फूलै-फूल मात्र पनि हैन रैछ जीवन
काँडा बीच फुल्ने फूल रैछ जीवन।
वि.सं. १९९१-२०६८
नेपाली सङ्गीत क्षेत्रमा यस्ता सदावहार गीतबाट छाएका भीम विराग ७७ वर्षको उमेरमा दिवङ्गत भएका छन्। गीतकार तथा सङ्गीतकार विराग जीवनका भोगाइ र अनुभूतिहरूलाई गीतमा उतार्न सक्ने सर्जक थिए। उनले कहिल्यै अरूका पीडालाई गीत बनाएनन्। केही वर्षअघि उनले हिमाल सँग भनेका थिए, “मेरा गीतहरू मेरै मुटुको अनुभूतिको वर्णन हुन्।”
विरागले जीवनमा मनग्ये दुःख र तिरस्कार भोगे। १२ वर्षको उमेरमा कुप्रोपनको सिकार बनेका उनले प्रेममा पटक-पटक तिरस्कृत हुनुपर्यो। २२/२४ को उमेरमा दुई हात घुँडामा राखेर हिँड्नु पर्दा उनी बढीमा दया र सहानुभूतिका पात्र मात्र बने। त्यस कालको अनुभूतिहरूबाट सिर्जित उनका केही गीत नारायणगोपाललाई नेपाली गायनको उच्चतम बिन्दुमा पुर्याउने सिर्जनामा पर्छन्। जस्तो कि, तिमीले पनि म जस्तै…, कसरी म भुले…, आज-भोलि हरेक साँझ्… आदि।
वीरगञ्जमा जन्मेहुर्केका विरागको जीवन हेटौंडामा बित्यो। आफ्नै प्रयासबाट साहित्य र सङ्गीत सिकेका उनले २०१८ सालमा रेडियो नेपालमा सम्झ्नाको बाली दियो… गाएका थिए। उनले खण्डकाव्य र महाकाव्य समेत प्रकाशित गरेका छन्। हेटौंडामा भीम विराग सङ्गीत, साहित्य तथा कला प्रतिष्ठान स्थापना गरिएको छ, जसले हरेक वर्ष सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई सम्मानित गर्छ। उनकी पत्नी अनुदेवी श्रेष्ठको देहान्त चार वर्षअघि भएको थियो। निमोनिया र मेनिन्जाइटिसबाट पराजित विरागको एक छोरी छिन्, आभा।
अनुशील
प्रकाशित मिति: १-१५ चैत २०६८
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क २२
पूर्णाङ्क ३०६