Skip to content

संस्कार (लघुकथा)

  • by


ऊ र त्यो दुबै युग पुरुष हुन् । आ-आफ्ना क्षेत्रका यी दुबै महारथी हुन् । दुबैमा उच्च आदर्श र अक्षय महानता छ । निष्ठापूर्वकको आजीवन यात्राका दुबै अथक योद्धा हुन् । आ-आफ्ना क्षेत्रका अद्धितीय हस्ति हुन् । दुबैको आजन्म राष्ट्रिय योगदान अतुलनीय र अवर्णनीय रहेको कुरामा कसैको दुईमत छैन । यस्ता निस्वार्थी राष्ट्रसेवकलाई यो मुलुकले राष्ट्रिय विभूतिमा दर्ता गर्न सक्ने सम्भावना पनि नभएको होइन ।

मन-मस्तिष्क त सबैको केन्द्र नै हुन्छ । सोच-विचारबिना त कुनचाहिँ काम पो हुन्छ र ! उसको हतियार कलम हो भने त्यसको हतियार चाहिँ मुख । एउटा लिखित हो भने अर्को मौखिक । ठ्याक्कै भन्नुपर्दा- ऊ कलमवीर र त्यो मुखवीर अर्थात् कर्मवीर । अझ प्रष्ट भाषामा भन्नु पर्दा-एउटा लेखेर नामी भो भने अर्को चाहिँ भाषण गरेर अगुवाइमा दामी भो । तराजुको दुईतिर राख्दा दुबै बराबर-सन्तुलित तराजु ।

संयोग पनि कस्तो मिलेको ! यी वीरद्धयको चिरनिद्राको दिन एउटै पर्यो । एउटा आकाशका दुई तारा उही समयमा अस्ताए । मुलुकभर रुवावासी भयो, श्रद्धाञ्जली-सभाहरू भए । उसको नाममा तीनमिनेट शोक मनाइयो भने त्यसको नाममा तीनदिन । उसलाई तीनओटा माला ओढाइयो भने त्यसलाई तीन क्विन्टल । उसका मलामी एकसय भए भने त्यसका एकलाख । ऊ पत्रिकाको एउटा कुनामा बस्यो भने त्यो सबै पत्रिकाका सारा पृष्ठमा । उसलाई टेलिभिजनमा एकमिनेट देखाइयो भने त्यसलाई तीनदिनभरि । उसको त्यही दिन अन्त्येष्टि गरियो भने त्यसको तीन दिनपछि ।

आश्चर्य प्रकट गर्दै एउटा कविले प्रश्न गर्यो- ‘यो नेपालमा यस्तो किन भयो ?’

एउटा नेताको सहज जवाफ- “ऊ जाबो एउटा लेखक मात्र हो । तर त्यो त नेपालको ठूलो नेता हो नि !”

रामविक्रम थापा
कृष्णगर्त, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *