Skip to content


जब नाङ्गा साल सिसौहरूमा बशन्तले पालुवा लाउन थाल्छ । जब रातको अध्यारोमा जूनकिरीले उज्यालोको रोशनी छर्न थाल्छ । जब फूलबारीबाट बाबरी फूलको बासना पर-परसम्म चल्न थाल्छ । तब मेरो ऊ मेरो मसित हिडिरहे जस्तो लाग्छ । मतिर हासेर बोली रहे जस्तो लाग्छ । मेरो ऊ मसित टोलाई रहेजस्तो लाग्छ ।

मेरी आभा म तिमीलाई यति माया गर्छु यति माया गर्छु । उस्को कुरा बिचमै काटेर म भनिदिन्छु – ए अभिशेक प्रष्ट भनन तिमी मलाई कति माया गर्छौ ? ऊ मदेखि क्रुद्द हुँदै भन्छ -“आभा तिमी मलाई जहिले पनि उडाउछौ, म तिम्रो बाबा आमालेभन्दा बेशी माया गर्छु । अब त बुझ्यौ ! ”

म फेरि उसलाई गिज्याउदै भन्छु – “हेरौला अहिले त हाम्रो डेटिङ्ग मात्र चल्दैछ ।”

“आभा तिमी मलाई बुझ्दिनौ ! ” भन्दै ऊ लपार्बाही हिँडिदिन्छ ।

अनि एकदिन ऊ मसित निकै गम्भीर मुद्रामा प्रस्तुत हुन्छ । “आभा ! आज तिमीसित गम्भीर कुरा गर्नुछ” भन्दै मेरो हात समातेर शिव मन्दिरको हाताभित्र पस्छ । अनि बिस्तारै कुरा गर्न थाल्छ – “आभा! मेरो कुरा सुन म तिमीलाई आफैभन्दा बढी माया गर्छु । म तिमीलाई अहिले नै शिव मन्दिरालाई साँची राखी आफ्नी बनाउन चाहन्छु । कुरा के भने म पाच बर्षको लागि जर्मनी जादैछु । नाई नभन यो मेरो प्रेमको निशानी माटोको धुलो हुनेछ । सम्झ मैले यही धुलो सिँदुर सम्झेर तिमीलाई लगाई दिनेछु । आजबाट तिमी मेरी हुनेछौ, शिर्फ मेरी ।”

म तीन छक्क पर्दै भन्छु -“अभिशेक ! यो सबै कसरी सोच्यौ तिमीले? तिमीलाई थाहा छ, मेरा बाबा आमा हुनु हुन्छ । यो पनि तिमीलाई राम्रै ज्ञान छ, मेरो पढाइ सिद्दिएको छैन । म बी ए तेस्रो बर्षमा पढ्दैछु । यो तब सम्भब हुन्छ, जब मेरा बाबा आमा राजी हुनुहुन्छ । यो तब सम्भब हुन्छ जब म कमसेकम बी ए पास गरेर नोकरी गर्दै हुनेछु ।”

“हैन आभा ! मैले तिमीलाई नपढ भनेको हैन, मैले तिम्रो बाबा आमालाई नमान्ने भन्ने पनि हैन । तर … तर … म बिदेस जानु अघि सुनिश्चित हुन चाहन्छु । तिमी मेरी हौ, मेरो कुरालाई अन्यथा नलेऊ । मेरो कुरा मान ।”

उसको यो जिद्दीमा मलाई झनक्क रिस उठ्यो र मैले भनेँ -“भयो बस् अब तिमी जाऊ अभिशेक ! यी सबै कुरा अहिले सम्भब छैन । पछि हुने कुरा समयलाई छोडी देऊ ।”

——————

अहिले मेरो बाबा आमा राम्रो केटा आएमा मेरो बिहे गर्ने भन्नुहुन्छ । मेरो आफ्नो बिहे नगर्ने जिद्दीले गर्दा बहिनी रन्जु र भाइ रमेशको बिहे भै सक्यो । अभिशेक जर्मनी गएको पनि पाँच नभएर दश बर्ष भएछ । म एम ए सकेर घर पायकमा पार्ने गाउकै उच्च मा बि मा पढाउदैछु । सम्पुर्ण घरको आम्दामी खर्च पनि मै हेर्छु । मेरा बाबा आमा भन्नुहुन्छ – “छोरा अब कहिले सम्म बाटो हेर्छौ ? अब त आफ्नो बिचार बदल ! पुन बिचार गर ! आफ्ना बाबा आमाले आफ्नो शन्तानको चिन्ता नगरेर अरू कस्ले गर्छ त !”

म स्वभाविकै ठान्छु । अर्को कुरा मेरा बाबा आमाले मलाई छोरा भन्दैमा म अचम्भमा छैन । जुना छोरीले घरको सम्पुर्ण दायित्व लिएर समाजमा गतिलो पदचिन्ह कोरेकी छे । नारी पनि काम छैनन् भनेर उदाहरण प्रस्तुत गरेकी छे । उसलाई यो उपमा नौलो हैन । तर म छोरी नै हुँ । खुम्चिनु पर्ने जरूरत पनि म देख्तिन ।

अझै पनि जब म उस्को बारेमा सोच्छु …. चित्त बुझ्दो जबाफ म पाउदिन । तै पनि ऊ आउछ भन्ने म आसामा छु । ऊ फर्कन्छ भन्ने म दृढतामा छु । जब नाङ्गा साल-सिसौहरूमा बसन्तले पालुवा लाउन थाल्छ । जब रातको अध्यारोमा जूनकिरीले उज्यालोको रोशनी छर्न थाल्छ । जब फूलबारीबाट बाबरी फुलको बाशना पर पर सम्म चल्न थाल्छ । तब मेरो ऊ मसित हिडिरहेजस्तो लाग्छ । मसित हासेर बोली रहे जस्तो लाग्छ । मेरो ऊ मसितै टोलाई रहे जस्तो लाग्छ ।

अस्तु:
कथाकार : बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल: अबुधाबी, यू ए इ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *