• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

कथाको कथा

parasmani shama — Sun, 07/29/2012 - 21:40

  • भाषा/साहित्य समीक्षा
  • पारसमणि शम
  • आजका कथा

परिचय

मानव सभ्यता सॅंगसॅंगै कथाको उदय भएको मान्नसकिन्छ। डा. घनश्याम नेपालले कथा बनाउने, भन्ने र सुन्ने परम्परा मानिसले आर्जन गरेको भाषाको परम्परा जत्तिकै पुरानो हो। जुन दिन सृष्टिको आदिम प्रहरमा पहिलोपल्ट मानिसले आफ्नो जङ्गली अवस्थाकै जीवनमा घटेको कुनै घटना आफ्नो गोष्ठीका अरू सदस्यलाई केही ध्वनिहरू, केही हावभाउहरूको माध्यमद्वारा सुनायो वा अवगत गरायो त्यसै दिनदेखि मानव समाजमा आख्यानको परम्पराको सूत्रपात भयो भन्ने कल्पना अचेल निकै प्रचलित हुँदै आएको छ, भनेका छन्‌ ।१ । आदिम मानवबाट नै कथा भन्ने र सुनाउने प्रक्रिया शुरु भएको मान्नसकिन्छ। दिनभरि शिकार गरेर आफ्नो वासस्थान (गुफा)-मा फर्किंदा लखतरान भएको पुरुषले आफ्नो परिवारका सदस्यहरूलाई दिनभरिको घटना सुनाउने प्रक्रियाबाट नै कथाको विकास भएको हुनसक्छ। भाषाको विकास हुन अघिबाट नै डा. नेपालले भने झैं कथा भन्ने र सुन्ने क्रमको विकास भएको मान्नसकिने प्रशस्त ऐतिहासिक आधार पाइन्छन्‌। डा. हरिप्रसाद शर्माले मानव-इतिहासको लामो जीवन गाथा नै कथा हो भनेका छन्‌।२

पछि भाषाको विकास भएपछि लोककथा र दन्त्यकथाहरूको जन्म हुँदै गयो भने यी कथाहरू पुस्ता-पुस्ता केही परिवर्तित हुँदै अघि बढे। शुरु-शुरुमा शिकार, साहस, लडाईं आदि विषयका कथा भन्ने र सुन्ने क्रमको विकास भयो। मानिसको बौद्धिक विकास तथा कृषि सभ्यताको प्रारम्भ भएपछि मानिसलाई केही फुर्सद मिल्न शुरु भयो र उसले कल्पना गरेर पनि नयॉं-नयॉं कथा परिवारका सदस्य, आफन्त आदिलाई सुनाउन शुरु गऱ्यो।

पूर्वीय र पाश्चात्य दुवैतिरका विद्वान्‌हरूले कथाको उद्‌भव र विकास एकै प्रकारले भएको बताएका छन्‌।३ वेद, रामायण, महाभारत, पुराण, ग्रीसेली परी कथा, लोककथा, दन्त्यकथा आदिबाट नै आजको कथाको स्वरूपको विकास भएको मानिन्छ।

आधुनिक नेपाली कथा साहित्यको विकास पनि पाश्चात्य आधुनिक कथाधारा र पूर्वीय (हिन्दी-बङ्गला) कथाधाराका सौन्दर्य शिल्पलाई ग्रहण गर्दै भएको हो भन्ने भनाइ विद्वान्‌हरूको छ।४ अतः आजको नेपाली कथामा पूर्वी र पाश्चात्य कथा प्रवृत्तिलाई अँगालिएको पाइन्छ।

कथाको अर्थ र परिभाषाः

कथाको शाब्दिक अर्थ भन्नु वा बताउनु हो। कुनै पनि समाख्यानात्मक कथालाई "कथा' शब्दले बोध गराउँदै आएको छ र भारतीय सन्दर्भमा यसको व्युत्पत्ति-प्रक्रिया कथा कहॉं, कथन, कहण, कहन, कहानी रहेको छ तापनि नेपाली साहित्यमा भने कथा शब्द नै परम्परागत कथा (सुन्ने कथा, गाउँ खाने कथा, दन्त्य कथा आदि) र आधुनिक ढङ्गका कथाको बोधका लागि सर्वसम्मत रूढ़ भइसकेको छ।५

आजको कथा साहित्यका सन्दर्भमा प्रयोग गरिने "कथा' शब्दलाई जनाउने शब्दहरू विभिन्न भाषामा विभिन्न छन्‌। अङ्‌ग्रेजीमा सर्ट स्टोरी, हिन्दीमा कहानी, फ्रान्सेलीमा नुवेल, गुजरातीमा नवलिका, बङ्गलामा गल्प आदि रहेका छन्‌। नेपालीमा सर्वसम्मतिद्वारा कथा शब्द प्रयोग गरिएको छ।

कथाको परिभाषा निश्चित गर्नसकिन्न। समयको परिवर्तन र अभिरुचिअनुसार कथाको स्वरूप पनि परिवर्तन भइरहन्छ। कथाको स्वरूप गतिशील हुन्छ यसैले युग-युगलाई कथाले प्रतिविम्बित गरेको हुन्छ। पूर्वीय र पाश्चात्य विद्वान्‌हरूले कथालाई आ-आफ्नै तरिकाले परिभाषित गरेका छन्‌ तर यहॉं आधुनिक कथाका केही परिभाषाहरूलाई अघि सार्न औचित्यपूर्ण रहला।

१. एचजी वेल्सः- बीस मिनटमा पढ़िसकिने सानो काल्पनिक आख्यानको खण्ड विशेष नै कथा हो।६

२. डेविड बी. गुराल्निकः- कथा भनेको वास्तविक या काल्पनिक घटनाको वा घटनासॅंग सम्बद्ध श्रृङ्खलाको वर्णन हो।७

३. डब्लू.एच हडसनः- कुनै पनि नाटकीय घटना वा स्थिति, मार्मिक दृश्य, अन्यतम सम्बद्ध घटनाको श्रृङ्खला, चरित्रको कुनै एक रूप कुनै एउटा अनुभूति, जीवनको कुनै एक पक्ष, कुनै नैतिक समस्याजस्ता असङ्‌ख्य विषय कुनै पनि सन्तोषप्रद कथाका लागि बीजको रूपमा प्रयुक्त हुन सक्छन्‌।८

४. एडगर एलेन पोः- छोटो कथा एक बसाइमा पढ़िसकिने सानो तर स्वयंपूर्ण गद्य इतिवृत्त हो। यो विशिष्ट प्रभावोत्पादक्ताका लागि लेखिन्छ तर अन्य सारा उपकरणहरू यसैको विकासका लागि प्रयोग गरिएका हुन्छन्‌।९

५. प्रेम चन्दः- कथा एक यस्तो गद्य रचना हो, जसमा जीवनको कुनै एक अङ्ग या कुनै एक मनोभावको प्रदर्शन गर्ने उद्देश्य कथाकारले लिएको हुन्छ। उपन्यासमा झैं कथामा मानव जीवनको सम्पूर्ण तथा बृहत्‌ रूप देखाउने प्रयास गरिँदैन। यो एक रमणीय उद्यान होइन, जहॉं रङ्गी-बिरङ्गी घटनाका पुष्पहरू सजिएका हुन्‌। अपितु यो एक यस्तो गमला हो, जसमा एउटै पुष्पलताको शोभा समुन्नत अवस्थामा दृष्टिगोचर हुन्छ।१०

६. लक्ष्मीप्रसाद देवकोटाः- कथा एउटा सानो झ्याल हो, जहॉंबाट एउटा सानो संसार चियाइन्छ।११

७. डा. हिमांशु थापाः- कथा भनेको गद्यको त्यो विधा हो, जसमा जीवन र जगतको कुनै एक पक्ष चित्रण हुन्छ, एउटा तथ्यको उद्‌घाटन हुन्छ र एउटा सत्यको विश्लेषण हुन्छ।१२

८. रूप नारायण सिंहः- एउटा व्यक्तिका जीवनमा एउटा विशेष घटना अथवा अनुभूति चित्रण गरी यथार्थ रूपमा देखाउनु नै गल्प (कथा)-को मुख्य धेय रहन्छ।१३

माथि उल्लेखित परिभाषाहरू हेरेर कथालाई यसरी परिभाषित गर्नसकिन्छ- कथा गद्यमा लेखिएको इतिवृतात्मक आख्यानको सानो टुक्रा हो, जसमा जीवन र जगतको एक पक्षीयतालाई चित्रण गरिएको हुन्छ।

कथाका तत्त्वहरूः

आजका कथाका लागि निम्नलिखित तत्त्वहरूलाई महत्वपूर्ण मानिन्छ-

कथानक अथवा कथावस्तुः चारित्रिक कार्यव्यापारको स्वरूप अर्थात्‌ कथावस्तुमा प्रारम्भ, मध्यअन्तको निर्वाह गर्न सक्षम तथा परस्पर सम्बद्ध र अर्थयुक्त घटनाहरूको क्रमिक अनुबन्धनलाई कथानक मानिन्छ। कथाको चारित्रिकविकासमा सहयोग पुऱ्याउनु र योगदान दिनु कथानकको मुख्य उद्देश्य हो।१४ आवश्यक घटनाहरूको श्रृङ्खलात्मक र कलात्मक गठन र गुम्फन नै कथावस्तु हो।१५

प्रारम्भ, विकास, चरमोत्कर्ष र परिसमाप्ति गरी कथावस्तु वा कथानकका चार अवस्था रहन्छन्‌। प्रारम्भ कथाको शुरुको अवस्था हो, यसमा कथाको थालनी वा विषय प्रवेश हुन्छ। कथाकारहरूले कथाको शुरु आ-आफ्ना तरिकाले आ-आफ्नै शैलीमा गर्ने गर्छन्‌ यसकारण यसका प्रकारहरू थुप्रै हुनसक्छन्‌। विकास कथाको दोस्रो अवस्था हो। प्रारम्भ अवस्थामा कथाको परिचय दिइएको हुन्छ भने विकास अवस्थामा त्यसको विस्तार र विकास हुन्छ। चरमोत्कर्ष कथान्तको प्रमुख अवस्था हो। यस अवस्थामा आइपुग्दा कथाले निश्चित स्वरूप ग्रहण गरी चरित्रको भावनामा उसलाई भाग्यको निर्णय स्थलसम्म पुऱ्याउने उत्तेजना भरिएको हुन्छ। कथानकमा चरमोत्कर्षका साथ साथै अन्त अर्थात्‌ परिसमाप्ति पनि जोड़िएको हुन्छ। चरमोत्कर्ष र परिसमाप्तिको निर्वाह सफल कथाकारले मात्र गर्नसक्छन्‌।

चरित्र र चरित्र चित्रणः कथानकका योजनामा आवश्यक तत्त्वहरूलाई क्रमबद्धता प्रदान गर्न चरित्रको प्रयोग गरिन्छ। कथामा प्रयोग गरिने चरित्रहरू जीवन र जगतका विभिन्न सन्दर्भबाट लिइएका हुँदा तिनमा विभिन्नताको आरोपण गरिन्छ। कथानक र वातावरणको फरकपनले गर्दा चरित्रहरूका गुणहरू पनि फेरिन पुग्छन्‌। अतः कथालाई आरम्भदेखि परिसमाप्तिसम्म पुऱ्याउन चरित्रमा चित्रणको आरोपण गरिएको हुन्छ।

दृष्टिविन्दु वा दृष्टिकोणः- कथाकारले आफ्नो सामग्री व्यक्त गर्दा मूलभूत माध्यमका रूपमा अङ्गिकार गर्ने कथाशिल्प विधानसम्बद्ध महत्वपूर्ण विधिलाई दृष्टिविन्दु वा दृष्टिकोण भनिन्छ। साधारण अर्थमा भन्नु हो भने दृष्टिविन्दु भनेको कथा वाचनका लागि कथयिताले उभिन वा बस्न रोजेको ठाउँ हो। कथयिताले कसरी घटना एवं चरित्रहरूको वर्णन गर्छ भन्ने कुराको टुङ्गो लाग्छ। दृष्टिबिन्दुलाई प्रथम पुरुष र तृतीय पुरुष गरी दुइ भागमा विभाजन गरिएको छ। प्रथम पुरुष दृष्टिबिन्दु भन्नाले यसमा कथयिताले घटना र पात्रको वर्णन गर्दा आफूलाई पनि कथाभित्र संलग्न गर्दछ भने तृतीय पुरुष दृष्टिबिन्दुमा चरित्र र घटनाका कुरालाई सर्वज्ञाता बनेर कथयिताले वर्णन र चित्रण गर्दछ।

कथापरिवेशः कथामा प्रयोग गरिने देश-कालको परिधिलाई परिवेश भनिन्छ। यसले चरित्रको कार्यव्यापारलाई सप्रयोजन प्रस्तुत गर्न पृष्ठभूमिको काम गर्छ। साधारणतः देश,काल, वातावरणलाई कथा परिवेश भन्नसकिन्छ।

संवाद अथवा कथोपकथनः कथाका चरित्रहरू परस्परमा जुन बातचीत गर्छन्‌ त्यसलाई संवाद अथवा कथोपकथन भनिन्छ। कथामा संवाद वा कथोपकथन हुनैपर्छ भन्ने पनि छैन तर संवादको प्रयोग प्रत्यक्ष वा परोक्ष रूपमा कथाकारले गर्दै हुन्छन्‌।

भाषाशैलीः कुनै पनि भाव वा विचारलाई अभिव्यक्ति गर्ने माध्यम भाषा हो अनि यसलाई अभिव्यक्त गर्ने विभिन्न तरिका हुन्छन्‌, जसलाई शैली भनिन्छ। कथामा कथाकार र चरित्रहरूका विभिन्न प्रकारका भाषा हुन्छन्‌, शैली हुन्छन्‌‌‌ र तिनै भाषाका विभिन्न रूपको प्रस्तुति कथाकारले गर्दछन्‌, जसलाई कथाको भाषा शैली भनिन्छ।

कथाको उद्देश्यः कथाकार जुन केन्द्रिय अभीष्टबाट आकृष्ट भएर कथा लेख्छन्‌ त्यस प्रेरक तत्त्वलाई उद्देश्य भनिन्छ। आधुनिक कथामा यसलाई त्यति महत्व दिइँदैन तर पनि कथा लेखिनुका पछि अवश्य पनि कथाकारका भावगत र कलागत कामना रहन्छन्‌। यही भावगत र कलागत कामनाको परिपूर्तिको इच्छा नै उद्देश्य हो।

नेपाली कथा साहित्यको विकासः-

आधुनिक नेपाली कथाको थालनी हुनुभन्दा अघि नेपाली कथाले डेढ़ सय वर्ष लामो कालखण्ड पार गरिसकेको छ।१६ नेपाली कथाले पाण्डुलिपि युगबाट मुद्रण युगमा प्रवेश गरेपछि आधुनिकताका सङ्केतहरू देखिनथालेका हुन्‌ र पत्र-पत्रिकाको प्रकाशन सॅंगसॅंगै नेपाली कथामा आधुनिकता भित्रिएको देखिन्छ। पश्चिमी आधुनिक कथाधारा र त्यसधाराबाट प्रेरित प्रभावित भारतीय (बङ्गला, हिन्दी) कथाधाराबाट यस कलाको शिल्प सौन्दर्य ग्रहण गर्दै सन्‌ १९२०-को दशकमा आधुनिक नेपाली कथाको थालनी भएको मान्नसकिन्छ।

काल विभाजनः-

नेपाली कथा साहित्यको विकासक्रमलाई निम्नलिखित कालखण्डमा विभाजन गरी अध्ययन गर्न युक्तिसङ्गत देखिएला।

प्राथमिक काल सन्‌ १७७० देखि १९००
माध्यमिक काल सन्‌ १९०१ देखि १९२६
आधुनिक काल सन्‌ १९२७ देखि आजसम्म
यथार्थवादी चरण सन्‌ १९२७ देखि १९६१
प्रयोगवादी चरण सन्‌ १९६२ देखि १९९०
समकालीन चरण सन्‌ १९९० देखि यता।

प्राथमिक कालः सन्‌ १७७० देखि १९००

नेपाली साहित्यमा आख्यानको प्रारम्भ सन्‌ १९७० देखि भएको मानिन्छ।१७ सन्‌ १७७०-मा शक्ति बल्लभ अर्यालद्वारा अनूदित महाभारत विराट पर्व-लाई जेठो नेपाली कथात्मक कृति मानिन्छ।१८ नेपाली साहित्येतिहासकारहरूले महाभारत विराट पर्व-बाट नै नेपाली कथाको प्रारम्भ भएको मानेकाले नेपाली कथाको प्राथमिक काल सन्‌ १७७०-बाट शुरुभएको मानिएको हो।

महाभारत विराट पर्व-ले नेपाली साहित्यलाई आख्यानका क्षेत्रमा पदार्पण गरायो। यसपछि शक्ति बल्लभले सन्‌ १७५८-मा आफैले संस्कृत भाषामा लेखेको हॉंस्यकदम्ब नाटकलाई आख्यानात्मक रूप दिएर नेपालीमा अनुवाद गरे।१९ यसरी नै महाभारत विराट पर्वपछि भानु दत्तले सन्‌ १७७६ हितोपदेश मित्रलाप नेपालीमा अनुवाद गरे। यसमा गद्याख्यानको शैलीमा सुधार गरी उनले आफ्ना रचनामा गुम्फक र बागधाराको प्रयोगसमेत गरेको देखिन्छ।२० त्यसपछि महाभारतलगायत अन्य धार्मिक ग्रन्थका विविध प्रसङ्गबाट लिएर विभिन्न आख्यानात्मक कृतिहरू देखा परेका छन्‌, जसमा रामभद्र पाध्यको लक्ष्मी धर्म संवाद (सन्‌ १७९४), बेनामी पिनासको कथा (सन्‌ १८१५), दशकुमार चरित (सन्‌ १८१८), स्वस्थानी व्रतकथा (सन्‌ १८२१) लेखिए। यस कालमा कथात्मक रचनाका रूपमा देखा परेका अन्य कृतिहरू हुन्‌- भवानी दत्तले अनुवाद गरेको मुद्राराक्षस (सन्‌ १८२५), सुन्दरानन्द बॉंड़ाको त्रिरत्न सौन्दर्य गाथा (सन्‌ १८३३) र आध्यात्म रामायण (सन्‌ १८३९), बेनामी बहत्र सुघाको कथा (सन्‌ १८३६), बेताल पञ्चविंशतिका (सन्‌ १८३६), देवराज शर्माको स्वस्थानी व्रतकथा (सन्‌ १७८५), हरिहर शर्माको भगवत भक्तिविलासिनी (सन्‌ १७८८) प्रमुख रहेका छन्‌।

यस्ता कृतिहरूमा कथा र उपन्यासबीचको भेद नछुट्टिएकाले यी दुवैको विकासको पृष्ठभूमि र आधार तयार गर्न यी आख्यान कृतिहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्‌। यी आख्यान कृतिहरू इतिवृतात्मक, समान शैलीगत, संस्कृत र अन्य भाषाबाट अनूदित, औपदेशिक, आध्यात्मिक आदि विशेषता बोकेका पाइन्छन्‌।

माध्यमिक काल ः सन्‌ १९०१ देखि १९२६

सन्‌ १९०१ अघिको कालखण्डलाई नेपाली कथा (आख्यान)-को पाण्डुलिपि युग मानिन्छ।२१ यसपछि सन्‌ १९०१-मा दार्जीलिङबाट पादरी गंगाप्रसाद प्रधानले गोर्खे खबरकागत्‌ पत्रिका शुरु गरे भने नेपालबाट गोरखापत्र-को आरम्भ भयो। अतः यस युगमा आइपुग्दा नेपाली कथाले पाण्डुलिपिबाट मुद्रणको बाटो समातेको देखिन्छ। नेपाली कथाले पाण्डुलिपि युगबाट अघि बढ़ी पूर्ण मुद्रण युगमा प्रवेश गरेको १९०१-मा हो।२२ कथाको विकासमा पत्रकारिताको महत्वपूर्ण योगदान हुन्छ। गोर्खे खबरकागत्‌-पछि क्रमशः गोरखापत्र (सन्‌ १९०१), सुन्दरी (सन्‌ १९०६), माधवी (सन्‌ १९०८), गोर्खाली (सन्‌ १९१५), चन्द्रिका (सन्‌ १९१७) र गोरखासंसार (१९२६) जस्ता साहित्यप्रधान पत्रिकाको प्रकाशनले नेपाली कथाको स्वरूप निर्धारण गर्दै ल्यायो र आख्यात्मक स्वरूपबाट कथाको स्वरूप छुट्टियो। कथाविधाको रचनास्वरूप उपन्यासभन्दा भिन्न हुन्छ भन्ने चेतना सर्वप्रथम यी पत्रिकाहरूमा देखियो।२३ यसअघिका कथाहरू रूपान्तर टीका, अनुवाद, लिपि मात्र थिए।२४

गोरखापत्र-मा छोटा किस्साका रूपमा निकै कथा प्रकाशित भए, जसमध्ये प्राचीन प्रपञ्च (सन्‌ १९०६), सुब्बा वेदनिधि उपाध्यायको पत्रात्मक कथा (सन्‌ १९११) र सुकुल गुण्डाको कहानी (सन्‌ १९१३) यसपछि सुन्दरी र माधवी पत्रिकामा पनि कथाहरू प्रकाशित हुनथाले। माधवीमा प्रकाशित सुलोचना वृत्तान्त (सन्‌ १९०९), कथा मौलिक रचना मानिन्छ।२५ चन्द्रिका-मा जनधर सेनको वकीलको भाग्य (सन्‌ १९१७) कथाको अनुवाद छापियो। देहरादूनको गोरखासंसार पत्रिकामा आधुनिकताका नजिक रहेका कथाहरू छापिए, जसमा वियोग, देवीको बली, नरबहादुर गुरूङ, हिन्दूदेवी र विलाप आदि प्रमुख रहेका छन्‌। यी कथाहरूबाट नेपाली मौलिक सामाजिक कथाहरूको अरूणोदय भइसकेको मानिन्छ।२६ सुन्दरी-मा सुन्दरीभूषण (सन्‌ १९०६), कलावती (सन्‌ १९०६) र विलासिनी (१९०७), माधवी-मा प्रकाशित खि. ना. सा.-को एक औपदेशिक कथा (सन्‌ १९०८), राममणि आदीको पातीव्रत्य प्रभाव (१९०८), पण्डित तारानाथको सुलोचनावृत्तान्त (१९०८) कथामा नारीलाई विषय बनाई परम्परागत मान्यताको वरण गरिएको छ।२७

गोरखासंसार-मा राजनीतिक र सामाजिक सुधारका कथाहरू प्रकाशित भए।२८ आधुनिकताका नजिक रहेका कथाहरू प्रकाशित भएको मानिन्छ। यसमा लाहुरे उपनाम गरेर सूर्यविक्रम ज्ञावाली, इष्ट उपनाम गरेर रूपनारायण सिंहले शुरुका कथा प्रकाशित गरेका छन्‌। लाहुरेको देवीको बली कथामा अन्धविश्वास र गरीबीले ग्रस्त नेपालीको वेदना पाइन्छ भने इष्टको वियोग कथामा सामाजिक विषय वस्तु र स्वच्छन्दतावादी विषय सम्पादनको समन्वय छ।२९

अतः गोरखासंसार-को प्रकाशन सॅंगसॅंगै नेपाली कथा आधुनिकताको संघारमा उभिएको देखिन्छ। गोरखापत्र-देखि गोरखासंसार-सम्म आइपुग्दा नेपाली कथा साहित्यले पौराणिकतालाई परित्याग गर्दै आधुनिकताको बाटो समात्ने प्रयास गऱ्यो, अनुवादबाट मौलिकतातर्फ अग्रसर भयो, कोरा काल्पनिक विषयवस्तुलाई छोड़ी सामाजिक र नयॉं विषयवस्तु समात्ने कोशिश गऱ्यो। समाजमा रहेको अन्धविश्वास र कुरीति र विकृतिसमेतलाई कथाहरूले विषयवस्तु बनाए।

आधुनिक कालः सन्‌ १९२७ देखि आजसम्म

पहिलो आधुनिक नेपाली कथा विषय लिएर नेपाली साहित्येतिहासकारहरूमा मतभेद रहेको छ। कतिले गुरूप्रसाद मैनालीको नासो (सन्‌ १९३४)-लाई पहिलो आधुनिक कथा मानेका छन्‌३० भने कतिले रूपनारायण सिंहको गोरखासंसारमा सन्‌ १९२८-मा प्रकाशित अन्नपूर्णा कथालाई पहिलो आधुनिक कथा मानेका छन्‌।३१ अर्कोतिर गुरूप्रसाद मैनालीले नासो कथा सन्‌ १९२७ मै लेखेका थिए भनिन्छ। ३२ यद्यपि मैनालीको नासो शारदा पत्रिकामा १९३४-मा मात्र प्रकाशन भएको थियो। अतःनेपाली पहिलो आधुनिक कथा र नेपाली साहित्यको आधुनिक कालको आरम्भ १९२७-बाट भएको मान्न सकिन्छ। किनभने यसै वर्ष आधुनिकताका लक्षणले परिपूर्ण स्वच्छन्ततावादी विचारधारामा लेखिएको रूपनारायणको अन्नपूर्णा कथा गोरखासंसार-मा प्रकाशित हुनु र यसै अवधिमा गुरूप्रसाद मैनालीले नासो कथा लेख्नुले यही वर्षबाट आधुनिक काल शुरु भएको पुष्टि हुन्छ भन्दा अत्युक्ति नहोला। अब पहिलो आधुनिक कथा कुन हो भन्ने प्रश्नको उत्तर अन्नपूर्णाले दिँदछ। किनभने यो १९२७-मै प्रकाशित भएर पाठकसमक्ष पुगिसकेको थियो भने नासोलाई पाठकसमक्ष पुग्न सात वर्ष कुर्नुपरेको थियो। यसैले अन्नपूर्ण पहिलो आधुनिक कथा हो। गोरखासंसार (सन्‌ १९२६)-बाट नेपाली कथाले आधुनिकस्वरूप प्राप्त गऱ्यो भने यसलाई पोषण गर्ने कार्य भने १९३४-मा प्रकाशित शारदा पत्रिकाले गऱ्यो।

शारदापछि नेपाली कथाको विकासमा थुप्रै पत्र-पत्रिकाहरूले योगदान दिएका छन्‌, जसमा नेपालबाट गोरखापत्र, रत्नश्री, रूपरेखा, नेपाली, मधुपर्क, रमझम, गरिमा, समकालीन साहित्य, बगर, भानु, रचना, हाम्रो नेपाल आदि। यसै गरी भारतबाट गोरखासंसार, भारती, नेपाली साहित्य सम्मेलन पत्रिका, युगवाणी, गोर्खा, नवज्योति, दियालो, हाम्रो कथा, स्रष्टा, बिन्दु, खोजी, तेस्रो आयाम, अर्चना, निर्माण, प्रक्रिया आदि प्रमुख रहेका छन्‌।

यथार्थवादी चरणः सन्‌ १९२७ देखि १९६१

सन्‌ १९२७-देखि १९६१-सम्मको नेपाली कथा साहित्यको काल खण्डमा स्वच्छन्दतावादी, सामाजिक यथार्थवादी, आदर्शोन्मुख यथार्थवादी, मनोविश्लेषणवादी, प्रगतिवादी, ऐतिहासिक यथार्थवादी आदि विविध प्रवृत्ति अँगालेका कथाहरू लिएर कथाकारहरूको उदय भयो। रूपनारायण सिंह र शिवकुमार राईले स्वच्छन्दतावादी, गुरूप्रसाद मैनालीले सामाजिक यथार्थवादी-आदर्शोन्मुख यथार्थवादी, विश्वेश्वरप्रसाद कोइरालाले मनोविश्लेषणात्मक यथार्थवादी, हृदयचन्द्र सिंह प्रधानले प्रगतिवादी, बद्रिनाथ भट्टाराईले पौराणिक र ऐतिहासिक कथा धारालाई नेतृत्व प्रदान गरेका छन्‌। यसैबीच दार्जीलिङबाट नेपाली साहित्य सम्मेलनले कथा कुसुम (सन्‌ १९३५)-मा पॉंचजना कथाकारहरूका कथालाई प्रकाशित गऱ्यो, जो नेपाली साहित्यको पहिलो कथा सङ्‌ग्रह हो।३३

यस कालका प्रमुख कथाकारहरू र कथा सङ्‌ग्रहहरू यसप्रकार छन्‌-

रूपनारायण सिंहको कथा नवरत्न (सन्‌ १९५०), गुरूप्रसाद मैनालीको नासो (सन्‌१९६३), पुष्कर समशेरका कथाहरू (सम्पा. दयाराम श्रेष्ठ), विश्वेश्वरप्रसाद कोइरालाको दोषी चश्मा (सन्‌ १९४९) र श्वेत भैरवी (१९८२), शिवकुमार राईको फ्रण्टियर (सन्‌ १९५१), यात्री (सन्‌ १९५६), खहरे (सन्‌ १९७६) र बडा डिनर (सन्‌ १९८८), भवानी भिक्षुको गुनकेशरी (सन्‌ १९५३), मैयासाहेब (सन्‌ १९६०), आवर्त्त (सन्‌ १९६७) र अवान्तर (सन्‌ १९७७), गोविन्दबहादुर मल्ल "गोठाले'-को कथा सङ्‌ग्रह (सन्‌ १९४६), कथैकथा (सन्‌ १९५९) र प्रेम र मृत्यु (सन्‌ १९८२), बालकृष्ण समको तलतल (सन्‌ १९८९), तारिणीप्रसाद कोइरालाको रातो स्वेटर (सन्‌ १९८१), इन्द्र सुन्दासको रानी खोला (सन्‌ १९७७), परशुराम रोकाको पञ्चामृत (सन्‌ १९४९), हरिप्रसाद गोर्खा राईको यहॉं बदनाम हुन्छ (सन्‌ १९७४) र मनचरीको बोली (सन्‌ १९७८), इन्द्रबहादुर राईको विपना कतिपय (सन्‌ १९६०), एम. एम. गुरूङको घरसंसार (सन्‌ १९५८) र टिस्टा बग्छ सधैंजस्तो (सन्‌ १९८२), गुनुसिंह गुरूङको यात्रामा (सन्‌ १९६५), लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी कथा सङ्‌ग्रह (सन्‌ १९७५), बद्रीनाथ भट्टराईको पौराणिक कहानी (सन्‌ १९५३), नेपाली ऐतिहासिक कहानी (सन्‌ १९५८) र वैदिक कहानी (सन्‌ १९७२), हायमनदास राई "किरात'-को बिनायो (सन्‌ १९५६), बटुवा (सन्‌ १९५७), चौकीदार (सन्‌ १९५२), अभागिनीको साथी (सन्‌ १९५५), विजय (सन्‌ १९६१), आँधीबेरी (सन्‌ १९६१) र पंखी (सन्‌ २०००), प्रेम थापाको प्रेम स्मारक (सन्‌ १९६२), कृष्णसिंह मोक्तानको प्रेम, भ्रान्ति र सत्य (सन्‌ १९५९), वीरविक्रम गुरूङको अमरक्षण (सन्‌ १९६१), हरिश बमजनको आफ्नो डायरी आफ्नो कहानी (सन्‌ १९६२), १००० रुपियॉंको नोट (सन्‌ १९६५) र शोकेशभित्रको जिन्दगी (सन्‌ १९६८), राधिका रायाको तिमी नभएको भए (सन्‌ १९७६) आदि।

प्रयोगवादी चरण ः सन्‌ १९६२-देखि १९९०

सन्‌ १९६०-मा नेपालबाट रूपरेखा पत्रिकाको प्रकाशनले नेपाली कविता साहित्यको क्षेत्रमा नयॉं प्रयोग परिपाटिलाई प्रोत्साहित गऱ्यो।३४ दार्जीलिङबाट १९६३-मा तेस्रो आयाम पत्रिकाको प्रकाशन र आयामवादी आन्दोलनको घोषणाले कथा साहित्यमा पनि वस्तुपरक प्रयोगधर्मी लेखनको थालनी गऱ्यो।३५ यस कालमा कथा क्षेत्रमा इन्द्रबहादुर राई, शङ्कर लामिछाने, पारिजात, विजय मल्ल, ध्रुवचन्द्र गौतम, शरद क्षेेत्री, गुप्त प्रधान, वीरविक्रम थापा आदि कथाकारहरूले नेपाली कथालाई नौलो रूप प्रधान गरे। यस चरणमा रूपरेखा, गरिमा, मधुपर्क, स्रष्टा, निर्माण आदि पत्र-पत्रिकाले नेपाली कथा साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका छन्‌।

यस चरणका प्रमुख कथाकार र उनीहरूको कथा सङ्‌ग्रह निम्नप्रकार छन्‌ः-

इन्द्रबहादुर राईको विपना कतिपय (सन्‌ १९६०), कथास्था (सन्‌ १९७२) र कठपुतलीको मन (सन्‌ १९८९), रमेश विकलको नयॉं सड़कको गीत (सन्‌ १९६२), विरानो देशमा (सन्‌ १९५९), एउटा बूढ़ो भ्वाइलिन आशावरीको धुनमा (सन्‌ १९६८), आज फेरि तन्ना फेरिन्छ (सन्‌ १९६७), शव सालिक र सहस्र बुद्ध र उर्मिला भाउजू, पोषण पाण्डेको आँखी झ्याल (सन्‌ १९६४), मानस (सन्‌ १९६८) र हिउँमा परेका डोबहरू (सन्‌ १९७५), बालकृष्ण पोखरेलको सोधाई र जवाफ (सन्‌ १९६४), फूटेको ऐना (सन्‌ १९७०), सुनगाभा (सन्‌ १९६९), कानेखुशी (सन्‌ १९७७), माधव भण्डारीको काले र मोती, गाउँघर (सन्‌ १९६८), प्रेमा शाहको पहेंलो गुलाफ (सन्‌ १९६६) र विषायान्तर (सन्‌ १९७१), कुमार ज्ञवालीको तुवॉंलोको कत्ला (सन्‌ १९६३), छरिएका कथाहरू र भत्केको गुँड़, देवकुमारी थापाको झझल्को, टपरी, वरपरबाट, भोक तृप्ति, प्रलय प्रतीक्षा, महानन्द पौड्‌यालको झुम्राको पुतली (सन्‌ १९८९), हाम्रा केही लोककथा (सन्‌ १९८६), रूद्र पौड्यालको कथाकल्प (सन्‌ १९८०), चन्द्रवीर प्रधानको साहित्य पुष्प (सन्‌ १९७५), भगिरथ लोहारको अन्तरजलन (सन्‌ १९९८), सानु लामाको कथा सम्पद (सन्‌ १९७३) र मृगतृष्णा (सन्‌ १९९०), बी.बी. लकान्द्रीको जारः एक सम्झौता (सन्‌ १९७२), आमा घर फर्किनन्‌ (सन्‌ १९९३), खड़गराज गिरीको प्रतिरूप (सन्‌ १९८६), अभाव (सन्‌ १९९२), राधाकृष्ण शर्माको समाधानहीन पाइलाहरू र नयॉं स्वीटर (सन्‌ १९९६), डा. जगत छेत्रीको अन्तरद्वन्द्व (सन्‌ १९६९), तीनतिया तीन (सन्‌ १९६९), कथासंगम (सन्‌ १९८१) र हारेको मान्छे (सन्‌ १९९२), ग्राबियल राणाको आहूति (सन्‌ १९६८), समीरण छेत्री "प्रियदर्शी'-को फुटेको मुरली (सन्‌ १९६४), असफल चित्रकार (सन्‌ १९७६), अर्को मान्छे (सन्‌ १९८७), निर्वाणको रात (सन्‌ १९९६), आई.के. सिंहको त्यो रात फेरि फर्केर आउँदैन (सन्‌ १९७२), रामलाल अधिकारीको आफै जन्मनेहरू (सन्‌ १९६९), थमिनी कान्छी (सन्‌ १९७९), लालगेड़ी र आँखाहरू (सन्‌ १९९७), युवराज काफ्लेको फ्यॉंकिएको कसिंगर (सन्‌ १९६९), प्रकाश कोविदको चोट, रेखा, हाम्रो कान्छा र डाकबङ्‌ग्ला, असित राईको अरूले नचिनेको म (सन्‌ १९६७), संत्रस्त जिजीविषा (सन्‌ २००४), नन्द हांगखिम उन्मुक्ति (सन्‌ १९७०) र प्रीतिका चिट्ठीहरू (सन्‌ १९७०), माया ठकुरीको नजुरेको जोड़ी, गमलाको फूल, सॉंघु तरेपछि र चौतारी साक्षी छ, शरद क्षेत्रीको विम्बहीन प्रतिविम्ब (सन्‌ १९७१), बाइस धारा (सन्‌ १९७८), तरल कथाहरू (सन्‌ १९८३), चक्रव्यूह (सन्‌ १९८५), समय र बॉंसुरीको धुन (सन्‌ १९८८), कालाग्नि (सन्‌ १९९६), आदि-अनादि (सन्‌ १९९९) र सूर्यस्नान (सन्‌ २००३), गुप्त प्रधानको मान्छे मान्छेकै बस्तीभित्र (सन्‌ १९८०), अक्षरै अक्षरको शहर (सन्‌ १९९३), विराम चिन्हहरू (सन्‌ २००२), पूर्ण राईको सिमलको भूवा (सन्‌ १९७२), गल्ली गल्ली क्रान्तिको उद्‌घोषणा (सन्‌ १९८५), फूल झरेका पत्रदलहरू (सन्‌ १९९७) र जय विजय (सन्‌ १९९२), पारिजातका आदिम देश (सन्‌ १९६८), सडक (सन्‌ १९७५) र प्रतिभा र साल्गीको बलात्कृत आँशु (सन्‌ १९८६), मनु ब्राजाकीका अवमूल्यन (सन्‌ १९८१), आकाशको फल (सन्‌ १९८५), तिम्री स्वास्नी (सन्‌ १९९०) र म र भविष्य यात्रा (सन्‌ १९९५) आदि।

यस चरणका अन्य केही प्रमुख कथाहरू हुन्‌-

पुष्कर लोहनी, ध्रुवचन्द्र गौतम, मदनमणि दीक्षित, परशु प्रधान, विश्वम्भर चञ्चल, मुरारी अधिकारी, भाउपन्थी, कविताराम, जगदीश घिमिरे, शैलेन्द्र साकार, सनत रेग्मी, किशोर नेपाल, जैनेन्द्र जीवन, ध्रुव सापकोटा, जनार्दन पूडासैनी राजव, किशोर पहाडी, गोपाल पराजुली, नारायण ढकाल, गोविन्द गिरी प्रेरणा, माया ठकुरी, भागीरथी श्रेष्ठ, पद्मावती सिंह, अनिता तुलाधर, मञ्जु कॉंचुली, बेञ्जु शर्मा, भीम दाहाल, थिरूप्रसाद नेपाल, गहर उदासी, प्रेम थुलुङ, सानुभाइ शर्मा, तुलसीराम शर्मा "कश्यप', जीवन थिङ, पदम क्षेत्री, विजयकुमार सुब्बा आदि।

समकालीन चरणः सन्‌ १९९० देखि यता

सन्‌ १९९०-मा नेपालमा पञ्चायती व्यवस्थाको विरुद्ध जनआन्दोलन भएपछि बहुदलीय लोकतन्त्रको स्थापना भयो भने १९९२-मा भारतमा नेपाली भाषा संविधानको आठौं अनुसूचिमा अन्तरभुक्त भयो। १९९०-मा नेपाली भाषाको आन्दोलन चरमोकर्त्षमा पुगेको थियो। दुवै देशका जनताले आ-आफ्नो आन्दोलनपछि विजय प्राप्त गरे, जसको परोक्ष र प्रत्यक्ष प्रभाव साहित्यमा पऱ्यो। साहित्यमा विविध समकालीन शिल्प र कलाको प्रयोग यस चरणका कथाहरूले गरिरहेका छन्‌।

यस चरणका प्रमुख कथाकारहरू हुन्‌ः

पुष्कर लोहनी, ध्रुवचन्द्र गौतम, मदनमणि दीक्षित, परशु प्रधान, विश्वम्भर चञ्चल, मुरारी अधिकारी, भाउपन्थी, कविताराम, जगदीश घिमिरे, शैलेन्द्र साकार, सनत रेग्मी, किशोर नेपाल, जैनेन्द्र जीवन, ध्रुव सापकोटा, जनार्दन पूडासैनी राजव, किशोर पहाडी, गोपाल पराजुली, नारायण ढकाल, गोविन्दगिरी प्रेरणा, माया ठकुरी, भागीरथी श्रेष्ठ, पद्मावती सिंह, अनिता तुलाधर, मञ्जु कॉंचुली, बेञ्जु शर्मा, भीम दाहाल, थिरूप्रसाद नेपाल, गहर उदासी, प्रेम थुलुङ, सानुभाइ शर्मा, तुलसीराम शर्मा "कश्यप', जीवन थिङ, पदम क्षेत्री, विजयकुमार सुब्बा, इन्द्रबहादुर राई, प्रेमा शाह, कुमार ज्ञवाली, सानु लामा, खड़गराज गिरी, नन्द हांगखिम, शरद्‌ क्षेत्री, गुप्त प्रधान, मनु ब्राजाकी, सीता पाण्डे, सञ्जय थापा, विजय चालिसे, नयनराज पाण्डे, राजेन्द्र पराजुली, महेशविक्रम शाह, विक्रमवीर थापा, प्रेम प्रधान, केदार गुरूङ, सञ्जय विष्ट, उदय थुलुङ, धन निर्दोष सुब्बा, विन्द्‌या सुब्बा, सरला राई, देविका मोक्तान, सम्पूर्णा राई, भानु खवास, विनोद प्रधान "सोरकी', हिस्से वाङगेल, मणिप्रसाद राई, दलमान डी. गुरूङ, माधव बूढ़ाथोकी, हरिष मोक्तान, छिरिङ पाञ्जो शेर्पा, मणिकुमार सुब्बा, आर्य लामिछाने, प्रवीण राई जुमेली, चुनिलाल घिमिरे, शरण सुब्बा, खुशेन्द्र राई, ध्रुव लोहागण, कमला आँशु, पूर्ण सुब्बा, लक्ष्मीप्रसाद गुरूङ, इन्द्रमणि दर्नाल, कालूसिंह रणपहेंली, गोपीचन्द्र प्रधान, अशोक रोका, अर्जुन निरौला, गोवर्धन बॉंस्तोला, कुमार घिसिङ, कर्ण थामी, एडोन रोङगोङ, असीत राई, सुरेश राई, लक्ष्मी लोहार, पेम्बा तामाङ, सुवास दीपक, पारसमणि शम, सलोन कार्थक, ग्राबियल राणा, जस योञ्जन "प्यासी', काजी गजमेर, प्रेम मुखिया वैरागी, एम.एस. खान, टी.बी. तामी, चम्पा दिवस राई, रूद्र पौड्याल, प्रकाश हाङखिम आदि प्रमुख छन्‌।

समकालीन सिक्किमेली कथा साहित्य

सिक्किममा कथा साहित्यको विकास १९९०-को दशकपछि तीव्रताका साथ भएको पाइन्छ। कविता विधामा झैं कथा विधामा पनि यहॉं धेरै कलमकारहरूले कलम चलाउन रूचाएको देखिन्छ। अघिल्लै दशकदेखि सक्रिय रहेका कथाकारहरूसित नयॉं कथाकारहरूको सङ्गमले समकालीन सिक्किमेली नेपाली कथा साहित्यलाई उच्चता प्रदान गरेको छ। अहिलेका सिक्किमेली नेपाली कथा परम्परावादी कथा लेखनबाट माथि उठेका छन्‌ भने उत्तराधुनिक कथा लेखनलाई पनि यहॉंका एक दुइ कथाकारले प्रयोगमा ल्याउने चेष्टा गरेको देखिन्छ। यस अवधिका कथाहरू बदलॅंदो सामाजिक, राजनैतिक, आर्थिक र वैश्विक परिवेशमा सिर्जना भएका छन्‌। कथाको मार्मिकता र विषयगत प्रस्तुतिमा एक दुइ कथाकारहरू निकै अघि पुगेका छन्‌।

अघिल्लो दशकमा कथा साहित्यमा आफूलाई स्थापित गरिसकेका सानु लामा, सानुभाइ शर्मा, पूर्ण राई, गंगा क प्तान, राधाकृष्ण शर्मा, आर्य लामिछाने, समीरण छेत्री "प्रियदर्शी', टेकबहादुर तामी, रूद्र पौड्‌याल, गहर उदासी, सरला राई, प्रेम थुलुङ, भीम दाहालहरू सॅंगसॅंगै नयॉं कथाकारहरूले १९९०-को दशकको शुरुदेखि नै सिक्किमेली कथा साहित्यलाई नयॉं आयाम दिने प्रयास गरेको देखिन्छ। यीमध्ये भीम दाहाल, प्रवीण राई जुमेली, डिल्लीराम अधिकारी, विजयकुमार सुब्बा, पेम्बा तामाङ, चम्पादिवस राई, कालुसिंह रणपहेंली, विनोद प्रधान "सोरकी', थिरूप्रसाद नेपाल, छिरिङ पाञ्जो शेर्पा, पारसमणि शम, देवकुमार राई, धन निर्दोष सुब्बा आदि कथाकारहरूले सिक्किमेली नेपाली कथा साहित्यलाई नयॉं आयाम दिने चेष्टा यस कालमा आएर गरेका छन्‌। यस अवधिमा कथा साहित्यलाई विकसित गर्न तथा नयॉं कथाकारहरूलाई परिष्कृत र परिमार्जित गर्दै परिपक्व बनाउन विभिन्न पत्र-पत्रिकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्‌। कथा साहित्यलाई बढ़ी प्राथमिकता दिँदै अघि सरेका पत्र-पत्रिकाहरूमा स्रष्टा, प्रक्रिया, निर्माण, नागबेली, चौंरी डॉंड़ा, समय दैनिक, बाल दर्पण प्रमुख रहेका छन्‌।

समकालीन सिक्किमेली कथाकारहरूले आफ्ना कथाहरूमा ग्रामीण जनजीवनको यथार्थिक चिन्त्रणमा बढ़ी जोर दिएका छन्‌। यसका साथसाथै शहरीकरणको कारण देखा परेका विभिन्न समस्या र विकृतिहरूलाई पनि कथाकारहरूले आफ्ना कथाहरूमा विषय वस्तु बनाउने काम गरेका छन्‌। प्रवृत्तिगत विशेषताको कुरा गर्दा सिक्किमेली कथाकारहरू यस अवधिमा आएर मनोविश्लेषणतर्फ पनि उन्मुख देखिन्छन्‌। मूलतःकथाकारहरूले समाजको वास्तविक चित्रणलाई वर्णन गर्न वक्र दृष्टिको पनि प्रयोग गर्न रूचाएको देखिन्छ। एकातिर ऐतिहासिक विषयवस्तुलाई समेट्‌ने तथा पारिवारिक जीवनका दुःख, कष्टलाई पनि आफ्ना कथाहरूमा उतार्न यहॉंका कथाकारहरू निक्कै सक्रिय देखिन्छन्‌। पछिल्ला पिँढ़ीका कथाकारहरू आर्थिक विपन्नता र बेरोजगारको समस्यालाई कथाका माध्यमद्वारा चित्रण गर्न रूचाएको पनि देखिन्छ। नयॉं कथाकारहरूले आफ्ना कथाहरूमा मानव तस्करी, मादक पदार्थको तस्करी र रोजगारका निम्ति पलायन हुनुपरेको विसङ्गत जीवनलाई पनि चित्रण गर्न अघि सरेका छन्‌।

यस कालमा आएर सिक्किमेली कथाले नयॉं रूप लिँदै कोरा रोमाण्टिक भाव चित्रणलाई नसमेटेर जीवन भोगाइका क्रममा देखा परेका अमिल्दा पक्षहरूलाई समेत उतार्न रुचाएका छन्‌। अर्कोतिर जीवन भोगाइका क्रममा अनेकौं वैकल्पिक स्रोतहरूको खोजीमा सङ्‌घर्ष गर्नुपरेको अनि परिश्रम र सङ्‌घर्षको उचित मूल्य नपाएका दुखेसोहरू पनि यस अवधिका कथाहरूमा यत्रतत्र पाइन्छन्‌।

अर्कातिर कथाको सौन्दर्य पक्षलाई नयॉं रूप दिँदै विविध प्रयोगवादी दृष्टिकोण राख्ने कथाकारहरू पनि धेरै जन्मिएका छन्‌। कथाका पात्रहरूको चयन अनि उनीहरूको गतिविधिलाई अनेकौं रूप दिने प्रचेष्ठा यस अवधिका कथाकारहरूको रहेको छ। सामान्य कुरालाई असामान्यकरण गर्ने अनि विशिष्ट तथा महत्वपूर्ण कुराहरूको सामान्यकरण गर्ने प्रवृत्तिको पनि विकास भएको पाइन्छ। अर्कातिर व्यङ्‌ग्यात्मकतालाई पनि कथाकारहरूले महत्व दिएका छन्‌। आफ्ना कथाहरूमा समाजमा देखा परेका विभिन्न विसङ्गतिहरूप्रति, माथिल्लो दर्जाका ठान्नेहरूप्रति व्यङ्‌ग्य चित्रण गर्ने प्रयास पनि कथाकारहरूले गरेका छन्‌। यसरी नै यस अवधिका कथाहरूमा प्रतिकात्मक प्रयोगहरू पनि भएका छन्‌ भने कथामा सामान्य घटनालाई पनि विशेषता दिने र घटना नघटाइकन पनि कथा लेख्ने परम्परा बसालेका छन्‌। मानव जीवनको खोक्रोपन र आडम्बरप्रति व्यङ्‌ग्य र त्यस आडम्बरबाट उत्पन्न समस्याहरूलाई पनि कथाहरूमा समेट्‌ने प्रयास गरिएका छन्‌। यसका साथसाथै सिक्किमले राष्ट्रिय स्तरमा गरेका प्रगति र उन्नतिका कुराहरूलाई पनि कथाकारहरूले इमान्दारिताका साथ प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ। मानवोत्तर पात्र-पात्राको प्रयोगद्वारा मानवीय प्रेम र करूणालाई प्रस्फुटित पार्ने कोशिश गरिएको पाइन्छ भने देह व्यापार, यौवनजन्य व्यापारको चित्रण पनि कथाहरूमा पाइन्छन्‌। बाल पात्र-पात्राहरूको प्रयोगले पनि कथालाई विशिष्टता दिनसकिन्छ भन्ने कुरा पनि अहिलेका सिक्किमेली कथाहरूले बताएका छन्‌। यसका साथसाथै कथामा उत्तराधुनिक लेखन शैली र पाश्चात्य कथा साहित्यको प्रभाव देखापरेको छ। कथालाई कलाको रूपमा प्रस्तुत गर्न अनि माझिएको कथा निर्माण गर्न यहॉंका कथाकारहरू लागिपरेका छन्‌। भाषा-शैलीका दृष्टिकोणमा कथाकारहरूले कथालाई आवश्यकतानुसार संवाद अनि वर्णन र विश्लेषणद्वारा अघि बढ़ाउने जुन प्रयास गरेका छन्‌, त्यसबाट कतिपय कथाकारका भाषा-शैली, साधारण पाठकका निम्ति केही क्लिष्ट बनेका छन्‌ भने धेरै कथाकारहरूका कथा प्रस्तुति सरल र स्पष्ट भाषामा भएकाले साधारणभन्दा साधारण पाठकलाई पनि आकर्षित गर्नसकेका छन्‌।

यस अवधिमा सिक्किममा झण्डै पुराना र नयॉं गरी सय कथाकारहरूको उदय भएको छ, जो सिक्किमेली कथा साहित्यको उज्ज्वल भविष्यको सङ्केत हो। यी कथाकारहरू सबैका कथाले सङ्‌ग्रह र पुस्तकको रूप धारण गरेका छैनन्‌ यद्यपि, यी कथाकारहरूले पत्र-पत्रिकामार्फत्‌ नै आफ्ना पाठकहरू जन्माइसकेको प्रतीत हुन्छ। पत्र पत्रिकामा सीमित रहेका कथाकारहरूसमेतलाई समेट्‌ने प्रयास यहॉं गरिएको छ।

१५ जून १९३९-मा जन्मिएका अनि साहित्य क्षेत्रमा सानु लामा (गरूड़सिंह लामा) नामले परिचित सानु लामा सिक्किमेली कथा साहित्यका एक नक्षत्रका रूपमा स्थापित बन्नपुगेका छन्‌। कथा साहित्यलाई नै आफ्नो क्षेत्र मान्ने लामाले मृगतृष्णा (१९९०) कथा सङ्‌ग्रहका लागि १९९३-मा साहित्य अकादमी पुरस्कार प्राप्त गरे भने २००५-मा उनलाई भारत सरकारले भाषा-साहित्यको उत्कृष्ट सेवा गरेवापत २००४-को पद्मश्री पुरस्कारले सम्मानित गरेको छ, जो सिक्किमको निम्ति मात्र नभएर भारतभरि छरिएर बसेका नेपालीहरूका निम्ति गौरवको विषय बनेको छ। सानु लामा पद्मश्री पुरस्कार ग्रहण गर्ने भारतीय नेपाली साहित्यकारहरूमा पहिलो र एक्लो व्यक्ति हुन्‌ यसैले पनि उनको महत्व स्पष्ट भएर जान्छ। उनका कथाहरूमा आञ्चलिकताको छाप, करूणा, सुन्दर र स्पष्ट भाषा-शैली, भाव प्रधानता, ग्रामीण जीवनको चित्रण, पाठकीय दृष्टिकोण, मध्यमवर्गीय जीवनपद्धति, अतिशयताको वहिष्कार, कलात्मकता र वास्तविकताको समन्वय, सन्देशमुखी आदि विशेषता पाइन्छन्‌।

सिक्किमेली कथा साहित्यको कुरा गर्दा समीरण छेत्री "प्रियदर्शी' (जन्मः४ जुलाई, १९३५)-को नाम प्रमुख रूपमा लिनुपर्ने हुन्छ। दार्जीलिङमा जन्मिएर सिक्किमलाई कर्मभूमि बनाएका छेत्री १९५० -को दशकको उत्तरार्द्धदेखि नै कथा लेखनमा प्रवेश गरेका हुन्‌ भने उनको समकालीन अवधिमा पनि दुइवटा कथा सङ्‌ग्रह निलो झिंगा (१९९३) र निर्वाणको रात (१९९६) पाठकसामु आउनुले उनको कथा साहित्यप्रतिको प्रतिबद्धता व्यक्त हुँदछ। डा. घनश्याम नेपालको भनाइमा सामाजिक यथार्थको जिउँदो-जाग्दो चित्र पाठकसमक्ष प्रस्तुत गर्ने कथाकार हुन्‌ उनी। सामाजिक यथार्थको विडम्बनापूर्ण र विसङ्गत स्वरूपप्रति व्यङ्‌ग्यात्मक प्रस्तुति र आलोचनात्मक दृष्टि राखेर कथा सिर्जना गर्नु कथाकार छेत्रीका कथामा सरल र बोधगम्य भाषा-शैलीको प्रयोग भएको पाइन्छ।

यस क्रममा उल्लेखयोग्य कथाकारहरूमा पूर्ण राई र राधाकृष्ण शर्माको नामलाई विशेष महत्वका साथ लिनुपर्ने हुन्छ। मूलतः मनोवैज्ञानिक कथा लेखनलाई अघि बढ़ाउने कथाकार हुन्‌ राधाकृष्ण शर्मा। यिनका कथाहरूमा मानिसको जीवन सङ्‌घर्ष, माया-प्रीति, प्रेम-विरह, रहर, तृष्णा, आवेग र संवेगहरूको चित्रण पाइन्छन्‌। यिनको नयॉं स्वेटर (१९९७) प्रकाशित छ, जसमा १४ वटा कथा सामेल छन्‌। पूर्ण राई (जन्म)-का कथाहरूमा सामाजिक जनजीवनको राम्रो चित्रण पाइन्छ भने मानव जीवनले भोग्नुपरेका सङ्‌घर्ष अनि त्यसबाट प्राप्त भएका हार र जीतहरूको यथार्थ चित्रण पाइन्छ। उनको फूल झरेको पत्रदल (१९९३) र जय विजय (१९९३) यस अवधिमा प्रकाशित उत्कृष्ट कथाहरूका सॅंगालो नै मान्नुपर्छ। यिनका कथाहरूमा मान्छेका संवेदनाहरूको चित्रण गहनताका साथ प्रस्तुत गरिएको पाइन्छ। पारिवारिक जीवन पद्धतिबाट उत्पन्न विविध समस्यामूलक पाटाहरूलाई यिनले आफ्ना कथाहरूमा समेटेका छन्‌। उनको पासाङहरूको कथा छुट्टै विशेषता र प्रस्तुति लिएर उदय भएको छ। जस्तै दुःखमय परिस्थितिमा पनि यस कथाको पात्र पासाङ हॉंस्न पछि पर्दैन।

१९८०-कै दशकदेखि कथा साहित्यमा प्रवेश गरेका अनि १९९० पछि आएर पूर्णतः स्थापित बन्नपुगेका कथाकार हुन्‌‌‌ भीम दाहाल(जन्मः २९ नोभेम्बर, १९५४)। भाषा-शैलीका दृष्टिकोणमा अनि चरित्र र विषय वस्तुको छनौटका दृष्टिकोणमा भीम दाहाल अन्य कथाकारहरूभन्दा भिन्न रहेका छन्‌। यिनी आफ्ना कथाहरूमा यौवनजन्य विषय वस्तुलाई ठाउँ-ठाउँमा प्रस्तुत गर्न रूचाउँछन्‌ भने स-साना घटनाहरूसमेतलाई च्वाट्ट टिपेर कथामा हुलिदिन्छन्‌। सिक्किमेली गाउँले परिवेशलाई हुबहू उतार्न उनी खप्पिस छन्‌। यिनको लप्टन थामी कथाको पात्र लप्टन थामी एउटा रहस्यमय पात्रका रूपमा देखापरेको छ। समाजको विकृति र विसङ्गतिप्रति अनि थोत्रे आडम्बरको आड़मा हुने उत्पीड़न र शोषणप्रति यिनले आफ्ना कथाहरूमा विद्रोह बोलेका छन्‌। यिनको कथाको प्रस्तुतिको विशिष्टताका कारण कतिखेर कुन सामाजिक विकृतिप्रति व्यङ्‌ग्य गरिएको छ, त्यो स्पष्ट भइहाल्छ। यिनको मेरो मनको साइनो तिम्रो मनलाई (१९९२) अहिलेसम्म प्रकाशित एकमात्र कथा सङ्‌ग्रह हो।

नेपाली कथा साहित्यमा एक प्रयोगवादी कथाकारका रूपमा उदय भएका कथाकार हुन्‌‌‌ प्रवीण राई जुमेली(जन्म ः१९६७)। सरल गाउँले जीवनको चित्रण गर्दै आफ्ना कथाहरूलाई विश्वजनिन परिवेशमा उतार्न सक्षम कथाकारका रूपमा परिचित जुमेलीको पात्र चयन र विषय वस्तुहरूको छनौट नितान्त मौलिक छ। ठाउँ-ठाउँमा श्वैरकल्पना र असित व्यङ्‌ग्यसमेतको प्रयोग गरिएका यिनका कथाहरूले बद्लॅंदो सामाजिक परिवेश अनि मानव मनलाई राम्रोसॅंग उतारेको देखिन्छ। स-साना कुराहरूसमेतलाई गम्भीरताका साथ टिपेर ती कुरालाई विशिष्ट तरिकाले पाठकसम्म पुऱ्याउनु उनको विशेषता नै हो। उनको भक्तेले स्कूटर किनेन, आत्मदंश, एउटा कविको मृत्यु, आ. कका. ती. पासि, विडम्बना दुइ आदि कथामा विभिन्न प्रयोग गरिएको पाइन्छ। यिनी आफ्ना कथाहरूमा प्रतीकहरूको प्रयोग गर्दै ठाउँ-ठाउँमा चोटिला व्यङ्‌ग्य प्रयोग गर्न खप्पिस छन्‌। यसै अवधिमा आएर स्थापित बनेका जुमेलीका दुइ कथा सङ्‌ग्रह आत्मदंश (१९९८) र निनादको निम्ति निनाद (२००१) प्रकाशित भएका छन्‌। जुम, पश्चिम सिक्किमबाटै उदाएका अर्का कथाकार देवकुमार राई जुमेली (जन्म १९४८-मृत्युः२०००)-का केही कथाहरू ९०-को दशकमा प्रकाशित भएका छन्‌। मूलतः ७०-कै दशकमा कथा लेखनमा प्रवेश गरेका देवकुमार जुमेलीका कथाहरूमा ग्रामीण जनजीवनको सङ्‌घर्षमय कथालाई चित्रण गरिएको पाइन्छ। यिनका १३ वटा कथाहरूको सङ्गालो निस्तब्ध ध्वनिहरू (२००६) प्रवीण राई जुमेलीद्वारा सम्पादन गरी प्रकाशन गरिएको छ। जुम, पश्चिम सिक्किमकै अर्का प्रतिभाशाली कथाकार हुन्‌ खुसेन्द्र राई (जन्म-१६ सितम्बर, १९६८)। यिनका कथाहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित भइरहेका छन्‌। छोटा, छरिता, स्पष्ट, सौन्दर्यमय वाक्य गठनद्वारा कथालाई रोचकताका साथ प्रस्तुत गर्नु यिनको कथाकारिताको विशेषता रहेको छ।

कालुसिंह रनपहेंली (जन्म-२ मई, १९५४) एक कुशल प्रयोगवादी साहित्यकार हुन्‌ र कथा साहित्यमा पनि उनको विशेष प्रयोगवादी दखल रहेको छ। १९७०-कै दशकदेखि कथा लेख्न शुरु गरेका रणपहेंली १९८०-को दशकको उत्तरार्द्धमा आएर एक कुशल कथा शिल्पीका रूपमा स्थापित बन्नपुगे। यिनी लघु कथाकारितामा पनि खप्पिस छन्‌। स्थानीय पत्र-पत्रिकाहरूसित यिनका लघुकथाहरू धेरै प्रकाशित भएका छन्‌। यिनका कथाहरूमा व्यङ्‌ग्य, आञ्चलिकता, श्वैरकल्पना, असित व्यङ्‌ग्य र सामाजिक यथार्थहरू पाइन्छन्‌। यस कालखण्डमा उनका दुइवटा कथा सङ्‌ग्रह कथा कुटीर (२००४) र यथार्थबोध (२००५) प्रकाशित भएका छन्‌। कथा कुटीर लघु कथाहरूको सङ्गालो हो, जसमा उनका २५० जति लघुकथा समेटिएका छन्‌। यथार्थबोध कथा सङ्‌ग्रहमा उनका २७ कथा प्रकाशित छन्‌, जसबाट उनी कथा सिर्जना गर्न कतिसम्म दक्ष छन्‌ भन्ने कुरा प्रमाणित हुन्छ।

सिक्किमेली कथा साहित्यमा आन्दोलनकालीन समयदेखि नै लागिपरेका प्रेम थुलुङका कथाहरूमा ऐतिहासिकताको छाप पाइन्छ। सिक्किमको ऐतिहासिक पृष्ठभूमिलाई लिएर पुरानो सिक्किमको जनजीवन र समाजको चित्रण यिनले आफ्ना कथाहरूमा गरेका छन्‌। यिनको राब्देञ्चीका पहाड़हरू (१९९३)-प्रकाशित भएको छ। विनोद प्रधान "सोरकी'-का कथाहरूमा खटिखाने श्रमिकवर्गको अनि आर्थिक रूपमा पछाड़िएकाहरूको चित्रण पाइन्छ। यिनका दुइवटा कथा सङ्‌ग्रह सोरकीका कथाहरू (१९९७) प्रकाशित भएका छन्‌।

सिक्किमेली कथा साहित्यमा थोरै कथा लेख्ने तर उत्कृष्ट कथा दिने कथाकार हुन्‌‌‌ पेम्बा तामङ। १९८०-को छेउछाउदेखि २००५-सम्ममा उनले ९ वटा कथा लेखेका छन्‌, जसलाई कालो भारी (२००६) कथा सङ्‌ग्रहमा समावेश गरिएको छ। यिनको भ्रान्ति कथा उत्तराधुनिक कथा लेखन शैलीमा लेखिएको छ, जो सिक्किमेली कथा साहित्यको एउटा मास्टर पिस नै बन्नपुगेको छ। यसका साथै थोरै कथामा यिनले सिक्किमेली सामाजिक परिवेशलाई राम्रोसॅंग चित्रण गर्न खोजेका छन्‌। विशेष गरी ग्रामीण र खटिखानेवर्गका विविध समस्याहरूलाई टिपेर कथा बनाउनु नै यिनको विशेषता हो। यिनको पाठकको खोजीमा एउटा कथा-ले वर्तमान साहित्यप्रतिको पाठकको ह्राषोन्मुख प्रवृत्तिलाई चिनाउने काम गरेको छ। नाटककारका रूपमा परिचित चुनिलाल घिमिरे (जन्मः २२ फरवरी, १९५६) एक कुशल कथाकार पनि हुन्‌। यिनका दुइवटा कथा सङ्‌ग्रहले समकालीन सिक्किमेली कथा साहित्यमा निकै ठूलो योगदान पुऱ्याएको छ। मूलतः रोमान्सेली भावधारामा कथा लेख्ने कथाकार घिमिरेका सीमाको देशमा (१९९४) र अनास्था (१९९७) कथा सङ्‌ग्रह प्रकाशित छन्‌।

कथा पढ्‌ने पाठकको खोज होइन पाठकको निम्ति कथा खोजौं भन्ने कथाकार हुन्‌‌‌ विजयकुमार सुब्बा (जन्मः २६ जनवरी, १९६२)। कथामा व्यङ्‌ग्यात्मक प्रस्तुति अनि मार्मिकतालाई समेत मिलाएर प्रगतिवादी चिन्तनलाई समेटी कथा प्रस्तुत गर्ने सुब्बाको अनन्तसम्म (१९९९) कथा सङ्‌ग्रह प्रकाशित छ। यिनका कथाहरूमा समाजका आर्थिक, सामाजिक पक्षलाई समेटिएको हुन्छ भने ग्रामीण जनजीवनलाई यिनका कथाहरूमा हुबहू उतार्ने प्रयास पनि हुन्छ। सिक्किमेली समकालीन कथा साहित्यमा यिनी एक मूर्द्धन्य कथा शिल्पी हुन्‌। राधाकृष्ण शर्मा झैं धन निर्दोष सुब्बा मनोविश्लेषणवादी कथा लेख्न रुचाउने कथाकार हुन्‌। यथार्थपरक मनोवैज्ञानिक कथा लेखनमा यिनले रुचि लिएका छन्‌ अनि यौन मनोविश्लेषणलाई आफ्ना कथाहरूमा प्रस्तुत गरेका छन्‌। यिनको निर्वाध उज्यालाहरू (१९९९) कथा सङ्‌ग्रह प्रकाशित छ भने धेरै कथा विभिन्न पत्र-पत्रिकाहरूतिर प्रकाशित छन्‌। यिनको नयॉं साल कथामा विश्वजनिन समस्याहरूलाई समेट्‌ने प्रयास गरिएको छ भने मानिसको यस वैश्विक परिवर्तनमा अस्तित्व सङ्कटमा परेको चित्रण राम्रोसॅंग गरिएको छ।

सन्‌ १९७०-को दशकमा टोटलाको फूल कथा लेखेर कथाकारका रूपमा पूर्णतः स्थापित बनेकी अनि सिक्किमलाई आफ्नो कर्मभूमि बनाएकी मटिल्डा राई (जन्मः१७ मई, १९४८) थोरै तर राम्रा कथा लेख्ने कथाकार हुन्‌। यिनका कथामा नेपाली लोक जीवनको चित्रण अनि कतै-कतै लोककथाका प्रसङ्गहरूलाई पनि लिइने गरिएको पाइन्छ। छोटा र छरिता कथा रचना गर्न रमाएको यिनको कलमबाट माई ड्याडी (२००५) कथा सङ्‌ग्रहभित्र २१ कथा प्रकाशित छन्‌। सरल र स्पष्ट भाषा-शैलीमा लेखिएका यिनका कथाहरूमा मनोरञ्जन र कौतुहलताका साथसाथै सन्देश पनि पाइन्छ।

सन्‌ १९७०-कै दशकदेखि नै कथा लेखनमा प्रवेश गरेका हुन्‌ उपमान बस्नेत (जन्मः ३ मार्च, १९५३)र केदार गुरूङ (जन्मः ९ जुलाई १९४८) उपमान बस्नेतका कथाहरूमा निम्नवर्गीय समाजका विभिन्न पाटाहरूलाई केलाउने काम गरिएको पाइन्छ। यिनी आफ्ना कथाहरूमा ठेट शब्दहरूको प्रयोग गर्न रुचाउँछन्‌ भने सरल र स्पष्ट भाषाको प्रयोग गर्दछन्‌। यिनको दोसॉंधमाः जीवनका घाम छायॉंहरू (१९९४) कथा सङ्‌ग्रह प्रकाशित भएको छ। केदार गुरूङका कथाहरूमा सामाजिक यथार्थलाई क्लिष्ट भाषा-शैलीद्वारा प्रस्तुत गरिएको पाइन्छ। कथाको प्रस्तुतिकरणसमेत विश्रृङ्खल भएकाले यिनका कथाहरू त्यति प्रभावकारी बन्नसकेको देखिँदैन। यिनको सिमानामाथि चढ़ेर सुनाएका अग्ला होचा कथाहरू (१९९४) प्रकाशित छन्‌।

सिक्किमेली कथा साहित्यमा कमला आँशुको योगदान महत्वपूर्ण रहेको छ। मूलतः नारी हृदयका कोमल भावनालाई कथाको रूप दिँदै यिनले नारी जीवनका विभिन्न पाटालाई आफ्ना कथाहरूका विषय वस्तु बनाएकी छन्‌। नेपाली समाजमा नारीले भोग्नुपरेका विविध समस्या र सङ्‌घर्षलाई सरल भाषामा कथाको रूप दिने आँशु यसै कालखण्डमा आएर स्थापित कथाकार हुन्‌। सेतो गुलाफ (१९९५), ममताको छालभित्र (१९९९), आफ्नो माटोको सुगन्ध (१९९९) र मीमांसा (२००६) गरी उनका चारवटा कथा सङ्‌ग्रह प्रकाशित छन्‌।

आख्यान साहित्यमा बेजोड़ताका साथ कलम चलाउने अनि सिक्किमका प्रथम उपन्यासकारको पगरी लगाएका गंगा कप्तान( जन्म-७ जून, १९४६-मृत्यु-११ दिसम्बर, २००२)-एक कुशल कथाकार रहेका छन्‌। यिनी यथार्थपरक सामाजिक कथा लेख्ने कथाकार हुन्‌। यिनका कथामा प्रयोगात्मक दृष्टिकोण पनि प्रशस्तै पाइन्छ भने विज्ञान कथा लेखनमा पनि यिनको रुचि रहेको देखिन्छ। उनको मृत्युपछि प्रकाशित एकमात्र कथा सङ्‌ग्रह कुरै कुराका कुराहरू (२००६)-का कथाहरूमा उनको विशिष्ट कथाकारिताको छाप पाइन्छ। हास्य व्यङ्‌ग्यात्मक कथा लेखनलाई एल्डी राई "मिक्खोले' (जन्मः ४ अक्टोबर, १९५६- मृत्युः १९ अगस्त १९९२)-ले अघि बढ़ाएको देखिन्छ। समाजको यथार्थ, युगीन परिवेशको चित्रण, निम्नवर्गका जीवनगत दुःख र व्यङ्‌ग्यात्मक भाषा-शैलीको प्रयोग मिक्खोलेको कथाकारिता हो। उनको जीवन कालमा लेखिएका ११ वटा कथाहरूलाई चम्पादिवस राई र मणि चामलिङ रहरले सम्पादन गरी मिक्खोले व्यक्तित्व एवं कृतित्व (२००२)-मा प्रकाशित गरेका छन्‌।

समालोचकका रूपमा स्थापित डा. शान्ति छेत्री (जन्म-१९४७) एक कुशल कथाकार पनि हुन्‌। थोरै तर गहकिला कथा लेख्ने डा. शान्ति छेत्रीका कथामा मध्यमवर्गीय परिवारका नारीहरूका विविध समस्यालाई अङ्कित गरिएको पाइन्छ। नारी विषयक यथार्थपरक र वस्तुनिष्ठ चिन्तन राख्ने कथाकार शान्ति छेत्रीको माया-जाल (२००६) कथा सङ्‌ग्रह प्रकाशित छ। सुधा राई (जन्म-११ मार्च, १९६८) पनि सिक्किमेली कथा साहित्यमा एक प्रतिभावान कथाकारको रूपमा उदय भएकी छन्‌। उनका कथाहरू समाजको यथार्थ चित्रण गर्न सक्षम छन्‌ भने नारी मनभित्र कुण्ठा र द्वन्द्वलाई पनि उनले प्रस्फुटित गर्ने चेष्टा गरेकी छन्‌। उनको समाधानहीन पाइलाहरू (१९९८)-नामक कथा सङ्‌ग्रह प्रकाशित भएको छ।

अघिल्लै दशकदेखि कथा लेखनमा प्रतिबद्धताका साथ लागिपरेका गहर उदासी (२ अक्टोबर, १९५१)-का कथा साहित्यका एक प्रमुख व्यक्तित्व हुन्‌। यस अवधिमा उनका चारवटा कथा सङ्‌ग्रह प्रकाशित भएका छन्‌। आफ्ना कथाहरूमा ग्रामीण जीवनका तीता-मीठा अनुभवहरूलाई प्रस्तुत गर्ने उदासी एक सामाजिक यथार्थवादी कथाकार हुन्‌। उनका कथा सङ्‌ग्रहहरू सिमानाहरू (१९९०), तीन उच्छवास (१९९३), वक्र रेखाहरू (१९९६) र मान्छे अमान्छे (१९९९) प्रकाशित छन्‌।

१९८०-को दशकमा कथा साहित्यमा स्थापित बनेका थिरूप्रसाद नेपालका दुइ कथा सङ्‌ग्रह प्रकाशित छन्‌- उकाली ओह्राली (१९९५) र अर्को देशको मान्छे (२०००)। यिनका कथाहरूमा समाजको वास्तविक चित्रण गरिनका साथै त्यसप्रति वक्र दृष्टि राखिएको हुन्छ। समाजमा सम्भ्रान्तवर्गले निम्नवर्गमाथि कसरी शोषण र दमन गर्छन्‌ अनि निम्नवर्गकाहरू कसरी शोषित बन्नुपर्छ ती कुरालाई साधारण रूपमा होइन तर विशिष्टताका साथ प्रस्तुत गर्न यिनी खप्पिस छन्‌। अर्कोतिर यिनका कथाहरूमा सामान्यलाई असामान्य अनि असमानान्यलाई सामान्य बनाउने प्रयास गरिएको पाइन्छ। सिक्किमेली कथा साहित्यमा यिनको विशेष स्थान निर्धारण भइसकेको छ।

यस अवधिमा स्वछन्दतावादी धारामा सामाजिक कथा लेख्ने धेरै कथाकारहरूको उदय भएको छ। समाजका सामान्य कुरालाई कथाको रूप दिँदै रोमाण्टिक भावधारामा कथालाई अघि बढ़ाउने कथाकारहरूमा वीरभद्र कार्की ढोली, डिल्लीप्रसाद शर्मा अधिकारी, दलमान डी. गुरूङ (जन्मः २५ दिसम्बर, १९६५), निकुरा बुङ्‌छेन, प्रेम मुखिया "बैरागी' र कपिलमणि अधिकारी (जन्मः २२ मई, १९६६), प्रमुख छन्‌। वीरभद्र कार्कीढोलीको शब्दमा मनका आवेगहरू (२०००), डिल्लीप्रसाद शर्मा अधिकारीको उन्मुक्ति (१९९५), दलमान डी. गुरूङको चर्केको ऐनाभित्र आफ्नै अनुहार (१९९६) र जून उदाउन बिर्सिएका रातहरू (२००६), निकु रा बुङ्‌छेनको जीवन यात्रा (२००४), प्रेम मुखियाको यो जन्ममा यस्तै भयो (१९९०), कपिलमणि अधिकारीको बिडम्वना (२००२) कथा सङ्‌ग्रहहरू प्रकाशित छन्‌। यसै धारामा उदय भएका कथाकारहरूका कथा सङ्‌ग्रहरूमा अभिचन्द्र सिग्देल (जन्मः१९७०)-को प्रभावले हानेका चोटहरू (२०००), एम. एस. खानको दुइ थोपा आँशु (१९९९) प्रमुख छन्‌।

यस अवधिमा उदय भएका अनि स्थापित पनि बनेका कथाकारहरू सॅंगसॅंगै अघिल्लै दशकदेखि कथा लेखनमा सक्रिय रहेका केही अन्य कथाकारहरूमा छिरिङ पाञ्चो शेर्पा प्रमुख रहेका छन्‌। सामाजिक यथार्थका विषय वस्तुहरूलाई व्यङ्‌ग्यात्मक अभिव्यक्तिका साथ प्रस्तुत गर्ने कथाकार हुन्‌ छिरिङ पाञ्जो शेर्पा। उनको भालेको डाक (१९९१) र अदृश्य घरहरू (१९९५) कथा सङ्ग्रह प्रकाशित छन्‌। यसै क्रममा ललित राई र पुष्प शर्माको लाल पुष्प (१९९२), जीवन बान्तवाको जीवन बान्तवाका कथाहरू (१९९१), जी.आर. खुलालको परदेशतिर (१९९३), काजी गजमेरको यात्रा उज्यालोको (१९९३), टी. बी. चन्द्र सुब्बाको आँशुका करूण थोपाहरू (१९९३), बेन सिंह राईको निशानी (१९९५), लक्ष्मी गुरूङको समय र जीवनका प्रतिच्छायॉंहरू (१९९६), विकास श्रेष्ठ र आशवीर राईको नौलो सुस्केरा (१९९६), हरिश मोक्तान "अल्लरे'-को तथागत (१९९७), सानुभाइ शर्माको हाते चिट्ठी (१९९८), सम्पूर्णा राईको नाभो (१९९६), विजय बान्तवाको बिब्ल्यॉंटो (१९९६), नन्दू दूतराज निशाको विश्व रोएको दिन (१९९४) र आत्महरूको देशमा (२००५), लिनू खालिङको सुस्केरा द्वय (२००५), अर्जुन चामलिङ "यावा'-को अस्तित्व (२००४) आदि प्रकाशित कथा पुस्तकहरू हुन्‌।

पत्र-पत्रिकामा सीमित रहेका तर कथा लेखनमा विशिष्ट दक्षता प्राप्त गरेका कथाकारहरूको उल्लेख नगरी समकालीन कथा साहित्यको विकासक्रमलाई पूरा मान्न सकिँदैन। यस क्रममा वत्सगोपाल, डा. घनश्याम नेपाल, तुलसीराम शर्मा "कश्यप', रूद्र पौड्‌याल, महानन्द पौड्‌याल प्रमुख रहेका छन्‌। वत्सगोपाल र डा. घनश्याम नेपालका कथाहरूमा समाजका विभिन्न विषय वस्तुहरूलाई सजीवता प्रदान गरिएको पाइन्छ। वत्सगोपालका कथाहरूमा सामाजिक विसङ्गतिहरू र व्यक्तिगत विकृतिहरूलाई चिरफार गरिएका हुुन्छन्‌। डा. घनश्याम नेपालका कथामा प्रयोगवादी दृष्टिकोणका साथसाथै प्रतीकहरूको प्रयोग गरिएको पाइन्छ। थोरै कथा लेख्ने डा. नेपाल आफ्ना कथाहरूमा आञ्चलिक भाषाको प्रयोग गर्न रुचाउँछन्‌। रूद्र पौड्‌याल, महानन्द पौड्‌याल र तुलसीराम शर्मा "कश्यप'-का थोरै कथा यस अवधिमा प्रकाशित भएका छन्‌‌‌ र उनीहरूका कथामा समाजका विभिन्न पाटालाई केलाउने प्रयास गरिएको छ। यसै क्रममा उदय भएका अर्का कथाकार हुन्‌‌‌ पारसमणि शम। शमका थोरै कथाहरूमा समाजमा देखा परेका विकृतिहरूलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको पाइन्छ। उनको कविताहरू १, २, ३, ४, र ५ कथा प्रकाशित छन्‌, जसमा कविताहरू २ र ४-मा उनले भ्रष्टाचार र यौन-व्यापारलाई एकार्काका पूरकका रूपमा प्रस्तुत गरेका छन्‌।

यस अवधिमा देखा परेका अन्य कथाकारहरूका कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा समय-समयमा प्रकाशित भइरहेका छन्‌। ती कथाकारहरू हुन्‌-सरला राई, श्याम विरही, गोवर्धन बॉंस्तोला, अमिता "अनु', सुवास दीपक, चम्पादिवस राई, दलमान "पीर', युवा बराल, भानुप्रकाश मार्मिक, भीम प्रधान, इन्दू शर्मा, गिर्मी शेर्पा, जयवीर सुब्बा, टेकबहादुर तामी, डम्बर गुरूङ, देवकुमार दुमी, नयन राई, पासाङ शेर्पा, बुद्धिमाया सिंह, रघुनन्द सापकोटा, राज. के. श्रेष्ठ, लक्ष्मीप्रसाद सुब्बा, लिङदोम पुष्कर लिम्बू, डिल्लीराम शम, थमन नौवाग, सुश्री कृष्णा "जनम', परशु ढकाल "उपमन्यु', बलराम दाहाल, शेरबहादुर कार्की, जानुकी गुरूङ, देवमान लिम्बू,"होनदोक', गंगाराम छेत्री, प्रेमकुमार बु़ढ़ाथोकी, वत्स वेदनिधि दाहाल, सीता शर्मा, पुष्पमणि वशिष्ट, सन्तवीर हिवासे, ईश्वरप्रसाद "देवाशीश' ध्रुव लोहागण, सुवास तामाङ "अतीत', होमनाथ दवाड़ी, योगेश भण्डारी, शेर शशि, अम्बिका दवाड़ी, कृष्ण दवाड़ी, गोपाल अधिकारी, कृतिका नेपाल, रश्मी किरण, कमल दाहाल आदि।

यस अवधिमा समकालीन कथा साहित्यलाई विकसित गर्न स्रष्टाको भारतीय कथा विशेषाङ्क (१९९१), समय दैनिकको कथा विशेष समय कथा (२००५) रचना प्रकाशनको रचना कथा अनुष्ठान (२००५) सॅंगसॅंगै निर्माण, प्रक्रिया, सिद्धि, आदि पत्र-पत्रिकाले कथा साहित्यलाई विशेष महत्व दिएको देखिन्छ।

निष्कर्ष

आजको नेपाली कथा साहित्य पाश्चात्य कथा र हिन्दी, बङ्गला, भारतीय कथाहरूको प्रभावबाट विकसित हुँदैआएको देखिन्छ। कथाको प्रारम्भ महाभारत आदि हिन्दू धार्मिक ग्रन्थहरूका विभिन्न प्रसङ्गको अनुवादबाट भए पनि यसले चॉंड़ै नै मौलिकताको स्वरूप लिएको देखिन्छ। नेपाली कथाको विकासमा पत्र-पत्रिकाको योगदान स्तुत्य रहेको छ भने कथा साहित्यको विकासमा भारत र नेपाल दुवैबाट प्रचुरमात्रमा प्रयोग भएको देखिन्छ। रूपनारायण सिंह, गुरूप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुष्कर समशेर, बालकृष्ण सम, शिवकुमार राई, हायमनदास राई "किरात' आदि कथाकारहरूले आधुनिक कथाको प्रारम्भिक अवस्थामा समान रूपमा योगदान पुऱ्याएका छन्‌। कथा लेखनलाई भारतीय स्वतन्त्रता सङ्‌ग्राम, नेपालको लोकतान्त्रिक आन्दोलन, जनान्दोलन, र भारतमा नेपाली भाषा मान्यता आन्दोलनले बारम्बार प्रभावित गर्दैआएको देखिन्छ। यसका साथै विभिन्न साहित्यिक आन्दोलन जस्तै- तेस्रो आयाम, राल्फाली, झर्रोवादी, अमलेख आदि साहित्यिक आन्दोलनहरूले पनि आधुनिक कथाको विकासमा महत्वपूर्ण मार्ग निर्देश गरेका छन्‌।

आज कथा साहित्यको क्षेत्रमा एउटा ठूलो साहित्यिक जमात लागिपरेको छ। नेपाल-भारतलगायत विश्वका अन्य राष्ट्रहरूमा पनि नेपालीहरू बसोबासो गर्दै कथा साहित्यको विकासमा योगदान पुऱ्याइरहेका छन्‌। आजको अनलाइन पत्र-पत्रिकाको युगमा विश्वको कुनै पनि कुनामा बसेर साहित्यको नेपाली भाषामै अध्ययन गर्नसकिने सुविधा उपलब्ध छ। नेपाली कथालाई विश्वव्यापीकरण गर्न यी अनलाइन पत्रिकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन्‌। यस्ता अनलाइन पत्रिकाहरूमा नेपालबाट नेपाल जापान डट कम, गोरखापत्र, मधुपर्क, मुन्ना, कान्तिपुर अनलाइन, ई-पत्र, पिस नेपाल, फ्री नेपाल, नेपाल कोरिया, नेपाल कतार, नेपाल यूरोप, नयॉं पत्रिका, नेपाल समाचारपत्र, हिमाल आदिले नेपाली वाङमयका साथसाथै कथा साहित्यको विश्वव्यापीकरण गरिरहेछन्‌। विश्वका अनेक भागबाट नेपाली अनलाइन पत्रिकाहरू सञ्चालित छन्‌, जसमा अमेरिका, यूरोप, मध्य एशिया, पूर्व एशिया आदि क्षेत्रबाट नेपालीहरूले अनलाइन पत्रिकामार्फत्‌ कथा साहित्यको विकास गरिरहेका छन्‌। वर्ष २००७-देखि भारतीय नेपाली साहित्यलाई पहिलोपल्ट विश्वव्यापीकरण गर्दै साहित्य सिर्जना सहकारी समितिले टिस्टारङ्गीत डट कम नामक अनलाइन पत्रिका शुरु गरेको छ। यस पत्रिकाले पनि भारतीय नेपाली कथालाई विश्वका पाठकसमक्ष पुऱ्याउने जमर्को गरिरहेछ।

विभिन्न दैनिक, साप्ताहिक, मासिक र साहित्यिक पत्र-पत्रिकाहरूको निरन्तर प्रकाशनले नेपाल-भारतलगायत विश्वका नेपाली बाहुल्य क्षेत्रमा कथा साहित्यको विकास निरन्तर भइरहेको छ। यसैले आजको कथा साहित्यले पाठकहरूको फराकिलो क्षेत्र प्राप्त गरेको अनुभव हुन्छ।

पाद टिप्पणी
१ डा. घनश्याम नेपाल, आख्यानका कुरा, नेपाली साहित्य प्रचार समिति, सिलगढ़ी, पहिलो १९८७; पृष्ठ १-२।
२ डा. हरिप्रसाद शर्मा, कथाको सिद्धान्त र विवेचन, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौं, प्रथम, २०५९ पृ-९९।
३ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ-१२।
४ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ-२९।
५ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ-१३।
६ डा. हिमांशु थापा, साहित्य परिचय, साझा प्रकाशन, काठमाड़ौं, चौथो २०५०, पृ. १५७।
७ डा. हिमांशु थापा, पूर्ववत, पृ. १५८।
८ डा. हिमांशु थापा, पूर्ववत, पृ. १५९।
९ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ-१५।
१० डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ-२२।
११ डा. हिमांशु थापा, पूर्ववत, पृ. १५९-१६०।
१२ डा. हिमांशु थापा, पूर्ववत, पृ. १६०।
१३ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ- ३५।
१४ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ- ३६।
१५ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ- ३६।
१६ डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ-१३४।
१७ कृष्णहरि बराल र नेत्र एटम, उपन्यास सिद्धान्त र नेपाली उपन्यास, साझा प्रकाशन, काठमाड़ौं, पहिलो २०५६, पृ-७३।
१८ डा. हरिप्रसाद शर्मा, पूर्ववत्‌ , पृ-१४१
१९ कृष्णहरि बराल र नेत्र एटम, पूर्ववत, पृ-७३।
२० कृष्णहरि बराल र नेत्र एटम, पूर्ववत, पृ-७३।
२१ डा. हरिप्रसाद शर्मा, पूर्ववत्‌ , पृ-१४५।
२२ डा. हरिप्रसाद शर्मा, पूर्ववत्‌ , पृ-१४५।
२३ डा. हरिप्रसाद शर्मा, पूर्ववत्‌ , पृ-१४५।
२४ डा. हरिप्रसाद शर्मा, पूर्ववत्‌ , पृ-१४६।
२५ भानुभक्त पोखरेल, सिद्धान्त र साहित्य, साझा प्रकाशन, काठमाड़ौं,दोस्रो २०५९, पृ-२३५।
२६ भानुभक्त पोखरेल, पूर्ववत, पृ-२३५।
२७ डा.हरिप्रसाद शर्मा, पूर्ववत १४९।
२८ डा.हरिप्रसाद शर्मा, पूर्ववत १४९।
२९ डा.हरिप्रसाद शर्मा, पूर्ववत १४९।
३० डा. हरिप्रसाद शर्मा, पूर्ववत, पृ-१५५।
३१ असीत राई, भारतीय नेपाली साहित्यको इतिहास, साझा पुस्तक प्रकाशन, दार्जीलिङ, प्रथम २००४, पृ-२२५।
३२ डा. हरिप्रसाद शर्मा, पूर्ववत, १६२।
३३ यज्ञराज सत्यल, नेपाली साहित्यको भूमिका, रत्नपुस्तक भण्डार, काठमाड़ौं, छैटौं संस्करण २०४५, पृ-८४।
३४ डा. घनश्याम नेपाल, नेपाली साहित्यको परिचयात्मक इतिहास, जनपक्ष प्रकाशन, गान्तोक, दोस्रो १९९४, पृ-१४६।
३५ डा. घनश्याम नेपाल, पूर्ववत, पृ-१४६।

(प्रस्तुत लेख आजका कथा नामक कथा संग्रहको सम्पादकीय लेख हो। आजको कथा साहित्य सिर्जना सहकारी समिति लिमिटेड, गान्तोक सिक्किमद्वारा प्रकाशित पुस्तकको सम्पादक लेखक पारसमणि शम हुनुहुन्छ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 151
  • 5551 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Many many congratulations Mam
    8 hours 19 min ago
  • अनावश्यक
    4 days 23 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 2 days ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 4 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 6 days ago
  • केही सच्याइएको छ।
    5 weeks 1 day ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 3 days ago
  • क्रन्धन
    6 weeks 1 day ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 2 days ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 6 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • तिम्रो भुल थियो
  • सम्झना
  • पुस्तान्तर
  • लाचार श्रीमानको पत्र श्रीमतीको नाममा
  • खहरेको भेल-रहेछ
  • घामसँग
  • मेरो देश
  • यस्तै छ खुल्दुली
  • संविधान
  • हितको काममा चित्त
  • आगो बोक्नेका विरुद्ध
  • यौवन
  • नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ
  • मेरो कविता, मेरै लागि
  • सिजो
  • शशि शाहको घोडा
  • सन्देश गजल
  • मातृचिन्ता
  • २०६७ को साझा पुरस्कार दुबसु क्षेत्रीलाई
  • भानु चेत जयन्तीमा बाहुन बनाइँदा
  • भोक र मृत्‍यु
  • झुक्किएँ कि पहिले कतै
  • समय
  • देवकोटा अर्थात पागल
  • स्पर्श
  • ब्यारेकको दूबो
  • मान्छे/जनावर
  • सात समुद्र छिचोलेको जिन्दगी
  • जस्तो आकार
  • काम एक अर्थ अनेक
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित