Skip to content


सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछि
आँखाले गलत देख्दो रहेछ
मुखले गलत बक्दोरहेछ
नाकले गलत सुँघ्दोरहेछ
यहाँसम्म कि कानले समेत गलत सुन्दोरहेछ
र त म जसलाई झुकेर सम्मान गर्थेँ
उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ,
उसो र,
होसियार ! इमान्दारीताको गलबन्दीमा तातो खोज्नेहरूहो !
पछाडिबाट कसैले सुर्किने कसिदेला !

नाकको टुप्पोमा अहमको पर्खाल चुलिएपछि
घोक्नेहरू सल्बलाउँछन्
खोक्नेहरू उचालिन्छन्
बोक्नेहरू चल्मलाउँछन्
यहाँसम्मकी सापटीको बैसाखीले ध्रुबतारा चोर्न खोज्छन्
र त जसलाई मैले एक मुस्कान उपहार दिएथेँ
उसैले मेरो ओठ सिलबन्दी गर्दै रहेछ
उसो र,
होसियार ! भरोसाको खास्टोमा लपेटिनेहरूहो !
लुट्पुटिएको बहानामा तिम्रै ओत झ्याङ्ग्प्वाल पारीदेला !

देखासिकीको लिपिस्टिकभित्र
कुरुप ओठको चिरा लुकाउनेहरूले
गालाको बोक्रामा गुराँस फक्राइ
मुट्ठीमा तेजाब बोकेका हुन्छन् !
उसोर यो एक झक्झक्याइ मात्रै हो,
सम्बोधनको रामनामीमा पुलकित हुनेहरू हो !
औंलाको सहारामा कसैले चुपचाप ! पाखुरी छिनाइदेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *