Skip to content


बिसर्जन राम्रो खेलाडी हो । गाउँमा उसको खेललाई सबैले तारिफ गर्छन । ऊ पनि फुरुंग परेर झन् झन् राम्रो खेल देखाउन खोज्छ । सबै भन्छन यसले अवसर पाए खेलेर भविष्य बनाउने थियो । बिहानदेखि बेलुकीसम्म उसको दिन खेलेर अनि खेलको कुरा गरेरै बित्छ । जिल्ला खेलकुदले गरेको खेलमा उसले खेलेर जिल्लाभरिका धेरैको ध्यान तानिसकेको थियो । आर्थिक रुपले बिपन्न हुदा उसको सपना यथार्थ बन्न पाइरहेको थिएन ।

उसले एसएलसीपछि शहर पढ्न जाने दुख गरेर भएपनि फुटबलको राम्रो खेलाडी भएरै छाड्ने अठोट गर्यो । स्कुल अनि बाच्नको लागि सानो तिनो काम बाँकि समयमा फुटबल । उसले धेरै मेहेनत गर्यो । पुष माघको जाडोमा सबै निन्द्रामा भएको बेला ऊ फुटबल खेल्न पुग्थ्यो एक्लै । स्कुलले आयोजना गर्ने खेलमा सहभागी हुन्थ्यो । उसको खेल देखेर शहरमा उसको खेल मन पराउने को संख्या बढ्न लाग्यो ।

अंशु बिसर्जनसंगै पढ्ने सम्पन्न बाउकी छोरी हो । एकदिन अंशुले बिसर्जनलाई भनी – “मेरो बाबाको कम्पनीले हरेक बर्ष विभिन्न खेलाडी र क्लबलाई प्रायोजन गर्छ । तिमी यस्तो राम्रो खेल्छौ म तिमीलाई बाबासँग भेटाउन चाहन्छु ।”

बिसर्जन उत्साहित भयो । उसले चाँडो भेटाउन आग्रह गर्यो । बास्तवमा +२ गर्दा नै उसको बाउले अंशुलाई आफ्नो व्यापारमा र विशेष गरी खेलाडी र क्लब प्रयोजनको जिम्मेवारी लगभग अंशुलाई दिइसकेका थिए । उसलाई पनि फुटबल मनपर्ने हुदा ऊ त्यो काम गर्न उत्साहित हुन्थी । तर हरेक काम ऊ बुबालाई नसोधी भने गर्दिनथी । अघिल्लो शनिबार नै अंशुले बिसर्जनलाई बुबासँग भेटाई । ऊ कुनै क्लबसँग जोडिएको थिएन । उसको बुबाले उनले प्रायोजन गर्ने क्लबमा सम्पर्क गर्न लगाए । ऊ क्लबमा छानियो । ऊ आज धेरै खुसी थियो उसले आफ्नो सपनाको पहिलो खुड्किलो पार गरेको थियो । राम्रो प्रशिक्षक, उचित खानपान सबै पाएर ऊ राम्रो खेलाडीमा गनिन थाल्यो । बिस्तारै उसलाई प्रायोजन गर्न खोज्नेहरू अरु पनि निस्किन थाले ।

धेरै बर्षपछि त्यो क्लबले राष्ट्रिय प्रतियोगितामा बिजय हासिल पारेको थियो । अंशु पनि बिशर्जनको खेल क्षमता देखेर खुसि थिई । ऊ आज त्यो क्लबको सबैभन्दा महँगो खेलाडी थियो । ऊ एकदमै ब्यस्त खेलाडीमा चिनिन पुग्यो । बिज्ञापनहरूमा, खेल सम्बन्धि कार्यक्रममा अनि खेलमा उसको समय बित्थ्यो । उसको आर्थिक अवस्था पनि पहिलेको भन्दा राम्रो थियो । अंशु सधै उसलाई आफ्नो अध्ययनलाई सँगै लान भन्थी । बिशर्जन आफ्नो व्यस्तताको कारण देखाउदै हरेक बर्ष परिक्षा दिन नपाएको कुरा गर्थ्यो । ऊ आफूले पनि बुबाको काममा सघाउने गरेको तर जति ब्यस्त भएपनि समय निकालेर पढ्ने गरेको भन्थी ।

हरेक बर्ष जस्तै यो बर्ष पनि प्रायोजन गर्ने समय आयो यसपाली कम्पनीले ऊ भन्दा महंगोमा अर्को खेलाडी किन्यो । ऊ अझै पनि दोस्रो महँगो खेलाडी थियो । तर बिसर्जनलाई कता कता आफू प्रति अन्याय भएको जस्तो अर्को खेलाडीप्रति इर्षा जागेको जस्तो भयो । आजसम्म उसले कहिलै अर्को क्लबको बारेमा सोचेको थिएन । आज अनायासै अर्को क्लबको बारेमा सोच्न मन लाग्यो । हुनत अंशुले उसलाई व्यक्तिगत सम्बन्ध र क्लब फरक भएको कुरा गरेकी थिई । उसले भनि आफूलाई बिसर्जन सबै भन्दा महँगो खेलाडी देख्न मन लागे पनि नियम अनुसार जाँदा अर्को महँगो हुन पुग्यो । अन्तमा उसले नया क्लबमा भने जस्तो पैसामा आफूलाई अनुबन्धित गराउन पाउने भयो । उसले अंशुलाई आफू अर्को क्लबमा जान लागेको बतायो । अंशुले मलिन स्वरमा भनी – “तिमीलाई हाम्रो क्लबको हैन राष्ट्रिय स्तरको सबैभन्दा राम्रो खेलाडी देख्न चाहन्छु । तिमीलाई सुखद भविष्यको शुभकामना ।”

आज पुरानो क्लबमा फेरि पनि बर्ष खेलाडीको रुपमा बिसर्जनलाई छानिएको छ । तर ऊ आज नयाँ सम्झौता गरेर मात्रै बर्ष खेलाडीको त्यो पुरस्कार लिन जान चाहन्छ । ऊ उत्साहित छ । सम्झौता पत्रमा हस्ताक्षर गर्न हतारिएको बिसर्जनको मोटरसाइकललाई बढेमानको ट्रकले हिर्काउछ । बिसर्जनको होस खुल्दा ऊ अस्पतालको सैयामा सुतिरहेको हुन्छ । चारैतिर खेलाडी, पत्रकार र प्रसंसकहरूले घेरिएको हुन्छ । उपचारमा लाग्ने खर्च महँगो हुन्छ अनि ट्रक नसमातिएकोले साथीभाइको र पुरानो क्लबको सहायोगमा उपचार हुन्छ । उपचारपछि घर फर्किएको बिसर्जन अब जीवनमा फेरि खेल्न सक्ने हुन्न । दुर्घटनापछि उसको दाहिने खुट्टा नचल्ने भएको हुन्छ । नया क्लब संगको सम्झौता रद्द हुन्छ, त्यो ठाउमा अर्कोलाई अनुबन्धित गरिन्छ ।

खेलमा लागेर उसले अध्ययन बिगारेको छ । आर्थिक स्रोतहरू क्रमश: कम हुदै गएका छन् । शहरमा बाच्न मुस्किल हुदै गएको छ । उसले गाउ फर्किने निर्णय गर्यो । समय कटाउन दिनभर टिभी हेर्ने बाहेक काम हुन्न । हिजोसम्म आफूलाई बोलाइने कार्यक्रममा आज अर्कै अतिथि देखिन्छ । हिजोसम्म आफूलाई उत्साहित गराउन दर्शक दीर्घामा कराउने प्रसंसक अनि अंशु आज अर्कै खेलाडीको लागि थपडी बजाउदै छन् । हिजोसम्म आफूले खेल्ने बिज्ञापनहरूमा आज नयाँ खेलाडीहरू देखिन्छन । आज बिसर्जन केवल एउटा विज्ञापनमा देखिन्छ “मोटर साइकल चलाउदा होशियारी पुर्वक चलाउ, दुर्घटनाबाट बचुँ र बचाऊ !”

1 thought on “खेलाडी बिसर्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *