Skip to content

जनचेतनाको दियो कलम

  • by


एटम बम उसको छातीमा हराउँछ, गोली र बन्दुकको के कुरा ? दुनियाँका सासकहरुका हिटलरशैली अब हावामा हराएर जान्छ । जनशक्तिका अगाडि बम र बारुद, दम्भ र घमण्ड सब चुरचुर भएर हराउँछ । मानव चेतनाको प्रतीक रहेको कलमले सारा संसारलाई उज्यालोको अनुभूति गराउँछ । कलम मानव मस्तिष्कको नेत्र एटम बम हो ।

कलमजीवीहरु जनतालाई सु–सूचित गरी हक र अधिकार तर्फ सचेत तुल्याउँछन् । अन्याय र अत्याचारका विरुद्ध लड्न प्रेरित गर्दछन् । राज्य व्यवस्थाको चौथो अंगका रुपमा रहेको लेखनी क्षेत्र र मानव चेतनाको तेस्रो नेत्रका रुपमा रहेको कलममाथि धावा बोल्न खोज्नु कायरताको पहिचान हो ।

विश्वको पुरानो इतिहासलाई हेर्ने हो भने विभिन्न समयमा विभिन्न शासकहरुले कलममाथि ठूलो प्रहार गरेका थिए । जसको यथार्थ स्वरुपमा अगाडि आएका ईरानका वादशाह शहंशाह, जर्मनीका शासक हिटलर र नाजीहरुले कलममाथि ठूलो अक्रमण गर्न लगाएका थिए । जुन कलमलाई समातेर शिक्षा हाँसिल गरी शासक कहलाइए उनीहरुद्वारा नै कलमको उपहास गर्दै आक्रमण गराउनु कहाँसम्मको निन्दनीय कुरा हो भन्ने अनुमान लगाउन सकिंदैन । बच्चादेखि लिएर ठूलाभन्दा ठूला पोष्टका व्यक्तित्वहरुको सहयात्रीको रुपमा रहेको कलमलाई हेयको दृष्टिले कमजोर पारिन खोज्नु सरस्वतिको निन्दामा रमाउनु जस्तै हो ।

नेपालको सन्दर्भमा पनि माओवादीको युद्धकालमा विभिन्न क्षेत्रमा भएका कलममाथिको आक्रमणमा परी कलमजिवीहरु मृत्युशैयामा पुगेका कलमयामीहरुको सम्झनामा आज नेपालको इतिहासले आसु चुहाएको देखिन्छ । त्यस्तै प्रकारको दमन र आक्रमण अहिलेको समयमा पनि विभिन्न तर्फबाट भइरहेको छ । यसको यथार्थ जानकारी हुँदा हुँदै पनि जातीय निहुँमा कलमलाई गाली गलौच, निन्दा, भर्तसना, हेलाँ र तिरस्कृत गर्दै सडक सडकमा बेइज्जत गराइनु हिटलर र शहंशाहको नीतिलाई यतिखेरको सरकारले पनि अवलम्बन त गर्न खोजेको होइन भन्ने संकेत मिलेको छ । कलममा कुनै जातजाति र नातागोता अनि सरकार र जनता भन्ने हुँदैन यो त केवल निःसन्देह, निष्पक्ष र यथार्थ कुराहरुलाई पानामा उतार्नको लागि अग्रसर रहने एउटा माध्यम हो ।

कलमलाई सडकमा जलाउन खोज्नु, कलमलाई भाँचेर वा भाँडेर आफ्नो वर्तमानको स्वार्थ पुरा गर्छु भनेर सोच राख्नेहरुले भोलिको इतिहासमा त्यहि कलमले उसको अस्तित्वलाई कसरी प्रर्दशन गर्ला भन्ने ज्ञानबाट ओझेल हुनु हो । अहिलेको परिवेसमा जसले कलम चलाउँछ आज उसैले देश बचाउँछ । बारुद र बन्दुक देखाएर देशको राजनीतिमा वर्चस्व गराउन आँट लिएका राजनीतिक दलहरुले कहिल्यै पनि कलमको मर्मलाई बुझ्न सकेनन् । नेपाली पत्रकारहरु माथि हिंजो द्वन्द्वकालमा पनि आक्रमण भएको थियो भने आज गणतान्त्रिक लोकतन्त्रमा पनि झन ठूलो प्रहार भएको तथ्य हाम्रा सामु आलै छन् ।

मानिसको सोंच र यथार्थ सत्य कुराहरुलाई पानामा कुँदेर राजनीतिक दलदेखि जनतासम्मको सूचना प्रवाह गराउनमा अहम् भूमिका निर्वाह गर्ने कलमलाई अपहेलित गरिनु सान्दर्भिक थिएन । पटकौं पटक कलमको शक्तिले देशलाई एउटा अन्धकारबाट उज्यालो तर्फ ल्याउन गतिशिल भएर रह्यो । राजनीतिक दल र सरकारमा सम्मिलित व्यक्तित्वहरुलाई गुमराहबाट बचाउने कलम कहिले मन्त्रीको अगाडि जान वञ्चित पारियो, कहिले संसद भवनभित्र पस्न दिइएन त कहिले चुनावी पत्र गणना गर्ने भवनभित्र प्रवेश गर्न दिइएन । यी सबै कलममाथि गरिएको अत्याचार, दमन र शोषणको परिकाष्ठा नै थियो । अब देशले थप अर्को ऋणभार खेप्नु पर्ने देखियो । ५ अरब खर्चेर संविधानसभाको लागि २०६४ सालमा चुनाव गराइयो तर त्यसको कुनै औचित्य नै रहेन । सहमति र असहमतिको नाममा जनतालाई संविधानबाट बञ्चित पार्दै फेरि थप १० अरबको खर्च नेपाल र नेपालीमाथि थोपारिन लागेको कुरा जेष्ठ १४ गते संविधानसभा विघटनबाट प्रष्टिएको छ । कतिपय पत्रपत्रिका र समाचारहरुमा कलमले लेखेको जनमतलाई अंगिकार गरेको भए सायद यति ठूलो खर्चबाट देशले मुक्ति पाउँथ्यो होला । आफ्नै मात्रै दूनो सोझ्याउने प्रतिष्पर्धि सोंचले फेरि देशलाई अर्थहिन चुनावी मैदानमा उभ्याएको छ ।

मंशिर ७ गते गर्ने भनिएको चुनावको कुनै औचित्य नै देखिंदैन किनभने ४ वर्षसम्म चुनावी प्रकृयाबाट जनताले चुनि पठाएका राजनीतिक दलका संसदहरुले कुनै पनि बुँदामा सहमति तर्फ जान नसक्नु र आफ्नै गोरुको बाह्रै टक्का भन्ने उखानलाई आत्मसात गर्नाले देशलाई ठूलो दुर्दशातिर अग्रसर गराएको छ । मंशिरको चुनावपछि देश र जनताले संविधान पाउलान् भन्ने कुनै ग्यारेन्टि छैन । फेरि प्रकृया उहि दोहोरिंदै केवल शासन र भत्ताको खेलमा जुट्न नसक्लान् भन्ने कुरामा कसरी विश्वास गर्ने ? एकले अर्कोलाई दोषारोपण गरी जनताको आँखामा छारो हाल्ने प्रविधियुक्त भाषणहरुको समिक्षा यदि जनताले गर्न सके भने अब हुने चुनावमा ठूलो परिवर्तन आउन सक्ने कुरालाई पनि दृष्टिगोचर गर्नु पर्ने हुन्छ । अबको चुनाव जातिगत जाने वा दलगत जाने भन्ने कुराले अगाडिका जातीय द्वन्द्वले केहि त फरक पार्ने नै छ । आफैले जनतालाई जातीय द्वन्द्वमा होम्ने राजनीतिक दलका नेताहरुले अब कुन एजेण्डा लिएर गाउँमा पस्ने भन्ने दोहोरो रणनीतिलाई कसरी अगाडि लैजान्छन् त्यो भने जनताले हेर्नै बाँकी छ ।

यी सबै कुराहरुलाई थाँती राखेर सर्वप्रथम कलमको इज्जतलाई कसरी बचाउने भन्ने कुरामा राजनीतिक दलहरुले बिचार गर्नु आजको आवश्यकता छ । कलमलाई सुरक्षा दिने प्रतिवद्धता हुँदा हुँदै पनि विभिन्न समयमा प्रहार गरिंदै आइएको इतिहासदेखि आजसम्म सबैलाई जानकारी भएकै कुरा हो । कलमले लेख्न छाडिदियो भने जनमानसमा चेतना र समाचार कसरी प्रसारण गर्न सकिएला भन्ने कुरालाई चटक्कै भुलेर आफ्नो अस्तित्वलाई वर्चस्व राख्न गराइएका चरणवद्ध कलममाथिको आक्रमणले फेरि एक पटक सोच्नु पर्ने देखिन्छ । यथार्थ कुरालाई कलमले लेख्न सक्नु पर्छ । कलम चलाउने हातहरुले कलमको मूल्यलाई पहिचान गरी त्यसको सहि दिशा अवलम्बन गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । कलम नै जनचेतनाको दियो हो भन्ने कुरालाई राजनीतिकदलले नबुझ्नु नै आज दुश्मनको तारो बनेको कलमलाई बचाउनको लागि समय मै कलमहरुको जमघट र आफ्नो अस्तित्वलाई विश्वसामु चिनाउनको लागि एकपटक संघर्ष गर्नु नै पर्ने हुन्छ नत्र भोलिका दिनमा कलमहरु भाँचिन्छन् । कलम समाउने हातहरु काटिन्छन् र पत्रकार र प्रेसमाथि गोलि चलाइन्छन् । तसर्थ समय मै कलमले कुनै बाटो अवलम्बन गरी आपूmलाई सर्बत्र समस्याबाट मुक्त र निर्धक्क बनाउनको लागि कलमका मसीलाई चुहाउनु पर्ने आजको आवश्यकता छ । अनि मात्र यो कलमले देशलाई सहि दिशातर्फ लैजानको लागि ज्यानको बाजी लगाएर हरेक क्षेत्रमा अगाडि बढ्ने छ ।

तसर्थ, देश र जनता अनि विभिन्न राजनीतिक दल र तिनका नेताहरुले कलमको मूल्य र मान्यतालाई आत्मसाथ गरी यसको स्वतन्त्र लेखनप्रति आस्थावान रहेर, कलमको सरक्षा र यसको मौलिकतालाई दृष्टिगोचर गर्दै साथ दिनु आजको अवश्यकता छ । एउटा व्यक्तिको भड्काउ भाषणमा चुर्लम्म डुबेर आफ्नो हातमा भएको कलमको निमलाई भाँच्न खोज्नु मुर्खता नै मानिने छ । सरकारको तर्फबाट पनि कलमको स्वतन्त्रता माथि हस्तक्षेप हुनु र यसमाथिको आक्रमणलाई तुरुन्त रोकि संवेदनशिल र चेष्ठावान नागरीकको हैसियतले संरक्षण गरिनु पर्दछ ।

सुरज गिरी (नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *