Skip to content

आफन्तको खोजी (कथा)

  • by
LNSubediHasti-02


दलवीरले निरासाले भरिएको लामो सास तान्दै भूईंबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहानमाथि खन्यायो । आँखाबाट आँसुका धारा बगाउँदै “तिम्रो आत्माले परमेश्वरको बास पाओस्, जीवित हुदा केही गर्न सकिन” भन्दै निकैबेर घुक्का छोड्यो । आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै, त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक बनाएको थियो । त्यो ठाउ र पखेरा सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ, दश पन्ध्र जति मसिना झूप्रा घरहरू थपिएछन् । वारीपारी खेत, पाखा- पखेरा उस्तै उस्तै नै हुन् जस्तो । ऊ बेलाका खेतहरूमा अहिले कतै अदूवाको खेती, कतै अकवरे खूर्सानी, कतै अम्रिसो र धूसको घास लगाएछन् । मान्छेहरूको काम गर्ने तौर तरीका अलिक फेरिएछ । जेठको महिना, जताततै पालुवा र मूना पलाएका हरिया पाखा र खेतमा लहलह परेका मकैका बोटहरू, पारीपारी पाखामा बर्षाको समयमा गएका पहिराका सेता धर्साहरूले दलवीरको मनलाई कता कता उडाएर लग्यो । ऊ आफू बसेको नजीकैको पातीको बोटमा मसिना ढुंगाले हान्दै ऊ अतिततिर हरायो ।

उनीहरूको एउटा सानो भिरालो परेको पाखो बारी थियो । बारीको बीचतिर सानो भूप्रो घर । घरको तलतिरको छेउमा एउटा सुगुरको खोर थियो । अगाडि पट्टी दाउरा राख्ने सानो कटेरो थियो । घर वरिपरी मसिना सिस्नाका झ्यांगहरू,पिडालू, सिमल तरुलका बोट र एउटा काभ्राको रुख थियो । जिवन गुजारा गर्न सधैं बनिबूतो गर्नु पर्थ्यो । परिवारमा उसका आमा बाबु, ऊ र दुई जना बहिनीहरू थिए । घरमा शान्ति भए त सिस्नोको खोले र पानी खाएर पनि आनन्द नै हुन्थ्यो । तर गरिबी र अभावले घरमा प्राय सधैं बाबु र आमाको झगडा परिरहन्थ्यो । आमा कहिले झुण्डिएर मर्छु भन्थिन्, कहिले भिरबाट हाम फाल्छु भन्थिन् । खेतको पुछार तिरबाट बग्ने भीमकाय रुप लिएर बगेको खोलातिर दुई तीन पटक डुबेर मर्छ भन्दै गइन् । तर हामी बालबच्चाको मायाले होला त्यसै फर्किएर आइन् । हामीले रुनु भन्दा अरु केही उपाय पनि थिएन । खप्नै नसकिने बेदना र गरिबीको पीडाले होला, आमाको मन स्थिर थिएन जस्तो लाग्छ । बाबुले पनि हरेक कुरामा हण्डर खाएर होला, आफ्नो उत्तरदायित्व पूरा गर्ने कुरामा कान खसाई सकेका थिए ।

हामीलाई कहिल्यै चाडवाड आएन । खुशी भन्ने चीजले हाम्रो घरको संघार टेकेन । हामी त्यस बेला कठोर पीडादायक जीवनको भूमरीमा फसेका थियौ । अभाव र गरिबीको बर्बर त्रासले हामी बडो भयभित थियौ । हाम्रो सानो मैलो घर थियो, घरको सरसफाई थिएन । परिवार प्राय: अर्ध नग्न हुन्थ्यो । जुत्ता र चप्पल कसैले देखिएन । नुहाउने धुवाउने कुरा पनि सूर्य उतारायण र दक्षिणायन नै हुनु पर्थ्यो । बाबु मानसिक हालत बिग्रिए जस्तै गरी आमालाई दिनहु जस्तो पिट्ने गर्दथे । बाबुले पिटेका निला निला निलडाम लिएर आमा मेलापात गर्थिन् । “यो पितृ सतात्मक मुलूकको लाचार मानिसहरूको घीन लाग्दो उदाहरण थियो ।” गाउँमा मुख देखाई सक्नु थिएन । बाबुले आमा पिटेको बखतमा मेरा साना बहिनीहरू मसगै टासिएर रुन्थे । म पनि उनीहरूसगै रुन्थे । हाम्रो घरमा सधैं जसो बेलुका साँझ पर्ने बेलातिर यस्तो घटना हुन्थ्यो । हाम्रो धार्मिक परम्परा अनुसार त्यो एउटा अलच्छिनको संकेत थियो । आउने दिनहरूको लागि अशुभ र अनिस्ठ लक्षण थियो । आमाका कपडा फाटेर शरीरका सम्बेदनशील र लाज हुने अंगहरू बाहिर देखिन लागेका हुन्थे । आमाको त्यस्तो हालतबाट प्रस्ट थाह हुन्थ्यो, आत्मा सम्मान र सामाजिक हिनताबोधको कारणले निकै गली सकेकी थिइन् ।

म अलि अलि मात्र सम्झन्छु । मेरा बहिनीहरू त सम्झन्नन् होला । आमा बिस्तारै विरामी परिन् । गाउँमा अस्पताल र स्वास्थ्य चौकी थिएन । धामी झाक्री र पूजारी त गरियो । त्यसले पनि भएन । भगवान भरोसा भन्दा अरु कुनै उपाय थिएन । भदौ महिनाको अन्तिमतिरको एक साँझ मूसलधारे पानीसँगै आमाले अन्तिम पटक सास फेरिन् । हामी त सधैं पनि रोई रहन्थ्यौ । त्यस दिन पनि रोइयो नै । आमा मरे पछि बाबु धेरै दिन सम्म रोए । शोक धेरै गरे । हतारमा गल्ति गरी फूर्सदमा पछुताए जस्तै भयो होला । भोलि पल्ट बिहान गाउँलेहरू जम्मा भए । कसैले बास काटे, कसैले सेतो कपडा ल्याएर आमालाई बेर्न थाले । छिमेकीहरू कसैले धान, कसैले चामल ल्याइदिए । आखिर छिमेकी यसैको लागि चाहिने रहेछन् । उनीहरूले अफ्नो कर्तव्य पूरा गरे । हामीसँग जात मिल्ने मानिसहरू कोही अगाडि लागे, कोही पछाडि लागे । केहीले आमालाई अगाडि र पछाडिबाट काध लगाए । अगाडि हिड्ने एक जना मानिसले ठाउँ ठाउँमा केही धान र पाच पाच पैसा छर्दै जान्थे ।

मेरा बाबु, आमालाई बिहे गरेर ल्याउदाको खुशी र आजको दु:खद बिदाईको पुर्न नै नसकिने पीडाको संघारको वीचमा थिए । मलाई पनि मान्छेहरूले सँगसँगै लिएर गए । कसैले बालक कालमा नै टुहुरा-टुहुरी भए भन्थे । कोही ईश्वरको सृस्टि नै यस्तै हो भन्थे । नजिकैको चिहान घारीमा मान्छेहरूले एउटा गहिरो खाडल खने र वरिपरीबाट ढुंगा लगाए । विस्तारै सानो नानीलाई नरम ओछ्यानमा सुताए जस्तै गरी मेरी आमालाई हाले र माथिबाट माटोले पूर्दै गए । आमा छोपिदै गइन् । बिस्तारै आमाको जीउ र अनुहार मबाट टाढा हुदै गयो । आमा मबाट सधै सधैका लागि हराएर गइन् । मेरो हात समाएर अलि अलि माटो आमाको चिहानमाथि हाल्न लगाए । हाम्रो घरको बत्ति निभ्यो । जिन्दगी सधैका लागि अँध्यारो भएर गयो ।

मेरा कलिला दिनहरूमा मैले के नै गरिन र ? गाउँका प्राय: सबैका घरका भाडा माझे । गोबर भकारा गरें, लुगा कपडा धोए र धेरै धरै गाली, अपमान र कुटाई खाए । भोका दिनहरू गन्ने हो भने बर्षौ होइन यूग पनि हुन्छ होला । म गाउँका दाजुहरूसँग पहाडबाट हप्तौ लगाएर मधेशतिर गएर नूनका भारी ल्याएर गाउँका साहूहरूलाई बेच्थें । दुई चार पटक ओहोर दोहोर गरे पछि अब त केही होला की भन्ने लाग्न थालेको थियो । भत्केर अवषेश मात्र रहेको घरको गाह्रोतिर आँखा डुलाउदै आफू हिड्ने बेलामा आफ्ना बहिनीहरूले हामीलाई कपडा ल्याई देऊ है दाइ भनेको, बाबुले चाडै गएर राम्ररी आएस् भनेको कुरा सम्झदै दलवीर फेरि एक पटक ठूलो आवाजमा रोयो । गरिबीको पीडा र मातृ बात्सल्यको अभावले खरानी भएको दलबिर फेरि गाउँ फर्किएन, उतैतिर हरायो ।

उमेर ढल्कदै गरेको जीर्ण शरीर भएको आफ्नो बाबु र कलिला माया लाग्दा बहिनीहरूलाई सम्झदै उनीहरूमाथि ठूलो अन्याय गरेकोमा अफशोस जतायो । उसले मनमनै सोच्यो । साच्चै मेरा बाबु र बहिनीहरू कहाँ गए होलान् ? अब त बहिनीहरूको विहेवारी भयो होला । बाबु बाचेका भए मलाई देखेर खुशीले कति रुदा हुन् ? सायद अब त मलाई चिन्दैनन् होला । एउटा कुरा त पक्का पक्की छ । हाम्रो घरको अवशेष हेर्दा उनीहरू यहा छैनन् । आमा यही सडिन्, म कहाँ पुगे, बाबु र बहिनीहरू कता लागे ? हरे ! विधाताको खेल पनि यस्तो हुन्छ र ? भन्दै आमाको चिहानतिर हेर्दै दलवीर फेरि टल्पलायो ।

आफ्ना आफन्तको नालीबेली काया कैरन त तिनै अर्याल बाजेले मात्र बताउन सक्छन् भन्दै दलवीर धनपति अर्याल बाजेका घरतिर लाग्यो । गाउँको पुरानो शैलीको घर, बाहिर सिकुवामा पुरानो खाटमाथि मैलो मैलो परेको राडी ओच्छाएर बसेका अर्याल बाजे धेरै बूढा भएछन् । दातहरू सबै झरेछन् । आँखा भित्र भासिएर अनुहार चाउरिएछ । “दिन गन्दै अस्ताउन लागेको डाडाको घाम भएछन्” अर्याल बाजे पनि ।

अर्याल बाजेले दलवीरलाई देखेपछि, बाबुलाई त अघि देखेको थिएन । कहा जाने, के थरा (थर) हो ? भन्दै सोधे । बाजे म आइतेको छोरो दलविरे हो (हाम्रा बाबुलाई गाउँमा आइते भनेर बोलाउथे) चिन्नु भएन र ? भन्दै दलवीरले जवाफ दियो । कहाँ चिन्नु र बाबु ? त ता भागेको धेरै बर्ख भयो, लाठे पो भइछ त ! यतिका बर्ख कता हराइस् त बाबु ? भन्दै अर्याल बाजेले फेरि सोधे । बाजे म त उतै मधेशतिर नै पो हराए त भन्दै दलवीरले छोटो जवाफ दियो । तेरा सन्तानहेरु पनि कहाँ कहाँ पुगे । दलवीरले स्तब्ध हुदै सोध्यो । कता कता गए र बाजे ? तेरो बाबु क्षय रोग लागेर यही मर्यो, बहिनीहेरु झोडातिरै पोइला गए भन्थे । परारका साल कान्छी बहिनी दुई बर्खको छोरो लिएर आइथी । मेरै घरमा सात दिन सम्म बसेर गई । तिनेरु पनि कहाँ जाउन र ? जाने ठाउ छैन । आफ्नै घर जस्तो गरेर आइथी । घर त झोडातिर कता पो भन्थी ? दलवीरको मनले ठाउँ छोड्यो । बाजे म पछि आउछु भन्दै ऊ फेरि आफ्ना आफन्तको खोजी तिरै लाग्यो……!

एल एन सुवेदी “हस्ती˝
हाल : कुवेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *