बिकुलप्रसाद र उनको छिमेकी नानीराम वीच आ-आफ्ना नातिका झगडाको बिषयलाई लिएर निकै भनाभैरी चल्यो । विवाद बढ्दै गए पछि उनीहरूका श्रीमतीले एक अर्काको इज्जत नंग्याए । त्यतिले भएन उनीहरूका छोराहरूले हात सुर्कासुर्की गरे झगडा चुलिदै गए पछि बुहारीहरूले एक आपसमा कपाल भुत्ल्याउन पुगे । गाउको जनसरकार सदस्यले आफ्नो अध्यक्षलाई उजुरी जाहेर गर्यो । दुई तीन जना भरुवा बन्दूक र कटुवा पिस्तोल बोकेका जनसुरक्षा कर्मीहरू अघि पछि लाएर अघि गाउँका बाख्रा शहरमा लगेर व्यवसाय गर्ने बाख्रा ब्यापारी “निर्जन” लाख्र्याक लाख्र्याक आई पुग्यो । पुराना फाट्न लागेको कम्ब्याक्ट ड्रेस लगाएको जन सरकार प्रमुखले सबै झगडाको बिउ बुझ्यो ।
निर्जनले सचिवतिर हेरेर कानूनका ऋचा पल्टाउन भन्यो । सचिवले काचो कागजको पन्ना झिकेर हेर्दै उमेरका हिसाबले बाजेहरूलाई सख्त सजाय दिन नमिल्ने बताए पछि निर्जनले भन्यो, “दुवै जना बूढाहरूले एक एकवटा डोको बुनेर दुई दिन भित्रमा मेरो घरमा पुर्याउनु ।”
बूढीहरूको बारेमा सचिवले अर्को पन्ना पल्टाएर भन्यो, “धारा नम्बर ३ अर्थात् एकले अर्काको कान समातेर पाँच पाँच पटक उठबस……!” निर्जनले इशारा गर्यो ।
बिकुलप्रसादकी बाहुनीले मानेकी थिइनन्, बिकुलले बूढीलाई इशारा गरे, “छिटो गर मूर्दा, तेरा बाबुले सुलाउला फेरी ।”
उनीहरूले सकी नसकी धर्खर्रिदै पाँच पाँच पटक उठबस गरे ।
अब छोराहरूको पालो आयो । निर्जनले एक्कासी छाँटा चढे जस्तो गरेर जुरुक्क उठ्यो र दुवै जनाका गालामा बिजुलीका भरमा चड्कन मारेर इन्द्रेणी देखाउदै भन्यो, “यहाँ कानून कडा छ । पन्ध्र दिनसम्म श्रम शिविरमा ढुंगा फोर्ने काम गर्नु ।”
त्यस पछि बुहारीहरूको पालोमा सचिवले अलिक हल्का सजाय हुने बतायो । छेउमा उभिएकी तिलरुपाको फक्रिएका बक्षस्थलमा गहिरिएर दृष्टि गोचर गरेर बेलुका रक्सीको नशामा रोमान्चकारी क्षण बिताउने सपना देखि हेको निर्जनले अलि कति मुस्काएर मुन्टो हल्लाउदै जुँगामा ताउ दिएर भन्यो, “ यहाँ कानून कडा छ” त्यसैले दिनको पाँच भारीका दरले यहाँ नजिकै भएका ढुंगा परको स्कूलमा थुपार्नु ।”
बिकुलकी बुहारीलाई देखाउदै चंद्रवतीले भनी, “बिचरी हिजो अस्ति परिवार नियोजनको अप्रसेन गरेर आएकी कसरी ढुंगाको बारी बोक्न सक्छिन ?”
“उसो भए पाँच दिन सम्म त्यहाँ बसेर गिट्टी कुट्नु । यहाँ कानून अलिक कडा छ ।”
नातिहरू दुइटैका कन्सिरी उखेल्दै निर्जनले भन्यो, “भोलिदेखि बिहानै गएर पर स्कूलको कोठाहरू सफा गर्नु ।”
जन सरकारको कानून अनुसार नरम करम, कान खूर मिलाएर इन्साफ गर्दै निर्जन त्यहाँबाट बाटा लाग्यो ।