Skip to content

नडुब्ने घामलाई एकोहोरो नियाल्दा

  • by


छोटो-मीठो वर्तमानको आवश्यकता हो । यसलाई अर्को शब्दमा सुविधा र सभ्यताको विकासका सन्दर्भमा पनि लिन सकिने भएको छ । अबका दिनहरूमा साहित्यिक क्षेत्रमा पनि महाकाव्य र छन्दोबद्ध कविता लेख्नेहरू घट्नेछन् । लेख्ने नै नभएपछि पढ्नेहरू पनि हुने कुरै भएन । यसको विपरीत ताङ्का, मुक्तक र हाइकुहरूले भने फस्टाउने मौका पाउनेछन् । नभन्दै ती विधाका रचनाकारहरूको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएकै छ । अहिले नै पनि मसँग, खगेन्द्र गिरी ‘कोपिला’को ‘डुबे पनि डुब्दैन घाम’ (मुक्तक संग्रह) छ ।

खगेन्द्र गिरी ‘कोपिला’ – यो नाम मैले धेरै पहिलेदेखि नै सुन्दै/पढ्दै आएको हुँ । साहित्यिक क्षेत्रमा मेरा पनि टुक्राटाक्री छापिन थालेपछि उनको नामबारे थप खुल्दुली हुँदै गयो । यस क्रममा मैलेनै पत्र पठाउने हिम्मत गरें । छ आठ महिनाको यो अवधिमा हामीबीच नियमित पत्राचार भैरहेको छ । वहाँले त मलाई दुइवटा कृतिहरू ‘डुबे पनि डुब्दैन घाम’ (मुक्तक संग्रह) र ‘व्यग्र चाँदनी’ (गजल संग्रह) समेत पठाइदिनुभयो । अहिले म, मुक्तकीय कृतिका बारेमा केही शब्द समीक्षा गर्न लागिरहेछु ।

‘डुबे पनि डुब्दैन घाम’ मुक्तक संग्रहले अफूलाई लगभग १०० पृष्ठमा फैलाई जम्माजम्मी ७८ वटा मुक्तकहरू समेटेको छ । प्रकाशकीय अन्तर्गत, प्रतिभा साहित्य समाज, खजुरा (बाँके) का अध्यक्ष (यो पुस्तकै सोही समाजबाट प्रकाशित भएको हो) इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ लेख्नुहुन्छ ….. खगेन्द्र गिरी ‘कोपिला’ प्रकृतिका लेखक हुनुहुन्छ । माया, प्रेम, मानवीय संवेदना, जिन्दगीका आरोह अवरोहका अनुभवहरू र सामाजिक सरोकारका सवालहरूलाई आफ्ना सिर्जनामा समेट्ने गर्नु हुन्छ । यसरी हेर्दा वहाँ प्रेमवादी, जीवनवादी र समाजवादी साहित्यकार देखिनु हुन्छ ….। भण्डारीका यिनै वाक्यहरूका आधारमा गिरीको मुक्तक संग्रहलाई चर्चा गर्नु उपयुक्त नै हुनेछ । पुस्तकको मुख्य आकर्षण कृष्ण प्रधानको भूमिका पनि हो । यसमा उहाँले गिरीको अन्तिम मुक्तकलाई लिएर मुक्तककारलाई दार्शनिक एवं वैचारिक ओज भएका साहित्यकारका रूपमा लिनुभएको छ । मुक्तक लेखन २०२० र २०३० को दशकमा निकै फस्टाएको जनाउँदै यसबारे प्रधानको लेखाइ छ – … आफैं स्वतन्त्र हुन्छ र एउटै चतुष्पद रुवाइयात शैलीमा हेर्दा, भित्र कविले सूत्रवद्ध ढङ्गबाट भन्नुपर्ने कुराहरू छर्लङ्ग र स्वाट्टै भनिदिनु यसको मूल विशेषता हो । यसकालागि माझिएको हात नै चाहिन्छ, खारिएको कलम नै चाहिन्छ र चेतनाग्राहिताको खानी पनि उत्तिकै ।” कृष्ण प्रधानको यसप्रकारको सारगर्भित भूमिका बाहेक यस मुक्तक संग्रहमा डा.देवीप्रसाद ओझाको शुभकामना र प्रमोद प्रधान, प्रकाश राजापुरी, पुष्पलता आचार्य, कृसु क्षेत्री, धनराज गिरी, वीरबहादुर चन्द, इन्द्रकुमार विकल्प, पद्मराज जोशी ‘प्रभात’, पुष्प अधिकारी ‘अञ्जली’, सागर गैरे, टोपेन्द्र शाह ‘रसिक’, शिवराज योगी र सुवि’सुधा’ आचार्य समेत गरी एक दर्जनभन्दा बढी साहित्यकारहरूका मन्तव्य, टिप्पणी र स्वीकारोक्ति परेका छन् यी बहुविध व्यक्तित्वहरूका विचारहरूलाई लिनसकेकै आधारबाट पनि यो मुक्तक संग्रहलाई उल्लेखनीय नमानी धरै छैन । लाग्छ, ती अमूल्य विचारहरूका लागि ‘कोपिला’ले निकै मिहिनेत गर्नु पर्‍यो होला, सायद मुक्तकहरूलाई संग्रह र समायोजन गर्नुजत्तिकै । जे होस् कुनै पनि कृतिकारले आफ्नो कृति सार्वजनिक गर्नु अघि अग्रज तथा समकालीन साहित्यिकहरूसँग परामर्श, छलफल र विचार लिने प्रशस्त प्रयास गर्नु अवश्य अनुकरणीय काम हो । यसका लागि पनि खगेन्द्र गिरीलाई बुद्धिमान साहित्यकार मान्नैपर्छ । यसरी एक दर्जनभन्दा बढी विशिष्ट व्यक्तित्वहरूबाट टिप्पणी गरिसकिएको अवस्थामा, फेरि उही कृतिको चर्चा गर्न खोज्दा नौलो विचार आउन नसक्नु पनि स्वाभाविक हो । तर यो मुक्तक संग्रह पढेपिछ, उल्लिखित व्यक्तित्वहरूका विचार दोहोर्‍याएरै भए पनि सन्तुष्टि लिन मन लाग्छ ।

हुनत मुक्तक भन्नेबित्तिकै विशेषतः प्रेम र वियोगले सताइएका पीडाहरूलाई लिने गरिएको परम्परा छँदै छ, तापनि वर्तमानमा आएर यो विधाले मानवीय जीवन र जगत्का विविध पाटा र पक्षहरूलाई आफ्नो विषयवस्तुमा समेट्न थाल्दो छ । यही कुरा खगेन्द्र गिरीका मुक्तकहरूमा पनि लागू भएको छ । उनले आफ्ना मुक्तकहरूमा प्रेम र प्रेमजन्य अवस्थालाई बडो सटीक, मार्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । उदाहरणार्थ त्यस्ता केही मुक्तकहरू हेरौं –

तिम्रो त्यो धक मान्ने बानी नकारात्मक लाग्यो
लुकामारीको खेल त्यो तिम्रो सकारात्मक लाग्यो
बाटो, चोक, बजारमा आँखा जुधेको बेला भने
मौन आमन्त्रण गर्ने तिम्रो चाला कलात्मक लाग्यो
(यौवन र यथार्थता, पेज नं. २६)

कुनै आश्वासन तिमीलाई दिलाउन सकिनँ मैले
आँसुको मदिराबाहेक केही पिलाउन सकिनँ मैले
अँध्यारोमा त हिजो खै – के – के भयो – भयो
उज्यालोमा आज आँखा मिलाउन सकिनँ मैले
(प्रेम र लज्जाबोध, पेज नं. २७)

तिमीले दिएका कोसेली त्यहीं छोडेर आएँ
तिमीले सुनाएका सुसेली त्यहीं छोडेर आएँ
कहाँ लुकाऊँ टाउको यो बिरानो सहरमा अब
झुपडी भन्नु आफ्नो असली त्यहीं छोडेर आएँ
(प्रेम र पश्चात्ताप, पेज नं. ३०)

निमेषभरको त्यो उल्लासले मात्रै पुगेन मलाई
क्षणिक त्यो छोटो समयले साथ दिएन मलाई
रहर मेटाउने एउटा चेष्टा मात्रै थियो त्यो मेरो
लक्ष्मणरेखालाई नाघ्ने साहस त थिएन मलाई
(प्रेममा सचेतता, पेज नं. ३३)

बाधा अवरोध जम्मै हटाउने मन थियो मेरो
अनि मनका कुरा पनि बताउने मन थियो मेरो
सपनामा त तिमीले मलाई कति दुःख दियौ-दियौ
विपनामा भने तिमीलाई सताउने मन थियो मेरो
(प्रेममय आक्रोश, पेज नं. ४२)

जोवन चोख्खै त्यो तिम्रो मखमली लिएर जाऊ
सम्झना भनेर आँसु दुइ अञ्जुली लिएर जाऊ
कोसेली सम्झिन लायक के दिऊँ खै अब तिमीलाई
छ मेरो एउटा यही तस्बीर झल्झली लिएर जाऊ
(वियोग र चित्तबुझाइ, पेज नं. ४४)

सुस्त-सुस्त आगो सल्किनुमै छ मजा
सागरमा डुबेर प्यासै फर्किनुमै छ मजा
खै कुन मोडमा पुगेर यो तडप टुङ्गिने हो कुन्नि
त्यतिन्जेल त यसै गरी तड्पिनुमै छ मजा
(प्रेमको यथार्थ परिभाषा, पेज नं. ४९)

फूलै फूलमाथि सधै हिंड्न कहाँ पाइएला
भावनाको अजम्बरी चिह्न कहाँ पाइएला
उधारोमै भए पनि किन्ने थिएँ आजै
महङ्गो माया सस्तोमा किन्न कहाँ पाइएला
(सच्चा प्रेमको खोजी, पेज नं. ६३)

परेला थुनेकै थिएँ कसरी पो बगेछन् आँसु मेरा
वर्षातको भेलजसरी पो बगेछन् आँसु मेरा
कुनै दिन आकाश रोएको हेरेका थियौं हामीले यहीं
हो ! फेरि आज त्यसरी पो बगेछन् आँसु मेरा
(असह्य स्मृति, पेज नं. ६५)

सम्झना साँचेर जाँदै छु तर निशानी भने यहीं नै छ
जिन्दगी मागेर जाँदै छु तर कहानी भने यहीं नै छ
नसोच्नू सधैंको लागि कोपिला जाँदैछ कि भनी
धुक्धुकी लिएर जाँदैछु, परानी भने यहीं नै छ
(प्रेममा विवशता, पेज न. ६७)

मानवमात्रमा हुने प्रेमका विभिन्न स्वरूप, परिस्थिति र परिस्थितिजन्य गतिलाई विभिन्न कोणबाट दृष्टिगत गरी यससम्बन्धी यथार्थ र मार्मिक भावनाहरू प्रस्तुत गर्नु ‘कोपिला’को वैशिष्ट्य हो । कलात्मक भाषाशैली, गहन चिन्तन र रोचक प्रस्तुतिले गर्दा उनका मुक्तकहरू थप पठनीय बन्न पुगेका छन् । प्रायः प्रत्येक मुक्तक पढेपछि पाठकले उक्त मुक्तकमा आफ्नै जिन्दगीको कुनै क्षण गाँसिएको अनुभव नगरी सक्तैन । यसरी, मानवीय अर्न्तर्मनभित्र पसेर साहित्यसिर्जना गर्नसक्नु वास्तवमा सफल साहित्यकारको विशेषता पनि हो ।

छयालिससाले प्रजातन्त्र प्राप्तिपछि पनि हाम्रो देशमा राजनीतिसिर्जित विकृतिले जताततै घर जम गर्न नछाडेको तथ्यसँग पनि मुक्तककार राम्रै परिचित छन् । आदर्श भाषण गर्ने नेताहरूलाई उनी भन्छन् –

साधु बस्ने ठाउँमा ठग बस्न थाले
राजनीतिको खोलभित्र डाकू पस्न थाले
कालो धनलाई चोख्याएर सेतो पनि भनी
नेताहरू आदर्शको रङ्ग घस्न थाले
(पेज नं. २४)

यी हल्ला, यी नारा केवल खानलाई रहेछ
यी हूल, यी जुलुस कुर्सी लानलाई रहेछ
के- के नै होला भनेर सोचेका थियौं हामीले
यो नाटक त हजूर ! सत्तामा जानलाई रहेछ

(पेज नं. ३५)

राजनीतिक वृत्तभित्र सल्बलाइने विकृति, विडम्बना र कपटप्रति तीब्र आक्रोश र आपत्ति छ ‘कोपिला’को –

मानवताको युद्ध हारेर खुसियाली मनाउने रहर नगर
घर जलाएर खरानीमा फूल सजाउने रहर नगर
अहंकारको भारी बोकेर शिखर चढ्न सकिंदैन मित्र
सपनाका महल ठड्याएर खण्डहर बनाउने रहर नगर

(पेज नं. ६२)

अझ यो एउटा –

सबैलाई प्रिय सरकारी सुरा
रौतहट, मोरङ्ग या डडेलधुरा
नेताजीका कति मीठा कुरा !
मुखमा रामराम बगलीमा छुरा !
(पेज नं. ९७)

राजनीतिक विकृति र विसङ्गतिबाहेक ‘कोपिला’ले मुक्तकहरूमा जातीय

स्वाभिमानको ह्रास, कृतघ्नता, देशभक्ति जस्ता विषयहरू पनि उठाएका छन् । कतिपय मुक्तकहरूमा विम्ब र प्रतीकहरूको प्रयोग, द्विअर्थी रूपमा पनि भएको छ ।

समष्टिमा भन्नुपर्दा यो मुक्तक संग्रह, नेपाली साहित्य जगत्मा प्रशस्त चर्चायोग्य कृतिका रूपमा देखापरेको छ । मुक्तकजस्तो र्सवप्रिय विधाको भविष्य ज्यादै उज्ज्वल भइरहेको सर्न्दर्भमा यो कृतिले एउटा विशिष्ट स्थान ओगट्छ भन्ने कुरामा कसैको विमति नहोला ।

अन्त्यमा ‘कोपिला’ कै अन्तिम मुक्तक –

मान्छेजस्तो बैगुनी हुँदैन घाम
आफ्नो पराया कसैलाई भन्दैन घाम
उदाउनु र अस्ताउनु त उसको दिनचर्या न हो
परन्तु डुबे पनि डुब्दैन घाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *