Skip to content


म असिनपसिन र दौडधूप गर्दै
हाम्रो जीतको लागि
रन बनाइरहेँ
उसले
हामीलाई नै हराउन
जानाजानी निर्लज्ज ‘वाइड बल’ फालिरह्यो ।

ट्वान्टी ट्वान्टी संस्करणको आई.पी.एल. मा चेन्नई सुपर किङ्सको तर्फबाट व्याटिङ गर्न महेन्द्रसिंह धोनी र सुरेश रैना मैदानमा देखिए । एकाएक मेरो छोरोले सोध्यो – ‘बाबा ! हजुर धोनी रोज्ने कि रैना ?’ उसको सहज प्रश्नले मलाई असहज बनायो । एउटै टिममा खेल्न आएका दुवै खेलाडीको खेल स्तर, रन सङ्ख्या र समग्र खेल नहेरी कसलाई रोज्ने ? म धर्मसङ्कटमा परेँ । छोरोले फेरि दोहोर्‍यायो ः ‘ल, त्यसो भए मै भन्दिन्छु म रैना बाबा धोनी ।’

लगभग मेरो छोरोकै औसत मनस्थितिले हामीमा विद्यमान विडम्बनायुक्त सारलाई प्रतिनिधित्व गर्छ । हामी एउटै टिम, एउटै वर्ग, एउटै सत्य एउटै सोच र एउटै खोजमा भए पनि आ-आफ्नो स्वार्थ अनुकूलको व्यक्ति, व्यक्तित्व, कृति, कृतित्व र परम्परा संस्कृतिको वकालतमा मरिहत्ते गर्छौं । राजनीतिक वाद मिल्दामिल्दै पनि हामी कतै वैद्य र दाहालको विवाद गर्छौं, कहीँ ओली र खनालको वकालत गर्छौं अनि कतै देउवा र कोइरालाको पक्षपोषणमा उत्रन्छौँ ।

बदलिँदो मुलुकको तस्बिर र पुनर्संरचनाको प्रसङ्गमा समेत यही मति सक्रिय छ । यदि सङ्घीयता हाम्रो अभीष्ट हो भने जातीय, भूगोल, शक्ति सामर्थ्य अनि धर्म संस्कृतिको सङ्कुचन किन ? खोजी नयाँ नेपाल हो भने पुराना संस्कार र परिपाटी त्याग खै ? दोस्रो बुद्ध स्वरूप हुन कोही तयार नहुने ? अनि सहमति एवं सहकार्यको राग मात्र उरालेर पुगिन्छ कहाँ ? राजनीति र त्यस परिवेशभित्रको यही विरोधाभासले सबै तह र तप्कालाई गाँजिसकेको छ । विभिन्न सङ्घ, सङ्गठन, व्यावसायिक संस्थादेखि साहित्यिक गुठी र पुरस्कारसमेतमा कामभन्दा अनुहार, सोचभन्दा व्यवहार र आदर्शभन्दा कारोवार हेर्ने प्रवृत्ति हावी छ ।

मलाईं वैशाख महिनामा दुईवटा व्यावसायिक सङ्घसंस्थाको कार्यक्रममा सहभागी हुने मौका मिलेको थियो । पहिलो भेला कर्मचारी मित्रहरूको थियो भने दोस्रो जमघट लेखक, कविहरूको थियो । कर्मचारी भेलामा एक मित्रले मलाई भने – ‘म यो युनियनमा छु भने मैले किन ‘थानी’ वा ‘देवकोटा’ को बिल्ला भिर्नैपर्ने ? अर्को भेलाका एक कवि साथीले भने – ‘म त्यो संस्थाका लागि तनहुँमा जन्मेकाले अयोग्य भएँ । शायद म झापामा जन्मेको भए स्वीकार्य हुने थिएँ कि ? अत्यन्तै मार्मिक छन् भोगाइका यी पाटाहरू । अचेल व्यक्तिले जन्मदै तथाकथित कुल र ठाउँमा जन्मनुपर्ने र हुर्कंदा गुट/उपगुटमा लाग्नुपर्ने कटु वास्तविकतालाई स्वीकार्नै पर्ने बाध्यता जन्माएको छ ।

हामी विगतका क्रुर व्यवस्था प्रणाली र संरचनाका विरुद्ध चर्का कुरा गर्छौं । कहिले कुन कालको, कहिले कुन थरको, कहिले कसको वर्चस्वको खिलापमा असहमति प्रदर्शित गर्दै सबैको ‘जय’ हुने संरचना बनाइने उधारो कुरा उठाउँछौं तर जब परिवेश परिवर्तित हुन्छ, तब हामी विगत बिर्सन्छौँ । सँगै मर्ने बाँच्ने कसम खाएर दुर्घटनापछि टाउकोमा चोट लागेर स्मृति गुमाएका सिनेमा पात्रहरूजस्तै बन्न हामी किञ्चित लाज मान्दैनौँ ।

यो सोच, यो विडम्बना, यो त्याज्य मान्यता कहिलेसम्म हामीबीच रहिरहने हो ? त्यसको पत्तो छैन । यद्यपि हामी जो सिर्जनाको सुकर्ममा गर्व गर्छौं, त्यो समूह र वृत्तले कम्तीमा अन्य क्षेत्र र परिवेशको भन्दा उदात्त मान्यता र विशाल छाती देखाउन सक्नुपर्छ । सर्जक यदि विचारले ऐक्यबद्ध हुन चाहन्छ भने उसलाई जातपात र भातको ‘छोइछिटो’ ले मापन गरिनु पक्कै निरर्थक हुन्छ । व्यक्तिका सोच, शैली, कार्यसम्पादन र समग्र आचरण नहेरी कित्ताकाट गरिनुले एकाध आनामा आफ्नो घर त बन्न सक्छ तर त्यसले सिङ्गो धरातललाई आफ्नो हाताबाहिर पार्छ भन्ने तथ्य कसैले पनि बिर्सनु हुँदैन ।

कहिलेकाँही यस्तो लाग्छ ‘सर्वहिताय’ को यस्तो अपेक्षा राख्नु निरर्थक खोजी हो कि ! वास्तवमा डाँडामा बसेर कराएपछि हावाले उडाइहाल्दोरहेछ । खोँचमा बसेर बोल्दा कसैले सुन्दारहनेछन् । खोज्दाखोज्दै खोजी हराउने माहोलमा नखोज्दा नखोज्दै ‘काकताली’ त पर्ने कुरै होइन, त्यो चाहिँ यतिखेर ज्ञात भएको छ । अनि पाँच दिने टेस्टपछि एक दिनको पचास ओभर हुँदै तीनघण्टे ट्वान्टी ट्वान्टीको झरेको क्रिकेट संस्करण जस्तै हामी आफैँले पो संसार नबुझेका हौ कि ? यस्तो भान भइरहेछ । हतारपछि फुर्सदमा पछुताउने सिद्धान्त हट्दै क्रमशः छिटोछिटो चौका छक्का ठोक्ने मनोवृत्ति अँगाल्न पो ढिला भयो कि ? अहिले यस्तै/उस्तै लागिरहेछ ।

समयले चौका छक्का ठोकिसक्यो,
म क्रिकेट सिक्दैछु
मानिसहरूले ‘शङ्काको लाभ’ लिइसके
म खै ? किन ?
प्रतिबद्धताको कुरा गर्दैछु ?

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *