Skip to content

म भात जोडेर बसुँ कि कबिता लेखुँ ?


अस्ति न अस्ति एउटा कविता लेख्या थिएँ,
साझामा छाप्या थिएँ
फेसबुकमा पोस्टया थिएँ

एउटा कमेन्ट आयो
४२० भोल्टको करेन्ट आयो
कविता कस्तो “स्याड” रे …
ठिकै थियो “नट ब्याड” रे …
जसले जिन्दगीभरि,
कवितालाई लाइन मात्र मार्यो
दुई लाइन कविता कहिल्यै कोरेन
कवितालाई कहिल्यै बुझेंन
तिमी नै भन मेरो मान्यबरमित्र,
आज तिनै विद्वान महाशयको
म लात खाएर बसुँ कि कविता लेखुँ ?
म हात जोडेर बसुँ कि कविता लेखुँ ?

फेसबुक हेर्दै थिएँ, साथीभाइ खोज्दै थिएँ,
एउटा स्टाटस देखें,

एउटा क्याक्टस देखें
३६५ दिनमा एक दिन कविता न लेख्दा,
चम्चाहरुको चिप्लो वाह! वाह! नदेख्दा
आत्मग्लानीले रात भरि निद्रा लागेन रे

ए बाबा… कविता भनेको,
भान्छामा पाक्ने दाल, भात तरकारी हो र ?
कहिल्यै नरित्तिने चिन्तामणि भकारी हो र ?

कविता शब्दहरुको संग्रह हैन,
कविता वाक्यहरुको बिग्रह हैन,
कविता त मुटुको स्पन्दन हो,
भावहरुको सुगन्धित चन्दन हो,
आत्माको उदबोधन हो
परमात्मालाई सम्बोधन हो,
जीवन भोगाईको अनुबन्धन हो .

जब जब मनको परेली सजल हुन्छ,
“जब जब छातीको देब्रे पाटोमा हलचल हुन्छ”,

तब तब एउटा मिठो कविता बन्छ,
तब तब एउटा सुन्दर गजल बन्छ.
हर दिन कविता लेखन सक्दिन,
कविता नामको रमिता देख्न सक्दिन

कविता कुर्दा कुर्दै
भावहरु फुर्दा फुर्दै

कति रात कविता मै हराएको छु ,
कति रात कवितासँगै कराएको छु,

अब तिमी नै भन मेरो मान्यबर मित्र
म रात सुतेर बसुँ कि कविता लेखुँ
म हात जोडेर बसुँ को कविता लेखुँ ?

हिजो एक जना मित्र ले फोन गरे,
फोनमा नानाथरीको टोन सुनाए,

“जागिर पाइस” उसले केरकार गर्यो
“छैन नि” मैले आफ्नो तितो सत्य भनें
“कविता लेखेर बस्छस,
कथा पढेर बस्छस, ”
“कसरी जागिर पाउछस् ?”

“हो हजुर, सोह्रै आना सही“
अबदेखि कविता लेख्दिन सत्य सत्य,
क्रिया खाएँ,
प्रतिकृयामा ऊ बिजयी अट्टहास हास्यो,

अब तिमी नै भन मेरो मान्यबर मित्र,
म भात जोडेर बसुँ को कविता लेखुँ ??
म हात जोडेर बसुँ कि कविता लेखुँ ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *