Skip to content


आँखाभरि
इन्द्रेनी सपनाहरू रोपेर
ओसिएका मनहरू सहर पसेका छन्
सहरमा मान्छेहरू
कोही काम खोज्दैछन्
कोही माम खोज्दैछन्
कोही बादलभित्र हराएको
जीवनका पारिलो घाम खोज्दैछन्
कोही माथिमाथि पुग्ने
स्वार्थका भर्याङ र नाम खोज्दैछन्
सहर जसले सलहझै असङ्ख्य मान्छेका
सुनौला सपना खाएको छ
सहर जहाँ धेरैको भविष्य हराएको छ
सहर काठको खुकुरीसँग
गोबरको घिउ साट्छ
आत्मीयताको जाल थापेर सहर
सधैं सधै षड्यन्त्रको दाम्लो बाट्छ
कहिले नारा र जुलुसमा
जिन्दावाद र मुर्दावाद गाउँछ सहर
कहिले बन्द र हडतालमा रमाउँछ सहर
नसोध्नू कसैले नसोध्नू
म यो निर्मम सहरमा
मरेको पनि हुनसक्छु /बाँचेको पनि हुनसक्छु
रोएको पनि हुनसक्छु /हाँसेको पनि हुनसक्छु
यो सहरमा ढकमक्क
फूल भएर फुलेको पनि हुनसक्छु
या पीडै पीडाको
काँडा भएर दुखेको पनि हुनसक्छु ।

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *