Skip to content

ईश्वरले मलाई रङ्गकर्मकै लागि पठाइदिएको हुनसक्छ

  • by


अशेष मल्ल नेपाली साहित्य र रङ्गकर्मका अथक साधक हुन् । ३१ वर्षअघि सर्वनाम नाट्य संस्थाको स्थापना भएदेखि उनी रङ्गकर्ममा निरन्तर लागिरहेका छन् । कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटक आज प्रस्तुतिको लोकप्रिय माध्यम बनेको छ ।

सर्वनामका प्रारम्भिक दिनहरूमा आवद्ध अधिकांश रङ्गकर्मीहरू अहिले यस क्षेत्रबाटै टाढिसकेका छन् तर मल्ल भने जस्तै अप्ठेरा परिस्थितिहरूमा पनि विचलित नभई नाटक मार्गमा अनवरत यात्रारत छन् । परिणाम स्वरूप सर्वनाम आफ्नै थियटर बनाउन सफल भएको छ । आठ वर्षदेखि थियटर निर्माणमा अहोरात्र खटिरहेका वरिष्ठ रङ्गकर्मी मल्लले कसैबाट एक पैसा सहयोग अनुदान लिएनन् । नाटकै देखाएर थियटर बनाउनु सामान्य कुरो होइन । उनको यो साहस अन्यका लागि ठूलो उदाहरण बनेको छ । सर्वनामको ३१ औँं वाषिर्क उत्सवको अवसर पारेर चैत १८ गते थियटरको उद्घाटन भएपछि त्यहाँ प्रत्येक दिन नाटक मञ्चन हुनेछ । निर्देशक मल्लसँग श्रीओम श्रेष्ठको कुराकानीको सार ः

तपाईंसँगै रङ्गकर्म गर्नेहरू अधिकांशले छोडिसके तर तपाईं किन लाग्यालाग्यै हुनुहुन्छ ?

सायद मलाई ईश्वरले रङ्गकर्म गर्नकै लागि पठाइ दिएको हुनसक्छ ।

सर्वनाम थियटर बनेपछि तपाईंको परिकल्पना पूरा भएको हो ?

मैले मेरो सपना साकार भएको ठानेको छु । कुनै पनि काम गर्नका लागि सपना देख्नै पर्दो रहेछ । निरन्तर प्रयास गरिरहृयो भने असम्भव केही हुँदैन भन्ने उदाहरण बनेको छ सर्वनाम थियटर ।

थियटरको सञ्चालन कसरी गर्ने सोच्नु भएको छ ?

थियटरको उद्घाटन मेरै लेखन/निर्देशनको नाटक ‘शकुनी पासा’ को मञ्चनबाट हुनेछ । त्यसपछि हरेक दिन नाटक मञ्चनका लागि अन्य नाट्य संस्थाका प्रस्तुति हुनेछन् । थियटरलाई रङ्गकर्मीहरूको साझा मन्च बनाउने सोचमा छौं ।

भनेपछि सर्वनाम थियटर नियमित नाटकको थलो हुनेछ ?

नाटक मात्र होइन, त्यहाँं चित्रकलाको नियमित प्रदर्शनी, अभिनयको प्रशिक्षण र कार्यशाला हुनेछ । साहित्यिक गोष्ठी पनि हुनेछ । यसरी एउटै छानामुनि नाटक, साहित्य र चित्रकलाको सङ्गमस्थल पनि हुनेछ ।

अहिले रङ्गमञ्चको स्थिति कस्तो छ ?

उर्वर र आशा लाग्दो छ । रङ्गमञ्चको भविष्य सुन्दर छ भन्ने कुरा युवा रङ्गकर्मीहरूले प्रमाणित गरेका छन् ।

आर्थिक रूपले नि ?

आर्थिक रूपले अझै सङ्क्रमणकै स्थितिमा छ । त्यसैले वैकल्पिक स्रोत नखोजी रङ्गमञ्चमा लाग्ने स्थिति छैन । हामीले हाम्रा कलाकारहरूका लागि थियटरमै रेस्टुरेन्ट सञ्चालन गराइसकेका छौं ।

यही कारण रङ्गकर्मीहरू सिनेमा, टेलिभिजनतिर लाग्ने गरेका हुन् ?

रङ्गमञ्चको अन्तिम लक्ष्य सिनेमा होइन तर सिनेमा र टेलिभिजनले कलाकारलाई फराकिलो क्षेत्र दिन्छ । यसबाट बृहत् दर्शक र आर्थिक सम्पन्नताको सम्भावना हुने भएकोले रङ्गकर्मीहरू त्यता लाग्छन् । यस्तो स्थिति हामीकहाँ मात्र नभएर भारत र युरोपतिर पनि हुने गरेका छन् तर कलाकारले रङ्गमञ्चबाट पाउने स्वाद सिनेमा र टेलिभिजनबाट कहिले पाउन सक्दैनन् ।

अन्य देशमा पनि रङ्गमञ्चको स्थिति कमजोर नै हो ?

जुनसुकै देशमा पनि रङ्गमञ्चको स्थिति लगभग उस्तै हो । रङ्गमञ्च आफैँमा महँगो विधा हो तर अन्य देशमा राज्यले रङ्गमञ्चलाई सहयोग गर्ने गरेको हुनाले हाम्रो भन्दा केही फरक छन् ।

थियटर निर्माणमा त सहयोग पाउनु भयो होला नि ?

यो थियटर बनाउन कुनै व्यक्ति, संस्था, सरकार वा विदेशी निकायबाट एक पैसा पनि लिएका छैनौं । हामीले नाटक देखाएर बचाएको पैसा र ऋण लिएर मात्र बनाएका छौं । यो हाम्रो निम्ति गौरवको विषय हो ।

रङ्गमञ्चको प्रस्तुतिमा अमूर्तता किन बढी हुन थालेको छ ?

रङ्गमञ्चको विशेषता नै अमूर्तता हो । जुन कुरा सिनेमा र टेलिभिजनमा हेर्न पाइन्छ, त्यही कुरा नाटकमा पनि देखाउने हो भने नाटकको के अर्थ रहन्छ र ? रङ्गमञ्चमा प्रतीकात्मक प्रस्तुति नै सफल मानिन्छ ।

रङ्गमञ्चको प्रस्तुति देशअनुसार फरक हुन्छ ?

रङ्गमञ्च जुनसुकै देशको भए पनि रङ्गकर्म एउटै हुन्छ । प्रस्तुतिमा मात्र फरक हुन्छ । प्रत्येक देशको कथावस्तु फरक भएजस्तै प्रस्तुति पनि फरक हुने गर्छ ।

युवामञ्च २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *