Skip to content

कालिञ्चोकलाई स्पर्श गर्दा

  • by


(हुन त लामो लामो लेख रचनाहरू पढ्नु पट्ट्यार लाग्दो हुन्छ। समय अभावले गर्दा पनि त्यसो हुन जान्छ तथापी मैले आफ्नो लेखनी धर्म निभाउनु पर्दा यो यात्रा संस्मरण लेखेकी हुँ। लेखीसकेपछि लेख्नेको स्वार्थ हुन्छ कि कसैले पढिदेओस। त्यस अर्थमा मैले यहाँहरू समक्ष यो संस्मरण राख्ने जमर्को गरें । आशा छ स्वीकार्नु हुनेछ र प्रतिकिया दिनुहुनेछ ।)

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो

महाकवि लक्ष्मी प्रसाद देवकोटो यी काव्यिक हरफहरूले धर्म मन्दिरमा गएर मात्रै हुने कुरालाई नकारेको छ। यद्यपि हामीभित्र मनको अन्तरकुनामा रहेको कुनै अज्ञात शक्तिले हामीमा कालिन्चोक भगवतीको दर्शनाबिलाषालाई तिव्र पार्छ । त्यसैले हामी काठमाण्डौंबाट दोलखा भीमसेनस्थान आएको दोस्रो दिन बिहान ३ बजे नै उठेर नित्य कर्ममा लाग्छौं । नित्यकर्म सकिए लगत्तै हामी लाग्छौ दोलखा भीमसेनको दर्शन गर्न पैदल नै जुन हामी बसेको होटलबाट करिब १० मिनेटको दुरीमा अवस्थित थियो । सबेरै ५ :३० मा मन्दिर परिसरमा पुगिसकेकोले त्यहाँ कुनै भिडभाड देखिदैन ।

आरती समय भने शुरु भैसकेको रहेछ । सबै जनाले मन्दिरभित्र गएर भीमसेनको दर्शन गरि सकाएपछि केही समय फोटो खिच्नमा व्यस्त हुन्छौं । सुन्दर प्राचिन कालीगढीले सज्जिएको सुन्दर नगरीको दृश्यपान गर्दै हामी पुन होटलमै फर्कन्छौ । अनि सामान, झोलाहरू बाँध बुध पार्छौं । हामी शिक्षक परिवार र गुरुजी सहित १४ जनाको जम्बु टोली अब बिस्तारै कालिन्चोक भगवती थानलाई गन्तव्य बनाएर हुईकिन्छौं । चरिकोट बजार पुगे पछि डिजेल हाल्नलाई पेट्रोल पम्प पुग्छौं । बिडम्बना पम्पमा “डिजेल छैन ” भन्ने साइनबोर्ड तरलङ्ग झुण्डिएको पाउँछौ । फसाद पर्छ । केह बेर पम्पको मालिकसंगको भलाकुसारीपछि हाम्रो समस्यालाई सम्बोधन गरिन्छ । ईमर्जेन्सी पर्दा एम्बुलेन्सलाई भनेर थाती राखेको १० लिटर डिजेल हामीलाई उपलब्ध गराईन्छ उसो त हाम्रो समस्यालाइ नजरान्दाज भने उनिहरूले गर्न सकिरहेका हुन्नन् ।

त्यतिन्जेलमा हामीले नगिचैको होटलमा चिया पिइसकेका हुन्छौ । सबै तारतम्य मिलिसकेपछि हाम्रो त्यो दिनको यात्रा शुरु हुन्छ । गन्तव्यलाई चुम्न हुईकिन्छौ चरिकोट देखि उकालोमा । बजारको कोलाहाललाई पछाडि नै छाडेर जति जति हामी माथि माथि ग्रामिण भेगलाई अगांल्न पुग्छौं उति उति नै हामी सबैको मुहारमा सन्तुष्टीका लहरहरू छचल्किदैं जान्छ । ३८०० मिटरको उचाईमा अवस्थित कालिन्चोकलाई भेट्ने अठोटका साथ लागेका हामी सबै मोटरभित्र रमाईला गफ र ठट्टामा मस्त हुन्छौ । मनभित्र अलि अलि डरले बास जमाई रहे पनि कसैले पनि त्यसलाई अभिव्य्क्त भने गर्न सकिरहेका हुदैनौं । सडक छेउछेउको बुढा बुढा रुखहरूमा सुसेल्दै गरेका चराचुरुङीहरूको चिरबिरले थप रौनकता थैपिदिन्छ । शुरुवातमा भन्दा मध्यभागमा पुग्दा यात्रा अलि कष्टकर भएको आभास हुन्छ । ढुङ्गै ढुङ्गा छपिएको तर घुमाउरो बाटोको कारण बेलाबेलामा हाम्रो छाती डरले धक्क फुल्छ ।

थरी थरीका गुराँस देखेपछि भने हामी मोटरभित्रै बाट नामाक्ररण गर्न शुरु गर्छौं । सेती गुराँस, लाँली गुराँस, रानी गुराँस आदि इत्यादी । लगभग २ घण्टाको लगालगको ठाडो उकालो यात्रा झन् झन् कष्टकर हुदैंजान्छ । सायद यसको भोगाई हामी चढेको मोटरले पनि भोग्छ र त ईन्जिनले समयसमयमा केही धक्का महशुस गर्छ । हामी बिच बिचमा ओर्लन्छौं केही बेर सुस्ताउन । अनि वरपर देखेका ढलेगलेका रुख बिरुवाहरूलाई ब्याकराउण्ड बनाउँदै फटाफट तस्वीरहरूमा आफूलाई समाहित गर्छौं ।

चिसो सिरसिर हावाको वहाबलाई हामीले खुलेर स्वागत गर्छौं । पुरै शरीर भरि कम्पन दिने त्यो हावाको बयान गरेर के साध्य । जति उचाँइमा पुग्छौं त्यति नै ठण्डीको आक्रमण । तथापी सहनशिल शरीरहरू त्यसको लागि तम्तयार हुन्छ । जस्तै रोकावट पनि चिर्दै जान्छ । चिसो सिरेटो, चट्टानहरूको अधिपत्य, गुराँसमय वातावरण यि यस्ता कुराहरू हुन् जसले हामीलाई हिप्नोटाईज गर्छ जसले हामीमा थप उत्सुकता अनि उमङ्ग भरिदिन्छ |

एउटा भिन्न परिवेश एउटा भिन्न जीवनशैलीले हाम्रो मनको बग्रेल्ती इच्छाहरूलाई सम्बोधन गर्छ । अनि तत्कालै मनमा अनेकन तिर्सनाहरू वेगका साथ जगाईदिन्छ । कस्तो सुन्दरता हो यो ? कस्तो सम्मोहन हो यो ? कस्तो जादु हो यो ? अनि कस्तो आकर्षण हो यो? जसले हामीलाई एकोहोराईरहेछ । पिएर कहिल्यै नरित्तिने। लिएर कहिल्यै नसिद्दिने कस्तो कस्तो खुट्टयाउनै नसकिने यो प्रकृतिको राज ।

“उ हेर्नुस् त सेती गुराँस,” सानुमैयाँ मिसले उत्साहित भावमा झ्याम्म परेर डाली नै झुल्ने गरि फुलिरहेको गुराँसको बृक्ष देखाउँदै भन्नु भो । उहाँको आखाँ नै गुराँसमय देखें । फुल्न पनि के साह्रो फुलेको। मनै हर्ने गरि । जस्तो सुकै कठोरताभित्र पनि मुलायमता फुल्ने। सजिलै जो कसैको हृदय पगाल्न सक्ने कस्तो अनौठो शक्ति ।

हामीमा अब त्यो गुराँसको रुखमा आफैलाई टाँग्ने रहर जन्मन्छ । फुलहरूसंग साउती मार्दै केही पल यो मनलाई भुलाउन पाए सायद यो सांसारिक मोह भङ्ग हुनेथ्यो कि?अभिलाषा जाग्छ । ति रङ्गहरूसंगै आफैलाई घोल्न पाए । यस्तै यस्तै विचारहरू उथल पुथल हुन थाल्छ मष्तिस्क भरि । “ए ढिला भैसक्यो ।”

विचारहरू मस्तिस्क हुदैँ स्वरयन्त्रमा न आईपुग्दै रामकृष्ण सरको यो झक्झक्याइले हामी गुराँससंगै टाँग्ने रहरहरू मार्न बाध्य हुन्छौं । एउटा धङ्धङती रहन्छ मनमा । फर्केर आउँदा पुरा गरौंला रहरहरू । पुन हाम्रो यात्रा शुरु हुन्छ । मोटर फेरि हुईकिन्छ गन्तव्य ताक्दै । हामी मौन रहन्छौं । हामी भित्रको मौनतामा पनि एक खालको चटारो, हतारो, आतुरी भने ज्युँका त्युँ । जुन जति छुपाउन खोजे पनि अनुहारको भावहरूले बताईरहेको हुन्छ। झण्डै झण्डै यात्रा ले ३ भाग बाटो कटाइसकेको हुन्छ । बढि धपेडीले गर्दा होला मोटरको ईन्जिनले पनि आरामा फर्माउन खोज्छ । सायद त्यो निर्जिव वस्तु वोल्दो हो त अघि नै” म थाकें एकैछिन् सुस्ताउन देउ। ” भन्थ्यो होला तर ऊ बोल्दैन ।

सहनशिलताको हद नाघेपछि भने अहिले आएर भने संकेत गरेको छ कि ऊ अब थकाई मार्न चाहन्छ । यो उसको नितान्त निजी मामिला हो तर यसले हामी मानिसलाई भने समस्या उत्पन्न गरिदिन्छ । अझै आधा घण्टाको यात्रा बाँकी नै हुन्छ । उफ् ! हामी निराश हुन्छौं । हतास मनले कतै यात्रा बिथोलिने त हैन भन्छ । काकाकुल हुन्छौं । वेचैन हुन्छौं । पैदल यात्राले ललकारे पनि पछि त हटिन्थेन यद्यपि केही साथीहरूलाई भने यसलाई सम्स्या उत्पन्न गर्ने पक्का थियो । “तँ आँट म पुर्याउँछु । ” यो भनाईले त्यस दिन आफ्नो सार्थकता दिन्छ ।

सायद भगवानलाई यो स्वीकार थिएन कि हामी मध्य कसैको यात्रा बिचैमा टुङ्गियोस । हामीमाथि कृपादृष्टि पर्छ । कता कताबाट त्यही बाटोमा काठ ओसर्ने मिनी टाटा रित्तै उकालोमा आईरहेको पाउँछौं । हाम्रो हतास मन, व्यग्र आँखा अनि छट्पटिएको पाईलाहरू अनायसै त्यतातिर बढ्छ । हाम्रो त्यो ठिठ्लाग्दो अवस्था देखेर गुरुजीमा हामीप्रति सहानुभूति पलाउँछ । हामीलाई मोटरबाटोको अन्त्यसम्म पुर्याईदिने वाचा गर्छ । यस वापत भने दुई हजार हामीले उसलाई दिनुपर्ने हुन्छ । हाम्रो मर्न लागेको मन् संजीवनी पाएर फेरि व्युँतिन्छ । अब हामी हाम्रो सामान, झोला सबै आफ्नो गाडीबाट निकाल्छौं र त्यो मिनीटाटामा हाल्छौं । हामी पनि उक्लन्छौं ।

यात्रा क्रमश: बढ्छ । आरामदायी सिटमा बसेर यात्रा गरिरहेका हामी त्यो खुला आकाशलाई गम्दै असहज परिस्थितिमा पनि हाँस्न थाल्छौं । यद्यपि प्रकृतिसंगको साक्षात्कार भने बडो चिन्तनशिल हुन्छ । वरिपरिको धमिलो वातावरणलाई नियाल्दै हुन्छौं । किनकी अब हामी उचाँईमा पुग्दैहुन्छौं । त्याहाँ चिस्यान अत्यधिक र जमिन कुहिरोले ढप्क्कै ढाकेको हुन्छ ।

“ल आईपुग्यो आधार शिविर । ”

“आधार शिविर?””

हे हे यो पनि आधार शिविर जस्तै हो । किनकी अब यहाँदेखि यहाँहरूको लेक यात्रा शुरु हुन्छ पैदल । ”

गुरुजीसंगको ठट्यौली गफगाफ पछि हामी पैदल पुग्छौं नजिकैको होटलमा ।

“उ त्यही हो कालिञ्चोक भगवती रहनुभएको लेक । ” चोर औंलालाई नाकको सिधा पार्दै त्यो ठाडो उकालोसंगैको भिरलाई ईङ्गित गर्दै होटलवाला बताउँछ ।

“आम्मै कस्तो भिर ! ” विस्फारित नयन भन्न थाल्छ । मन भने सजग हुन्छ । जसरी भए पनि यात्रा त गर्नै पर्छ । हामीमा अठोट भरिन्छ । मुठ्ठिहरू कसिन्छन् । यात्रा पुरा गरेरै छाड्ने प्रतिबद्दता हरेकको आँखामा छचल्किन्छ । हाम्रा झोलाहरूले त्यही होटलमा विश्राम लिन्छ ।

“लगभग २ घण्टा लाग्छ ।” होटलवाला फेरि बताउँछ । हामी अड्कलबाजी गर्छौ । त्यसो भए हामी ४ घण्टामा झर्छौं। खाना तयार पारिराख्न अर्डर गर्छौं । मन् पुन: उत्साहित हुन्छ । त्यो भिर चुम्न लालायित हुन्छौं । हुत्तिन आतुर हुन्छौं अनि उक्लन्छौं सुस्त सुस्त । सबैले अत्यावस्यक सामग्रीसहितको झोला भिरेको छ । म पनि केही औषधी, क्यामरा, र न्याना कपडा भएको झोला बोकेर गतिमान हुन्छु ।

घामसंगको लुकामारी शुरु हुन्छ । ऊ कहिले उघ्रिन्छ कहिले लुक्छ । स साना बुट्टयानहरू हामीलाई जिस्काउँछ । आफ्नो तिखो स्पर्श दिलाउन तम्तयार काँडाहरू जिङ्ग्रिङ ठ्डिएको छ । एउटा भिन्नै प्रकृतिसंग साक्षात्कार हुन्छौं । जीवन गतिलाई त्यसलाई मिलाउने हो भने एउटा पाठ बन्न सक्छ । जीवन आदर्श बन्न सक्छ । नयाँ सिद्दान्तको प्रतिपादन हुन्छ । हामी कहिले भावुक हुन्छौं कहिले रोमाञ्चित हुन्छौं अनि कहिले व्यग्र । मनमा अनेक विचारहरू खेल्दै हुन्छ साथै त्यो ठाडो उकालो एकतमासले उक्लिनै रहेको हुन्छौं ।

जति जति माथि पुग्छौं उति नै श्वासप्रश्वास तिब्र हुन्छ । ढुक्ढुकीको चाल बढ्छ । ढक्क छाती फुल्छ । अगाडि बढ्न कठिन लाग्छ । काठमाण्डौंको बिलासी जीवन व्यतित गरिरहेका हामीलाई त्यो २ घण्टा पैदल यात्रा पनि निकै कष्टकर हुन्छ । नजिकैको चट्टानहरूमा केही बेर सुस्ताउन, थकान मार्न बुर्कुसी मारेर चढ्छौं । वरिपरिको वातावरण धुम्म हुदैंजान्छ । चिस्यान बढ्दै जान्छ । त्याहाँको परिवेश, त्यो सुन्दर वातावरण ग्रहण योग्य हुन्छ । मनैभरि गुराँस फुलाउँदै हामी स्वागत गर्छौ । हिड्नुपर्दाको पीडाहरूलाई नेपथ्यमै राखेर सबैजनाको मुहार सफलता चुम्न लागेको उन्मादले ढाकिएको पाउँछु । एक प्रकारको उर्जा थपिएको महशुस हुन्छ । शक्ति संचार हुन्छ । हाम्रो शरीरहरूले आकक्ल झुक्कल घामको न्यानो भेट्छ । अनौठो कम्पन हुन्छ त्यतिबेला । कम्पित शरीर, तरङ्गित मन, विचारशिल मष्तिस्क बोकेर पुन: हामी आफ्नो यात्रालाई गति दिन्छौं ।

हामी भन्दा अगाडि एक हुल केटाकेटीहरू बतासिएर गए झै देखिन्छ । गुरुजी पनि के कम् पछि पछि हुरहुरिनुहुदैं माथि थुम्कामा पुगेर सुसेल्नुहुन्छ । डाहा लाग्छ, ईर्ष्या हुन्छ । कहिले त्यो थुम्कामा पुगिने हो भनि । अब पाईलाहरू अझ छिटो चल्न थाल्छ । यसो तल हेर्छु । ध्रुव सर, द्रौपदा मिस, आउँदै हुनुहुदोँरहेछ । रामकृष्ण सर भने स साना नानीहरूलाई सम्हाल्दै यात्रा गरेझैं मिसहरूलाई अघि अघि लगाउँदै आउँदै गरेको देख्छु । सलाम उहाँलाई त्यो अभिभाकत्वको लागि । मनले यसो भनिरहन्छ ।

केशब सर र बासुदेब सर म भन्दा माथि पुग्नुभएको छ । केशब सरको त्यो बुढो शरीर अनि सुगरको साथी बासुदेव सरलाई कुन अद्दृश्य शक्तिले डोर्याईरहेको थियो त्यो आफैमा रहस्यमय हुन्छ । यद्यपि उहाँहरू पनि हाम्रो सहयात्री हुनुभएको छ । यो आफैमा खुसीको कुरा हो । लोकमणी सर र जीबन सरलाई भने केही बेर रन्थनाउँछ । सायद लेक लाग्यो क्या रे । अत्यधिक चिस्यान र उचाँइको कारण त्यसो हुन्छ । स्याँ स्याँ बढ्दै जाँदा केहीछिन् आराम गर्न पर्ने देखिन्छ । केही बेरको बसाँई पछि उहाँहरू पनि गतिमान हुनथाल्नुहुन्छ । सबै भन्दा फुर्तिलो त रमेश सर र प्रजुल सर देखिनुहुन्छ । पाईला चालेकै नदेखिने । बत्तासिएको मात्रै देख्छु। सायद युवा जोस जाँगरले पेट्रोलको काम गरिरहेछ। यस्तै अनुभूत हुन्छ मलाई।

अनेकौं बाधा व्यवधानलाई पन्छाउँदै हामी त्यो थुम्कालाई चुमि छाड्छौं । जसै हामी कालिन्चोकलाई नजिकबाट स्पर्श गर्छौं मन बिभोर हुन्छ । आँशुहरू टल्पलाउँछ । थुम्कामा चढेर वारिपारिको डाँडाहरूमा नयनलाई विचरण गराउन पाउँदा हर्षविभोर हुन्छौं । क्लिक् । क्लिक् । क्यामराहरू बल्न थाल्छ । एकैछिनमा हामी क्यामरामा बन्द हुन्छौं । मौसमले भने रुप बदल्नथाल्छ। एकैछिनमा अध्येँरो हुन्छ । सेतो सेतो दानाहरू हामीमाथि बृष्टी हुनथाल्छ । “अहो ! के हो यो?””असिना होला। “”हैन हैन हिउँ हो । “हामी कन्फ्युज हुन्छौं ।

बाक्लै गरि पो झर्न थाल्छ त । हामी नजिकै रहेको एउटा छाप्रोभित्र छिर्छौं ।भित्र अंगेनामा आगो दनदनी बलिरहेको हुन्छ । जाडो ह्वात्तै बढ्छ । हामी आगोको वरिपरि बस्छौं । न्याना कपडाहरू झिकेर शरीरमा खाप्न थाल्छौं । “चिया बन्छ?'”बन्छ । “तुरुन्तै आगोमाथि किट्ली बसालिन्छ । एकछिनमा सबैको हातहातमा चियाको कपहरू देखिन्छ । सुरुप् सुरुप । भित्रदेखिको जाडो भाग्छ । हाम्रो कन्फ्युज भने अझै बाँकी नै । पसलेले हिउँ नै हो भनिसकेपछि मात्रै कन्फ्युज हट्छ । बाटो भरि हिउँ देख्न पाए नि हुन्थ्यो भन्ने लागिरहेको थ्यो पुरा हुन्छ। बाहिर निस्किन्छौं ।

जति नै जाडो भए पनि हिउँलाई खेलाउने रहर जन्मिन्छ । केही फोटाहरू लिन्छौं । छाप्रो भन्दा ठिक माथि भगवतीको मन्दिर अव्स्थित रहेछ । हामी अब तातिएका खुटाहरू त्यतातिर लम्किन्छ । खुड्किलामा पाईलाहरू बिस्तारै बिस्तारै चढाउँदैं जान्छौं । जब माथि पुग्छौं हामा नेत्रहरू बिस्फारित रहन्छ । त्यहाँको औलोकिक परिवेश, स्वच्छन्द वातावरण, मनोरमता देखेर सबै हिउँसंगै पग्लिन्छन् । सबैको मुखमा वाह !वाह! झुणिन्छ । त्यो डाँडाको चुचुरोमा अवस्थित भगवतीको मन्दिरले खुला आकाशलाई आफ्नो छानो बनाएको रहेछ ।

एउटा गहिरो खाडलभित्र भगवती विराजमान हुनुहुदोँरहेछ । तृशुल र घण्टहरूले घेरिएको उक्त क्षेत्रमा धर्ज्युहरूले टन्नै बेरिएको भेट्छु । मन उड्न थाल्छ । सबैजना खुसीले नाच्नहुन्छ । घण्टहरूको ध्वनी पर परसम्म प्रतिध्वनित हुन्छ । वातावरण आध्यत्मिक हुन्छ । फेरि क्लिक् ! क्लिक्! शुरु हुन्छ । आफैलाई त्यो सुन्दर वातावरणमा समाहित गर्दै तस्वीर लिने इच्छाहरू लाई रोक्न सक्दैनौं । लगभग १ घण्टा बिताउँछौं हामी त्यहाँ । तितो सत्य अब हामी त्यहाँबाट बिदा हुनै पर्छ । मन अमिलो हुन्छ। मनलाई कठोर बनाउनु त छदैँछ आखिरमा । हो त्यही ध्रुबसत्यलाई आत्मसाथ गर्दै हामी अब ओर्लन्छौ ।

पुन: हाम्रो यात्रा ओरालो झर्छ । अघि उकालोमा भन्दा सहज अनुभव गर्छौ ओरालोमा । पाईलाहरू छिटि छिटो बढ्छ । थकानहरू भाग्छन् सायद त्यो प्रकृतिको अ्मृतपानले होला । अनौठो शक्ति भरिन्छ । आफैलाई कहिले दौडाउछौं कहिले अड्याउँछौं कहिले फर्केर त्यो भिमकाय भिरलाई बिदाईका हातहरू हल्लाउँछौं । फेरि फर्किएर आउँछौं आउँदैनौं त्यो अनिश्चित छ त् यद्यपि मौका परे आउनेनै छौं । सायद सबै मनहरू यसै भनिरहेका थिए । झण्डै ४ घण्टाको त्यो चुनौतीपुर्ण पैदल यात्रालाई हामी अघिको गुरुजीले भनेको आधार शिविर “कुरी” मा बिश्राम गर्छौं । खाना तयार रहेछ । फटाफट खाना खान्छौ । भोकले नेटो काट्न लागिसकेकोले होला सबैजना खानामै केन्द्रित हुन्छौं । खाना असाध्य मिठो लाग्यो । धन्यवाद दिन्छौं खाना बनाउनेलाई । मुसुक्क हाँस्छिन् किशोरी। कृतज्ञता प्रकट गर्छिन्। अब हामी अघि आएको मिनी टाटामा चढेर ओर्लने तरखरमा हुन्छौं ।

अघि उकालोमा भन्दा ओरालोमा यात्रा असहज लाग्छ । ओरालो भएर होला उकालोमा पछाडि पछाडि धकेलिएका हामी अहिले भने अगाडि अगाडि हुत्तिदैछौं। हामी पछाडि पछाडि बस्छौं तर सुतुतु चिप्लिएर अगाडि नै पुगिहाल्छौं। सानोमा यसरी चिप्लेटी खेल्न पाउँदा खुबै दङ्ग पर्ने हामी अहिले झ्याउ मान्दछौं । सायद उमेर संगसंगै स्वाभाव अनि रहरहरू पनि परिवर्तन हुदैं जादोँ रहेछ । त्यसैले त अहिले वचपनमा मनपरेका कतिपय कुराहरू ईरिटेटिङ्ग लाग्छ । जे जस्तो भए पनि हाम्रो यात्राले अब चरिकोट बजार चुम्ने निस्चित हुन्छ। गुरुजीले हामीलाई हाम्रो मोटर भएको सम्म पुर्‍यादिनुभै आफ्नो वाचा पुरा गर्नु हुन्छ।

अब हामी आफ्नै मोटरमा चढेर हुईकिन्छौं । बेलुकाको ४ बजिसकेको हुन्छ हामी चरिकोट पुग्दा । अब त्याहाँबाट जिरीको निम्ति प्रस्थान गर्छौं। हल्का वर्षा हुन्छ। वातावरण धुमिल । जति जति साँझले दिनलाई स्वार्लक्कै निल्दै जान्छ त्यति त्यति अधेरीले बर्को मार्न थाल्छिन् । हामी पनि त्यो प्रकृतिको नियमलाई स्वागत गर्छौं। बाटो वरिपरिका दृश्यहरूको रस्वादपान गर्नाबाट हामी बञ्चित हुन्छौं।

“उ कालो गुराँस । “एक्कासी रामकृष्ण सर चिच्याउनु हुन्छ । हामी झस्याङ्ग हुन्छौं।

“सर पनि कालो गुराँस कहाँ देख्नु भो खै?”सानुमैया मिसको प्रतिउत्तरमा सर “ल अब रात परे पछि अध्याँरोमा देखिने गुराँसको रङ कालो त्यसैले कालो गुराँस भनेको नि । “भन्नु हुन्छ ।

हामी सबै हाँसोलाई थाम्न सक्दैनौं र गललल हांसिदिन्छौं। एकैछिन रौनकता थपिन्छ। केही बेर पछि फेरि मौनताले बास गर्छसबै थकित मुद्रा हुन्हुन्छ। त्यसैले होला अब सबैजना मौन अनि व्यग्र देखिनुहुन्छ । कतिखेर आराम गर्न पाईने हो भनि। लगभग ७:३० हुदोँ हो हामी जिरीलाई स्पर्श गर्छौ केही छिन्मा जिरीको छातीमा रङ्मङिन्दै हुन्छौं। नजिकैको एउटा होटलमा बस्ने व्यवस्था मिलाईसकेपछि हातखुट्टा धोईओरी खाना खान्छौं र भोलि नेपालको स्वीजर्ल्याण्ड भनेर चिनिने जिरीलाई आँखाले भ्याए सम्म पिउने तर्कना, मुर्छना लिएर आँखाहरूलाई आराम दिन्छौं।

बिना तामाङ ‘सुनगाभा’

काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *