Skip to content


बाटाहरू अनेक छन्
तर, हामी एउटा चौबाटोमा
बाटो खोजिरहेका छौँ ।

एउटा दिग्भ्रमित बटुवासरी
एउटा बिचलित बटुवासरी
सामाजिक र आर्थिक
पछौटेपनको भारी बोकेर
एउटा चौबाटोमा
बाटो खोजिरहेका छौँ ।

बाटोभरि छ, बटुवाहरूको भीड
हिँडिरहेका छन् आ-आफ्नै बाटो
अरूको हिँडाइ, वरपरको हिँडाइ
लोभलाग्दो छ ।
तर, हामी निराश भई
एउटा चौबाटोमा
बाटो खोजिरहेका छौँ ।

यो हिँडाइको थकान हो कि
बाटोहीनताको हिँडाइ ?
अन्योलमा
हिँड्दा हिँड्दै हामी
बाटोहीन भएका छौँ ।
नैराश्यमा हाम्रो हिँडाइ
अनुभूतिविहीन भएको छ ।

अनि, कल्पनाको बाटोमा
हराएको एउटा बटुवासरी
विषम परिस्थितिमा
गन्तव्यहीन यात्राका लागि
हामी एउटा चौबाटोमा
बाटो खोजिरहेका छौँ ।

यथार्थमा,
एउटा बटुवाको थकाइ
गन्तव्यमा मेटिन्छ तर हामी
गन्तव्य होइन
एउटा चौबाटोमा
बाटो खोजिरहेका छौँ ।

नेपाल साप्ताहिक ५००

Leave a Reply

Your email address will not be published. Required fields are marked *