Skip to content


ल भन्, यो कसको छोरो हो ?

-मेरो बेड पार्टनरको ।

-तेरो बेड पार्टनरलाई यसले के भन्छ ?

-अङ्कल ।

-किन बाबु भन्दैन ?

-किनकि, म अविवाहित हुँ ।

-कसरी आमा भइस् त ?

-तिमीहरूलाई थाहा हुनुपर्ने हो, सन्तान कसरी जन्मिन्छ भनेर ।

-गैरकानुनी हो ?

-भाले गैरकानुनी हुन्छ ?

-भाले लागेको हो भने त्यो भाले को हो त ?

-भने नी, मेरो बेड पार्टनर हो ।

-ऊ अविवाहित हो ?

-हैन, विवाहित हो ।

-श्रीमती छे ?

-छे । सन्तान पनि छन् ।

-तँ किन कान्छी हुन गइस् त ?

-कान्छी भएको प्रमाण दिन सक्छौ ? उसको आधा अंश भराई दिन सक्छौ ?

-त्यो त कानुनअनुसार हुन्छ ।

-कहिले बन्छ त कानुन ? कसले बनाउँछ कानुन ? अहिलेसम्म बन्न नसकेर अदालत जान सकिनँ । त्यसपछि बन्ला भनेको, फेरि समय थपियो ।

– सुन, अब मेरो बेड पार्टनरको छोरो ठूलो भएर कानुन बनाउँछ अनि विवाह दर्ता गरेर यसको बाबु चिनाई दिउँला ।

सवाल/जवाफ हुँदै थियो, घडीले पाँच बजायो । मुद्दालाई ‘सुन्दासुन्दै’ मा राखेर न्यायमूर्तिहरू बाहिरिए । ऊ पनि बाहिर निस्की । पटाङ्गिनीमा बसेर बच्चालाई दूध चुसाउन थाली । पश्चिमका घाम अदालतमा ठोक्किए । भुइँमा तुर्लुङ्ग छाया पर्‍यो ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *