Skip to content


एउटा उन्मादी धृतराष्ट्र
आफ्नो र आफ्ना सन्ततिको स्वार्थका लागि
सिंगो मुलुकलाई बन्धक बनाएर
जालझेल गर्छ, छलकपट गर्छ
आफ्नो र अर्कोमा विभेद मात्र गर्दैन
अर्काको सर्वस्व हरण गरेर
वनबास पठाउँछ
सत्य र निष्ठाका कसम खाएका
भीष्म र विदुरहरू
अन्याय र अत्याचारका शृंखलाबद्ध घटनाहरू
टुलुटुलु हेरी बस्न बाध्य पारिएका छन्
देशको स्वाभिमान र रक्षाको प्रश्न
उनीहरूका अगाडि तेर्सिएको छ ।

१९ अक्षौहणी सेनाको उन्मादले
उन्मत्त धृतराष्ट्र
सेनाकै मद र मात्सर्यले उन्मादित भएर
जनतालाई तिरस्कार गर्न थालेको छ
‘एकोहम् मान्य’ भन्ने सिद्धान्त
स्थापित गर्ने प्रयत्न गर्दै
ग्यास च्याम्बरको सम्झना गराउँछ ।

यो उन्मादको मदलाई परास्त गर्न
टुलुटुलु हेरेर बस्ने भीष्म र विदुर होइन
कृष्ण र अर्जुनको खाँचो छ, जसले
मेरो अभिशप्त मुलुकलाई मुक्त गराओस् ।

नेपाल साप्ताहिक ४८७

Leave a Reply

Your email address will not be published. Required fields are marked *