Skip to content

चरीकोटको चिरस्मरणीय यात्रा

  • by


नयाँ ठाउँको भ्रमणमा जाऊँ भनेर कसैले आग्रह गर्नेबित्तिकै म आनन्दले उत्ताउलिन थालिहाल्छु । मेरा प्यारा भाइ अङ्ग्रेजीका प्राध्यापक राजेन्द्र कोइरालाले प्रवेशिका परीक्षा सकेर सुन्दर भविष्यको आकाङ्क्षा गर्दै परीक्षाफल पर्खेर बसेका चरीकोटका छात्रछात्राहरूलाई सम्बोधन गर्न त्यहाँ जाऔँ भनेर मलाई अनुरोध गर्नुभयो, म औधी रमाएँ ।

सल्लाहअनुसार एउटा फराकिलो जीपमा ‘द टाइम्स् इन्टरनेसनल् कलेज’का चार जना प्राध्यापक र म १७ चैत २०६८ शुक्रबारका दिन खाजासाजा खाइवरी तीन बजे चरीकोटतिर लाग्यौँ । राजेन्द्र कोइराला, कमल साप्कोटा, बुद्धिबहादुर सुवेदी तथा रामहरि सिल्वाल जीपका पछिल्ला आसनमा जम्नुभयो भने म चालकको छेउमा अघिल्तिर बसेर दृश्यावलोकन गर्दै पुराना सम्झनामा डुब्न थालेँ । भक्तपुर काटेर साँगा पुग्ने उकालासम्मको बाटै भएर म साँगास्थित प्रहरीसञ्चालित विद्यालयसम्म त्यहाँ मेरो कान्छो छोरो सलिल पढुन्जेल बराबर गइरहन्थेँ । साँगाको डाँडामा वर बाटैबाट देखिने गरी शिवको विशाल, भव्य र अग्लो मूर्ति सलिलले प्रवेशिका गरेको धेरैपछि मात्र उभ्याइएकाले त्यसको मैले अवलोकन गर्न पाएको थिइनँ । यसपालि भने आउँदाजाँदा नै त्यसको टाढैबाट दर्शन पाए तापनि समयको अभावमा छेवैमा पुगेर हेर्ने अवसर भने मलाई प्राप्त भएन । अनि, त्यस आकर्षक मूर्तिलाई काटेर बनेपाको बीचैबाट र धुलिखेलको उत्तरी कुनाबाट दोलालघाटतिर लाग्दा बायाँ हातपट्टकिो डाँडामा स्थित विश्रामगृह (होटल)लाई मैले देखेँ, जहाँ जर्मनीको एउटा संस्थाले निकै वर्षअघि हामी १०/१२ नेपाली लेखकलेखिकालाई लगेर तीन रातजति राखी साहित्यिक छलफल गराएको थियो । त्यसबेलाका साहित्यिक तर्कबितर्कमा म रुमल्लिँदारुमल्लिँदै हाम्रो गाडीले पाँचखाल नाघिसकेछ । ‘ए हे ! यतै कता डाँडैबाट पलाञ्चोक भगवतीको मन्दिर जाने बाटो थियो नि, कता परेछ?’ भनेर चालकलाई मैले सोद्धा उसले भन्यो, “पलाञ्चोक जाने बाटो त पाँचखाल काटिसकेपछि उत्तर घुम्ने ठाउँबाट पो छुट्टिन्छ त ! त्यो बाटो आउँदै छ ।”

हो रहेछ । दाहिनेतिर पलाञ्चोक जाने बाटो देखियो अनि हाम्रो बाटो दोलालघाटतिर हानियो । दोलालघाटको पुल तरेर फेरि देब्रेतिर जाने बाटालाई छाडी भोटेकोशी किनारैकिनारको मूलबाटाबाट खाडीचौर नपुगुन्जेल हामी कोदारीमार्गकै दोहोरीलत्त गाडी हिँड्ने राजमार्गमा उत्तरतर्फ लम्कियौँ । खाडीचौरमा राजमार्गलाई छाडेर हामी भोटेकोशीको पुल तरी पूर्वपट्टकिो डाँडामा बनेको अलकत्रे तर साँघुरो र थोत्रिसकेको घुमाउरो बाटामा ठसठस कन्दै उकालिन थाल्दा म झसङ्ग भएँ- ओ हो ! यो बाटो त म हिँडेको थिएँ ! जब अप्ठ्यारा र साँघुरा घुम्तीहरू काटेर हामी डाँडाको टुप्पामा पुग्यौँ अनि पो मैले झल्याँस्स सम्झेँ । हामी त मूढेमा पुगेछौँ र त्यो बाटो म १५/१६ वर्षअघि अमेरकिाली छात्रछात्राहरूसँग जिरीतर्फ जाँदा गएको रहेछु ।

हो, म मेरा पुराना छात्र जनार्दन सुवेदीले पढाउने अमेरकिाको ओहायो राज्यस्थित मायामी विश्वविद्यालयका स्नातक पूर्वछात्रछात्राहरूको ‘नेपालसत्र’ अन्तर्गत कार्यक्रममा अतिथि प्राध्यापक भएर जिरी गई त्यहाँ एक-डेढ हप्ता बिताएर फर्केको थिएँ । सुवेदी वर्षैपिच्छे २०/२५ आफ्ना स्नातक पूर्वविद्यार्थीहरूलाई नेपाल ल्याई पाँच/छ महिना नेपालीहरूकै घरमा खानेबस्ने व्यवस्था गरी नेपाली भाषा, संस्कृति र जीवनपद्धतिसित परििचत गराउँथे । ती विद्यार्थीले नेपालसत्रपछि नेपालसम्बन्धी एक न एक विषयमा निबन्ध लेखी बुझाउनुपर्थ्यो । त्यस्तो लेख नलेखे र त्यसमा उत्तीर्ण नभए कक्षा चढ्न तिनले पाउँदैनथे । त्यसै हुनाले ती विद्यार्थीलाई नेपालका भूगोल, इतिहास, धर्म, संस्कृति आदिबारे व्याख्या गरििदन भनेर नै सुवेदी मलाई बोलाउँथे ।

आफ्नो पुरानो जिरी भ्रमणमा डुब्दाडुब्दै गाडीले भिरालो काटेर सम्म परेको डाँडाको बाटो समातिसकेछ । त्यहाँ दर्शनढुङ्गाको ठूलो खानी भएकाले बाटाभरि सेतै रोडैरोडा छरपस्ट फैलिएका रहेछन्, जसमा गाडीका पाङ्ग्रा रगडिँदै र आवाज निकाल्दै अगाडि बढ्दा हाम्रो गति निकै घट्यो । बाटो फराकिलो भए पनि रोडामा घस्टिनुपर्दा अप्ठ्यारो अनुभव हुँदो रहेछ । त्यहाँ किन अलकत्रा नपोतेको होला भन्ने मेरो जिज्ञासा सुनेपछि रसायनविज्ञानका ज्ञाता कमल साप्कोटाले सङ्गमर्मरका रोडामा अलकत्रै अडिँदैन भनी व्याख्या गर्नुभयो । पाँच/छ किलोमिटर रगडिएपछि बल्ल गाडीले कालोपत्रे भेट्यो अनि त निश्चिन्त हुँदै र सुन्दर पहाडी क्षेत्रको रमाइलो हेर्दै हामी साढे सात बजेतिर साँझ झमक्क परेपछि चरीकोट भन्ने चिटिक्क परेको बजारमा पुग्यौँ । इलामतिरजस्तै आकर्षक प्राकृतिक बनोट भएको चरीकोटको बीचमै अमेरकिाका राष्ट्रपतिको निवास सम्झाउने ‘श्वेतगृह’ (अर्थात् ह्वाइट हाउस) नाउँ गरेको होटलमा हामी बस्ने व्यवस्था रहेछ । आफ्नै स्नानघर तथा छुट्टै शौचालययुक्त २०२ नम्बरको एक्लो कोठा मेरा निम्ति र अरू चार जनाका लागि दुई/दुई जना सुत्ने दुई कोठामा आफ्ना-आफ्ना झोला बिसाई हातगोडा धोएपछि हामी तल भोजनालयमा ओर्लेर टन्न भुजा डम्फ्याई आनन्दसित सुत्यौँ । तर, सुत्न जानुअघि मैले होटलका व्यवस्थापकलाई चरीकोटकै छेउमा कतै सुकाठोकर भन्ने डाँडो छ रे र के त्यो तपाईं मलाई देखाइदिन सक्नुहुन्छ भनेर सोद्धा भोलि बिहानै माथि छानाबाट देखाइदिउँला भनेर उनले भनेकाले म ढुक्क थिएँ । त्यसैले भोलिपल्ट अर्थात् १८ चैत शनिबारका दिन दाँत माझी, दारी काटी, तातो पानीमा नुहाएपछि म तम्तयार भएर तल ओलेर्ं र मलाई व्यवस्थापकले होटलको माथिल्लो तलाको छानामा लगी त्यहाँबाट दक्षिण/पश्चिममा स्थित एउटा लमतन्न सुतिरहेको डाँडालाई देखाए । त्यसको दक्षिणपट्टकिो कुनामा नै घ्याङसुकाठोकर पर्छ भनेर उनले भन्दा म छक्क परेँ । घ्याङ भनेको त तामाङहरूको मन्दिर हो र त्यस डाँडामा वशिष्ठगोत्री भँडारीहरूका कुलदेवता मस्टोको स्थान पो छ भन्ने सुनेकामा हाम्रा तामाङ बन्धुहरूको घ्याङ पनि रहेछ भन्ने थाहा पाउँदा खुसी लाग्यो । जेहोस्, सुकाठोकर मभन्दा आठ पुस्ताअघिका पुर्खा विष्णुहरलिे पाएको बिर्ता हो र त्यहाँबाट मभन्दा चार पुस्ता पहिलेका मेरा जिजुबा रामानन्द इलामतर्फ लागेका थिए । हाम्रो वंशावली खोजेर प्रकाश गर्ने क्रममा दाइ टङ्कनाथ भँडारीले सुकाठोकरको डाँडामा हाम्रा कुलदेवताहरूको पूजास्थल छ भनेकाले मैले उहाँलाई त्यहाँ चढाइदिन मेरो पार्कर कलम पठाएको थिएँ र उहाँले त्यहाँ चढाइ पनि दिनुभएको थियो । आफ्ना पूजनीय पूर्खाहरूको पवित्र स्थललाई परैबाट भए पनि दर्शनसम्म गर्न पाउँदा समेत म औधी प्रसन्न भएँ । यसरी खुसी हुँदै म तल ओर्लनु पनि, सबै साथीहरूसमेत सँगै तल झरे अनि हामीले हलुका प्रभातभोजन दन्कायाँै ।

त्यसपछि मेरै अनुरोधमा दोलखा जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिरको दर्शन गर्न हामी आफ्नै गाडीबाट गयौँ । जिरी जाँदा र र्फकंदा मैले भीमेश्वरको मन्दिरलाई टाढैबाट च्वास्स देखेको मात्र म सम्झन्छु तर यसपालि भने चरीकोट बजारभित्रको त्यस प्रख्यात र पवित्र मन्दिरलाई त्यही बजारभित्र रात बिताएर पनि दर्शन नगरी म कसरी र्फकन सक्थेँ? मेरा सहयात्रीहरूलाई पहिले नै त्यहाँ पुगिसकेकाले हो वा किन हो, त्यस मन्दिरभित्र गएर दर्शनै गर्ने त्यति इच्छा वा उत्सुकता मैले देखिनँ तापनि मेरा लागि उहाँहरू त्यहाँ पुग्न सजिलै राजी हुनुभयो ।

हुन पनि भीमेश्वर मन्दिर र त्यसभित्र स्थापित भीमसेनको मूर्तिको ठूलो एतिहासिक महत्त्व छ । भीमसेनको मूर्तिमा पसिना आयो भने नेपालका राजाले अथवा उनको परिवारले ठूलो दुर्दशा भोग्नुपर्छ भन्ने व्यापक जनश्रुति मैले सुनेको थिएँ । तपाईंहरू भन्नुहोला- अहिले त राजा पनि छैन र राजपरिवार पनि छैन अनि किन हामीले वास्ता गर्ने? तर, म भन्छु- इतिहास भनेको इतिहासै हो, त्यसबाट अघि बढ्ने प्रेरणा पाइन्छ र जीवनलाई सफल पार्ने शिक्षा पाइन्छ । संस्कृति भनेको अति प्यारो र गर्वको विषय हो, जसले हाम्रो यथार्थ चिनारी दिन्छ । इतिहास र संस्कृतिकै प्रेरणाले त हामी नेपाली भएर टाउको ठाडो गरी हिँड्न पाइरहेका छौँ । यसै भ्रमणको १२/१३ दिनपछि १ वैशाखका दिन त्यस्तै महान् ऐतिहासिकताको र गर्व गर्न योग्य राष्ट्रिय सांस्कृतिकताको खबर हाम्रा पत्रपत्रिकाहरूले सहर्ष छापे । त्यस अनुसार हाम्रै सिराहा जिल्लाको सहलेश भन्ने गाउँको एक ससानो सुन्दर बगँैचामा यस्तो अद्भुत रूख रहेछ, जसमा लामो र आकर्षक मालाजस्तो रमणीय फूल नववर्षमै मात्र फुल्दो रहेछ । १ वैशाखमा नै देखा पर्ने र चैत मसान्त वा २ वैशाखमा समेत नदेखिने यो विशिष्ट पुष्प हाम्रा ऋषिमुनिहरूका ज्योतिष गणनाको अद्वितीय उदाहरण हो । के हाम्रो राष्ट्रिय विक्रम संवत्को सूर्यचन्द्र तथा अरू नक्षत्रगतिको यस्तो वैज्ञानिक गणना हाम्रो सभ्यता-संस्कृतिमा बाहेक कुनै अरू संवत्हरूमा पाइन्छ?

त म भाग्यैले भन्नुपर्ला भीमेश्वर मन्दिरको काखमा चैते दसैँको त्यस पवित्र नवमीका दिन बिहान पुगेँछु । पुग्न त पुगेँ तर दर्शनार्थी महिला, पुरुष र बालबालिकाको लामो न लामो लर्को देखेर म अत्यन्त विचलित भएँ । त्यस विशाल लामको पुछारमा उभिएर आफ्नो पालो पर्खने हो भने कम्तीमा पनि दुई वा अढाई घन्टा लाग्ने थियो । तर, त्यसरी पर्खेमा चरीकोटे छात्रछात्राहरूसित भेटेर गर्ने अन्तर-संवादबाट म विमुख हुने थिएँ । मन्दिरबाहिर म दर्शनार्थीहरूको लहरलाई हेर्दै वरपर घुम्दा मोजा लफक्कै भएको पनि थाहा पाइनँ । जुत्ता तलै फुकाले तापनि मैले मोजाचाहिँ खोलेको थिइनँ । मन्दिरबाहिर बलि दिएका कुखुराहरू र बोकाहरूको रगतले समस्त क्षेत्र रातै रहेछ । हाम्रो नेपाली सांस्कृतिक परम्परामा मन्दिरहरूका प्राङ्गणभित्र यसरी निरीह पशुपक्षीहरूका घिच्रा छिनालेर छर्छर्ती रगत निकाली देवमूर्तिहरूमा चढाउने प्रणाली मलाई पटक्कै मन पर्दैन तापनि म एक्लै त्यहाँ चिच्याएर यो पुरानो प्रथा हट्ने थिएन । त्यसैले व्यथित मनले म छट्पटाउँदै लाम लागेका मानिसहरूलाई हेर्दै जाँदा मन्दिरको ढोकैछेउमा पुगेकी १५/१६ वर्षकी किशोरीप्रति आकषिर्त भएँ । ‘बाबा ! तिमी त मेरै छात्राजस्तो देखिन्छ्यौ नि !’ भनेर त्यसलाई म भन्न पुगेछु । मेरी आफ्नै स्नेहालु बहिनी झुना सानामा जसरी मलाई देख्नेबित्तिकै श्रद्धासाथ मुस्काउँथी, त्यही प्यारो मुस्कान बिर्साउँदै उसले भनी, “सर ! मेरो अघिल्तिर उभिनोस् न !”

म ‘धेरै धन्यवाद !’ भन्दै त्यहाँ घुस्रेर लाममा पुग्नु पनि, भित्र उभिरहेका पुजारीले मलाई प्रेमपूर्वक हात समातेर स्वागत गर्दै मन्दिरको ढोकामा पुर्‍याए । भित्र पस्ने ढोकामा सङ्गमर्मरको चिप्लो ढिस्को रहेछ । मलाई त्यसमा बिस्तारी चढ्न सहयोग गर्दै पुजारीले भने, “पहिले तपाईंले बायाँतिरस्थित कुन्तीको प्रतिमालाई र दायाँतिरस्थित द्रौपदीको मूर्तिलाई नमस्कार गर्नुहोस् अनि यता बीचको भीमेश्वर दर्शन गर्नुहोला ।”

हो, बीचको भीमेश्वरमूर्तिको दाहिनेपट्टि अर्थात् मेरो बायाँपट्टि माता कुन्तीको प्रतिमा रहेछ । विवाहअगावै अति बहादुर कर्णजस्ता दानवीर र विवाहपश्चात् युधिष्ठिरजस्ता सत्यवादी, भीमजस्ता अत्यन्त बलवान् र अर्जुनजस्ता कुशल योद्धा जन्माउने माता कुन्ती अवश्य पनि नारीजातिकी अनुपम उदाहरण हुन् । मध्यप्रतिमाको बायाँपट्टि अर्थात् मैले हेर्दा दायाँपट्टििस्थत द्रौपदीको प्रतिमालाई त झन् मैले नेपाली संस्कृतिकी विलक्षण प्रतिमूर्ति र यथार्थ प्रतिनिधि नारीका रूपमा पाउँदै आएको छु । हाम्रो हिमाली क्षेत्रमा एउटै परिवारका दाजुभाइहरूले आर्थिक कारणले नै त होला, एउटै साझा पत्नीसित आलोपालो गरेरै जीवन बिताउने बाध्यताकी प्रतीक द्रौपदी हुन् । इतिहासका यी दुवै नारीहरूप्रति सद्भक्ति प्रकट गर्दै ढोग्न पाउनु मेरो ठूलो सौभाग्य मैले ठानेँ । मेरी जीवनसँगिनी शान्ताले मलाई जटायुक्त नरविल, कपडा, एउटा जनै र सुपारीसहित केही पूजाका सामान प्लास्टिकको झोलामा दिएकी थिइन् । ती पूजा-अर्चनाका सामग्री पुजारीले अत्यन्त स्नेहसाथ खोलेर भीमेश्वरको प्रतिमामा चढाइदिँदा म आत्मविस्मृत भएँ । नरविलको दानो फुटाएर त्यसभित्रको रस मूर्तिभरि चढाई उनले त्यसका खानयोग्य बाँकी भाग र केही फूलप्रसाद मलाई दिए ।

भीमेश्वरको दर्शनपछि जुत्ता छाडेका ठाउँमा फर्की ल्याफ्ल्याफ्ती भिजेका मोजा त्यतै फोहोर थुपारेको एउटा कुनामा फ्याँकेर म जुत्ता लगाई तल बाटामा रुँगिराखेको गाडीमा साथीहरूसँग बसेँ र श्वेतभवनमा टन्न भोजन गरेपछि हतारहतार हामी केही मास्तिर पर्ने सभाभवनमा पुग्यौँ । जहाँ प्रवेशिका परीक्षा दिइसकेका असङ्ख्य छात्रछात्राहरू हामीलाई उत्सुकउत्सुक पर्खिरहेका थिए ।

हामी पुग्नु पनि हाम्रा कर्मठ तथा फुर्तिला प्राध्यापक कमल साप्कोटाले मलाई मञ्चमा सभापतिका रूपमा बोलाइहाल्नुभयो र भाषणहरूको लामो शृङ्खलाको आरम्भ भयो । मेरा साथीहरूमा अङ्ग्रेजीका प्राध्यापक कोइराला र रसायनविज्ञानका प्राध्यापक कमल साप्कोटाले औधी प्रभावोत्पादक प्रवचनहरू प्रस्तुत गरेपछि हाम्रो कलेजका सञ्चालकहरू बुद्धिबहादुर सुवेदी तथा रामहरि सिल्वालका अनुभवसिद्ध, ज्ञानवर्द्धक र रोचक भाषण भए । बीचमा स्थानीय दुई/तीन प्रधानाध्यापकहरूले पनि बोल्नुभयो । प्रवेशिकापछि विद्यार्थीहरूलाई प्राप्त हुने प्रशस्त सम्भावनाका विषयमा आफ्ना अनुभवहरू हामीले सुनाउँदा दर्शक छात्रछात्राहरू उत्फुल्ल र सन्तुष्ट भएको मैले अनुभव गरेँ ।

सभा टुङ्गिँदा सवा तीन बजिसकेको थियो । हिजो हामी तीन बजे काठमाडौँबाट त्यता प्रस्थान गरेका थियौँ र पनि साढे सातैमा त्यहाँ पुगेका थियौँ भने आज साढे तीनतिर होटलबाट बिदा भएर हामी हिँडेमा पौने आठ-आठतिर सजिलै आ-आफ्ना वासस्थानमा पुगिसक्ने सम्भावना देखेर त्यस रात हामी त्यहाँ नबसी घरै फक्र्यौं । बाटामा भोक लागेकाले दोलालघाटमा तारेका कुरुमकुरुम गर्ने साह्रै मीठा माछाहरू हामीले देख्यौँ । बिचरा कोइराला शाकाहारी हुनाले उहाँले अरू नै खाजा खानुपर्‍यो तर हामी अरू सबैले भने पहाडे खोलामा पाइने ससाना तर अति स्वादिष्ट माछाहरू खायौँ र आफ्ना झोलाभरभिरि ती भुटेका ससाना माछाहरू बोकेर आफ्ना घरपरिवारका सदस्यहरूलाई पनि मख्ख पार्न पुग्यौँ ।

नेपाल साप्ताहिक ४९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *