Skip to content

नेपाली बालसाहित्यः प्रभाव र प्रवृत्ति

  • by


बालबालिका र बालसाहित्य

बालबालिका भनेका सुन्दर भविष्य हुन् । बालबालिका र बालमस्तिष्कमा अबोधपना, चञ्चलता र उत्सुकता भरिएको हुन्छ । उनीहरूले युवा वा प्रौढको तुलनामा अरूको कुरा छिटो सिको गर्छन् । उनीहरूलाई अभिभावक, शिक्षक वा ठूला उमेरका मानिसहरूले जस्तो खुराक (पाठ्य सामग्री) दिन्छन् त्यस्तै ग्रहण गर्छन् । यद्यपि त्यो खाने-पिउने सामग्री होस् वा हेर्ने नाटक, टेलिभिजन वा फिल्म नै किन नहोस् । बालबालिकाहरूमा सानो छँदा जस्तो रुचीको विकास गराइन्छ, त्यसले भोलिका दिनमा उनीहरूमा त्यस्तै आकारप्रकारका अभिरूचिले आकार लिन थाल्छ । बालबालिकामा ‘सुन्ने संस्कार’ (रेडियो, गीत-सङ्गीत, कथा-कविता सीडी) र ‘पठन संस्कृति’ (पत्रपत्रिका, बालपुस्तक, चित्रपुस्तक) ले पनि उनीहरूको व्यक्तित्व विकासमा प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पारिरहेकै हुन्छ । बालबालिकाहरूको व्यक्तित्वको सन्तुलित विकास तथा उनीहरूमा नैतिक, सामाजिक वा कुनै पनि किसिमका शिक्षा दिनका लागि बालसाहित्य आकर्षक र प्रभावशाली माध्यम हुनसक्छ । बालसाहित्यअन्तर्गत बालकथा, बालजीवनी, बालउपन्यास, बालोपयोगी जीवनी, बालगीत आदि पर्दछ ।

बालसाहित्यका पाठक

बालबालिकाहरूका लागि बालसाहित्य लेख्दा स्रष्टाले सर्वप्रथम लक्षित उमेर छुट्याउनु पर्छ । विशेषगरी बालकथा र बालनाटक लेख्दा यस कुरामा ध्यान दिनु आवश्यक छ । नेपाली बालसाहित्यमा यस कुरामा धेरैजसो स्रष्टाले ध्यान दिएको देखिँदैन । सबै बालकथा, बालनाटक वा बालकविता जुनसुकै उमेरका बालबालिकाहरूका लागि उपयुक्त नहुन सक्छ ।

नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षसम्म उमेरका केटाकेटीहरूलाई बालबालिका मानेको छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९८९ नोभेम्बर २० मा पारित गरेको बालअधिकारसम्बन्धी महासन्धिको धारा १ ले मुलुकको कानुनद्वारा व्यवस्था गरिएकोमा बाहेक बालबालिका भन्नाले १८ वर्ष मुनिका केटाकेटी हुन् भन्ने बुझिन्छन् । यसलाई समूहगतरूपमा विभाजन गर्दा पाँच वर्षसम्मकालाई शिशु, ६-११ वर्षकालाई बालक र त्यसभन्दा माथिकालाई किशोर भनी वर्गीकरण गरिने प्रचलन पनि छ ।

बालसाहित्य लेखन र बालमनोविज्ञानका दृष्टिले हामीकहाँ बालबालिकाहरूको रुचि, ग्राह्य क्षमता र भाषिक अनुभवका आधारमा विभिन्न उमेर समूहमा विभाजन गर्ने गरिएको पाइन्छ । ३ देखि ६ वर्षसम्म, ७ देखि ९ वर्षसम्म, १० देखि १२ वर्षसम्म र १३ देखि १५ वर्ष वा त्यसभन्दा माथिको उमेरसमूहमा विभाजन गर्ने गरेको देखिन्छ । यी फरक-फरक उमेर समूहका बालबालिकाका लागि एकै किसिमका भाषा र प्रस्तुतिका बालसाहित्य उपयोगी हुँदैन । पाश्चात्य बालसाहित्यमा ४ वर्षसम्मका लागि प्री रिडर्स भनिन्छ । अत्यन्त साना पाठक समूह भएकाले यिनीहरू ‘पिक्चर बुक’ अर्थात् सचित्र पुस्तक मन पराउँछन् । यी उमेर समूहका पाठकहरूका लागि बढीमा ३२ पृष्ठसम्मका सचित्र बालपुस्तक उपयोगी हुने एक अध्ययनले देखाएको छ । यस्ता बालपुस्तकको हरेक पृष्ठमा बढीमा दुई वाक्य राख्निे गरिन्छ । सर्जकहरूले यस्ता पाठकहरूको लागि बालकथा लेख्दा सकेसम्म सरल र छोटा वाक्यहरू बनाउनु पर्छ । एक वाक्यमा पनि बढीमा पाँच शब्दसम्म हुनु राम्रो मानिन्छ । ५ देखि ८ वर्षसम्मका लागि साना पाठक समूह ‘अर्ली रिडर्स’ भनिन्छ । समूहका पाठकहरूलाई कतै-कतै ‘च्याप्टर बुक्स’ समेत भनेको देखिन्छ । यस समूहका पाठकहरूले चित्रसहितका बालकथाहरू रूचाउँछन् । उनीहरूका लागि स-साना हरफहरूमा कथा तयार गरिन्छ । यी समूहका पाठकहरू बालकथा स्वअध्ययन गर्न सक्छन् । उनीहरू अलौकिक, अद्भूत, असाधारण विषयमा लेखिएका बालसाहित्यमा बढी रुची देखाउँछन् ।

यसैगरी ९ देखि १२ वर्षसम्मका ‘मिडल ग्रेड’ भनिन्छ । यसमा पनि ‘लोअर मिडल ग्रेड’ (७ देखि ९ वर्षसम्म) र ‘अपर मिडल ग्रेड’ (१० देखि १३ वर्षसम्म) भनेर दुई वटा उमेर समूहमा छुट्याउने चलन पनि देखिन्छ । यस उमेर समूहका पाठकहरूका लागि बढीमा २० हजार शब्द र बढीमा एक सय पेजसम्मको बालपुस्तक उपयोगी हुने मान्यता रहेको छ । यी समूहका पाठकहरूले लामा बालकथा र बालउपन्याससमेत मन पराउँछन् । १३ देखि १८ वर्षसम्मका बालबालिकाहरूलाई ‘यङ अडल्ट्स’ वा ‘टिन एज’ भनिन्छ । यस उमेर समूहको सीमा र क्षेत्र ज्यादै फराकिलो छ । यिनको लागि छुट्टै किशोर साहित्य पनि लेख्ने गरिएको पाइन्छ ।

नेपाली बालसाहित्य

नेपाली बालसाहित्यमा बालबालिकाका लागि बालसाहित्य लेखन एवं कृति प्रकाशनको थालनी नब्बेको दशकबाट नै भएको हो । वि. सं. १९९७ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) को बालखण्डकाव्य ‘राजकुमार प्रभाकर’ भएको थियो । नेपाली साहित्यमा यसलाई नै प्रथम बालपुस्तक मानिदै आएको छ । महाकवि देवकोटाले बालकथामा कलम त चलाएको देखिँदैन । तर उनले नेपाली बालकाव्यलाई भने खुबै गोडमेल गरी हुर्काउने काम भने गरेका छन् । महाकविका मनोरम बालकाव्यकृतिहरू ‘पुतली’ (२००९), ‘सुनको बिहान’ (२०१०), ‘चिल्ला पातहरू’ (२०२१), ‘छाँगासँग कुरा’ (२०२६) र ‘कटक’ (२०२६) प्रकाशित छन् । नेपाली बालसाहित्यको उन्नत बिजारोपण गर्ने श्रेय पनि महाकविलाई नै जान्छ । महाकविका बालगीत र बालकविताहरू अहिले पनि बालबालिकाहरू माझ निकै लोकप्रिय छन् । बालोपयोगी र सार्थक बालकाव्य सिर्जना लेखेर महाकविले बालसाहित्यलाई ठूलो गुन लगाएका छन् ।

महाकवि देवकोटापछिका नेपाली बालसाहित्यका अगुवा बालसाहित्यकारहरू बालकथा विधामा श्यामदास वैष्णव, माधव घिमिरे, देवकुमारी थापा, रमेश विकल, कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं, देवीप्रसाद वनवासी आदि हुन् । राष्ट्रकवि माधव घिमिरेको बालगीत र बालकवितामा ठूलो योगदान रहेको छ । श्यामदास वैष्णव र रमेश विकलले नेपाली बालनाटकको बिजारोपण गर्ने काम गरेका हुन् । देवकुमारी थापाले भने दार्जिलिङमा छँदै बालकथा र बालजीवनीमा सचेतताका साथ कलम चलाउँदै आएको देखिन्छ । कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं र देवीप्रसाद वनवासीहरूले नेपाली बालकथाको मौलिक चिनारी दिने र थप उचाइमा पुर्‍याउने काम गरेका हुन् । बालपुस्तक प्रकाशनमा निरन्तरता एवं गतिशीलता र जीवनको उत्तरार्धमा समेत बालसाहित्यमा उतिक्कै प्रतिबद्धता यिनीहरूमा पाइने समान वैशिष्ट्ता हुन् ।

नेपाली बालसाहित्यमा आरम्भका चार दशकसम्म धेरै कामहरू हुन सकेन । वि. सं. २००७ मा मुलुकमा प्रजातन्त्रको स्थापना भएपछि नेपाली बालपाठ्यपुस्तकका क्षेत्रमा केही कामहरू भए पनि पाठ्यतर बालसाहित्यमा सन्तोषजनक काम भएको पाइन्न । फाट्टफुट्ट रूपमा बालपुस्तकहरू प्रकाशित भए पनि वि. सं. २०३५ मा नेपालमा ‘अन्तर्राष्ट्रिय बालवर्ष’ मनाउन थालेदेखि नै बालसाहित्यमा उल्लेखनीय कार्यहरू हुन थालेनको हो । बीचको अवधिमा (वि. सं. २००८-२०१२) मा धनमानसिंह परियारको सम्पादनमा बालपत्रिका ‘बालसखा’ का छ वटा अङ्क प्रकाशित भयो । नेपालबाट निस्किएको यो नै प्रथम बालपत्रिका थियो ।

वि. सं. २०३५ पछि नेपाली बालसाहित्यलाई प्रतिबद्धतापूर्वक अघि बढाउने काम धेरैले गरेका छन् । यहाँ सबैको नाम उल्लेख गर्न सम्भव छैन तर पनि बालसाहित्यलाई आफ्नो मूलविधाको रूपमा लिई बालसाहित्यमा उल्लेखनीय योगदान पुर्‍याउने बालसाहित्यकारहरू पासाङ गोपर्मा, पे्रमा शाह, धु्रवकृष्ण दीप, गोपाल पराजुली, परशु प्रधान, विश्वम्भर चञ्चल, शान्तदास, रामबाबु सुवेदी, दैवज्ञराज न्यौपाने, कल्पना प्रधान, तेजप्रकाश श्रेष्ठ, विनयकुमार कसजू, रञ्जुश्री पराजुली, शारदारमण नेपाल, कन्हैया नासनानी, विजय चालिसे, मधुसूदनप्रसाद घिमिरे, कपिल लामिछाने, ध्रुव घिमिरे आदि पर्दछन् । चालिसदेखि नै गोरखबहादुर सिंह, खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल, अशेष मल्ल, किशोर पहाडी, सरूभक्त, कनकमणि दीक्षितलगायतका स्रष्टाहरूका पनि बालसाहित्यमा राम्रै लगाव देखिन्छ ।

पचासको दशकदेखि भने नेपाली बालसाहित्यमा ठूलो संख्यामा बालसाहित्यकारको आगमन, कृति प्रकाशनलगायतका कार्यले तीब्रता लिन थाल्यो । अहिले नेपाली बालसाहित्यमा लोभलाग्दा गतिविधिहरू भइरहेका छन् । बालसाहित्यका हरेकजसो विधा बालकथाकारहरूको बढिरहेका छन् । गम्भीर भई बालसाहित्य लेख्ने क्रम बढेको छ ।

एक दशकअघिसम्म प्रकाशन संस्थाहरूले फाट्टफुट्ट रूपमा मात्र बालसाहित्यका कृति प्रकाशन गर्ने गर्दथे । अहिले वर्षमा दर्जनौँ कृतिहरू एकै प्रकाशन गृहले गर्न थालेको छ । साझा प्रकाशन, रुम टु रिड, रत्न पुस्तक भण्डार, डीकुरा पब्लिकेसनलगायतका दर्जन प्रकाशन संस्थाहरूले बालसाहित्यलाई विशेष योजनामा नै पारेका छन् । डीकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईं भन्छन्, “केही वर्षदेखि हामीले हरेक वर्ष चालिस वटा बालसाहित्यका पुस्तक प्रकाशित गर्ने योजना अनुरूप कार्य गर्दै आइरहेका छौँ । हामीले स्तरीय रचनाका साथै गुणस्तरीय छपाइमा समेत विशेष ध्यान दिएका छौँ ।”

अहिले सबैभन्दा बढी बालपुस्तक रूम टु रिड ले गर्दै आएको छ । रूम टु रिडका पवन कार्कीका अनुसार अहिले यस संस्थाबाट वर्षमा पचासको हाराहारीमा बालपुस्तक प्रकाशित हुन्छन् । साझा प्रकाशनका प्रबन्धक रूद्रप्रसाद न्यौपानेका अनुसार अहिले सबैभन्दा छिटो बालसाहित्यका पुस्तक नै छापिन्छन् । प्रदर्शनीमा समेत बालसाहित्यका पुस्तकहरूको बिक्री हृवात्तै बढेको छ ।

अहिले बालसाहित्य सिर्जना र चित्रकलासम्बन्धी प्रशिक्षण र गोष्ठीहरू भइरहेका छन् । बालकथा पुस्तकमा मात्र सीमित नरही अहिले यसले रेडियो, वेभसाइट, ब्लग, इ-पुस्तक, अडियो, भिडियो, टेलिभिजन, रङ्गमञ्च र क्यानभासमा समेत राम्रो ठाउँ पाउन थालेको छ । यो ज्यादै सुखद् कुरा हो बालसाहित्यको समग्र विकासका निम्ति पनि । यसले नेपाली बालकथालाई मौलिकता र नयाँ दिशामा डोर्‍याउने काम गर्न थालेको छ भन्न सकिन्छ ।

नयाँ प्रविधिमा बालसाहित्य

अबको नेपाली बालसाहित्यलाई इन्टरनेट र इलेक्ट्रोनिक मिडियाजस्ता नयाँ प्रविधिसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ । यिनमा पनि अडियो, भिडियो, इन्टरनेट र डिजिटल वा ई-पुस्तकसँग यिनलाई अगल गर्न मिल्दैन । हुन त यी चारै अलग-अलग माध्यमहरू हुन् तर पनि यिनीहरू एक अर्कासँग सम्बन्धित छन् । यिनीहरूको साइनो नजिकबाटै जोडिएको छ ।

श्रव्यसञ्चार माध्यमको सन्दर्भमा रेडियो नेपालले सुरूदेखि नै प्रशारण गर्दै आएको बालकार्यक्रमलाई यहाँ छुटाउन मिल्दैन । श्यामदास वैष्णव, यादव खरेल, बासुदेव मुनाल, नुपुर भट्टाचार्यहरूले रेडियोको माध्यमले बालसाहित्यमा प्रत्यक्ष/अप्रत्यक्ष योगदान पुर्‍याएका छन् । चालिसको दशकमा हातेमालो सञ्चारले रेडियो नेपालबाट बालपयोगी बालकार्यक्रम निर्माण र प्रशारण गरेको थियो । यीबाहेक रेडियो सगरमाथाले स्थापना कालदेखि अहिलेसम्म पनि बालकार्यक्रमलाई उतिक्कै प्राथमिकता दिँदै आएको छ । अहिले दर्जनभन्दा बढी एफएम रेडियोहरूले बालकार्यक्रममार्फत बालसाहित्यका सामग्री प्रशारण गर्नु बालसाहित्यको विकासका निम्ति पनि सुखद् सङ्केत हो । यसैगरी बालबालिकाहरूका लागि कविता, कथा र गीत-सङ्गीतका थुप्रै अडियो क्यासेट र सीडीहरू पनि बजारमा निस्किएका छन् ।

इन्टरनेटमा पनि नेपाली बालसाहित्य अहिले राम्रैसँग फैलिएको देखिन्छ । इन्टरनेटमा अहिले दर्जन ‘ब्लग’हरू नेपाली बालसाहित्यकारहरूले सञ्चालन गरेका छन् । नेपाली बालसाहित्यकारहरूले ‘ब्लग’ चलाएर त्यस ‘ब्लग’ आफ्ना बालकथा, बालकविता तथा बालरचनाहरू राख्दै आएका छन् । कतिपयले आफ्नो ‘ब्लग’मा अरू बालसाहित्यकारका रचनाहरूलाई पनि ठाउँ दिएका छन् । अहिले पनि नेपालका सबै ठाउँमा सुलभ तरिकाले बालकथाका पुस्तकहरू नपुगिरहेको अवस्थामा इन्टरनेटको माध्यमले नेपाली बालकथाहरू देश-विदेशका पाठकहरूमाझ सजिलै पुग्नुले नेपाली बालसाहित्यलाई व्यापक बनाउने काम गरिरहेको जो कोहीलाई भान हुन्छ । नेपाली बालकथा र बालसाहित्यका सामग्री राखिएका कतिपय ब्लग हेर्दा प्रिन्टमा आएका बालसाहित्यभन्दा ती ‘ब्लग’ प्रभावकारी देखिन्छ । जसरी आकर्षक लेआउटले पुस्तकलाई सजाइन्छ त्यसरीले कतिपय स्रष्टाहरूले आफ्ना ब्लगलाई आकर्षकरूपमा प्रस्तुत गरेका छन् । यसले नेपाली बालसाहित्य झनै समृद्ध भएको मान्न सकिन्छ ।

यीबाहेक बालबालिकाहरूसम्बन्धी थुप्रै नेपाली वेभसाइटहरू छन् जसले बालपयोगी बालसामग्री र विचारलाई स्थान दिँदै आएको छ । साठीको दशकको मध्यदेखि नेपाली बालसाहित्यकारका पुस्तकहरू डिजीटल वा ई-पुस्तकको रूपमा समेत इन्टरनेटमा उपलब्ध हुन थालेका छन् । यसको लागि ‘ई-पुस्तकालय डट ओआरजी’मा सयभन्दा बढी नेपाली बालकथाका पुस्तकहरू पढ्न र ‘डाउनलोड’ गर्न सकिन्छ ।

समग्रमा भन्नुपर्दा, नेपाली बालसाहित्यको अवस्था पहिलेको तुलनामा निकै राम्रो हुँदै गएको छ । अहिले बालसाहित्यमा लेखन, प्रकाशनलगायत गोष्ठीका गतिविधिहरू निकै बढरनुले बालसाहित्यको भविष्य उज्यालो रहेको सङ्केत गर्छ ।

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *