Skip to content

जनमत प्रकाशनको कवितासङ्ग्रह प्रथम खण्डको विवेचना

  • by


सदानन्द अभागी

परिचय

जनमत प्रकाशनको कविता प्रथम खण्ड र दुतीय खण्ड, जनमतका प्रधान सम्पादक श्री मोहन दुवालबाट सादररूपमा, प्राप्त गरें । जनमत प्रकाशनको कविता प्रथम खण्डका सम्पादक मण्डलहरूमा छविरमण सिलवाल, गीता त्रीपाठी, नीलम कार्की ‘निहारिका’ सिर्जना दुवाल हुनुहुन्छ । सम्पादक मण्डलको अथक प्रयासले देशभरका साहित्यकारहरूका दुई दुईवटा कविताहरू र जीवनी समेतको एकीकृत रूपले जनमत कविताको पहिलो खण्ड –१ र खण्ड–२को जन्म भयो । जनमत कविताको पहिलो खण्डमा बि.सं १९८३ देखि २०१५ सालसम्मका १०७ जना साहित्यकारका २१४वटा कविताहरू समावेश भएका छन् भने खण्ड –२मा १०३ जना साहित्यकारका २०५ वटा कविताहरू समावेश गरिएका छन् । यस विवेचनामा खण्ड –१लाई समावेश गरिएको छ ।

प्रधान सम्पादकको अभिव्याक्तिः–

प्रधान सम्पादक मोहन दुवालले यस कृतिको बारेमा केही धारणा पोख्नु भएको छ । प्रधान सम्पादकको कथनमा–“जनमत कविता भै दिएको छ, त्यस्तै कविता जनमत भई सम्प्रेष्ण भएको छ । प्रधान सम्पादकको अर्को मनन योग्य अभिव्याक्ति यसप्रकार छ –कविताका विचार र शैलीप्रति केही पूर्वाग्रह राखिएन, कवितालाई विषय र सन्दर्भमा जोडिएन ।” पूर्व मेची देखि पश्चिम महाकाली सम्मका कविताहरूलाई एउटै मञ्चबाट आ–आप्नो काव्य अनुभूति कविता मार्फत पोख्न कविता मार्फत पोख्न दिने उद्देश्य सहित सुरु भएको यस अभियानको नाम बन्यो जनमत कविता ।”

उद्देश्य

जनमतकविताको उद्देश्य र यथार्थता प्रधान सम्पादकको अभिव्याक्तिबाट प्रष्टिन्छ । यस भित्रका कविताहरूको अध्ययनले पनि देश भरिका साहित्यकारहरूको जीवनी, कृतित्व, र यसमा समावेश गरिएका कविताले पोखेका भावनाले जनमत कविताको उद्देश्यलाई समेटेको छ ।

जनमत कवितासङ्ग्रहको उच्चाई

यो कविता सङ्ग्रहको महानता भनेको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका साहित्यकारहरूका कविताहरुलाई मौलिकताको रूपमा प्रकाशन गरिएको छ । यो कार्यको थालनीलाई अति महान कार्यको रूपमा, अनुकरणीयको रूपमा, प्रशंशनीय कार्यको रूपमा लिनु पर्ने देखिन्छ । यस्ता कामले देशका साहित्यकारलाई एक श्रूत्रमा बाध्न सक्ने कुरामा दुई मत हुँदैन होला । यस्ता कामको थालनी मात्र नभै निरन्तरताको आवश्यक छ र सो पनि जनमतले प्रतिबद्धता जनाएको छ ।

जनमत प्रथम खण्डमा समेटिएका महाकाव्यकारको विवरणः–

डाक्टर ओमवीरसिंह वस्नेतका ५महाकाव्य, ७ वटा खण्डकाव्य, मोदनाथ सास्त्रीका ५वटा महाकाव्य, ३वटा खण्डकाव्य, ४वटा नाटकको साथै आधुनिक ब्राहमण्ड पुराण(२०६२), भूवनहरि सिग्देलका ३वटा महाकाव्य, एक नवकाव्य र ४वटा खण्डकाव्य, डा.गणेशकुमार पौडेलको पाल्सी महाकाव्यको साथै मन्त्री पुराण गोरु पुराणजस्ता हास्यव्यङ्ग पुराण र मनिराज जोशीको पहल्मानसिंह महाकाव्यका महाकविहरूका कविताहरू समावेश गरिएका छन् ।

कृतिप्रकाशनको आधारमा समेटिएका कृतिकारहरूको विवरण

कृति प्रकाशनको आधारमा हेर्दा धुस्वां सायामी (३६), तेज प्रसाद श्रेष्ठ (३३), कृष्णप्रसाद पराजुली (२१), चुडामणी रेग्मी (२०), कपिल लामिछाने (२०),मोहनबहादुर कायस्थ (१९),आनन्ददेव भट्ट (१८), मोहन दुवाल, दिल साहानी र एस.पी. आबाहरूका १६/१६ वटा कृति प्रकाशन भएका साहित्यकारहंरूलाई जनमतले समेटेको छ । एक दर्जन कृति प्रकाशन गर्ने साहित्यकारहरूमा शान्तिनारायण श्रेष्ठ, डा. ओमवीर सिंह बस्नेत, रजश्री पराजुलीहरूका कृति जनमतले समेटेको छ । यसरी नै प्रेम छटा, (११), केवलपुरे किसान (११),आशाकाजी सेवक, हरिहर खनाल (१०) मञ्जुल (१०), पिताम्बर भण्डारी (१०) गोपाल पराजुली (९), भूवनहरी सिग्देल (९), डा. मित गिरी (९), नारायणमणि पौडेल (९), बद्री पालिखे (९) मनिराज जोशी (८), काजीरोशन (७), उपेन्द्र पागल (७), शशी भण्डारी, (७), होमनाथ सापकोटा (६), भरत जङ्गम (६), मोहन सिटौला (६), धनराज गिरी(६), श्याम श्रेष्ठ (६) विक्रम सुब्बा (६), महेशचन्द्र प्रधान (६), तिर्थराज अधिकारी (५), गोविन्दराज विनोदी (५),गोविन्द बहादुर थापा (५), रविकिरण निर्जिव (५), लीला उदासी (४), प्रेम विनोद नन्दन (४), डा. नारायणप्रसाद खनाल, (४), महेन्द्रलाल प्रधान (४), विजय खरेल (४), दिव्य गिरी (४), तिर्थराज अधिकारी (४), मधु पोख्रेल ( ३), कपिल अज्ञात (३), लक्ष्मी नाथ अधिकारी (३), सुमेरु (३), जगन्नाथ लम्साल (३), राजकृष्ण कँडेल (३),पूर्ण बैद्य(३), शत्रुद्ध श्रेष्ठ(३) नरेश शाक्य ‘निरज’ (३), ध्रुव सिवाल (३),उपेन्द्र श्रेष्ठ (२),रामशरण खड्का (२), राम विनय (२) पङ्कज चित्रकार (२), भरद्वाज मित्र (२), ब्रमप्रिय प्रेमस्रूप (२), सोमकाजी शाक्य (२), विजय सागर (२), मुकुन्द पोख्रेल (२), र मुकुन्द शाक्य (२), कृतिकारहरूका कविता जनमतमा समावेश गरि । एका छन् । एकल कृति प्रकाशन गरेका कृतिकारहरूमा लक्ष्मी नाथ अधिकारी, डि.पी. कश्यप, घनश्याम पुडासैनी, शराह, श्रेष्ठ जय शान्ति, शारदाप्रसाद शर्मा, केवल श्रेष्ठ, चन्द्रबहादुर खड्का, कमल जङ्गली, दयाराम रिजाल, शिवेन्द्र श्रेष्ठ, पशुपति कर्माचार्र्य भगवत दास श्रेष्ठका कविताहरू समावेश भएका छन् ।

नारीस्रष्टाहरूको सहभागिता

नारी स्रष्टाहरूको सम्लग्नतालाई हेर्दौ केवल २३ जनामात्र भेटिनु हुन्छ । १०७ जनामा यो संख्या भनेकोे न्यून हो भन्न सकिन्छ । नेपालको शैक्षिक अवधारणा, शैक्षिक विकास, छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने समाजको धारणा कमि, तत्कालिन राज्यसत्ताले शिक्षमा नदिएको ध्यान, पाठशालाहरूको कमि आदि विविधकारणले गर्दा छोरीले शिक्षप्राप्त गर्न नसक्नाले गर्दा महिला सहभागिता साहित्यिक क्षेत्रमामात्र नभएर राज्यको हरेक क्षेत्रमा कमि देखिएको छ । जनमत प्रकाशनले यस प्रकाशनमा भद्र कुमारी घले, र लक्ष्मीदेवी राजभण्डारीजस्ता नारी स्रष्टाहरू जसका १४/१४वटा कृतिहरू प्रकाशनमा आएका छन् तिनका कविताहरू जनमतलेे, समेटेको छ । भद्र कुमारी घलेले कविता, कथा, र निवन्धमा आफ्नो दक्षता प्रदर्शन गर्नु भएको छ भने लक्ष्मी देवी राजभण्डारीले खण्डकाव्य लघुकाव्य, क्यासेट र नेपाली कविताको साथै अङ्ग्रेजीमा पनि ७वटा कवितासङ्ग्रह लेखि नेपाली साहित्यमामात्र नभै अङ्ग्रेजी साहित्यमा पनि योगदान पुर्‍याउनु भएको छ । गीता केशरीका उपन्यास र कथामा दक्षता देखिन्छ भने, रञ्जुश्री पराजुलीको कथा, बालकथा, समालोचना, नियात्रामा आफ्नो दक्षता प्रदर्शन गर्नु भएको छ । लक्ष्मीदेवी उप्रेतीले कविता, बाल कविता, बालकथा, बाल उपन्यास, क्षेत्रमा सङ्लग्नता राखी नेपाली बाल साहित्यलाई उच्चाइमा पुर्‍याउने क्रममा एक दर्जन कृतिहरू प्रकाशनमा आएका छन् । यसरी नै नेपाली साहित्यमा कृष्णादेवी शर्मा श्रेष्ठको योगदान पनि कमी छैन । कविता, कथा, खण्डकाव्य, तीजगीत, गजल गरी ७वटा कृतिहरू प्रकाशनमा ल्याई आफ्नो साहित्यिक क्षमताको प्रदर्शन गर्नु भएको छ । शिला पन्त गीत र भजनमा अग्रगतिमा बढ्दै ५वटा कृतिहरु प्रकाशनमा ल्याउनु भएको छ । उषा–शेरचन (६) रुकु कार्र्की (६), हरिदेवी कोइराला, पद्मावती सिंह (५), सीता प्रधान (५), नर्मदेश्वरी सत्याल (४), राधिका राय(४), पीताम्बरा उपाध्याय पियुष(४), केशरी ब्रजाचार्य (३), सरस्वती रिजाल (३),विन्दु कोइराला(२), प्रतिसरा सायमी (१), का कृतिहरूले गीत, भजन, कविता, कथा, उपन्यास, मुक्तक, एल्बम,आदि विविध क्षेत्रमा नेपाली साहित्यलाई सिङ्गारेका छन् ।

जनमत कवितासङ्ग्रहको संक्षिप्त विवेचनाः–

संरचनागतरूपमा हेर्दा यो कविता सङ्ग्रह नेपाली साहित्यका राणकालिन समय देखि प्रजातान्त्रिक काले(१९८३–२०१५)सम्ममा जन्म लिएर साहित्यिक क्षेत्रमा प्रवेश गरेका साहित्यकारहरूको प्रतिनिधित्व गरेको पाइन्छ । यसमा समावेश गरिएका कविताले साहित्यिक आकाशमा विविधता लिएर रमाएका छन् । दक्ष साहित्यकारहरूको प्रस्तुतिले कविता सङ्ग्रलाई दरविलो र परिस्कृतरूपमा प्रस्तुत हुन सफल देखिन्छ । कोही कविता छन्दमा रचिएका छन्,कुनै गद्यलयमा रचिएका छन् । कविताहरूमा राष्ट्र, राष्ट्रियता, समाजका विकृतिप्रतिको व्यङ्ग, शान्तिको कामना, मानव अधिकारको खोजी, दन्दले निन्त्याएको पीडा, महङ्गी, भ्रष्टछार, मानवबाटै मानव त्रसित हुनपरेको यथार्थता, मानव संवेदनशीलता, दीन दुःखीको वेदना, भोग रोगले सत्तिएको मानव जीवनको क्रन्दन, सीमा अतिक्रमणका कुरा, आदि विविध खाले प्रस्तुतिलाई यसमा पाउँछौं ।

कवितासङ्ग्रहमा छन्द अलङ्कार, विम्ब प्रतिकहरूको विविध रस र सिङ्गारले सजिएका कविता पनि पढ्न पाउँछौ । उखान टुक्राहरु पनि समावेश भएका छन् । राज्यको उदासिनता, नेताहरूको देशप्रति गर्नु पर्ने दायित्वको ह्रास कवितासङ्ग्रहले सबै क्षेत्रको प्रतिनिधित्व गर्न सफल देखिएको छ । कृति अनुकरणीय छ पठनीय छ किताप प्रकाशन गरेका साहित्यकारलाई समेट्ने प्रयास पनि गरिएको छ र केहीहद्सम्म सफल पनि देखिन्छ । यस कृतिमा कविताहरूको स्तर नहेरी समावेश गरिएको छ भन्ने धारणा प्रधान सम्पादकज्यूले माथिनै राखिसक्नु भएको छ भन्ने कुरा लेखिसकिएको भए तापनि यस कवितासङ्ग्रहमा समावेश गरेका कविता उच्च कोटीका छन् । यस कविता सङ्ग्रहको ठूलो विशेषता भनेको देशभरका कवि र कवितालाई समावेश गरी नेपाल जस्तो राजनीतिक, सामाजिक,आर्थिक विवधता र विसमताको फूलका थुँगाहरूलाई एउटै मालामा गुँथीएको छ भने अर्को एकताको गहन सन्देश पनि यो कृतिले प्रदान गर्न सफल देखिन्छ । त्यो सन्देश भनेको सबै किसिमका भावना, दर्शनलाई एउटै मञ्चमा उभ्याएर एकीकृतरूपमा सङ्गठीत भै राष्ट्रनिर्माणमा जान सकिने विश्वासिलो सन्देश दिएको छ । यस्तो गहन कामको प्रसंशा गर्नै पर्छ र जनमतका प्रधान सम्पादक मोहन दुवाल सहित सम्पादन मण्डल, जनमत परिवार सबै धन्यवादका पात्र छन् ।

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *