Skip to content


बिहे गरेर बुढी घर भित्र्याईवरी १५ महिनापछि ससुराली जानु पर्ने काम पर्यो । काखमा नानी हुनाले एक्लै जानु परेको थियो । त्यसैले बुढी ठुस्की रहेकी थिइन् । तर पनि भन्दै थिइन, “आमासँग २ हजार पैसा मागेर ल्याउनु है बाख्रा माउ किनेर पाल्नु पर्ला ।”

“पैसा माग्नलाई मलाई लाज हुन्न कि क्या हो ? चिठी लेख म आमाकै हातमा दिइदिम्ला,” भनें ।

साँच्चै चिठी लेखिछन्, जानै लाग्दा दिइन् । बढो इमान्दारिताका साथ ससुराली पुग्न साथ सालीको हातमा दिएँ “आमालाई दिनु रे, भुन्टीले भनेको” भनेर ।

सालीले पनि सासूको हातमा थम्याइन क्या रे, त्यो देख्नु भएछ ससुरा बाले ‘के लेखेछ त्यसले लु त च्यान्टी पढेर सुना त’ भन्दै ससुरा बा भित्र पस्नु भो । म नि त्यही सालीसँगै बस्दै थिएँ । अनि सासू, जेठा सासू र सालो केटो पनि नजिकै थियो । मेरी सालीले चिठी पढ्न शुरु गर्न थालिन म चाहिं लाजले टिभिको भोलम ठुल ठुलो पार्दै नसुने झैं टिभीकै तालमा लोकदोहोरी गाउँदै बसें ।

पर्सिपल्ट घर फर्किने बेलामा सासू आमाले त्यै चिठीको खोलमा २ हजार ५० हालेर मलाई दिनुभयो। । घर आइपुग्नसाथ बुढीलाई त्यो खाम दिएँ । बुढी बढो मख्ख पर्दै “अहा ! ५० रुपियाँ बढी नै पठाउनु भएछ” भन्दै थिइन । “अब म गजबको बाख्रा माउ किनेर पाल्छु अनि बोका ब्याएसी खसी बनाई बेच्छु” भन्दै मख्ख थिइन् ।

कठै !काखमा नानी बोकेर कहाँ बाख्रा किन्न जाउन । मलाई नै त्यो पैसा थम्याई र भनिन् “बाख्रा किनेर ल्याउनु है बाबा !”

विदेश जान भिसा नआई रन्थनिदै बसेका मलाई अरु के काम चाह्यो बाख्रा किन्ने नाममा हिंडे गाउँतिर ल्याफ्रक् ल्याफ्रक् । जहाँ गए पनि “होइन कहिले जाने विदेश?” भन्नेको कुनै कमि थिएन । “भिसा आएपछि ” भन्दै टारी दिन्थें ।

यस्तै क्रममा एक दिन धने बाकहाँ गाउँले केटाहरू तास खेल्दै रहेछन । खेल्न नआए पनि हेर्न बढो मज्जा । हेरेर बस्न थालें ।

“ओहो ! शेरे तिमी त विदेश जान लागेको मान्छे, अब टन्न कमाउँछौ । मरेर के लान्छ र यार ? आउ बस खालमा” भनेर बिर्खेले तानेपछि “होइन हौ म त जान्दिन” भन्दा भन्दै तिलकले म सिकाइहाल्छु नि भन्दै उचाल्न थाल्यो । म नि बुढीको बाख्रा माउ किन्ने नयाँ नयाँ कट्याक कट्याक् परेको हजारको नोट झिकेर बस्न थालें । बसेको २ घन्टामा कोटा नौ सय हारेछु । सबै उठेर लागे, म नि न्याउरो मुख लाउदै लागें घर तिर ।

“बाख्रा पाएन बुढी पैसा नि हारें आज जुवामा ” भन्दै सानु मुख लाएँ । कठै मेरी बुढी “ल…खेलेसी हारी हाल्छ नि, किन खेल्नु भएको त” भन्दै केश सुमसुम्याउन थालिन । “९ सय हारेर के भो ? अझै ११५० छ अब बाख्राको पाठी किन्नु” भन्दै थिइन ।

भोलिपल्ट पनि म लागें गाउँतिर । फेरि पनि केटाहरूले “ए शेरे, हिजो गाको त उठी हाल्छ नि यार आज” भन्दै खेल्न कर गरेपछि खेल्न बसें । त्यो दिनमा नि ५ सय हारेछु । मैले पहिलो दिन झैं गरी बुढीलाइ रामकहानी सुनाएँ, अझै बुढीले मायालु स्पर्शका साथ “चिन्ता नगर्नु अझै ६५० त छ, अब कुखुरा माउ किन्नु पर्छ । अनि धेरै चल्ला भएसी ठुल ठुला भाले बनाएर बेच्नु पर्छ” भन्दै थिइन ।

पुन: अर्को दिन नि त्यसरी नै कुखुरा माउ किन्न गाउँ हिँडेँ । त्यसै गरी साथीहरूको कुरामा लागेर पैसा सबै हारें । फर्केर आउँदा फेरि सबै कथा बुढीलाई सुनाएँ । अझै पनि उही पाराले बुढी मलाई सान्त्वना दिंदै थिइन् आँखाभरि आँशु बोक्दै । अहिले सम्झिन्छु यदि त्यो ठाउँमा म हुनु हो त ?

हो जब म दु:खमा पर्छु र आँशु बग्न थाल्छ तब सम्झिने गर्छु त्यो पल मेरी बुढीको परेलीमा तप्केका आँशुका दानाहरू र प्रण गर्छु मेरै कारण कसैको आँखामा त्यसरी आँशु तप्किन दिने छैन ।

राजेश रुम्बा लामा ‘अतृप्त’

4 thoughts on “प्रण (लघु कथा)”

  1. राम्रो लाग्यो
    कथा सार्है राम्रो लाग्यो । शब्द कता कता बहकिए पनि वास्तविकता छोएको छ कथाले । लेखकले शब्दमा अझ ध्यान दिए उत्कृष्ठ हुने थियो ।

    1. हार्दिक धन्यवाद सरोस सर|
      हार्दिक धन्यवाद सरोस सर अबको पालिमा हजुरको सुझाबलाई मनन गरेर नै लेख्ने छु |

    1. त्यस्तै लाग्छ हजुर |
      त्यस्तै लाग्छ हजुर मलाई नि 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *