Skip to content


ग्याल्जेन दाजु
हिमाल नदीको उद्गम मात्र हो
नदी हुँदैन, धान फल्दैन
हिउँ नै प्राण हिउँ नै सम्पूर्ण
जीवनको आधार हो,
हिमाल मात्र हिमालीको भन्ने घमण्ड नगरे हुन्छ
हिमाल चिनारी हुन सक्छ, नेपाल होइन
तिमी कुन देशको नागरिक ?

(१)
रामदुलारी दिदी
हिमालमा हुने हिउँ
तराईमा देखिन्न
हिउँ नभए नदी हुँदैन
नदी नभई तराईको औचित्य छैन
तराईको प्राण हिमाल
हिमालको ज्यान तराई
तराई नै जीवनको सम्पूर्ण आधार भन्ने भ्रम नपाले हुन्छ
मात्र तराई नेपाल हुन सक्दैन
तिमी कुन देशको नागरिक ?

(२)
फुर्वा भाइ
पहाडको रौनक
हिमाल तराई कतै देखिन्न
त्यो अर्कै कुरा हो
प्राकृतिक छटा तिम्रो सम्पत्ति होइन
हिमाल र तराई बिना
तिम्रो कुनै अस्तित्व छैन
त्यसैले
मात्र पहाड नेपाल हुन सक्दैन
तिमी कुन देशको नागरिक ?

(३)
हिमाल, पहाड र तराई
भाषा, भेष र संस्कृतिको सङ्गम
त्रिवेणी हो नेपाल
त्यसैले हामी सबै
नेपालको नागरिक ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *