Skip to content


धेरै बर्षको अथक परिश्रमपछि मात्र कूलदीप बजगाईँको बिदेश जाने सपना पूरा भयो । एउटा सानो छाप्रो घर, एक हूल गोरु, सानो बिरौटो खेत बेचेर मरितरी काठमाण्डौसम्म पुग्न सकिन्थ्यो होला, एक दुई दिन सम्म होटलमा बस्न पनि सकिन्थ्यो होला, तर सात समुद्रपारी पुग्न त्यति पैसाले कहाँ पुग्न सक्थ्यो र ? पैसा जोरजम गर्न के नै गरेन होला र बिचराले । आफूसँग भएको जायजेथा सबै पाशा फ्याँक्यो । साहू महाजनका खुट्टा ढोग्यो, ब्यापारीहरूलाई नमस्कार गर्यो, त्यही स्वास्नीको ईज्जतलाई दाउ लगाउन मात्र सकेन । आखिर घडीमा पैसा जुट्यो । कूलदीप बिदेश जाने भयो ।

नाकभरि सिंगान बोकेका मसिना भन्ट्याङ भुन्टङ छोराछोरी, गरिबीको पीडाले खाएर जवानीमा नै कुरुप भएकी स्वास्नीको निरास लाग्दो अनुहार छोडेर बिदेशिनु पर्दाको पीडाले उसलाई नछोएको होइन, लोग्ने मान्छे हो मन बाँधेर हिड्नु पर्छ भन्ने उसले बुझेको थियो । गाँउघरका ईष्टमित्र, आफन्तहरू कसैलाई बिदा मागेर हिड्न उसको मनले मानेन । किन भने सारा ईष्टमित्र, आफन्तहरू उसका लागि मरिसकेका थिए । सुनसान बस्तीको ऊ एक्लो सुकेको रुख थियो । जसो होला राम्रै होला भन्दै कूलदीप बाटा लाग्यो । काठमाडौ पुग्न दुई दिन सम्म लाग्थ्यो । एउटा हातले पैसा राखेको गोजी अठ्याई जसो तसो काठमाडौसम्म पुग्यो । काठमाडौमा बिदेश पठाउने मान्छेलाई पैसा बुझाएको पन्ध्र दिनपछि उसको भिषा भन्ने चिज आइपुग्यो । कूलदीप बजगाईँको खुशीको सिमाना रहेन । कूलदीपको बिधाताले सम्झाउँदै भन्यो हेर ! कूलदीप अरुलाई भन्दा तिमीलाई कम पैसा लिएर धेरै तलबमा पठाउन लागेको छु । यही तिम्रो भिषा अरुलाई दिएको भए एक लाख पचास हजार आउने थियो । तिमीलाई पचासी हजारमा दिएको छु, कमाएको पैसा बिफाँटमा खर्च नगरेस् भन्दै एक छिन गोहीका आँसु खसायो । कूलदीपका अनुहारमा शरद् ऋतुको बिहानी छायो । साँच्चै नै जसले छिटो र धेरै पैसा टिप्न सक्छ, उसैले धेरै कमाउन सक्छ भन्ने कूलदीपलाई लाग्यो ।

काठमाडौको त्रिभुवन बिमानस्थलसम्म दलालले पुर्याउन आयो । कूलदीपले सोच्यो मेरा बाबुले यति गरिदिएको भए म कहाँबाट कहाँ पुग्ने थिएँ । तीन चार पटक पिण्ड चढाएको आफ्नो स्वर्गीय बाबुलाई एक छिन धिकार्यो । दलालीले कूलदीपका सबै समूहको भिषाको ब्यबस्था पहिले नै मिलाई सकेको रहेछ । अध्यागमन विभागमा कसैले केही गर्नु परेन । न कसैले भिषाको बारेमा सोधपुछ गरे, न कसैले कम्पनीका बारेमा प्रश्न गरे । बिना रोकटोक अध्यागमन विभाग पार गरेपछि एउटा बरखी बारेको हाकिमले प्रहरी निरिक्षकतिर फर्केर षोडसीलाई आँखा झिम्काए झै गर्दै बेलुकाको लागि संकेत गर्यो । प्रहरी निरिक्षकले गम लगायो, आज राति लोकल भालेका फिलाले दाँत ब्रश गर्दै सानमिगेल वियरले मुख कुल्ला गरेर साहूनीका काखमा टाउको लेटाउने बिचार गर्यो ।

कूलदीपले भगवान्का पालाको पुष्प बिमान झै गरेर नेपाल एयरलाइन्सको आँखा भित्र पसिसकेको जीर्ण बूढो जस्तो विमानलाई दर्शन गर्यो । ओहो ! हवाई जहाज त बडो काइदाको पो हुने रहेछ । अझ यसलाई बनाउने र उडाउने मान्छे कस्ता हुँदा हन् । बार बेत ब्याएर बेत बसिसकेकी लाहुरी भैँसी जस्तै, ठूलो ठूलो आवाज गर्दै आर ए विस्तारै अगाडि बढ्यो । आकाश चुमौला झैँ गरेर बाटा लाग्यो । कूलदीपले गम गर्यो, अरे भाइ ! हवाईजहाजलाई त बाटो पनि नचांिहने, उसको बाटोमा पूल पनि नचाहिने, बीचमा नरोकिने पनि, गजवको हुने रहेछ । छोरीहरूलाई बेलैमा नै ज्वाईंका घरमा पठाएर फूर्सद पाएका जस्ता देखिने एयर होस्टेजहरूले जहाज भित्रै खाना दिए । शुरुमा त कूलदीपलाई खाना खान निकै अप्ठ्यारो लाग्यो । यता उता साथीहरूलाई हेरेर एकै छिनमा कप्ल्याप कुप्लुक पार्यो । एक हिसाबले रक्सी पनि दिने शुरमा थियो, यसो बिचार गर्यो हैन केटा ! नयाँ ठाँउ छ गढबढ भयो भने ? अर्को पटक खालास् भनेर चित्त बुझायो ।

जसै दुबईको अन्तराष्ट्रिय बिमान स्लथलमा पुग्न लाग्यो । कूलदीपले झ्यालबाट बाहिर हेर्यो, सडक पहेंलै बत्ती नै बत्तीले ढाकेर रङ्किगएको, ठूला र फराकिला बाटाहरू ठूला ठूला घरले सजिएको सुन्दर शहर त्यसै हेरिरहूँ जस्तो लाग्यो । जहाजबाट ओर्लिएर साथीहरूकापछिपछि गयो । अध्यागमन विभागको काउन्टरमा आइमाईहरूले लगाउने जस्ता सेता ग। उन लगाएका, टाउकामा कालो धागाको डोरीले बेरेका अग्ला अग्ला अरबीहरू देख्यो । अर्काका बारीमा काँक्रा चोर्न पसेकी आइमाई जस्तै कालो कपडाले सबै शरीर ढाकेका महिला गणतिर दृष्टी गोचर गर्यो । कूलदीपले घोंिरदै यिनीहरू त अचम्मका मान्छे पो हने रहेछन् भन्यो । दुबईको अध्यागमनबाट बाहिर निस्किएर करिब तीन घण्टा जति पर्खिएपछि एक जना टाउकामा कालो चस्मा अड्याएको घुँडासम्मको हाफ्पाइन्ट लगाएको त्यस्तै पैतीसको देखिने मान्छेले उनीहरूलाई एउटा ट्याक्सीमा राखेर बाटा लाग्यो । गाडीमा चढेको केही समयपछि कूलदीपका समूहमा रहेका सबैबाट पैसा र पासपोर्ट लिएर एउटा सानो कोठामा भित्र पसाउँदै भन्यो, अहिले यहाँ बस्दै गर्नुहोस् । भोलि बिहान म लिन आउँछु र कम्पनीमा काम शुरु गर्नुपर्छ भन्दै केही पाउरोटी र पेप्सीका केनहरू थमाएर गयो । एउटा सानो कोठा जहाँ पहिले देखि नै १४/१५ जना भन्दा बढी मानिसहरू बसेका रहेछन् । कूलदीपहरू थपिँदा त राम्ररी बस्न त के खट्टा राख्न सम्म पनि नहुने भयो ।

पहिले आउने साथीहरूको दर्दनाक कहानी सुनेपछि त कूलदीपको होस ठाँउमा रहेन । ऊ छाँगाबाट खस्यो । उनीहरू सबै ठगिएका थिए । न कसैको रोजगारी भिषा थियो, न कसैको एग्रिमेन्ट थियो । उनीहरू खेलो हराएका ब्यापारी जस्तै भए । कूलदीप मर्ने र बाँच्नेको दोसाँधमा पुग्यो । केही दिन साथीभाइसँगै त्यही साँगुरो कोठामा कोचिएर गुजारा गर्यो । पछिका दिनहरू प्रायः भोक भोकै बित्ने गरे । कूलदीपले दलाललाई सम्झदैँ बिचार गर्यो, सालेलाई अगाडि भेट्न पाए भाला धसेर यताबाट उता निकाली दिने थिँए । देरा दुबईको सेराटन होटल अगाडिको खजुरै खजुरले ढाकिएको एउटा लामो पार्कमा उनीहरूका दिन र रातहरू बित्न थाले । ऊ जस्तै ठगिएका साथीहरूसँगै बसेर कुरा गर्थे । कसैलाई छयरोगले सिकिस्त पारेकी बूढी आमाको यादले सताउँथ्यो, कोही पन्ध्र दिनकी सत्केरी स्वास्नी सम्झिन्थे । कोही नजिकै आएको परीक्षा सम्झेर रुन्थे । कसैलाई सुकम्बासी हुनको पीडा थियो । दलालहरू न लिन आउँथे, न फोन सम्पर्क नै गर्थे । अब यसै परदेशमा नै मरिने भइयो भन्दै सबै चिन्ता गर्थे । उपायको बाटो पता लागेको थिएन ।

पार्कको कुनामा रहेको हरियो दूबो माथि लेटेको कूलदीपले होटलमा राम्रो काम पायो । ठूलो सात तारे होटल, बार, डान्सबार, बिदेशी षोडसी जस्ता लाग्ने केटीहरू, प्रायः धेरै जसो अर्ध नग्न लाग्ने, सबै नशाले मस्त । पैसाको खोलो बगाउने नरहरू कसैको होस् हुदैनथ्यो । गोरा छाला देखिने बेलाइती जर्सी गाई जस्ता नगर बधूहरूका न्यानो काखमा सिरानी लाएर मस्त जवानीको मजा लिई रहेका हुन्थे । त्यो सुन्दर, कामूक र, रम्य लाग्ने वाताबरणले कूलदीपको मन अर्कैतिर मोडियो । उसलाई आफ्नी स्वास्नी पाखे र कूरुप लाग्न थाली । छोराछोरीहरू अभिसाप भए । आफू जन्मेको गाँउ नरक जस्तो लाग्न थाल्यो । मनमनै सोच्यो, आहा ! जिन्दगी हो त यो पो हो । स्वर्गमा इन्द्रले मेनुकालाई यसरी नै नचाउँदा हुनन् । दूबईको जुमेरा बीचमा रहेको बूर्ज अल अरब होटलको जागीर कम पैसाको थिएन । उसले गरेको काम सबैले मन पराए । त्यँहा आउने जाने सबै मान्छेहरूले उसलाई टिप्स दिन्थे, पैसा डलरमा आउँथ्यो । कसैलाई सलाम गर्यो, पैसा नै मिल्छ, यता गर्यो, पैसा नै उता गर्यो पैसा नै । कति जम्मा गर्ने हो पैसा पनि । कूलदीपका भगवान् दाहिना भए । उसकी स्वास्नीले सबै ऋण तिरी । शरीरबाट बाहिर निस्किन लागेको लाज छोपी, छिमेकीको टारबारी किनी, खूर्साने साहूको सिम्ले खेत किनी । छोराछोरीलाई बोर्डिङ्ग पठाउन थाली । कूलदीपको बिदेशको कमाइले के नै भएन र ? गाउँलेहरू उसका पूजारी भए, ब्यापारीहरू करिया जस्तै भए, गाउँमा उनीहरूको रवाफ देख्न लायकको थियो । गरीबका दिन फर्किने रहेछन् । कूलदीपले पैसा कमाउँदै गयो । काठमाडौमा घडेरी किन्यो । ठूलो सिसै सिसा भएको चार तले घर बनायो । वरिपरी कम्पाउण्डले घर घेर्यो । घरमा काम गर्ने नोकर राख्यो । गाडी पनि नयाँ मोडलको किन्यो । गाडी राख्ने ग्यारेज अलग्गै बनायो । कूलदीपको जीवन गाउँबाट शहरतिर सर्यो ।

अब कूलदीपले अरुको गुलामी नगर्ने सोच बनायो । आफ्नै देशमा पैसा लगानी गर्छु । नाईट क्लब खोल्छु । डान्सबार रेष्टरेण्ट खोल्छु । जवानी पोखिन लागेका अप्सरा जस्ता सुन्दरीहरू सेविका हुन्छन् । बिदेशतिर खोलिने क्लब भन्दा कम हुदैन । वरिपरी रुख र पोथराहरूले घेरिएका देख्दै मन लोभ्याउने खालका चाइनिज ईँटाले छाएका कटेज स्टाइलका घरहरू हुनेछन् । त्यसमा क्लास छुट्याउँछु । बिदेशी र देशका राजा महाराजाका लागि लक्जरियस् हुन्छन् । ब्यापारी, ब्यबसायी तथा उच्चतहका सरकारी कर्मचारीका लागि अर्कै ब्यबस्था हुन्छ । निम्न आय भएका तर मनोरन्जन लिनेहरूका लागि उनीहरूको औकात अनुसारको तर्जूमा गरिनेछ । मानिसहरूको ओइरो लगाइ दिन्छु । महाबौद्ध, बसपार्क र कलंकी तिरका जस्ता सस्ता नगरबधूहरू मेरो डान्सबारमा हुदैनन् । महंगा र स्तरीय ग्राहक सेविकाहरू राखिने छन् । केही सन्दरीहरूलाई बजार ब्यबस्थापनमा नियुक्ति गर्छु । उनीहरूको यूनिफर्म हुन्छ । घूँडा माथि सम्मको मिनी स्कर्ट, सर्ट, तथा कोट लगाएर अरेबियन अत्तर छर्किएर पेन्सिल हिल लगाएका मेरा महिला कर्मचारीहरू देख्दैमा मान्छेहरूको होसले ठाउँ छोड्छ । उनीहरू भन्सार कर्मचारीहरू कहाँ जान्छन्, पुलिस अफिसर, सरकारी विभागका महानिर्देशक, सचिव, मुख्य सचिव देखि लिएर कहाँ सम्म पुग्दैनन् र ? उधोगी, ब्यापारी, ब्यबसायी यिनीहरूलाई देखेपछि को चाँही कामातूर हुदैनन् होला ? ब्यापार र ब्यबसाय बुद्धि र दिमागले गरिन्छ, मुटु र ह्दयले गरिन्न । आइडिया लगाएपछि पैसा आफैँ आउँछ । पैसा मैले खोज्न जानु पर्दैन । यहाँ मानिसहरूलाई अर्को फाइदा हुन्छ । पर्खाल नाघेर मन्त्रीले अर्काकी श्रीमतीतिर जानु पर्दैन । अर्काकी श्रीमतीलाई प्रेमपत्र लेखेर विबादमा परेका पूर्व गृहमन्त्रीले अर्कोतिर जानु पर्दैन । बूढेसकालमा प्रधानमन्त्री भएर जवान महिला स्वकीय सचिव राखेर नाम बिगारेका लौह पुरुषको काम बासना यही मेटिने छ । सिडियो सापहरू अस्लिल भिडियो हेरेर माया लाग्दा खोया बिर्के पसलतिर पस्नु पर्दैन । सबैलाई आफूलाई फिट हुने ब्यबस्था मिलाई दिन्छु । कुनै कटेजमा पहेंला रङ्गका बत्ती बालेका हुन्छन् । कुनै कटेजमा राता बत्तीहरू बालेका हुन्छन् । हरेक टेबुलमा मधुरा मैन बत्तीहरू बालिन्छन् । कुनातिरका टेबल लिएर बसेका जोडीहरू चुम्बन गर्नमा मस्त हुन्छन् । लुगाहरू अर्ध लगाउन वा पूरा लगाउन कुनै सरोकार हुदैन । त्यँहा नाङ्गो नाच हुदैन, तर तरीकाको नाङ्गो नाच हुन्छ, कसैले प्रश्न गर्न नमिल्ने नाच । सोम रसको नशा भन्दा पनि काम बासनाको नशा बढी हुन्छ । आधुनिक मान्छेहरूको यस्तै माग बढी भएको छ । यसलाई आधनिक सभ्यताको परिचय भन्छन् । हामी जमाना अनुसार चल्न सिक्नु पर्छ । आफू सधैँ ब्यस्त हुनपर्ने । त्यत्रा कर्मचारीहरू समाल्नु पर्यो । ठूला ठूला साहूमहाजन, राजा, महाराजा, नेता अतिथिहरूको सत्कार गर्नै पर्यो, नत्र लक्ष्मी अर्कोतिर बाटा लाग्छिन् । घरमा खासै समय दिन सकिन्न । श्रीमती र बच्चा कराउँदै गर्छन् । तिमीहरू खाँदै गर, म आउँछु भन्ने अनुरोधात्मक निर्देश दिन्छु । आफूले पनि मनोरन्जन गर्नै पर्यो । मलाई कस्ले नाई भन्छ, सबै मेरा कर्मचारी हुन् । म साहू हूँ । जो राम्री छे ऊ मेरी हुन्छे । मागे जति पैसा हुर्याइदिन्छु । बाथरुममा अरेबीयन जस्मिन छरिन्छ । हामी जसै बाथरुममा पसी चिसो पानी सावरबाट झर्न थाल्छ, एक्कासी चिसो पानीले झसङ होइन्छ भन्दै गर्दा दुबोले ढाकिएको चौरमा पानी लगाउन आएको मालीले स्प्रिङकल खोली दिएछ । धारो खोलेपछि आएको चिसो पानीको फोहोरा एक्कासी उसको अनुहारमा पर्दा कूलदीप झसङ भएर ब्युँझ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *