रक्तिम झन्डा उचाले,
कालो झन्डा उचाले,
कलम उचाले,
बन्दुक उचाले,
मसाल उचाले,
उनीहरूले भने….
हामी हेपिएका छौ,
हामी पिल्सिएका छौ,
हामी पिसिएका छौ,
हामी बन्धक भएका छौ,
हामी बेचिएका छौ,
हामी अपमानित बाचेका छौ,
हामीलाई मुक्ति चाहियो ।
यी हुन्कारहरूको
अन्तिम बिकल्प
“सयौ बर्ष पुरानो युग”को
अवसान थियो
त्यो भैइछाड्यो ।
र,
अर्को युग जन्मियो ।
त्यसलाई सबैले
“नयाँ युग” भने ।
“नयाँ युग” को
जताततै स्वागत भयो
नयाँ युग प्राप्तिको
उल्लासमय उत्सबहरू मनाइयो ।
तमाम शोषित, पीडित
त्यही “नयाँ युग” को
छाता मुनी गोल बन्द भए ।
बिशाल मोर्चा बन्यो,
मोर्चाले केही मान्छेहरूलाई
“नयाँ युग”को जगेर्णाको लागि
बिस्वासका खादा ओडाएर पठाएँ ।
तिनीहरूले सफथ खाए
हामी “नयाँ युग” को
जगेर्णा गर्छौ भनेर ।
कालान्तरमा आएर
तिनीहरूले “नयाँ युग”को
आँखा फुटाल्न खोजे,
कसैले हात भचाउन खोजे,
कसैले खुट्टा तान्न थाले,
कसैले कान तान्न थाले,
चारपट्टीबाट आक्रमण भयो-“नयाँ युग”लाई !
“नयाँ युग”का जन्मदाताहरू
खबरदारी गर्दै थिए
उसलाई सकुशल बचाऊभनेर ।
चिच्याउदै थिए
हाम्रो पुस्ताको सम्पत्ति हो यो-“नयाँ युग”
उसलाई सुरक्षा देउ भनेर ।
अन्तत:
सबैलाई बेवास्था गर्दै
“नयाँ युग” माथि
झन झन आक्रमण गरे
मुटु निर हाने…
धड्कन सुस्त भयो-“नयाँ युग”को
चारपट्टीबाट छताछुल्ल हुने गरी
च्यात्न थाले,
काट्न थाले,
भाग्यमानी पुस्ताको भाग्य
तिनै सफथ खाएर गएकाहरूले
रातारात खोसी दिए ।
रगत पसिनाको भल
सुक्न नपाउदै…
“नयाँ युग”को “हत्या”भयो
र,
भन्न थाले तिनीहरू
“नयाँ युग”को
दु:खद निधन भयो ।
ति हत्याराहरू
आफू निर्दोस छु भन्दै
नयाँ पूस्ता माझ छिर्दै छन ।
कालो बादलमा
कालो काग खोज्दै छन ।
आफूलाई पुर्ने खाल्डो
आँफैले खनेका छन ।
आजको यो अपमानित पुस्ता भन्दै छ..
ती पुरानो मनको
पुरानो मान्छेहरूलाई
“नयाँ युग” को हत्याराहरूलाई
त्यही खाल्डोमा हालेर
एक चिहान बनाउनु पर्छ ।
उनीहरू फेरि कहिलै नऊठुन ।
शहिद् बनेको”नयाँ युग”को
सम्मान तब मात्र हुन्छ,
जब ती हत्याराहरूको एक चिहान बन्छ ।
०६ जुन २०१२
बिरानो देशबाट