वा छिमेकी कोही नभएर धन्न भुस्याहा कुकुरहरू परेछन् !

बिन्ती भाउ गर्दै पाउ परे पनि पुलिसको पञ्जाबाट फुत्किने दाउ नमिलेपछि एउटा न एउटा हृयाउ त झिक्नै पर्यो । त्यसै पनि म चानचुनेको सङ्गत गर्ने मान्छे परिन । के कम ! लेखक हुँ भन्ने दम्भ देखाइहालेँ । हेर भाइ, एउटा लेखकलाई यसरी ठ्यामठ्याम हान्न हुन्छ ? भावनामा चोट पुग्दैन ? हामी लेखकहरू भनेका त देशका गहना हौँ, कुनै गनाउने वस्तु त होइनौ नि ? अप्ठेरो ठाउँमा हात हाल्यौ, अब तिमीले जागिरबाट हात धुनुपर्ने भो । जागिर छुटाउन सकिन भने पनि गुण्टाचाहिँ कसाएरै छाड्छु । बुझ्यौ ? मान्छे नै चिन्या रहेनछ ।

चल्तीका लेखकहरू नै सँगै बसेर रक्सी पिउने मेरा मतियार भएपछि मलाई के को चिन्ता ? धम्क्याउनु धम्क्याएँ त्यसलाई । सबैभन्दा मात चढेको जमात नै लेखकका जात हुन् । चल्तीका अखबारका सम्पादकहरूसित यिनका सोझो सम्पर्क छ । पार्टीका वरिष्ठ वरिष्ठ नेताका मोबाइल नम्बर यिनकै चल्तीमा छ । एकपटक फोन उठाएर हेलो गरे भने भए/नभएका खबर छताछुल्ल भएर फिँजिन्छ । यस्तो तागत आफूसित भएपछि लागतबिनाको धम्की दिन म किन पछि पर्थे, धम्क्याएँ मजैले ।

लेखक भनेपछि मनमा केही चिसो पसे छ कि ? वा पुलिसमा जागिर खानुअघि ऊ पनि लेखक नै थियो र हो ? जरखरिएको हातले अँठ्याइरहेको मेरो किलकिली अलि खुकुलो गर्यो । त्यतिले पनि मलाई प्राणवायु भित्रबाहिर गर्न सजिलो भयो । अब त छोड्छ क्यारे भन्ठानेको त ‘लेखक होस् भने प्रमाण देखा’ पो भन्छ । मलाई फेरि आपत ! के प्रमाण देखाउनु लौ ? जिल्ला प्रशासन कार्यालयको करेसैमा जन्मिएर पनि नागरिकताको प्रमाणपत्र लिन त कत्रो जात्रा भो । रातो कलम लिएर कुर्सीमा बस्नेहरू एउटा सही गर्न पनि रातो भालेमात्रै हेर्छन् । एकपटक सही गरेका एउटा कुखुरी काँ….रे !

प्रज्ञा-प्रतिष्ठानले लेख्ने जतिलाई स्कुले विद्यार्थीका झैँ एकोटा आइडेन्टिटी झुण्ड्याइदिएको भए पनि त देखाइदिन हुन्थ्यो । त्यो पनि छैन । प्राज्ञहरू नै पार्टीका आइडेन्टिटी भिरेर बसिरहेका देखिन्छन् । कसरी लेखकको आइडेन्टिटी हुनू ? थुइक्क ! एउटा किताब छाप्न सकेको भए पनि त यो किताब मैले नै लेखेको हुँ, नपत्याए ल हेर पछाडिको पातोमा छापिएको लेखकको तस्बिर र मेरो अनुहार, मिल्यो कि मिलेन भनेर यतिखेर जोगिन सक्थेँ । त्यो पनि भएन । लेखक भएको प्रमाण म के दिऊँ ?

सित्तैमा फुटकर रचना प्रकाशित गर्न दिएर प्रकाशकलाई कुम्ल्याउने बाटो बनाउन दिँदैमा र साहित्यिक समारोहको दर्ता किताबमा उपस्थित जनाउँदैमा चल्तीको लेखक भइँदोरहेनछ । दिनभरि अखबार चपाएर वमन गर्न साँझ भट्टीमा भेटिने तालु खुइले ठालुले लाउने आलु गफ सुनेर मात्र पनि काम लाग्दो रहेनछ । प्रमाण नै पेस गर्न सकिनँ मैले । बल्ल थाहा पाएँ आफ्नो हैसियत र चोरझैं रातभरि पुलिसको खोरमा थुनिएँ ।

एकरातको थुनाले घरको तला उक्लिन नसक्ने गरी थला परे पनि मलाई खेद छैन । झ्यालखानामा पर्नु त योग्यता बढ्नु हो । राजनीतिमा लागेको भए निस्किएपछि मन्त्री हुन्थेँ होला । साहित्यमा लागियो । प्राज्ञ हुने योग्यता पुग्यो, ठिकै भो तर एउटै कुराको भने पछुतो लागिरहृयो, आइडेन्टिटीकै लागि भए पनि किताबचाहिँ बेलैमा छाप्नु पर्ने रहेछ ।

लेखक कृतिविहीन हुनु विकृति हो । यस्तो विकृति लिएर परालले छोपिनु पर्यो भने कसले उदिन्ला ? अतः आफूलाई लेखक भनेर चिनाउनु छ भने किताब नछापी हुँदै भएन । बरू विषय जस्तोसुकै होस्, विधा जेसुकै होस् । किताबचाहिँ छापेरै छोड्छु, थुनाको कुनामा कोक्रेपछि मेरो ज्यानले यही ज्ञान प्राप्त गर्यो ।

वास्तवमा किताबै नछापिएकोले त पछि परेँ नि । चिनेजानेका सबैले त्यसै भन्छन् । हुन पनि आफू सरहका साथीहरू रङ्गीचङ्गी किताब छापेर वरिष्ठमा दरिइसके । हेर्दाहेर्दै वैतरणी गरिसके । आफूभने जस्ताको त्यस्तै, वारिका वारि । तिनका भाषण र वाचनका सान, पिउदा र तान्दाको स्टाइल भनिसाध्य छैन । सल्लाह गरीगरी हल्ला गर्न सक्ने लेखकीय गुण्डा भैसके । आफ्नो योगदानको आफैँ पण्डित्याइँ गर्छन् र त्यसवापत पनि रोयल्टी खोज्छन् । साहित्यको गुरु थाप्न आउनेलाई सुरुसुरु पुतली सडकको सेकुवा कर्नरमा लगेर जोत्दै गुरु दक्षिणा उठाउँछन् । तिनीहरू निकै चल्तीका भैसके । आफू भने खोटो ?

खोटैखोटोमा कति भोटो फाटिसक्यो । अब त अलि चल्तीको भएर चोटोकोठो गर्न पनि किताब त छाप्नै पर्यो तर कसरी छाप्ने ? आफूसँग फुटेको कौडी छैन, दौडी भनेर मात्र हुन्छ र ? उपाय के गर्ने त ? रुपियाँको खोजीमा दिमाग उपियाँझैँ फड्किदै थियो । झलक्क स्वास्नीको मुख सम्झिए । हामी लोग्नेका लागि स्वास्नी नै संसार पनि भन्सार पनि । स्वास्नीकै काँखमा आँसु झाछार्ंै । स्वास्नीकै काँखमा सुत्छौँ । स्वास्नीकै काखमा मुत्छौँ । साँच्चै आइमाई नुहँदा हुन् त पक्षघातले के विधि थलिन्थ्यौँ होला ? धन्न नारीलाई अगाडि उभ्याएर अर्ध नारेश्वर हुन पाइएको छ । यस्ती प्रेमकी खानी, दयाकी सागर स्वास्नीलाई जाबो एउटा किताब छाप्ने प्रस्ताव राख्दा कसो स्वीकृत नगर्ली ?

अहिलेसम्मको मेरो साहित्यकारितामा स्वास्नीले सघाएकै छ । हरेक बिहान चिया पसलमा पत्रिका हेर्दै बरबराउछु । दिउँसो पत्रिका प्रकाशन गृह रहेको गल्लीगल्ली चाहर्छु । साँझ चल्तीका लेखकहरूसित भट्टीको बन्दसत्रमा धतुराउँछु र आधारातमा लरबराउँदै आउँछु । ढोका खोलेर स्वागत गरेकै छ । अरूको आँखा लाग्ला भनेर दाह्री पाल्न उक्साई । पत्रिका बोक्न सजिलो हुन्छ भनेर दोकाँधे झोला भिराई । यसरी हुलिया मिलाउन समेत सघाएकी छे भने किताब छाप्ने जीवनभरिको मेरो एउटा धोको त्यसै मर्न देली त ? फुटकर लेखेर लोग्ने सधैँभरि फुटपाथे लेखक भएको हेरी बस्ली त ?

किताब छाप्ने मेरो यो प्रोजेक्ट स्वास्नीकै अनुदानमा कार्यान्वयन गर्न सक्छु भन्नेमा म ढुक्क थिएँ । र, मनको खोँचखोँचै उर्लेको यो छर्लाङ्ग मार्ने सोँच प्याकेजमै डिल गर्ने सुरले स्वास्नीलाई फकाउन थालेँ । हेर बूढी, एउटा किताब आफ्नो नाउँमा छापिएको भए यसरी पुलिसको झापु खानुपर्ने थियो त ? मेरो त कुनै आइडेन्टिटी नै भएन । पत्रिकामा छापिएका टुक्राटुक्री रचना मात्रै जोडेर एउटा किताब छपाउन पाए पनि इज्जतै बढ्ने थियो । कृतिको प्रकाशक तिमी आफैँ हुने थियौँ । कृति समर्पण पनि तिमै्र नाउँमा गर्ने थिएँ । यसबाट तिम्रो पनि प्रतिष्ठै बढ्ने थियो ।

बल्ढ्याङ्ग्रे अक्षरमा अगाडिपट्टि किताबको नाम र त्यसभन्दामुनि आफ्नो नाम राख्थेँ । किताबको पछाडिपट्टि चिटिक्क परेको फोटो र पृष्ठभरि अहिलेसम्म भए गरेका योगदान उल्लेख भैहाल्थ्यो । मनले खाएको र फुर्सदिलो समीक्षकलाई भूमिका लेख्न लगाउँथे । भने अनुसारको फूलबुट्टा भरिएर आइहाल्थ्यो । आकर्षक डिजाइनमा तयार भएको किताब हातमा लिएर ओल्टाइपल्टाइ गर्नेले लेखकको तस्बिर र योगदानको सूचि देखेर जिब्रो टोक्ने थिए । खिसीटिउरी गर्नेका मेखै मर्ने थियो ।

किताब लोकार्पणको दिन लेखक पत्नी भएर लचकलचक लच्किने चलकदार सोफामा शोभायमान हुने तिमी नै हौ क्यारे । त्यसबेलाको फोटो खिचेर भित्तामा झुन्याउन पाए तिम्रा माइतीले मात्र होइन हुनेवाला छोरीज्वाइँतिरकाले पनि राम्रै बखान गर्ने थिए । राम्रै पोको बाँड्न सके भोको वक्ताले धोको फुकाएर नबोल्ने कुरै थिएन । फुर्सद हुनेहरू भेटघाटकै लागि वा आफ्नो कार्यक्रमलाई निम्तो बाँड्न भनेर पनि आइहाल्थे । खचाखच उपस्थितिबीच समीक्षक र पत्रकार भनौदाहरूलाई त्यही एक बोराजति किताब ‘सप्रेम’ बाँड्नु पर्ने त हो ।

चल्तीका लेखक मित्रहरूले रोयल्टीकै लागि भए पनि अखबारमा टीकाटिप्पणी गरिहाल्थे । दुई-चार मिडियामा अन्तर्वार्ता मै पनि दिन्थेँ । यतिका हल्लीखल्ली भएपछि त गल्लीगल्लीमा चर्चा नहुने कुरै थिएन । पाठकले रुचाउनुमात्र पर्छ, किताबैबाट पनि कमाइन्छ पो । मान्छेले किताब छपाएरै किताब छाप्ने उद्योग चलाइसके ।

किताब बिक्री भएन छ भने पनि केही फिक्री छैन । इन्डियाभन्दा आइडिया ठूलो हो क्या । मसँग त्यस्ता आइडिया कति छन् कति । लगानी उठाउने कुरामात्रै होइन फाइदै हुने निस्पिmक्री जुक्ति छ । तिमीले किनिदिएको दोकाँधे झोला छदैछ । हिँड्ने खुट्टा छदैछन् । झोलामा किताब बोक्छु । हकरलेझैँ फुटपाथमा बेसरी कराउँछु । आफ्नै किताब बेचेको त हो नि, किन लजाउँछु ? किन कसैसित डराउँछु ? ‘लेखक हुँ भन्दै हिँड्नु हुन्छ, खै त तपाईँको किताब ?’ भन्नेहरू कसैलाई छोड्दिन । फ्यात्त किताब थमाउछु, यसरी म पैसा कमाउछु ।

यति आँट गर्दा पनि किताब बिक्री हुने छाँट देखिएन भने जन्मदिन, न्वारन, पास्नी, ब्रतबन्ध, विवाह, श्राद्ध, औँसी, पुर्ने, दसैँ, तिहारजस्ता पर्वहरूमा घरमा आउने चेलीबेटी, ज्वाइँचेला, भान्जाभान्जी, नातिनातिनाहरूलाई टीकाटालो गरी गर्वसाथ किताबै दान-दक्षिणा दिए भैहाल्यो । कोसेलीपात वा उपहार लगिदिनुपर्ने ठाउँमा पनि र्यापिङ पेपरले र्याप गरी प्लास्टिकको थैलीसहित च्याप पारेर किताब नै लगिदियो । देख्नेले पनि ठूलै पोको देख्ने । पाउनेले पनि बौद्धिक खुराक भेट्ने ।

चर्चै त ठूलो रहेछ । चर्चा धेरै भयो भने कागजमा गु पोको पारेर गुदपाक भने त किन्नेको घुइँचो हुने हुन्छ यो ठाउँमा । सबैभन्दा बढ्ता कुरा काट्ने आफन्तहरूबाटै मेरो किताबको चर्चा चल्न थालेपछि रक्सी डिलर, तन्दुरीवाले, किराना, तरकारी वा फलफूल पसलेले समेत खोज्न थाल्नेछन् । यसबाट सजिलो हुने त तिमीलाई नै हो । ङच्िच हाँस्नु, किताबसित खाद्यान्न साट्नु । किन खाद्यान्न मात्रै ? नुन, तेल, ग्याँस, लत्ताकपडा जे जे चाहिन्छ जुरुकजुरुक उठाउनु । कति पैसा भयो त्यति बराबरको किताब बुझाउनु ।

किताब बोकेर ब्युटी पार्लर वा मसाज सेन्टर जतातिर हिँडे पनि देख्नेलाई पढ्नै गएजस्तो भान पर्ने । समाजमा आफ्नो सान बढ्ने । नगद बोकेजस्तो डर पनि छैन । यातायातको साधनले विद्यार्थी सहुलियत नदिने पनि हैन । बूढाबूढी खटिएपछि ग्राहक नभेटिने कुरै छैन । एउटै किताबले हाम्रो नाम र दाम एकैचोटि औइर्याउला जस्तो पो लाग्दैछ मलाई त ।

मैले यसरी आफ्नो किताब छाप्ने प्रोजेक्ट ‘डिल’ गरिरहँदा उसले कतिपटक आङ्ग कन्याई, मुख बिगारी वा हाई गरी । मैले त्यतातिर ध्यान नै दिइन छु । अति भएछ क्यारे, ऊ जुरुक्क उठेर कोठातिर लागी । दराज खोलेको आवाज सुनियो । लोग्नेको भित्री कुरा बुझिछे क्यारे, म मख्ख परेँ । ‘किताब छाप्न कति लाग्ला ? मसित त यतिमात्रै छ ।’ भन्दै पैसाको मुठो लिएर आउली भनेर म निकैबेर कुरिरहेँ ।

ऊ निस्किन त निस्की तर एउटा हातमा लुगाफाटोको पोको र अर्को हातमा तिलहरीको झुप्पो लिएर पो निस्की । ईख लागेपछि कति छिट्टै सबैकुरो भ्याउछन् यी आइमाईहरू ।

‘तिम्ले देको तिमी नै राख’ भन्दै तिलहरीको झुप्पो मतिर फ्याकी र चोथाले ओठले लोप्पो खुवाउँदै भर्याङ्ग ओर्लिन पो थाली । परेन फसाद ! दायाँबायाँ नहेरी जुरुक्क उठे हत्तपत्त गएर झ्याप्पै समातेँ । पोको खोसेँ । किताब छाप्ने धोकोभन्दा मलाई त्यतिखेर स्वास्नीकै फरियाको पोको ठूलो भो ।

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *