Skip to content

खोइ के ढाल्यौं कमरेड हामीले ?

  • by


देवकोटाले भनेथे… ।

देवकोटा थर भएका थुप्रै मान्छे छन् र हुन्छन् । मैले उल्लेख गर्न खोजेको मान्छेचाहिँ लक्ष्मीप्रसाद देवकोटा हुन् : महान् कवि, निबन्धकार र बौद्धिक सचेतक देवकोटा । आजभन्दा ६० वर्षअघि देवकोटाले एउटा कविता लेखेथे ः ‘प्रभुजी ! मलाई भेडो बनाऊ’ । त्यो हुकुमी काल थियो, राणाशासन ।

यो गजबको व्यंग्य थियो । र, सधैँलाई हो । बौद्धिकता र व्यंग्यचेतका चुली हुन् देवकोटा । नाम त शंकर लामिछाने र पारजिातको पनि लिन सकिन्छ । तर, देवकोटा भिन्नै छन्, आकाशजत्तिकै व्यापक, जताबाट हेरे पनि उस्तै व्यापक र नीलो । अँ त, नीलो आकाश कति अर्थपूर्ण हुन्छ । कतै नदुखी, केही नपरी उनले त्यस्तो लेखेनन् होलान् । लेखे, घतलाग्दो गरी लेखे ः ‘प्रभुजी ! मलाई भेडो बनाऊ’ ।

हाम्रा कतिपय समालोचक अझ माक्र्सवादी भनिने समालोचकहरूले नै यस कवितालाई स्वच्छन्दतावादी र निराशावादी घोषणा गरििदए । छिपछिपेमै पुगेर नापतौल गरििदए, लौ जा त । तिनले देवकोटालाई माथिमाथि छामे, साह्रो कि गिलो । साँच्चै हो, समुद्रको छेउमा गएर समुद्रको बखान गर्नु र गहिराइमा समुद्र छाम्नु फरक कुरा हुन् । पौडिन नजान्नेहरू परैबाट नापतौलको हिसाब निकाल्छन्, कठै समकालीन समालोचना! अहँ, यो निराशावादी कविता होइन, हुँदै होइन, यसमा गम्भीर बौद्धिकचेत, व्यंग्यात्मकता र विद्रोहभाव छ ।

सही हो । ‘प्रभुजी ! मलाई भेडो बनाऊ’को व्यंग्य, निराशा वा पलायनको व्यंग्य होइन, यथार्थको घतलाग्दो अभिव्यञ्जना हो । यो व्यंग्य ‘प्रोक्ति र शक्ति’को सिद्धान्तका विरुद्ध छ । जब तर्क, विवेक, चेतना, स्वाभिमानमाथि धावा बोलिन्छ, जब कालोलाई नचाही-नचाही पनि सेतो भन्नुपर्ने स्थिति आइलाग्छ, जब कुरूपलाई आहा ! कति सुन्दर भनेर बखान गर्नुपर्ने अवस्था आइलाग्छ अनि जन्मिन्छ व्यंग्य र विद्रोह । असाध्यै गहन र गहिरो व्यंग्य जन्मिन्छ त्यतिखेर । यस्तैबेला जन्मिन्छ, ‘प्रभुजी मलाई भेडो बनाऊ’ ।

देवकोटाका सामु धेरैधेरैपल्ट सत्य हारेको थियो होला, सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर बनाएर भनिएको थियो होला ः ‘पट्टु गोपीकृष्ण कहो ।’ हावर्ड फास्टले भनेथे, ‘व्यंग्य यथार्थसम्म पुग्ने सबैभन्दा छिटो र नजिकको बाटो हो ।’ देवकोटाले यही नजिकको बाटो रोजे । आनन्दवर्धन पनि फेल खाएका छन् यहाँ । जब बौद्धिकता, तर्क, विवेक र चेतनामाथि धावा बोलिन्छ अनि जन्मन्छ ः ‘प्रभुजी मलाई भेडो बनाऊ’ । यो प्लेटोको युगदेखि वर्तमानसम्मकै सत्य हो । कहिले खुलेर आउँछ झन्झावीर बनेर र कहिले ज्वालामुखीझैँ रापिलो र तापिलो बनेर छातीमा बस्छ ।

हामी अहिले यही स्थिति भोगिरहेका छौँ । सत्य यतिबेर निरीह बनेर टुलटुलु हेरिरहेको छ र झूट मदमत्त भएर ताण्डव मच्चाइरहेको छ । गजब छ ! कालोलाई सेतो, दुर्गन्धित आहाललाई छङछङी बगेको छहरा र फोहारमैलोको डंगुरलाई सुन्दर बगैँचा भन्नु परिरहेछ, सत्य बोलौँ जिब्रो थुतिएला भन्ने डर, नबोलौँ स्वाभिमानले आत्महत्या गर्ला भन्ने डर । लाटो हुनसके जाती । सत्य छट्पटिएको हेर्न मान्दैन मन । बुझ्नेहरूका लागि पुग्दो छ, यो प्रभुजी… ।

केही दिनअघि यस्तै केही समाचार छापामा आएका थिए । दृश्यहरूमा पनि आए ती । नबोलीकन बुझिने गजबको व्यंग्य थियो त्यो । छापामा दुइटा समाचार सँगै आए । एउटा कुनामा थियो, ‘प्रचण्ड-पुत्रलाई मनोरञ्जनका लागि दुई करोड’ र त्यसैको अर्को कुनामा थियो, ‘गरबिी सहन नसकेर छोराछोरी मारेर आत्महत्या’ । यो टाढाको समाचार थिएन । कर्णालीको समाचार थिएन, न त बाजुरा र बझाङको नै । यो त काठमाडौँनजिकैको समाचार थियो । एकातिर नयाँ राजकुमारहरूको मनोरञ्जनका लागि करोडौँको बजेट बगिरहेको थियो, पानीसरह । र, कोही जीवन गुमाइरहेका थिए, मुखमा माड हाल्न नपाएर । कठै ! मान्छे आफ्ना मुटुका टुक्राहरूको हत्या गर्न बाध्य भइरहेको थियो, गरबिीका कारण । कति सुन्दर छ, नयाँ नेपालको परिदृश्य । हजुर ! यस्तैबेला त हो व्यंग्यको मूल फुट्ने !

नयाँ दरबार र टावरका कथाहरू चर्चाका मूल शीर्षक बनेका छन् । १३ हजारको रगतसित साटिएका हुन्, यी महल र दरबारहरू । १३ हजारको सपनासित सौदाबाजीका परण्िााम हुन् ः बानेश्वर, लैनचौर, दधिकोट, बुटवल र दाङका महलगाथाहरू । सुनिँदैछ वनकालीको वरपिरि अर्बाैंको नयाँ सौदाबाजी चल्दैछ । यसभन्दा घतलाग्दो व्यंग्य अरू के हुनसक्छ ! गजब रहेछ यो राजनीति भन्ने कुरा । यसले तर्क मन पराउँदो रहेनछ । हिजोको कुरा गर्छु । अर्थात्, जनयुद्ध चलिरहेका बेलाको कुरा गर्छु । एउटा खास ठाउँमा खास विषयमा निकै बहस-छलफल भयो । छलफल गहन दार्शनिक र वैचारिक विषयमा थियो । ठूला कमरेडहरूसित गरिएको छलफल साँच्चिकै ‘रमाइलो’ थियो । बहसमा हामी सही थियौँ । कमरेडहरू रसिाउलान् वा बहसमा हारेमा हार र जितको अहं राख्लान् भनेर सही कुरालाई गलत भनेनौँ र गलतलाई सही भनेनौँ । हामीले ‘दुस्साहस’ नै गर्‍यौँ । तर, तर्क, विवेक, चेतना सबै उत्तानो परे । हामीमा रूपान्तरणको गम्भीर समस्या रहेको निष्कर्ष रह्यो । सायद यस्तै बेला देवकोटाले भनेका थिए होलान् ः ‘प्रभुजी मलाई भेडो बनाऊ’ । कति मीठो व्यंग्य । तर्क, चेतना, सत्य सबैसबै मुर्दावाद ।

हामी आफैँलाई सबैभन्दा वैज्ञानिक विचारका अगुवा भन्छौँ । तर, खोइ के भएको हो यस्तो ! माक्र्सवाद चित खाएर भुइँमा लडिरहेको देख्छु र डार्बिनवाद तिघ्रा ठटाएर अट्टहास गरिरहेको देख्छु । फोहरी आहाल छन्, जताततै । जति माथि गयो त्यति रंगीचंगी दुनियाँ । आदर्शको पातलो पर्दाभित्र कति ठूलो पर्खाल ! बाहिरको पर्दामा अर्कै देखिन्छ । पर्खालभित्र अर्कै छ/देखिन्छ । भनिन्छ, बुद्धिजीवीहरूको जात हुँदैन । साँच्चै हो, आदर्शमा बाँच्न चाहनेहरू, स्वाभिमानमा रम्न चाहनेहरू, तर्क र विवेकमा विश्वास गर्नेहरूको जात नै अर्कै हुन्छ । ज्वालामुखी बोकेर बस्छ ऊ छातीभित्र । कलम बोकेर हिँड्छ ऊ तरबारझैँ धारिलो पारेर । कहिले ‘स्वाँठहरू’माथि तीर छोड्छन् र कहिले गोली बनेर बर्सिन्छ ‘ल्वाँठहरू’माथि । कलमदेखि तर्सिन्छन्, वादशाहहरू । कलमदेखि आतंकित हुन्छन्, तानाशाहहरू । विद्रोहको मधुर गीत-संगीत तिनलाई अपच हुन्छ र रमाउँछन् ती ‘मुन्नी बदनाम हुई…’मा ।

साथी ! गजब रहेछ यो राजनीति भन्ने कुरा ।

अहिले राजनीतिमा तर्क, विवेक बौद्धिकता हराएको छ । वर्ग हराएको छ । असुरक्षित महसुस गरेर विचार कतै कुनामा लुकेर आफूलाई जसरीतसरी सुरक्षित पारिरहेको छ । र, जात, लिंग र क्षेत्रले राजनीति गरिरहेछ, यतिबेर । विचार चल्दैन, कोटा चल्छ । कुरा त वर्गकै हुन्छ तर व्यवहारचाहिँ अर्कैको हुन्छ- जातको हुन्छ, लिंगको हुन्छ, क्षेत्रको हुन्छ । कुरा माओवादको हुन्छ, व्यवहार उत्तरआधुनिकतावादको । विखण्डन र टुक्राटुक्रा प्यारा लाग्न थालेका छन् । केन्द्र र केन्द्रीकृत होइन, स्थानीय र विभाजन सुन्दर लाग्न थालेको छ । आईएनजीओहरू रेफ्री बनेर सिटी बजाइरहेका छन् र ज्याक डेरडिाको शब्दखेलमा माओवाद रेस्लिङ् खेलिरहेछ । कति घतलाग्दो व्यंग्य !

राजनीतिमा देखिन थालेको डिपार्टमेन्टल स्टोरको यो रमझम, यो झकिझकाउलाई सांस्कृतिक साम्राज्यवाद भन्ने गरिन्छ । म यसलाई विचारको हाइब्रिडाइजेसन भन्न रुचाउँछु । हाइब्रिडाइजेसनको अर्को नाम वैचारिक विस्तारवाद हो । यसको विस्तारको गति र लय यति तीव्र र उच्च छ कि अब विचार नेता बन्न छाडेको छ । जात नेता बन्छ । लिंग नेता बन्छ । क्षेत्र नेता बन्छ । हामीले त नेपालका नदी सबै उत्तरको हिमालबाट दक्षिणतिर बग्छन् भन्ने बुझेका हौँ । अहिले उल्टो भएको छ । यतिबेर कोसी, कर्णाली, राप्ती सबै उल्टो बग्न थालेका छन् । अहिले शिक्षा मनोविज्ञानले हार खाएको छ । वर्गचेत पनि फेल खाएको छ । क्षमता, योग्यता सबैसबैको मापन आधार अर्कै भएको छ । विचारले राज गर्दैन । जातले गर्छ । क्षेत्रले गर्छ । लिंगले गर्छ । हैसियतको निर्माण र निर्धारण पनि यसैले गर्छ । जसको जति ठूलो हैसियत, ऊ त्यति सक्षम र योग्य हुन्छ । ऊ सक्षम र ठूलो नेता हो, किनभने ऊ अमूक हैसियतको हो । अमूक परिवारको हो । अमूकको नातेदार हो । तर, यो बुद्धिजीवी भनाउँदाको कुनै जात हुँदो रहेनछ, कुनै हैसियत हुँदो रहेनछ ः तर्क र विवेकमा अडिनुसिवाय, माक्र्सवादसिवाय ।

माथि भनेँ नि, जसको जति ठूलो हैसियत ऊ त्यति धेरै सक्षम । विशेषज्ञहरू सबै फुच्चे हुन्छन् उसका सामु । अर्थशास्त्र भनेको चरम भ्रष्टाचार हो भनेर बुझ्ने मुलुकको अर्थ सम्हालिरहेको हुन्छ र भन्छ- मलाई अर्थशास्त्रबारे सबै थाहा छ । मलाई चिकित्साशास्त्रबारे सबै थाहा छ । मलाई रसायनशास्त्रबारे सबै थाहा छ । मलाई सौन्दर्यशास्त्रबारे सबै थाहा छ किनभने म अमूक पार्टीको अमूक नेता हुँ । “हो हजुर ! यो रूख त एकदम सोझो छ, हि हि हि,” ताली पिट्नूस् । अथवा व्यंग्यले भित्रभित्रै लामो सास फेर्नूस् ः प्रभुजी मलाई भेडो बनाऊ ।

राजनीतिक परिदृश्यमा थुप्रै यस्ता घटना हुन्छन्, जसको अनुभव र अनुभूतिले मात्र पनि नाक खुम्च्याउन र ओठ लेब्य्राउन मन लाग्छ, कुन्नि केलाई भन्दा केलाई लाज भनेजस्तो । कुनै विशेष कार्यक्रम वा सभासमारोहमा कुनै अमूक पार्टीको अमूक ठूलो नेता गयो भने त्यसका पछाडि स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय सदस्य सबैको लर्को लागेको हुन्छ । प्रमुख अतिथिलाई मात्र मञ्चमा बोलाइएको हुन्छ । तर, अमूक नेताको पछिपछि आउनेहरू सबै त्यो मञ्चमा बस्न पाउने र बस्ने हकदाबी गर्दै आफ्नो अधिकारै जस्तो गरी गमक्क साथ नबोलाईकनै मञ्चमा विराजमान हुन्छन् । अनि, आमन्त्रित अतिथिहरूचाहिँ छेउकुनामा खुम्चिएर बस्छन् । माक्र्सवादको अभ्यासमा गजबको सामन्तवाद देखिन्छ त्यहाँ । हैसियतको ठालूपनप्रति व्यंग्यले मुसुमुसु हाँस्नुको विकल्प त्यतिबेर अरू केही हुँदैन ।

यस्ता घटना र सन्दर्भ थुप्रै छन् । एउटा साहित्यिक संस्थाको कार्यक्रममा मलाई पनि बोलाइएको थियो । अमूक पार्टीका दोस्रा नेता, सो संस्थाका प्रमुख थिए । संस्थाका प्रमुख र कार्यक्रमको अध्यक्ष भएकाले हलमा प्रवेश गर्नेबित्तिकै उनी मञ्चमा जानु स्वाभाविक थियो । उनीसित पीबीएम र सीसीएमको लर्को नै थियो । आफ्ना नेता प्रमुख भएको संस्थामा ठूला नेताहरू दर्शकदीर्घामा बस्ने कुरै भएन । उहाँहरूको ‘अपमान’ हुने कुरा भयो । उद्घोषकले लिएको सूचीमा मञ्चमा बस्नेहरूको नाममा उनीहरूको नाम थिएन र सो ठाउँ वक्ताका लागि सुरक्षित राखिएको थियो । तर, ठूला कमरेडहरू आएर गजधम्म बसे । मानौँ, त्यहाँ बस्नु उनीहरूको विशेषाधिकार हो । वक्ता र आमन्त्रितहरू तल बस्न बाध्य थिए । कमरेडहरू भने उपरखुट्टीका साथ हामी विशिष्ट हौँ भनेझैँ दर्शकदीर्घामा रहेकातिर सान र फूर्तिका साथ हेरिरहेका थिए । गजबको संस्कृति प्रदर्शित भइरहेको थियो त्यहाँ ।

नेता कमरेडहरू उपरखुट्टीका साथ मञ्चमा विराजमान थिए । मञ्चमा संस्थाका प्रमुख कमरेडको माक्र्सवादी सौन्दर्यशास्त्रको परभिाषा र विश्लेषण चलिरहेको थियो । मैले हलको छेउकुना हेरेँ । सभाहलको एउटा कुनामा देवकोटाको फोटो टाँगिएको थियो र अर्को कुनामा लु स्युनको । गहिरिएर दुई फोटामा हेरेँ । यस्तो लाग्थ्यो, प्रमुख कमरेडको भाषणसँगै ती व्यंग्यले मसुमुसु हाँसिरहेछन् ः ‘प्रभुजी मलाई भेडो बनाऊ’ । मुक्तिका लागि लडेकाहरू सबै श्रद्धाका पात्र छन् । सबैको आ-आफ्नो ठाउँ हुन्छ । हैसियत सबै कुराको मापदण्ड बन्न सक्तैन । एउटा विशिष्ट कालखण्डको हैसियत सार्वकालिक बन्न पनि सक्तैन । हैसियत वर्ग बन्नुहुँदैन ।

सो घटनाको परिदृश्यसँगै मलाई खगेन्द्र संग्रौलाको एउटा लेखको सम्झना भयो । त्यसलाई मैले भूमिगत जीवनमै पढेको थिएँ । निरंकुशताविरोधी आन्दोलनमा लेखक-कलाकारहरूले ब्यानरसहित जुलुस निकाल्ने कार्यक्रम थियो । जब सो जुलुस खास ठाउँबाट अघि बढ्न खोज्यो, ब्यानर बोकेका सबैभन्दा अगाडिका लेखक-कलाकारलाई पछाडि धकेल्दै खास पार्टीका खास नेताहरू ब्यानरको अगाडि आएर आफैँले जुलुसको नेतृत्व गरेजस्तो गरी क्यामेराको अगाडि उभिएर गजबको संस्कृति प्रदर्शन गरे भनेर त्यसमा लेखिएको थियो । लेखक-कलाकारको मञ्चमा उनीहरूलाई नै विस्थापित गरेर ठालू पल्टने राजनीतिक प्रवृत्तिप्रति प्रहार थियो सो लेखमा ।

भन्न त हामीले भन्यौँ । हामीले ठूलै युद्ध लड्यौँ, आन्दोलन गर्‍यौँ, सामन्तवादलाई ढाल्यौँ । खोइ के ढाल्यौँ? कता ढाल्यौँ? के लडाइँ लड्यौँ हामीले? कस्तो लडाइँ लड्यौँ हामीले? एउटा सामन्त ढल्दा दसवटा सामन्त जन्मिने के ढाल्यौँ हामीले? आफैँभित्र सामन्तवाद पालेर कस्तो लडाइँ लड्यौँ हामीले?

त्यसैले त भनिएको रहेछ । घरीघरी लड्नुपर्छ । मोर्चा फेरिफेरि लड्नुपर्छ ।

नेपाल साप्ताहिक ४९२

Leave a Reply

Your email address will not be published. Required fields are marked *