Skip to content


हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमदेखि कच्ची सडकमा करिब डेढ घण्टा उकालो मोटरयात्रा गरेपछि मुक्तिनाथ मन्दिर पुगिन्छ। थोरङ्ग-ला हिमालको फेदीमा ३७१० मिटरको उचाइमा अवस्थित हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्था केन्द्र मुक्तिनाथमा सडक पुगेपछि स्वदेशी-विदेशी दर्शनार्थी बढेका छन्। मुक्तिनाथको दर्शन गरेमा जीवनका सारा पापबाट मुक्ति हुने जनविश्वास रहिआएको छ। हरेक वर्ष असोजदेखि जेठसम्म मन्दिरमा दर्शनार्थीको भीड लाग्छ।

तर, हिजोआज भक्तहरूको मन खिन्न बनाउन थालेको छ, यत्रो महिमामण्डित मुक्तिनाथ मन्दिरको दुरवस्थाले। मुख्य द्वार र भित्ता चर्केर मन्दिर नै धरासायी हुने अवस्था छ। भूमिगत जलप्रवाहमाथि रहेको मन्दिर पश्चिम ढल्किसकेको छ। मन्दिर अगाडिका कुण्डहरू भासिन थालेका छन्। मन्दिर परिसरका पर्खाल, मन्दिर भित्र र बाहिरका गारो, मन्दिर पस्ने दायाँतर्फको सूचनापाटीसँगैको भित्ता, १०८ धाराको पूर्वी भाग समेत चिराचिरा परेका छन्। मुक्तिनाथ नजिकैको कृष्णमन्दिर मुसाको साम्राज्य बनेको छ जहाँ गारो, छाना र भुईं समेत चिराचिरा परेका छन्। २०० वर्ष पुरानो गुम्बाका भित्री खम्बाहरू बाङ्गिएका छन्। कुनै पनि समयमा ढल्ने डरले आनी (झुमा)हरूले गुम्बा छाडेको धेरै भइसक्यो। देशको एउटा प्रमुख धार्मिक सम्पदाको यो अवस्था हुँदा पनि जीर्णोद्धार नभएको देख्दा जो कोहीको मन खिन्न हुन्छ।

मन्दिरका पुजारी इन्द्रनाथ आचार्यजीर्णोद्धारका लागि गठन गरिएका समितिका महानुभावहरूले पद मात्र ‘गटेर बसिदिँदा देवस्थलको यो हविगत भएको गुनासो गर्छन्। मुस्ताङ उद्योग-वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन चाहिँ काठमाडौँमा रहेको पुरातत्व विभागले जीर्ण मुक्तिनाथ मन्दिर कसैलाई छुनै नदिँदा यस्तो भएको भन्छन्। उनका अनुसार, विकास समिति आफैँसँग करिब रु.७० लाख छ र केन्द्रबाट आएको रु.१ करोड उतै फर्कियो, तर ऐतिहासिक सम्पदा चाहिँ कतिखेर ढल्ने हो टुङ्गो छैन। मुक्तिनाथ क्षेत्र संरक्षण समितिका सदस्य समेत रहेका मुस्ताङका स्थानीय विकास अधिकारी श्यामराज अधिकारी भने गुरुयोजना बनेपछि मात्र मन्दिरको जीर्णोद्धार सम्भव हुने बताउँछन्।

खानी तथा भूगर्भ विभागले पाँच वर्षअघि तीन महिना अध्ययन गरेर दिएको मन्दिरको जगमा रहेको जलप्रवाह नियन्त्रण गर्न भूमिगत नाला बनाउने सुझावलाई स्थानीयवासीले पानीको स्रोत हराउने भन्दै तुहाए। परिणाम त्यस प्रयोजनको लागि केन्द्रबाट आएको बजेट उतै गयो। पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्की भने सरकारले कहिले बजेट नछुट्याउने त कहिले गुरुयोजना नबनेकाले जीर्णोद्धार नभएको बताउँछन्। केही भयो भने यो जाडो सकिएपछि मात्र हुने उनको भनाइ छ।
पवित्र मुक्तिनाथ ढलेको नहेर्ने हो भने सरोकारवाला सबै मिलेर सरकारी निकाय र तिनका कर्मचारीलाई मेलोमा ल्याउने वा आफैँ केही गर्न अग्रसर हुनुपर्ने देखिन्छ। हामीले पाएको यत्रो सम्पदा ढली नै सकेपछि त कर्मचारीलाई दोष दिएर मात्र के पाइन्छ र!

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १८
पूर्णाङ्क ३०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *