Skip to content


खसहरू को हुन्? उनीहरू कहिले, कहाँबाट आए? एउटा घुमन्ते जाति कसरी जनजाति चरण पार गरेर शासक हुन पुग्यो? आदि प्रश्नहरूको उत्तर छ, यो पुस्तिकामा।

नेपालका खस जाति
लेखकः डा. विपिन अधिकारी
प्रकाशकः नेपाल कन्सल्टिङ लयर्स ईन्क
मूल्यः रु.५०,
पृष्ठः १०६+१०

आधुनिक नेपाल निर्माण र सञ्चालनमा खसहरूको अतुलनीय योगदान छ। शासक जातिको रूपमा यो ऐतिहासिक दायित्व वहन गर्ने प्रक्रियामा खसहरूबाट भए/गरेका कमि-कमजोरीका कारण आफूहरू राष्ट्रको मूलधारबाट बाहिरिन पुगेका आवाज पनि उत्तिकै प्रबल छन्, आजको नेपालमा। यस क्रममा एकातिर कतिपय जातीय, क्षेत्रीय पीडितहरूको बोलीमा उग्र साम्प्रदायिकता झ्ल्कन थालेका छन् भने अर्कोतिर गणतन्त्र र धर्मनिरपेक्षताबाट आफूहरूको अस्तित्वमाथि नै आक्रमण थालिएको वर्चस्ववादी प्रचारबाजीले पनि आकार लिँदैछ। राष्ट्रले यसरी इतिहासको महासङ्क्रमण सामना गरिरहेका बेला कानुनमा विद्यावारिधि विपिन अधिकारीले नेपालका खस जाति (क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्न्यासी, वादी, दमाई र गाइने) नामको कृति ल्याएका छन्।

खसहरू को हुन्? उनीहरू कहिले, कहाँबाट र कस्तो ऐतिहासिक प्रक्रियाले यो भूमिमा आए? एउटा घुमन्ते जाति कसरी जनजाति चरण पार गरेर बौद्ध प्रभाव स्वीकार्दै हिन्दु शासक हुन पुग्यो र नेपालको इतिहासमा कस्तो दायित्व पूरा गर्‍यो? आदि प्रश्नहरूको विहङ्गम उत्तर भएको छ, गोजी आकारको यो पुस्तिका। प्राग्वैदिक कालदेखिको समय समेटेको यो पुस्तिकाले इतिहासलाई एउटा चाखलाग्दो दृष्टिकोणबाट अध्ययन गर्न/बुझन उत्प्रेरित गरेको छ। मूलतः खसहरूको सहज गौरवीकरण र प्राचीनता पुष्टि गर्ने यो पुस्तिकाका अनुसार, नेपालका खस जातिको अतीत एसिया र युरोपको बीचमा अवस्थित ककेसस् पर्वतमालासँग जोडिएको छ। राजनीतिक-सांस्कृतिक द्वन्द्वबाट अस्थिर प्राचीन ककेसियामा सभ्यताले आकार नलिँदै ककेसियनहरू पूर्व-दक्षिण बसाइँ सर्न थाले। त्यस क्रममा सताब्दीयौँको अन्तरालमा हिमवतखण्ड नेपाल आई बसेका आदीककेसियनहरू नै आजका खस हुन्। डा. अधिकारी लेख्छन्, “त्यसैले खस र किरातलाई प्राग्वैदिक जाति भनिन्छ।”

अधिकारीले खसहरू मुगल आक्रमणबाट जोगिन नेपाल पसेको भन्ने मतको कडा खण्डन गरेका छन्। बरु आफूलाई सभ्य वैदिक हिन्दु देखाउन खसमध्येकै ठालुहरूले यो तर्क अघि सारेको उनको विश्लेषण छ। पश्चिम चीन र भोटमा सदियौं व्यतीत गरेर खसहरू नेपाल पसेको केही सहस्राब्दीपछि मात्र गङ्गाको मैदानमा आर्य (इण्डो-गङ्गेटिक) सभ्यताको विकास भएको र त्यो हिन्दु सभ्यतासँग केही शताब्दी अघि मात्र खसहरूको हिमचिम भएको पुस्तिका बताउँछ। इसापूर्व २५०० वर्ष अघि नेपालमा देखिएका गाईगोठालाहरू खसहरू नै भएको ठोकुवा गरेका लेखकले खसहरूका कुलदेवता मष्टलाई वैदिक सभ्यता भन्दा अघिका देव भनेका छन्। पश्चिम भोटमा रहँदै बौद्ध धर्मसँग खसहरूको संसर्ग भएको र पछि नेपालमा दक्षिणबाट आएको अर्को बौद्ध लहरले यो प्रभावलाई झ्नै गहिरो बनाएको उनको विश्लेषण छ। यो क्रममा खसहरूले आफ्नो संस्कार अरूमा सारे अनि अरूका पनि आत्मसात् गरे। पछि हिन्दु प्रभाव ग्रहण गर्दा खस शासकहरूले दक्षिणका पण्डितहरूबाट शिक्षादीक्षा लिने, तिनैलाई गुरुपुरोहित राख्ने र आफूलाई भारतका राजवंशहरूसँग जोड्नेदेखि हिन्दु जातीय व्यवस्था अपनाउनेसम्म गरे। यसरी आधुनिकतातर्फ लाग्दा खसहरूले विशाल हिन्दु धार्मिक सम्पदा प्राप्त गरेको उल्लेख गर्दै डा. अधिकारी लेख्छन्, “यसबाट खसहरूको आदि सांस्कृतिक पहिचान भने लगभग समाप्त हुन पुग्यो।”

लेखकले नेपाल निर्माणमा पुर्‍याएको योगदानको आलोकमा खस जातिको भविष्यबारे चिन्ता समेत प्रकट गरेका छन्। विशाल खस मण्डल र बाईसे/चौबिसे राज्य विघटन पछि खस शासकहरू गुरुङ-मगरलाई साथ लिएर नेपालको राजनीतिक एकीकरणमा लागेका देखिन्छन्। त्यस क्रममा उनीहरूले धार्मिक-सांस्कृतिक दमनको मूल्यमा विजित भूभागहरूको कतिपय थितिलाई धेरै हदसम्म स्वीकारेको तथ्य इतिहासका अन्य स्रोतहरूमा यत्रतत्र पाइन्छन्। जङ्गबहादुरको मुलुकी ऐन नेपाली परम्परा अनुकूल नहुँदा खसहरूलाई खस भन्न पनि लाजमर्नु अवस्था सिर्जना भएको उल्लेख गरेका लेखकले महेन्द्रको संविधानले नेपाली समाजको मिश्रित प्रकृतिमाथि पुर्‍याएको क्षतिबारे पनि चर्चा गरेको भए खसहरूको योगदानमा निर्मित मुलुकको एउटा प्रमुख जातिको इतिहास अझ् धवल हुनेथियो। किनभने, आजको जातीय, क्षेत्रीय र धार्मिक असन्तुष्टि मात्र हैन आफूहरूको अस्तित्वमाथि नै धावा बोलिएको डरको बीउ जङ्गबहादुरकालमा भन्दा बढी महेन्द्रकालमा रोपिएको थियो।

आनन्द राई

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क २०
पूर्णाङ्क ३०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *