Skip to content

‘भगजोगनी’ की कवयित्री करुणालाई पत्र


श्रद्धेय कवयित्रीज्यू,

आज बल्ल फुर्सद मिल्यो । साहित्यका कुरा गर्ने अवसर भेटियो । मैथिली भाषाको हिजो र आज केलाउन पाइने भयो । कामको कुरा छैन, सिर्जनाको कुरा मात्र गर्दै छु । साझा प्रकाशनले सप्तरीका साहित्यसाधक गुरुवर देवेन्द्र मिश्रको ‘बगिया क गाछ’ बालकथा सङ्ग्रह पछि तपाईंको ‘भगजोगनी’ कविता सङ्ग्रह हालै प्रकाशित गरेको पाउँदा खुशी लाग्यो । सम्झेर किताब पठाउनु भएछ । पढ्न पनि पाइयो । कविताको सुभाष र स्वाद एकै पटक भेटियो । त्यही खुशी साटूँ र बधाई पनि दिऊँ भन्ने इरादाले कलम उठाएँ । मेरो कलममा मैथिली भाषामा मन खोल्ने त्यत्रो भाषिक तागत त छैन । रहर छ तर कलममा प्राण छैन । रहरले प्राण भर्ला कि भनेर आश सङ्गालेको पनि दुई दशकभन्दा वेसी भइसकेछ । एक दिन अवश्य मनोकाङ्क्षा पूरा होला । सास छउँञ्जेल आश गर्न सक्नुपर्छ भन्ने मान्यतामा मख्ख परेर बसेको छु । अझ, मेरो पाठकीय प्रतिक्रियाको अपेक्षा गरेको महसुस भएकाले साहित्यका एकाध प्रसङ्ग सार्वजनिक गर्न खोज्दै छु । मेरो वैयक्तिक अनुभूति नै ‘भगजोगनी’ कविता सङ्ग्रहप्रतिको मेरो प्रतिक्रिया हो भनेर लिइदिनु भएमा श्रेष्यकर हुनेछ ।

कवयित्रीज्यू, असल साहित्य मस्तिष्कको मसीले लेखिन्न, हृदयको मसीले लेखिन्छ । हृदयमा मसी सञ्चित गर्न ठूलो, त्याग र तपस्या चाहिन्छ । लेख्छु भन्दैमा नलेखिने र लेख्दिन भन्दा पनि कतै न कतैबाट प्रष्फुटित भइहाल्ने कुरो हो– साहित्य । साहित्यकार समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । हुन त साहित्य क्षेत्रमा पारिश्रमिक पाइन्न, कमसल कुरा चाहिन्न ! धेरै भए बन्दा एउटा ‘कार’ बनिन्छ ! यसमा कुरा सोझो गर्नुपर्छ । सपना ठीक्कको साँच्नुपर्छ । धर्ती नछाडी सगरमाथा टेक्नुपर्छ । मूल्य दिने मन गर्छन्, सित्तैमा लिने मन गदैनन् तर साहित्यसेवकलाई कसले पो मूल्य दिन सकेको छ र ! साहित्यको उचाइ वृद्धि गर्न, परम्परा जिउँदो राख्न र तीतो पाटोलाई मीठोमा बदल्न भएको कुरा लेख्नैपर्छ । त्यसैले रहरको खेती गर्नैै पर्यो । त्यसैका लागि मन काटेर होस् कि तन काटेरै होस्, आफ्नो मसी खर्चनुपर्छ, विवेक लगानी हुनुपर्छ, कलमी पौरख देखाउनुपर्छ । अन्तमा त्यसले शङ्ख फुक्नुपर्छ । अचेल शङ्खको आवाजमात्र सुनिन्छ । कलमबाट शङ्खको आवाज निकाल्न लेख्ने कुराहरूमा देखेको चाहियो, भोगेको चाहियो, अनुभवले खारिएको चाहियो । अझ लेख्दा र कृति नै प्रकाशन गर्दा आफ्नो परिवारको पर्खाल नतोडियोस् भन्ने कुरामा हेक्का पुर्याउनुपर्छ । त्यसैले थोरै समय मात्र साहित्यकार बन्न लगाउनुपर्छ । धेरै समय आफ्नै पारिवारिक रीतिथिति मिलाउन लगाउनु वाध्यता छ ।

कवयित्रीज्यू ! वस्तुको मूल्य बढ्यो, गुणस्तर घट्यो ! तर, साहित्यको गुणस्तर भने बढ्नुपर्छ ! जसले जति भुके पनि महल, महल मात्रै हो, महल मात्रै देख्छ, झुपडी देख्दैन । कतै हेर्नैपर्छ कि क्या हो भनेर कोल्टो फर्कन्छ । यसो इशारा दिएमा झस्कन्छ । बरू उसलाई जेलको चिसो छिँडी प्रिय छ तर इमान्दारिता अप्रियको अप्रिय छ । हामीलाई जे चाहिएको थियो, त्यो बढ्यो, हामीलाई नचाहिएको घट्यो । महललाई त बढेकैमा सुख छ । पाँच प्रतिशत बढ्दा दश प्रतिशत थप्न पाइन्छ । झुपडीलाई घट्छ भन्ने आश छ । त्यो सास गए पछि मात्र पूरा हुन सम्भव छ । बोलेको ध्वनि फिर्ता हुन्न, नालबाट निस्केको गोली फर्कन्न । बढेको भाउ पनि घट्दैन । घटाउने कुरा महललाई रुच्दैन । उसले नरुचाएको कुराको विपक्षमा उभिएर लेख्नुपर्यो, लेखनीकर्मबाटै शङ्खको आवाज निकाल्नुपर्यो । त्यस आवाजले सिलोटहरू उठ्नुपर्यो, टाठाबाठा भनाउँदा छुराहरू कुलेलम ठोक्नुपर्यो ।

अगाडि नै उभिइसकेका लेखक र केही विवेकवाला पाठक एकै स्वरमा मलाई चाहिँ भन्छन्– तीतो कुरा पकाउनुस् ! मीठो परिकार तुल्याउनुस् ! खट्टीमिठ्ठी बनाउनुस् ! सबैले भोजन ग्रहण गर्ने इच्छा पालून् । नौलो स्वाद भेटून् । धेरै किन अल्मलाउनू । पाउने आश नपाल्नुस्, लेखक बन्ने आश गर्नुस्, साहित्यकार हुने सम्भावना रोज्नुस् । अझ उनीहरू थप्छन्– तीतो कुरा बटुल्नुस्, मीठो शैलीमा उतार्नुस् । छोटो पार्नुस् । पीरो पार्नुस् । तातै राख्नुस् । रिसले पारो तातेकालाई सेलाउने बनाउनुस् । पहिलेदेखि सेलाएकालाई तताउनुस् । आफू नहाँस्नुस्, अरूलाई मात्र हँसाउनुस् । कलमको तागत देखाउनुस्, वर्तमानलाई राम्ररी केलाउनुस् । लुकाएर नलिनुस्, देखाएर लिनुस् । जसबाट जे लिनुहुन्छ, त्यसलाई नै त्यही रूपमा फर्काउनुस् । त्यो लिपीबद्ध भएर फर्कनुपर्छ र हाँसोलाई आँसुमा बदल्नुपर्छ, आँसुलाई हाँसोमा रूपान्तरित गर्नुपर्छ । यसो गर्दा कसैले औँलो ठड्याउन नसकून्, वेफ्वाँकको रहेछ नभनून् । त्यस्तो लेख लेख्नुस्– एउटैले वर्तमान बोलोस्, भूत तर्साओस्, भविष्य थर्काओस् । त्यसमा दम होस्, धम्की नरहोस् । भ्रष्टको तीन पुस्ते नालीबेली केलाओस्, निमुखालाई प्रष्ट वताओस् । हामीलाई त्यस्तो साहित्यको आवश्यकता छ जसमा जोस होस् तर बेहोस् नहोस् । व्यङ्ग्य होस्, खोक्रो आदर्श नरहोस् । हाँस्य रस होस् तर वीर रस नमरोस् । हाँस्दाहाँस्दै भुतुक्कै पारोस् । भुतुक्क भइसकेकालाई पनि बेलाबखतमा हँसाओस् ।

कवयित्रीज्यू, अर्का एक जनाले मेरासामु मुख खोले– म लिन चाहन्छु, चाहेरै पनि दिन सक्दिन । बुद्धि किनेरै पनि सकिन्न । कीर्ति जोखेर पनि जोखिन्न । बेक्कारमा बुद्धि दुई पैसामा नबेच्नुस् । सके महङ्गोमा बेच्नुस् तर सदुपयोगमा मात्र । नबिके दुरुपयोग नगर्नुस् । तपाईंका तात्ताता अक्षरले झुपडीले पनि महलको सपना सङ्गाल्न सक्छन् । लाटोले पनि बाठो बन्न पाउँछ । आँसुले चाहिँ हाँसो पाउँछ । भ्रष्टनाइके गहिरो नालामा पर्न पुग्छ । निर्दोष आनन्दले पाखामा उत्रन पाउँछ । तपाईं जुटे, संसार जुट्न वाध्य हुन्छ । तपाईं लुके संसार फुट्न सक्छ । तपाईंसँग विषय छ । तपाईंसँगै कलम छ । शब्द पनि तपाईंसँगै छ । संसार त व्यापारीकरणको राजधानी भइसक्यो । विना नलिई दिन्न भन्छ । किन त्यसो गर्छस् भन्दा– पेट मार्न सकिन्न, आङ नङ्ग्याउन पाइन्न, रुखमुनि बस्न मिल्दैन भन्छ । तपार्इं भने व्यापारी नबन्नुस् । व्यापार गर्न नलेख्नुस् । लेखेर व्यापारी नबन्नुस् । विवसता बुझ्नुस् । कलमीकर्मले खबरदारीमा जुट्नुस् ।

कुरो जान्छ ! कुलो पनि जान्छ तर व्यवहार जाँदैन ! गयो कि संसार चल्दैन ! नचलेको संसारमा अडिन गाह्रो छ ! मुखले भन्नु र कामले फत्ते गर्नुमा आकाश–धर्तीको फरक छ । नेपालमा साहित्य बिकिरहेको छैन । बिक्न खोजे पनि चटपटे लेखकका चटपटे पत्रिका बिक्ने हुन् । साहित्यमा अरू बाटोबाट आएको रकम लगाउनुपर्छ । यत्ति बासबाट जोगाउँछु, यत्ति गाँसबाट कटाउँछु, उत्ति कपासबाट घटाउँछु भन्नु पर्या छ । किताब बजारमा जान्छ, पाठक भेट्दैन, कुनै फरक्क फर्कन्छ । कुनै भने पसल मालिककै सेवामा हाजिर भइरहन्छ । अनुत्पादक काममा धन खर्चेकोमा उता घरका गृहमन्त्री÷मन्त्राणीबाट रामायण सुन्नुपर्छ । सुनेन भने महाभारतमै जाकिनुपर्छ । कहिरन यस्तै छ । यस बारे कुरा सुन्नुस्, मनमा गुन्नुस् र होसको ओखती पिउनुस् । यत्तिखेर नेपालमा सोर्स बिक्छ, बरू फोर्स बिक्छ, भनसुन काम लाग्न सक्छ तर अनुरोध जस्ताको तस्तै फर्कन्छ । कल्पनाले कल्पना गर्न पनि ठाउँ पाउन्न ।

अझ कवयित्रीज्यू, तपाईं त नामले नै करुणा पर्नु भएछ । नाम झैँ करुण भाव करुण ढङ्गले नै व्यक्त गर्न खप्पिस रहेको पाएँ । आजकल बौद्धिक वर्गले दिएको चेतनाको ज्योति ग्रहण गर्ने कमै हुन्छन् । एउटा कर्तव्यको यात्रा गरिँदै छ । हुन त, मसी बिक्दै छ, कलम बिक्दै छ, शब्द बिक्दै छ, विचार त सार्वजनिक हुँदैछ । कम्तिमा समाजले एउटा राजमार्ग भेट्दै छ । कसैले पनि साहित्यकारलाई धोकामा राख्न पाउँदैन । अति गर्न कसैले पनि पाउँदैन । रावणराज सधैँ टिक्दैन, रामराज नआई छाड्दैन । यसै भनेर चित्त बुझाउनुको विकल्प छैन । सधैँ यही र यस्तै वेवास्था भाव राख्ने र रहने अवस्था नआउला भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हास्नुपर्या छ ।

साहित्यको मरुभूमि मानिने सप्तरी जिल्लामा पनि प्रशस्त साहित्य छ तर कमै लेखिएको छ भन्ने कुरालाई तपाईंले प्रमाणित गरेर देखाइदिनुभयो । यहाँ त साहित्यिक खुराकको खानी नै रहेको देखिरहेको छु । यहीँको भावभूमिमा टुकुटुकु हिँड्दै देवेन्द्र मिश्र, देवकरण माझी, विक्रमश्री, धीरकुमार श्रेष्ठ, राजेश विद्रोहीहरू माथिल्लो कोटिमा पुगिसकेका छन् । साङ्गीतक क्षेत्रमा मलेठका सत्यदेव यादव, डाढाका कुमार बब्लु, बसानपट्टीका वीरेन्द्र सप्तरीया, शैलेन्द्र विश्वकर्मा, कल्याणपुरका मायानन्द विश्वकर्मा, राजविराजका राजेश्वरप्रसाद साहहरूले जिल्लाको रथ हाँकिरहेका छन् । उसो त पत्रकारिता जगत्बाट श्यामसुन्दर यादव, श्रवण देव, राजेश झा, वैद्यनाथ यादव, सुधा देव, राजु विश्वकर्मा, देवनारायण यादव, जितेन्द्र झा जितु, अम्बिका दाहाल, माला कर्ण, नवीन गुप्ताहरूजस्ता दर्जनौँ युवा पत्रकारहरूले जीवनै यसै क्षेत्रमा व्यतित गरिरहेका छन् । त्यसो त शिशुप्रसाद देवकोटा, शिवहरि भट्टराई, व्यासशंकर उपाध्याय, बैद्यनाथ झा, अनिलकुमार अनल, मुरलीप्रसाद यादव, भोलारमण उप्रेतीहरू, सुरेन्द्र गुप्ता, धीरेन्द्र साह, देवराम यादव, मनोहर पोखरेल, प्रकाश खतिवडा, सतिस दत्तहरूजस्ता प्रौढ र अग्रज पुस्ताले निर्माण गरेको इतिहास यत्ति चाँडो भुल्न मिल्दैन । तिलाठीका सुधानन्द झा, वीरपुरका देवेन्द्र मिश्र, धनराज कम्पनीका स्व. बुधुरलाल जोकर, दुर्गीलाल विश्वकर्मा, विन्दीलाल विश्वकर्मा, सकरपुराका भूषण सिंह ‘भवर’, मलेखपुरका महेन्द्र मण्डल ‘वनवारी’, शम्भुश्री, बनौलीका देवकरण माझी, खुरहुरियाका डा. शिवशंकर यादव, श्यामसुन्दर यादव, कविलासाका रवेन्द्र मडर ‘रवि’, राजविराजका मीना ठाकुर, विद्या मिश्रा ‘भारती’, स्वतन्त्र विकास, गजेन्द्र माझी, ब्रह्मपुर मा.वि.का शिक्षक सागर वीर कडारी, खुरचुहियाका रामदेव चौधरी ‘अजनबी’, अशोक झा ‘सन्तोष’, महदेवाका सुजितकुमार राउत, हनुमान माझी, घोघिदाहाका घुरन चौधरी, मनोज तिवारी, पवन सायवाल, मुक्तार आलमहरूले समेत निरन्तर जसो गीतहरू लेखेर सप्तरीको स्थान उच्च तुल्याएका छन् । त्यसै गरी राजविराजकी मञ्जु श्रेष्ठ, साधना झा, बच्ची मिश्रा, करुणा झा, पार्वती राउत, कमला भंसाली, विवेकानन्द झा, बनैनियाका आनन्द झा ‘अग्निहोत्री टुहुरे’, मौवाका आयुषी झा, कमलेश झा, रूपनगरका भोजराज रेग्मी ‘मार्शेली’, लक्ष्मी रिजाल, भक्ति लामिछाने, कृष्ण तिमिल्सिना, कविलासाका अरविन्दकुमार यादव, लिटिल फ्लावर मा.वि., राजविराज मोडेल क्याम्पस र वल्र्डभिजन क्याम्पसमा शिक्षणरत् नन्दलाल आचार्य आदिले गीत, कविता, गजल लेखनमा विशेष सक्रियता देखाउँदै आएका छन् । राष्ट्रिय चिन्तनलाई समेत गम्भीरताका साथ आत्मसात् गर्दै यहाँ सयौँ सर्जकहरू भित्रभित्रै दबेर बसेको पाएको छु ।

चित्रकलाका क्षेत्रमा भने राजविराजका गोविन्द आजाद, भुवनेश्वर राउत, हरिपुरका प्रमोदकुमार वि.क., बनरझुलाका दुर्गानन्द चौधरी, रामानन्द चौधरी, हनुमाननगरका हरिओम मेहेता, मोहनपुरका जयराम वि.क., भङ्गाहाका हरि वि.क. आदिले सप्तरी जिल्लाको चित्रकला क्षेत्रमा गौरवशाली स्थान ओगटेका छन् । यी चित्रकारहरू व्यवसायिक आर्टस् र फाइन आर्टस् दुवै क्षेत्रमा सक्रिय छन् । तीमध्ये पनि हरिपुरका प्रमोदकुमार वि.क. चाहिँ फाइन आर्टस् क्षेत्रमा अग्रस्थानमा छन् । त्यसो त प्रमोदकुमार वि.क., दुर्गानन्द चौधरी, हरिओम मेहेताहरू काठमाडौँ स्थित ललितकला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टस्मा अध्ययनरत् समेत छन् । यी चित्रकारहरूले नेपाल र भारतका विभिन्न स्थानहरूमा सोलो (एकल) र संयुक्तरूपमा चित्रकला प्रर्दशनी गराइसकेका छन् । गाँस, वास र कपासको मुख्य माध्यम चित्रकारितालाई नै बनाएर जीवनरथ हाँकिरहेकाहरूको सङ्ख्या समेत उल्लेखनीय छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको मौलिक सांस्कृतिक सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । मूर्तिकलाका क्षेत्रमा राजविराजलाई कार्य क्षेत्र बनाई कार्यरत् तापस पाल, कञ्चिराका सिम्रिकलाल चौधरी, ज्ञानबहादुर चौधरी, इन्द्रदेव वि.क., हरिपुरका नागेन्द्र वि.क. आदिले सप्तरी जिल्लाको मूर्तिकारिताको रथ हाँकिरहेका छन् । विशेषतः सहिदहरूको शालिक, धार्मिक मूर्ति, वरिष्ठ व्यक्तिहरूको प्रतिमा, कार्टुन मूर्ति, चेतनामूलक मूर्ति निर्माण क्षेत्रमा सप्तरीका मूर्तिकारहरूले आ–आफ्नो प्रतिभा देखाइरहेका छन् । यहाँ धार्मिक पर्वहरूमा देवीदेवताहरूका मूर्तिहरूको माग अत्यधिक रहेको पाइन्छ । नेपालको मिथिलाञ्चल कला–संस्कृति, रहनसहन, पर्व मेलामा धनी छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा ओगटेको छ ।

कवयित्री करुणा झाज्यू, तपाईंका कवितामा मैथिली भाषाका कोमल र जनजिब्रोमा पचेका शब्दहरू मनग्यै परेका छन् तर हिन्दी भाषाका कथ्यमा प्रिय शब्दहरू पनि आएका छन् । भावनालाई शब्दले बाधा पार्नुहुन्न भन्ने मान्यता लिनुभएछ । यसमा पनि हिन्दी र मैथिली एकै बाउआमाका सन्तान हुन्, उही गुँडमा एकै रङ्ग हुन्छ भन्ने मान्यता बोकेका विवेकी कहलाउँदा नेता÷पाठकहरू पनि भेटेको छु । आफ्नो जिउँदोजाग्दो प्राणप्रिय मैथिली भाषालाई छाडी हिन्दी भाषालाई आत्मसात् गर्ने यी नेतानेतृहरूको नालीबेलीको कहिरन बुझेर, बुझिनसक्नुको छ, भनेर भनिनसक्नुको छ । यस बारे मेरो प्रतिक्रियाले उनीहरूको मुखमा बुझो लाग्न सक्छ । तपाईंले पनि परेको बेलामा कहाँ–कहाँ बुझो लगाउनुपर्ने हो तलका कुरालाई आधार बनाएर सारथि बनी साहित्यको रथ हाँक्नुहोला ।

मैथिली भाषालाई बंगाली र हिन्दी भाषाको उपभाषिकाको रूपमा सम्बन्धित भाषाका विशेषज्ञहरूले सिद्ध गर्न खोजेर आफ्नो भाषाप्रति अन्धप्रेम दर्शाएका छन् । भाषावैज्ञानिक दृष्टिले मैथिली मागधी अनुवंशिक भाषा हो । तर हिन्दी शौरसेनी अनुवंशिक भाषा हो । यी विभिन्न कारणले समेत मैथिली स्वतन्त्र भाषा हो ।

क) मैथिली भाषाको सुदीर्घ साहित्यिक परम्परा हिन्दीभन्दा प्राचीन छ ।

ख) मैथिलीको स्वतन्त्र सांस्कृतिक, धार्मिक एवं सामाजिक विशेषता छ । त्यसैले मैथिली सम्पूर्ण आर्य भाषाभन्दा विलक्षण मानिन्छ ।

ग) मैथिली भाषाको स्वतन्त्र लिपि छ जसलाई तिरहुता अथवा मिथिलाक्षर भनिन्छ ।

अझ, कवयित्री झाज्यू, विश्व मानचित्रमा १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नेपाल भौगोलिकरूपमा सानो भए पनि भाषिकरूपमा ठूलो छ । विश्वमा अस्तित्वमा रहेका भारोपेली, द्रविड, चीनी या एकाक्षरी, सेमेटिक–हैमेटिक, यूराल–अल्टाइक, काकेशियन, जापानी कोरियाई, मलय–पाँलिशियन, आस्ट्रो–एसियाटिक, बुशमैन, बांटू, सूडान र अमेरिकी परिवार गरी जम्मा १३ भाषा परिवारमध्ये भारोपेली, भोटचिनियाँ (भोटबर्मेली, चीनी या एकाक्षरी तिव्वती), आग्नेली (आस्ट्रिक) र द्रविड गरी चार परिवारका भाषा मात्र नेपालमा बोलिन्छन् । नेपाल बहुभाषिक राष्ट्र हो । नेपालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषा मान्दै आएकोमा अन्तरिम संविधान २०६३ ले भने नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनेको छ भने अरू सबै भाषालाई राष्ट्रभाषा मानेको छ । भारतले भारतीय संविधानको आठौँ अनुसूचीमा सूचीकृत १८ भाषामध्ये १८ औँ संविधान संशोधनबाट नेपाली भाषालाई समेत समावेस गरेको छ । २०५८ सालको जनगणनाअनुसार ४८.९८ प्रतिशत नेपालीले नेपालमा नेपाली भाषा मातृभाषाको रूपमा बोल्छन् । त्यस्तै १,२८६,८२४ जनाले भारतमा नेपाली भाषा बोल्छन् । नेपालीहरू बहुभाषी, बहुसांस्कृतिक भएका जाति भनेर विश्वमा चिनिएका छन् । यही विविधतामा नै नेपालको राष्ट्रियता अडेको छ । आ–आफ्नै परम्परा एवं सांस्कृतिक पहिचान बोकेका भाषालाई राष्ट्रिय पहिचान दिएर नेपालको संविधानले मातृभाषाहरूलाई राष्ट्रका अमूल्य निधिका रूपमा स्विकारेको छ ।

त्यसै गरी नेपाल र भारतमा स्वतन्त्र एवं सम्भ्रान्त भाषाको रूपमा परिचित मैथिली भाषा नेपालको दोस्रो ठूलो भाषा हो । २०५८ सालको जनगणनाअनुसार १२.४ (२७,९७,५८२ जना) प्रतिशत नेपालीले मैथिली भाषालाई मातृभाषाको रूपमा बोल्दछन् । भारतमा भने ६,१२१,९२२ जनाले मैथिली भाषा बोल्छन् । भारतले मैथिली भाषालाई पनि संविधानको आठौँ अनुसूचीमा राखेको छ । विशेष गरी महोत्तरी, सर्लाही, धनुषा, सिराहा र सप्तरी जिल्लामा मैथिली भाषा बोलिन्छ । मिथिला क्षेत्रको पूर्व, पश्चिम, उत्तर, दक्षिण क्रमशः कोशी, गण्डकी, हिमालय, गंगा नदीले घेरेको ५५,९७० वर्ग कि.मि. क्षेत्रफलमा मैथिली भाषा बोलिन्छ । चम्पारण, मुजफ्फरपुर, दरभङ्गा, मुङ्गेर, भागलपुर, पूर्णियाका केही क्षेत्र र नेपालका दक्षिणी तराई भागका केही जिल्लामा मैथिली भाषा बोलिन्छ । प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म नेपाल र भारतमा मैथिली भाषा पठनपाठन हुन्छ । नेपाल सरकारले मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि रू. एक करोडको अक्षयकोष खडा गरी विद्यापति पुरस्कारको घोषणा गरेको छ । यसबाट पनि मैथिली भाषाको समुन्नतिमा ठोस योगदान पुग्न सक्छ ।

एक गणनाअनुसार विश्वमा बोलिने भाषाको संख्या २,७९६ पुगेको छ । नेपाल पनि बहुभाषिक मुलुक हो । वि. सं. २०५८ को जनसंख्या गणनाअनुसार यहाँ ९२ थरीका मातृभाषी वक्ता बसोबास गर्दै आएका छन् । मैथिली भाषा अध्ययन गर्ने अध्येताहरूमा जर्ज अव्राहम ग्रिअर्सन (१९०३) पहिला मानिन्छन् । उनले भारतका भाषाहरूको चर्चा गर्ने क्रममा मैथिली भाषाको चर्चा गर्दै मैथिली भाषालाई अरूबाट भिन्न भाषाका रूपमा चिनाएका छन् । जे होस्, मैथिली भाषा नेपालको संवैधानिक मान्यताप्राप्त राष्ट्रभाषा हो । अन्तरिम संविधान २०६३ ले नेपालभित्र बोलिने सम्पूर्ण मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ । यसर्थ संविधानतः मैथिली भाषा नेपालको राष्ट्रभाषा हो । मैथिली भाषा देवनागरी लिपि बाहेक आफ्नै तिरहुता वा मिथिलाक्षर लिपिमा अभिव्यक्त गर्न सकिन्छ । संसारमा बोलिने हरेक भाषामा लामो ऐतिहासिक कालखण्ड, भाषिक भूगोल र आपसी सम्पर्कको अभावमा विभिन्न भाषिका र उपभाषिकाहरू जन्मन पुग्दछन् । यही सत्यताका आधारमा डा. ग्रियर्सनका अनुसार मैथिली भाषामा सात विभिन्न भाषिका रहेको पाइन्छ ।

१) आदर्श, २) दक्षिणी, ३) पूर्वी, ४) छिकाछिकी, ५) पश्चिमी, ६) जोलही, ७) केन्द्रीय जनधारणाको मैथिली ।

भौगोलिक दृष्टिले मैथिली भाषाका निम्नलिखित क्षेत्रहरू (उपभाषिकाहरू) छन् ः

१) आदर्श मैथिली–उत्तरी दरभंगा क्षेत्र, २) दक्षिणी मैथिली– क) दक्षिणी दरभंगा, मधुवनी, ख) पूर्वी मुजफ्फरपुर, सीतामढी, ग) उत्तरी मुंगेर, घ) उत्तरी भागलपुर, ङ) पश्चिमी पूर्णिमा, ३) पूर्वी मैथिली– क) पूर्वी पूर्णिया, ख) मालदह तथा दिनाजपुर, ४) छिकाछिकी मैथिली– क) दक्षिणी भागलपुर, ख) उत्तरी सन्थाल परगना, ग) दक्षिणी मुंगेर, ५) पश्चिमी मैथिली– क) पश्चिमी मुजफ्फरपुर, ख) पूर्वी चम्पारण, ६) जोलही मैथिली– क) उत्तरी दरभंगाका मुसलमानहरूको बोली, ७) केन्द्रीय जनधारणाका मैथिली– क) पूर्वी सीतापुरा बोली, ख) मधुवनी जिल्लाका निम्न श्रेणीका बोली, ८) नेपालमा विद्याजीवि जातिका बोली– ब्राह्मण, कायस्थ, राजपूत आदिको बोली र कृषिजीवि जातिका बोली– यादव, धानुक, कुर्मी आदि ।

मैथिली भाषा भारोपेली भाषा परिवारको भाषा हो । झापादेखि बारासम्म मधेशका जिल्लाहरूमा बसोवास गर्ने मैथिलीहरूले व्यवहार गर्ने गर्दछन् । हुन त मैथिली भाषीहरू राजधानी लगायत देशका पचहत्तर वटै जिल्लामा पुगेका र बसोबास गरेका पाइन्छन् । अल्प जनसंख्या भएका ठाउँहरूमा मैथिलहरूले स्थानीय भाषाकै प्रयोग गरेको पाइन्छ । यति ठूलो क्षेत्रमा फैलिएको हुनाले नै यसका अनेकौँ क्षेत्रीय भाषिका हुनु स्वभाविकै हो । भौगोलिक दूरी, सामाजिक सम्पर्कको अभाव र अन्य भाषाको प्रभावका कारण मैथिली भाषाका विभिन्न क्षेत्रीय भेदहरू रहेको पाइन्छ । नेपालमा विद्याजीवि जातिका बोली र कृषिजीवि जातिका बोली गरी मैथिली भाषाको २ वटा मुख्य स्थानीय भेद रहेका छन् । यसभित्र अनेकन् उपभेद छन् जसको अध्ययन भइसकेको छैन ।

यस प्रकार कवयित्री करुणा झाज्यू, आध्यात्मिक एवं दार्शनिक दृष्टिकोण, नारीवादी चेतनाको प्रष्फुटन, विद्रोही आवाजलाई उच्च स्थान, दिगो मित्रता, शान्ति र सौहार्दताको कामना, प्रकृतिको सजीव चित्रणमा पोख्त, पुर्खा एवं सहिदहरूको त्यागको उच्च मूल्याङ्कन, वर्तमान झल्काउने र थर्काउने आवाज बुलन्द जस्ता काव्यगत प्रवृत्तिहरू तपाईं भित्र पाएँ । अन्त्यमा, नेपालको नेपाली पछिको शक्तिशाली र समृद्धशाली मैथिली भाषामा कलम चलाएर ‘भगजोगनी’ कविता सङ्ग्रह साहित्यमन्दिरमा अर्पण गर्न सक्नुभएकोमा हार्दिक बधाई अनि साहित्य लागि अँध्यारो यो परिवेशमा प्रतिपल जूनकीरीझैं चम्किरहनुहोस् भन्ने आकाङ्क्षा सहित शुभ–कामना व्यक्त गर्दै पत्रान्त्र गर्दछु ।

धन्यवाद !

1 thought on “‘भगजोगनी’ की कवयित्री करुणालाई पत्र”

  1. श्री महावीर माध्यमिक विद्यालय
    सम्पादक/संयोजकज्यू
    हामीले मझेरी डट कम घुम्ने मौका पायौँ । साहित्यका अतिरिक्त शैक्षिक खुराक समेत मिलेकाले विद्यालय परिवार लाभान्वित भएको महसुस गरेका छौँ । बदलिँदो राजनीति र व्यापारीकरणका तात्ताता राजनैतिक, सामाजिक, शैक्षिक र अन्य क्षेत्रका समाचारले वाक्कदिक्क भएको अवस्थामा साहित्य संसारमा अलमलिन पाउँदा आनन्दानुभूति मिल्दो रहेछ । साथै, यसमा प्रकाशन हुने विविध शैक्षिक विज्ञहरूको शैक्षिक चिन्तन पनि उत्तिकै पठनीय र मार्गनिर्देश खुराक सावित भएको छ । अझ कहिले काहीँ ‘शिक्षक अनुभूति’ स्तम्भ खडा गरी शिक्षकहरूका विचार र अनुभूतिलाई स्थान दिन सके नेपालको शैक्षिक क्षेत्रको कायापलटमा यस वेभको समेत योगदान अविस्मरणीय रहने छ । व्यक्तिगत प्रयासबाट समेत यत्तिको ज्ञानबद्र्धक र जानकारीमूलक काम भएकोमा अघोरै प्रभावित छौँ । असल नियतले गरिएका हरेक काम साधुवाद योग्य हुन्छन् । सन्दर्भ सामग्री त मझेरीबाट लिइएको पाइएको छ तर यसैमा मात्र आधारित भएर शोधपत्र लेखिए नलेखिएको जानकारी पाउन सकिएन । जानकारी पाउन सके उत्तम हुने थियो । हामीले जे पाएका छौँ, त्यसबाट समेत धन्य बनेका छौँ । भलाकुसारी स्तम्भले भौगोलिक दूरीलाई कम पारेको र विशेष अनुभूति दिलाएको आभाष हुन्छ । यसको निरन्तरताको कामना छ । हाम्रा साहित्यिक शिक्षक साथीहरू पनि रचना पठाउने मनसाय व्यक्त गर्दै हुनुहुन्छ । छोटाछोटा अङ्ग्रेजी भाषाका रचना प्रकाशन गर्न सकिन्छ सकिन्न । कृपया मझेरीको बदलिँदो नीतिका बारेमा जानकारी पाऊँ भनी सादर निवेदन छ । साथै, मझेरीले गर्ने नवीन क्रियाकलाप हामीकहाँ समेत तलको इमेलमा पठाउन हार्दिक अनुरोध गर्दछौँ ।
    –श्री महावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरी परिवार ।
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *