• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

प्रह्लाद नाटकमा द्वन्द्व

parasmani shama — Sun, 08/12/2012 - 09:34

  • विश्लेषण/समालोचना
  • पारसमणि शम
  • पूर्णिमा

प्रह्लाद नाटकमा द्वन्द्व
पारसमणि शम

द्वन्द्व नाटकको मूल तत्त्व हो, यसले नाटकलाई जीवन्त बनाइदिन्छ| द्वन्द्वबिनाको कुनै कृति सफल बन्दैन भन्न गाह्रो नहोला| फेरि भएन वर्तमान साहित्यमा त द्वन्द्व नभई हुँदैन| यदि द्वन्द्व नै सिर्जना गर्न सकिएन भने पाठकवर्गले रूचाउँदैनन्| विशेष त द्वन्द्व दुइ किसिमका हुन्छन् (१) भित्री र (२) बाहिरी| भित्रि द्वन्द्व नै मुख्य हो यो मानिसको मनभित्र विभिन्न किसिमले प्रतिपादित हुन्छ| गरौं या नगरौं, ठीक या बेठीक, सत्यउद्घाट गरौं या नगरौं आदि किसिमका द्वन्द्वले मानिसका साधारण जीवन बिताइरहेका हुन्छन्| यस किसिमको द्वन्द्वले कुनै पनि कृतिलाई रहस्यमय, रोचक बनाउँछ| यस्ता किसिमका कृतिहरू सफल पनि हुन्छन्| रिमालको यो प्रेम र मसानमा समको प्रह्लाद, मुकुन्द इन्दिरा, ध्रुव आदिमा देवकोटाको मुना-मदनमा कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ आदिमा पारिजातको शिरिसको फूल आदिमा भित्रि द्वन्द्व राम्रोसँग देखाइएको हुनाले उत्कृष्ट छन्|
साहित्यमा बाहिरी द्वन्द्वको त्यति महत्त्व नभए पनि प्रस्तुत भने गरिन्छ| यो व्यक्ति-व्यक्ति बीच, समुह-समुहबीच, राष्ट्र-राष्ट्रबीच हुन्छ| यसको परिणाम हिंसात्मक हुन्छ र यो विशेष रूपमा चलचित्र या सिनेमा जगत्मा चलाइन्छ| नाटकमा त बाहिरी द्वन्द्व प्रदर्शनका दृष्टिले त्यति मेल खॉंदैन|
नेपाली नाटकजगत्मा सम्राट मानिएका बालकृष्ण समको प्रह्लाद नामक नाटकले सन् १९३८ (वि.सं. १९९५)-मा पाठकमाझ जाने मौका पायो| यो समको उत्कृष्ट नाटक हो| यसमा बौद्धिकता ज्यादा भएकाले साधारण पाठकका दिमाग बाहिर छ| यस विषय समालोचक रामकृष्ण शर्मा भन्छन्- ‘अपहरण गरिएका शब्दको बहुसंख्याले नेपाली भाषा क्लिष्ट भएर साधारण पाठकको पहुँच बाहिर पनि पुग्यो| सॉंच्चै हो कपाल दुखाउन इच्छा नभएकाले शकुन्तला र प्रह्लाद मा स्वाद के पाउला र|’१ उनी अझ भन्छन्- प्रह्लाद दुर्वोध भएको कारण पौराणिक विषयमा पाश्‍चात्य विचार घुसाउने प्रयत्नले गर्दा होला|२ समका कैयौं नाटकहरूमध्ये प्रह्लाद माथिल्लो तहको हो|
प्रह्लाद-मा समयले द्वन्द्वको राम्रोसँग निर्वाह गरेका छन्| यसमा विभिन्न किसिमका द्वन्द्वहरू समावेश छन्| बाहिरी द्वन्द्व भन्दा भित्री द्वन्द्व बढी भए पनि विभिन्न किसिमका भित्रि द्वन्द्व चालै नपाई चलिरहेका हुन्छन्| कतिवटा द्वन्द्व कहॉं कस्तो किसिमले निर्वाह गरिएको छ थाहासम्म पाठकले पाउँदैनन्| खासै भन्नु हो भने प्रह्लाद द्वन्द्वै-द्वन्द्वले परिपूर्ण भएको, समको उत्कृष्ठ तर क्लिष्ट नाटक हो|
प्रह्लादमा भएका विभिन्न किसिमका द्वन्द्वलाई खुलस्त पार्नसके नाटक मगजभित्र पस्ने थियो भन्ने विचार लिई यहॉं प्रह्लाद भइत्रका द्वन्द्वहरूको पर्दाफास गर्ने सानो कोशिश गरिएको छ|

पौराणिक बनाम ऐतिहासिकताः
यो समद्वारा उत्पादन गरिएको द्वन्द्व हो| यो कथावस्तुमा आधारित द्वन्द्व होइन| पौराणिक कथावस्तु टिपेर ऐतिहासिक बनाउने दुश्साहस समले गर्दा यो द्वन्द्वको सृष्टि भएको छ| कथा चाहिँ पुराणको नाटक चाहिँ इतिहासको- क्या गजबको विचार उनको| उनी आफैं पहिलो संस्करणको भूमिका प्रस्तावना-मा भन्छन्- यो श्रीमद्भागवत सप्तमस्कन्धमा वर्णन गरिएका कथाको आधारमा लेखिएको छ| ३ त यो कसरी ऐतिहासिक बन्छ?
समले कसरी यसलाई ऐतिहासिक भने भन्ने प्रश्‍नको उत्तर आफैं दिन्छन्- यसलाई पौराणिक कल्पना क्षेत्रमा नदौडाई ऐतिहासिक कल्पना क्षेत्रमा दौडाउने प्रयत्न गरिएको छ| ४ यसबाट के स्पष्ट हुन्छ भने यो पूर्णतः ऐतिहासिक बन्न सकेको छैन| यस द्वन्द्वमा समले ऐतिहासिकतालाई काखीच्यापे तापनि जीत भने पौराणिकताको भएको छ| के-के कारणवश ऐतिहासिक पक्ष असफल भएको छ त्यसको विचार नाटकबाट लिनु आवश्यक छ|
नाटकमा हिरण्यकशिपुले विश्‍वविजय गर्ने उद्देश्य हेतु आफ्ना सेनालाई चारै पटि युद्धका निम्ति पठाई विजय भएऱ आउने हुकुम भएपछि सेनाहरू गएको वृतान्त छ| अनि छ, विजय भएर आएको प्रसङ्ग| यस प्रसङ्गमा समले नाटकलाई ऐतिहासिक बनाउन खोजेका छन्| उनी लेख्छन्-
शत्शिरः धेरै धेरै टाढा रातो समुद्र तरेर हामी वुरणलोक पुग्यौं, त्यहॉं एउटा ठूलो चौकीमा चारौटा त्रिभुजमाथि टुप्पामा जोडिएको आकारको ढुङ्गैढुङ्गाको विशाल घर बानउन लागेका रहेछऩ्, त्यस्तो अरू पनि बनाउने रे!
प्रह्लादः त्यहींनेर एउटा हँसिलो मुख भएको नरसिंहको जस्तो मूर्ति पनि रहेछ|
शतशिरःहामी मरूभूमिबाट ऊँटमा चढेर त्यो ठाउँमा गएका थियौं, धेरै घटना र कुरापछि एउटा मन्दिरबाट झिकी यो मलहम हामीलाई दिएर वरूणले भन्यो- यसले शरीरलाई नाश हुन दिँदैन, यो छालाको अमृत हो|
हिरण्य कशिपुः उसो भए त्यो ठूलो घरलाई अब चिहान बनाउनेछन्, मृत शरीरलाई यही मलहम दलेर त्यहॉं थन्क्याउनेछन्....|५
यी माथिका संवादद्वारा के स्पष्ट हुन्छ भने विश्‍वविजय गर्न गएका सेना रेड सी (रातो समुद्र) तरेर इजिप्ट(वरूणलोक) पुगेका थिए| ढुङ्गैढुङ्गाको विशाल घर भनेको पेरामिड हो र नरसिंहको मूर्ति भन्नाले स्फिङ्क्सको मूर्ति बुझिन्छ| मलहम भन्नाले लाशमा लगाउने औषधी बुझिन्छ | समले यो प्रसङ्ग नाटकमा हुलेर ऐतिहासिकताको वकालती गरेका हुन्| तर यो वकालती सत्य छैन, कारण इजिप्टमा पेरामिडहरूको निर्माण कार्य २८१५ बी.सी.-मा शुरू भएको हो| यसबाट समले हिरण्यकशिपुको समय पनि यही बताउन खोजेका हुन् जसको ऐतिहासिक प्रमाण छैन| उनको काल्पानिक विचार र तर्क ऐतिहासिक मान्न सकिँदैन| फेरि भएन न त इतिहासमा हिरण्यकशिपुको कथा पाइन्छ न त पुराणमा पिरामिडको उल्लेख पाइन्छ| फेरि भएन नाटकको नरसिंहको यानि स्फिङ्क्सको बनावटमा टाउको मान्छेको छ र शरीर सिंहको छ तर पुराणमा वर्णित नरसिंहको भने टाउको सिंहको र शरीर मान्छेको छ, त्यसैले यो प्रमाण पनि कमजोर पर्दछ | समालोचक कृष्ण गौतम भन्छन्- सम इजिप्टलाई वरुणलोक ठहराएर त्यहॉं पिरामिड बन्न लागेको उल्लेख गर्छन्| तर इजिप्ट वरुणलोक हो भन्ने कुरामा ठोस ऐतिहासिक प्रमाण छैन| ६ समको नाटक ऐतिहासिक बनाउने कोशिशलाई समालोचक ताना शर्मा आलोचना गर्दै भन्छन्- पुराणका कथामा कतै उल्लेख नभएका पिरामिड स्फिं क्सलाई जबर्जस्ती आफ्नो नाटकमा घुसारेर समले ऐतिहासिकताको आभास दिने असफल जमर्को गरेका छन्| ७
समले नाटकको द्वितीय संस्करणको भूमिका दोस्रो संस्करणका समयमा लेखेपछि यो द्वन्द्व अझ तीव्र हुन्छ| पहिलो संस्करणमा उल्लेख नगरिएको कुरा दोस्रो संस्करणमा उठाउँदा यो द्वन्द्वले रोचकता सिर्जना गर्छ| उनी लेख्छन्- दृष्टान्तमा यो नाटक बनाई शक्तिमान तर हृदयहीन हिरण्यकशिपु र दयावान तर शक्तिहीन प्रह्लादलाई अघि सारेर मैले प्राचीन समयलाई लिई आधुनिक हिटलर र गान्धीको समयमा छायां पार्न खोजेको हुँ| यो नाटकको प्रथम संस्करण सं. १९९५ मै छापिएको हो| काठमाडौंको सभागृहमा यो नाटक खेलिएको अघिल्लो दिनमा हिट्लरले पोल्याण्डमाथि आक्रमण गर्नेआज्ञा दिए भन्ने समाचार रेडियोद्वारा आएको थियो| महात्मा गॉंधीले हिटलरलाई युद्ध बन्द गर भन्ने प्रार्थना पनि लेखिपठाएका थिए| त्यस द्वितीय महासमरको अन्त्यमा के भयो मैले भनिरहनु पर्दैन|८
अब हेरौं नाटक भित्र कहॉं गान्धी र हिटलरको प्रसङ्ग मिल्न आउँछ| हिटलरको दोस्रो महासमरका समय कैयौं यहुदीहरूलाई ग्यास च्याम्बर भित्र हालेर मारेको छ| उ संसारमा यहुदीहरूको नाश चाहन्छ| यही ग्यास च्याम्बर-को घटना र नाटकमा वर्णित हला-हल-को प्रसङ्ग केही हद्सम्म मिल्न आउँछ| नाटकको पहिलो अंकको तेस्रो दृश्यमा हलाहल को प्रसङ्ग आउँछ|
विष्णु सर्वशक्तिमान छन् भन्ने कुरा थाहा पाएपछि कशिपु विष्णुकै सृष्टि नष्ट पारी बद्ला लिने विचारले आफ्ना वैज्ञानिक हलाद्वारा अविष्कार गरिएको धुप (ग्यास) हलाहललाई आगोमा लगाई सृष्टि नष्ट गर्ने विचार गर्छ | हलाहल बारे स्वयं वैज्ञानिक हला भन्छ- धूपको खालि यो एक चिम्टीमा चौरासी लाख जीवको प्राण हर्ने छ सामर्थ्य....|९ तर हलाहल आगोमा हाल्न नपाई भगवान ब्रह्मआई वरदान (अमरताको?) दिएर हलाहल लिएर जान्छन्| तर पुराणमा कशिपुले घोर तप गरी वर प्राप्त गरेको कथा पाइन्छ | यो घटना त समले नाटकलाई स्वभाविक र वैज्ञानिक बनाउन खोज्दा उल्लेख गरेका हुन् तर दोस्रो महायुद्ध पछि हिट्लर र गान्धीको कुरा उठाइदिँदा, ग्यासच्याम्बर-प्रसङ्ग उठन गएको हो| हिटलरको आतंक अत्याचार, अन्याय, आदि गुण कशिपुसित मिल्दो छ र गान्धीको प्रह्लादसित| दोस्रो संस्करणमा मात्र गान्धी र हिट्लरको कुरा झिक्नु, अनि हलाहल र ग्यासच्याम्बर-को घटना केही हद्सम्म मिल्नुबाट के स्पष्ट हुन्छ भने नाटकमा भएका कशिपु र प्रह्लाद अनि गान्धी र हिटलरका गुणको मिलन समलाई दोस्रो महायुद्धपछि मात्र थाहा भएको हो| यो प्रसङ्ग उठाएर आफ्नो ऐतिहासिक पक्ष दह्रो पार्ने विचारले समलाई मौकावादी बनाइदिन्छ| हिटलर र गान्धी दुवै महायुद्ध अघि नै थिए औ हिटलरको आतङ्क र गान्धीको प्रेम त्यतिखेर चर्चामा थिए तर यो कुरो समका दिमागमा पसेन र दोस्रो युद्ध पछि मात्र पसेको हुनाले समलाई मौकावादी बनायो| उलने यदि यही कुराको छनकमात्र अघिल्लै संस्करणमा दिएका भए यो कलंक लाग्ने थिएन| गान्धी र हिटलरका प्रतिनिधि प्रह्लाद र कशिपुलाई माने पनि नाटकलाई ऐतिहासिक भने पटक्क मान्न सकिँदैन|
निष्कर्षमा, समद्वारा प्रतिपादित पौराणिकता र ऐतिहासिकता बीचको द्वन्द्वमा पौराणिकपक्षले विजयप्राप्त गरेको छ| हुन त पुराण भन्दा इतिहास बलियो हुन्छ तर यहॉं भने प्रमाणबिनाको इतिहास देखाएका हुनाले दुर्बल छ| भूमिकाद्वारा नै द्वन्द्व सिर्जना गरेको सायदै यो पहिलो कृति हो| यसले गर्दा समको प्रह्लाद उत्कृष्ट मात्र छैन तर रोचक पनि छ|

ज्ञान बनाम विज्ञानः
ज्ञान र विज्ञान बीचको द्वन्द्व नै नाटकको मूल द्वन्द्व हो| ज्ञान आध्यात्मवादको प्रतीक छ भने विज्ञान भौतिकवादको| प्रह्लादले ज्ञानको पक्षलिएर नाटकमा आएको छ भने अर्कोतिर कशिपु विज्ञानवादी छ| कशिपु विज्ञानलाई सर्वस्व ठान्छ तर प्रह्लाद भऩे ठीस विपरीत छ उ ज्ञानलाई बडी महत्त्व दिन्छ| उ भन्दछ- ज्ञान मर्छ हॉंसेर, रोई विज्ञान मर्दछ|१०
प्रह्लाद आफ्नो ज्ञानद्वारा विष्णुलाई भगवान मानी पूजा गर्छ तर कशिपु भने पृथ्वीमा सबै आफैं सिर्जना गर्न सकिन्छ भनि विज्ञानका मार्फत तयार पारिएका सर सामानको प्रयोग गर्छ | उ विश्‍वविजयी भएर विज्ञानको प्रचार गर्न खोज्छ| ज्ञानी प्रह्लाद विष्णुको अन्धोभक्त भई उसलाई लाग्दैन र उसलाई नै मार्ने कोशिश बाबुद्वारा गरिन्छ|
दानवहरू विज्ञानका पक्षमा भएकाले विज्ञानमा नै गर्व गर्छन्| कशिपुको वैज्ञानिक चक्रमूर्ति भन्छ- विज्ञान छ त हाम्रो विशेषता हामी ठूला छौं, लोकमा जय तथा विजय हाम्रै छन्| ११ विज्ञानीहरू कम बोलेर धेरै काम गर्छन्| उनीहरू परिश्रमी छन्, मेहनत गर्छन् तर ज्ञानी मानिस भाषण छॉंट्ने हुन्छ, मेहनत गर्दैन, अल्छे हुन्छ| ज्ञानी एउटै जमिनमा बसेर विचार गर्छ, दर्शन छॉंट्छ, आकाश-पातालका कुरा गर्छ तर वैज्ञानिकहरू एक पछि अर्को खोज गर्छन्, नयॉं नयॉं सृष्टि गर्छन्, प्रयोग गर्छन् भन्ने विचार नाटकमा यत्रतत्र छरिएको छ|
सम जे भए पनि ज्ञान र विज्ञानको मिलन चाहन्छन्| यस अपूर्ण द्वन्द्वलाई समाप्त गर्न सन्धि चाहन्छन् र रानी कयाधुका मुखबाट यी शब्द निकाल्छन्.... अहो, कस्तो हुन्थ्यो दानवदेवको ज्ञान विज्ञानको सन्धि भए|१२ तर सन्धि हुँदैन ज्ञान आफ्नो अडानमा अडिन्छ भने विज्ञान आफ्नै पक्ष ठूलो ठान्छ| मानिसको जीवन सफल बनाउन हेतु सन्धि आवश्यक हुन्छ र नारदका माध्यमबाट सम भन्छन्- ज्ञान विज्ञानको हात जोड्नुपर्छ कर्ममा|१३ उनी दोस्रो संस्करणको भूमिकामा लेख्छन्..... अध्यात्मले भौतिक कहॉं गएर वा भौतिकले अध्यात्मकहॉं आएर हात मिलाउनु हो त्यो विज्ञानमा ज्ञान हो, ज्ञानमा विज्ञान हो| यस उसले प्रह्लाद र हिरण्यकशिपु दुवै अपूर्ण छन् चाहे हिरण्यकशिपु रूँदै मरून् चाहे प्रह्लाद हॉंस्तै मरून, उनीहरूका अगाडिको पछाडिको संसारमा केही परिवर्तन हुनसकेन|१४
वास्तवमा सम चाहन्छन् एउटा सफल मानव जीवन| यसका निम्ति अध्यात्म र भौतिक दुवै मिलेर अङि बड्नुपर्छ भन्ने उनको ध्येय छ| दुवै आ-आफ्ना अहममा अडिए भने दुवैले केही पाउँदैनन्| जसरी, प्रह्लादले जित्यो, तर आफ्नो पितालाई गुमाएर तब उसले जीतेको के भयो? पिता जस्तो अमूल्य वस्तु गुमाउनु पर्दा विजय उत्सव उसले कसरी मनाउने? गल्ती प्रह्लादको मात्र छैन कशिपुको पनि छ| यदि उसले समयमा आफ्नो भलो सोचेर पुत्रको कुरो सुन्दो हो त अन्त्य हुने थिएन अमरत्त्व प्राप्त गरेको थियो|
विज्ञानले सृष्टिलाई ध्वस्त पार्ने गर्छ, यसको लक्ष्य ठीक हुँदैन भन्ने एक पक्षीय तथ्यलाई समाप्त गर्न सम चाहन्छन्| उनी विज्ञानलाई ज्ञानमा मिसाई पृथ्वीको उन्नति गर्न चाहन्छन्| मानव जातिको उन्नतिका निम्ति यदि विज्ञानको प्रयोग गरिँदो हो त हिरोसिमा र नागासाकी, देवासुर संग्राम आदि हुँदैन थिए| आज भौतिकवादीहरू एउटा सानो माटोको निम्ति कतै काश्मीर, कतै पेलिस्टाइन त कतै चेचनीयाको समस्या खडा हुने थिएन| समस्त विश्‍व एउटै परिवारमा रहने थियो अनि मात्र बसुधैव कुटुम्बकम-को सिद्धान्त स्वीकार्य हुने थियो| समले ज्ञान र विज्ञानको द्वन्द्व सिर्जना गरी यही दर्शन दिन खोजेका हुन्|
अन्त्यमा के भन्न सकिन्छ भने यस द्वन्द्वद्वारा सम विज्ञानको सदुपयोग चाहन्छन् दुरूपयोग होइन| उनी विज्ञान र ज्ञानलाई मिलाई एउटा शान्त र सुन्दर संसारको निर्माण चाहन्छन्| उनी त्यहॉं मानवता, सत्य र न्याय देख्न चाहन्छन्| यसैले प्रह्लाद नाटकमा वर्णित ज्ञान बनाम विज्ञानको द्वन्द्व दर्शनका दृष्टिले अति नै महत्त्वपूर्ण छ मानव जातिको भलोका निम्ति| यसैले यी पूर्ण-अपूर्णलाई पूर्ण नपरेसम्म कसैको भलो नहुने सङ्केत सम दिन्छन्|
पूर्वत्व बनाम वश्‍चिमत्वः
नाटकमा पूर्वीय दर्शन र पाश्‍चात्य दर्शनका बीच अति रोचकतासाथ द्वन्द्वको निर्वाह गरिएको छ| यसमा नाटककार समले पूर्वीय दर्शनलाई ठूलो ठान्दै प्रस्तावना मा भन्छन्- सुकरात र जीजस प्रह्लादसित बरू मिल्न आउँछन्, प्रह्लाद उनीहरूसित मिल्न आउँछन्, प्रह्लाद उनीहरूसित मिल्न जॉंदैनन्| १५ यस द्वन्द्वमा भने पूर्वको जीत भएको देखाएर पश्‍चिमी दर्शनको अनुरागी हिरण्यकशिपुलाई मारेका छन्| प्रह्लादले पूर्वीय दर्शनको प्रतिनिधित्व गर्छ भने हिरण्यकशिपु पाश्‍चात्य दर्शनको|
सम यहॉं पश्‍चिमी भौतिकवादी दर्शनलाई पनि केही हदसम्म ठीक भएको ठानी राम्रो पक्षलाई अप्नाउने शिक्षा दिन्छन्| पश्‍चिमीहरू अन्धविश्‍वास मान्दैनन् जसलाई नाटकमा सुन्दर तरिकाले देखाएका छन्| पुराणमा कशिपुले घोर तप गरी अमरत्व प्राप्त गरेको कथ्य छ तर नाटक हलाहल-को ध्वंशात्मक शक्तिदेखि सृष्टि नष्ट हुने देखेर ब्रह्मलाई वर दिएको छ| यो पश्‍चिमीहरूको नीति नै हो, कसैलाई दवावमा परेर केही लिनु, यहॉं कशिपु त्यसै गर्छ| पुराणमा प्रह्लादलाई भीरबाट खसाल्दा विष्णुले समातेको कथा छ तर नाटकमा यसलाई पश्‍चिमी तरिकाले देखाइएको छ भष्म पारेर| आगोले जस्तै वस्तु पनि सखाप पार्ने क्षमता राख्ने हुनाले कोही पनि यसको प्रकोपबाट नबॉंच्ने कुरालाई स्वीकार्दै सम प्रह्लादलाई आगोमा नहाली रोधलाई हाल्छन्| यस्ता घटनाहरूका माध्यमबाट पश्‍चिमी विज्ञानी विचार समले पोखेका छन्|
पश्‍चिमी विज्ञानीहरूलाई आतंक मच्चाएर डर देखाएर आफ्नो ठूलोपन देखाई राजगर्ने प्रवृत्तिका हुन्छन् भनि कशिपुका माध्यमद्वारा पर्दाफास गरिएको छ| यसको ठीक विपरित पूर्वीयहरू प्रेम, शान्ति, स्नेह, मित्रता, मानवता आदि विचार धारा मान्ने कुरो स्पष्ट छ| पूर्वीयहरूको प्रतिक प्रह्लाद शान्ति चाहन्छ उ युद्धको विरोध गर्छ औ सुन्दर सृष्टिको सदुपयोग चाहन्छ| युद्धले विनाश गर्छ अनि उ भन्छ-
होइन, होइन, पिता, होइन, हिंसाले देव दानव मर्दछौं
दुवै थरी अहिंसाले मात्र नै बॉंच्न सक्तछौं
हो, हिंसाव्रतले आज दैत्यको बल बढ्दछ
त्यै, हिंसाव्रतले भोलि हाम्रो त्यै बल घट्तछ
लड्छौं आपस्तमा हामी जाति फुट्तछ टुट्तछ
त्यसर्थले अरूलाई मारी बॉंच्नु अधर्म हो,
बॉंचौं बॉंच्न दिई मेरो धर्म यै भन्छ|१६
पश्‍चिमी भौतिकवादीहरू परम सुखको अनुभव गर्न भौतिक वस्तुमा निर्लिप्त हुन्छन् र थाहै नपाई त्यही वस्तुले निल्छ भनि संकेत नाटकमा पाइन्छ| हिरण्यकशिपुको मृत्यु आफ्नै वैज्ञानिकहरूद्वारा तयार या निर्माण गरिएको खम्बा ढलेर भएकाले के बुझिन्छ भने भौतिक सुख क्षणिक छ| यसैले यो क्षणिक सुखका पछि नलागेर परम् आनन्दका पछि लाग्ने पूर्वीय चन्तनलाई सम प्रमुख मान्छन्| उनी ईश्‍वरत्त्व प्राप्त गर्छन्|
पूर्वीय क्षेत्रमा नै बुद्ध, नारद, कृष्ण, राम, प्रह्लाद, महावीर, विवेकानन्द, दलाई लामा, साई बाबा जस्ता महान सन्तको जन्म भई विश्‍व शान्तिका निम्ति कार्यको कुरा स्पष्ट छ| तर पश्‍चिमी भौतिक वादीहरूमा हिटलर, मुसुलिनी, स्टालिन, रूजोवेल जस्ता तानाशाही आई विश्‍व शान्ति भंग गराई दुइवटा महासमरहरू गराएको तथ्य पनि स्पष्ट छ| उनीहरू विश्‍वमा राज गर्न चाहन्छन् र साम्राज्यवादी नीति अप्नाई निर्धो देशलाई आफ्नो अधिनमा राखेको कुरा इतिहासमा छ| तर पूर्वीय मानवतावादी दर्शनका अघि हार खाएर गएको कुरा भारतको स्वाधीनता आन्दोलनबाट स्पष्ट हुन्छ| गान्धीको पूर्वीय मानवतावादी, अहिंसाको दर्शनका अघि अंग्रेजले घुँडा टेकेको स्पष्ट छ| यसै पूर्वीयहरू विश्‍व शान्तिका लागि बसुदैव कुटुम्बकम-को नारा दिन्छन्| यही दृष्टिले पूर्वीयहरू महान् छन्|
समले नाटकका माध्यमबाट विश्‍वलाई पूर्वीय दर्शन मान्ने आग्रह गरेका छन्| उनी शक्तिशाली हिरण्यकशिपुका माध्यमबाट पाश्‍चात्य विचार आतंकवादी विचार हो भन्ने कुरा देखाई पूर्वीयत्वको अहिंसालाई मान्ने अपील यस द्वन्द्वद्वारा गरेका छन्| नाटकमा पाश्‍चात्य विचारको बडी प्रभाव रहे तापनि कशिपुको हत्या गरी पूर्वलाई जिताएका छन्|

पिता बनाम पुत्रः
प्रह्लाद हिरण्यकशिपुको छोरो हो र नाटकको नायक अनि बाबु हिरण्यकशिपु चाहिँ नाटकको खलनायक| नायक र खलनायक बीचमा द्वन्द्व त अवश्य नै हुन्छ अनि नायकले जित्छ, यहॉं पनि यस्तै भएको छ| तर विडम्बनाको कुरो के छ भने नायकमा हुनुपर्ने गुण भने प्रह्लादमा छैन, उ त खलनायकको गुणले परिपूर्ण छ| प्रह्लाद बाबुपिराहा शत्रुपक्षी, अल्छे, लुते, विष्णुभक्त, कुलद्रोही, राष्ट्रद्रोही, आफ्नै जाति नाश गर्ने पात्रका रूपमा देखा परेको छ| यी गुण त खलनायकका गुणहरू हुन्| फेरि भएन कशिपु वीर, मेहनती, परिश्रमी, युद्धकलाले भरिपूर्ण, जोशिलो, जातिप्रेमी, राष्ट्रप्रेमी राजा भएको हुनाले नायक हुनुपर्ने थियो| तर समले किन हो कोनि प्रह्लादमा के देखे र नायक बनाए| यस विषयमा ताना शर्मा आफ्नो प्रतिक्रिया जस्तो प्रकारले दिन्छन्- समले जतिसुकै प्रह्लादलाई गॉंधीको उच्चता दिन खोजेर काखी च्यापे पनि कुरो चाहिँ हुन पनि त्यही हो अर्थात् हिरण्यकशिपु नायक हो र प्रह्लाद कुलद्रोही खलनायक हो|’१७
पिता र पुत्र एउटा पारिवारिक सदस्य भएर पनि नितान्त बेग्लै विचारका छन्| प्रह्लाद अहिंसाको पुजारी छ, उ युद्धको रक्तपातदेखि काम्छ, तर पिता भने हिंसा रूचाउने गर्छ| नाटकको शुरूतिर हिरण्यकशिपु प्रह्लादलाई प्रेम गर्छ तर प्रह्लाद नै बाबुका कुरा नसुनी शत्रु विष्णुको पूजा गर्छ| पिताद्वारा नसम्झाइएको पनि होइन तर आफ्नो गजडिया भक्तिदेखि प्रह्लाद हट्दैन र बाबुलाई नै उपदेश गर्न दुष्कर्म गर्दछ| उ आफ्नो गजडिया भक्तिदेखि प्रह्लाद हट्दैन र बाबुलाई नै उपदेश गर्ने दुष्कर्म गर्दछ | उ आफ्ना पितालाई सम्झाउने ज्ञानी बन्छ जब कि उ बालक नै छ, भन्छ- जुन घरभित्र विष्णुको पूजा हुन्छ, त्यो घर घर होइन, मन्दिर हो, जुन आत्मभित्र विष्णुको ध्यान हुन्छ त्यो आत्मा आत्मा होइन परमात्मा हो|१८ यहींदेखि यी दुवै छुटिन्छन्|
बाबु कशिपुलाई अहम्मा धक्कालाग्छ र उ प्रह्लादलाई आफ्नो बाटोबाट हटाउने कोशिश गर्छ, उ विष्णुभन्दा ठूलो शत्रु त आफ्नै घरमा भएको अन्धो विष्णुभक्त प्रह्लादलाई ठान्छ | प्रह्लाद देख्नसाथ उसलाई रिस उठ्छ र भन्छ-
बध्य, शिष्य, मुसत्य तँ!
जा उन्मत्त विधर्मी तँ! जा, भयंकर स्वप्न जा!
जा रोग! कोर, जा! पीप जा! जा राल!
सिंगान जा! जा परभूत मुर्कट्टा! जा कंकाल!
श्मशान जा! जा दुःख! प्वाल जा! कालो कम्प जा!
अवहेलन जा! कालकुट जा! सर्प जा! जा,जा
मृत्यु जा तँ ता!१९
यसरी असाध्य भएपछि कशिपुद्वारा प्रह्लादलाई मार्ने षड्यन्त्र रचिन्छ तर प्रत्येक जाल असफल हुन्छ भीरबाट प्रह्लादलाई खसाउँदा भासमा पर्छ र बॉंच्छ| आगोमा हालिने योजना मित्रहरूले थाहा पाई रोध नामक मित्रलाई हुलेर प्रह्लाद बॉंच्छ| प्रत्येकपल्ट मृत्यु आफ्नो सामु आएको देखेर पनि किञ्चित पनि उ डराउँदैन अनि हॉंसी हॉंसी मृत्यु स्वीकार गर्छु भन्छ-
मलाई मर्नलाई त उत्तिनै हर्ष पो छ त
जति हर्ष पितालाई मलाई मार्नलाई छ|२०
यसरी आफ्ना बाबुका शत्रुको गुण गाएर हरपल जिस्काई जिस्काई युद्ध गर्छ प्रह्लाद| उ शस्त्र अस्त्रद्वारा द्वन्द्व गर्न नसक्ने लुतिहारा भएकोले मानसिक रूपमा द्वन्द्व गर्छ, यो अवश्य नै उसको चतुराई हो| यसै चतुराईद्वारा उ हिरण्यकशिपुलाई मार्न सफल बन्छ| पितालाई असाध्य भएपछि आफैं मार्ने निश्‍चय गरी प्रह्लादलाई खॉंबामा बॉंधेर भन्छ- खै, खै, कहॉं छ खै? यो आकाश त देखिन्छ तेरो विष्णु कहॉं छ खै?२१ प्रह्लाद आफ्नो मृत्यु अघि देखेर पनि बाबुलाई जिस्क्याइरहन्छ| खम्बामा विष्णु छन् भन्ने प्रह्लादको मनसाय बुझेपछि कशिपु रिसले चुर भएर खम्बा नै तरवारले काट्न थाल्छ र खम्बा ढलेर उसको भूँडीमा किच्छ| मर्न अघि कशिपुले विष्णुलाई चिनेको कुरा प्रह्लादलाई भन्दै भन्छ- मेरो अमर आत्मा तँ-सत्य प्रह्लाद, हा..., क्षमा मलाई मागिदे... तेरा ती विष्णुसित...बॉंच- मरें|२२
यसरी अन्तमा पुत्रको विचार ठीक थिएछ भन्ने पछुतो भएपछि पिता कशिपुको मृत्यु भएको हुनाले द्वन्द्वमा पुत्रको जीत अवश्य भएको छ| तर मे बिनाको दाईं सफल होला? यसको उत्तर भने समले दिएका छैनन्| पिता र पुत्र बीचको कौतुहलपूर्ण द्वन्द्वले नाटकलाई जीवन्त पारेको छ |

आर्यत्व बनाम अनार्यत्वः
नाटकमा आर्यहरूका प्रतीक छन् देवताहरू र अनार्यहरू हुन राक्षस| देवताहरू वेदको अनुशरण गर्थे, उनीहरू सभ्य मानिन्थे र रक्षसहरूलाई दैत्य, असुर, दानव, असभ्य भनि भनिन्थ्यो| प्रह्लाद मातकततज देवताहरूले असुरमाथि सहजै विजय प्राप्त गर्न नसकेको कुरा कस्पष्टरूपमा देखिन्छ| देवताहरू आफ्नो आर्यत्व बचाउन हिरण्यकशिपुको मृत्यु चाहन्थे र योयुद्धद्वारा सम्भव थिएन र जाल, कुटनीति चलि पुत्र प्रह्लादलाई आर्यत्वको गॉंजामा लट्याएर विष्णुनामको रक्सी पियाएर कशिपु मार्ने काममा सफल हुन्छन्|
प्रह्लाद अनार्य भएर पनि आर्यत्वतिर जानु आफ्नो कुलप्रति विद्रोही गर्नु हो| हुन त आर्य यानि देवताहरूले कहिले पनि धर्मयुद्धमा जितेका छैनन्| जीते त खाली जाल जेल र कुटनीतिद्वारा यस विषयमा ताना शर्मा लेख्छन्- ‘दैत्यहरूलाई देवताहरूले कहिल्यै धर्मयुद्ध गरेर जितेका छैनन्, खालि दाउपेच गरेर मात्र देउताहरू विजयी बनेका देखिन्छन्| यसबाट के बुझिन्छ भने पुराणहरूमा वर्णित देवताहरू या त भर्खर पर्सियातिरबाट आएका आर्य थिए जो उत्तर भारतमा उच्च भौतिक सभ्यताको विकास भइसकेका द्रविडहरूलाई राक्षस र दैत्य ठान्दै लड्थे या अकर्मण्य र ज्ञानी ईश्‍वरवादी आर्यहरू थिए जो अनिश्‍वरवादी स्वनत्त्र चिन्तना गर्ने आर्य र द्रविडहरूलाई दानव भनी घृणा गर्थे र षड्यन्त्र गरी मार्थे| कहॉंसम्म भने रामले रावणलाई उसका भाइ विभिषणका सहयोगबाट र अरू के के दाउ गरेर मारेको देखाइएको |२३
यसरी अनार्य जातिको पृथ्वीबाट नाश गरी आफ्नो एक छत्र राज गर्ने धेय आर्य जातिको रहेको हुनाले प्रह्लाद नाटकमा पनि सोही कुरा नाटककारले देखाएका छन् प्रह्लादको सहायताले कशिपुको मृत्यु भएपछि प्रह्लादलाई सरकाएर आर्यत्वका देवता मानिएका ब्रह्मा भन्छन्- प्रह्लाद अब देवता बस्छन् निर्धक्क नै तिम्रो यश गाई|२४ यसबाट के स्पष्ट हुन्छ भने हिरण्यकशिपु एउटा ठूलो शक्तिशाली शत्रु थियो देवता भनौदा आर्यहरूको र त्यसलाई युद्धमा मार्नु असम्भव भएको हुँदा प्रह्लादलाई विष्णुनामको रक्सी पिलाएर मताई आफ्नो काम सिध्याएको कुरो प्रष्ट हुन्छ|
जे भए पनि यस आर्यत्व बनाम अनार्यत्वको द्वन्द्व कशिपुको मृत्युले आर्यत्व पक्षको जीत भएको देखाएका छन्| यदि नाटकमा प्रह्लाद मारिन्दो हो त आर्यहरूको ठूलो चाल नै फेल खाने थियो तर सो नहुँदा जीत भने आर्यत्वको भएको छ अनि प्रह्लाद आफ्नो अस्तित्व गुमाई विष्णु नामको रक्सी पिएर आर्यहरूको दासत्व स्वीकार गर्न पुगेको स्पष्ट रूपमा भन्न सकिन्छ|

शोषक बनाम शोषितः
वर्तमान साहित्यमा मार्क्सवादी विचारले प्रवेश गरेको हुँदा यहॉं पनि मार्क्सवादी सिद्धान्तका आधारमा प्रतिपादित शोषक र शोषितवर्ग बीचको द्वन्द्व देखाउन अनिवार्य हुँदछ| प्रह्लाद नाटक पौराणिक भए पनि समले नाटकमा त्यस समयको नेपालको छाया दिन खोजेको बुझिन्छ| प्रह्लाद वास्तवमा सम स्वयं थिए भन्न पनि सकिन्छ कारण उनी शाषक परिवारमा जन्मिएर प्रह्लाद सरह आफ्नै कूलको विरोध गरी जनताका साथ मिलेका कुरा स्पष्ट छ| समले यतिसम्म गरे कि आप्नो नाम समेत बालकृष्ण शमशेर जंगबहादुर राणाबाट घटाएर बालकृष्ण सम मात्र राखेर कुलकै विनाश चाहेका थिए|
हिरण्यकशिपु एकतन्त्री राणा शाषकहरूको प्रतीक हो भने प्रह्लाद सर्वहारा जनताको| नाटकमा यी दुवैको द्वन्द्व गराई कशिपुलाई मारेर एकतन्त्री, तानाशाही, शोषकवर्गकै हत्या गर्न खोजिएको हो| नाटकमा प्रह्लादको जीत नेपालमा भविष्यमा हुने २००६ साले क्रान्तिको परिणाम राणाहरूलाई दिन लेखिएको हो| हुन पनि हिरण्यकशिपुको मृत्यु हुँदा हामीलाई एउटा बडो तानाशाही, शोषकको मृत्यु भएको आभास हुन्छ|
नेपालमा गरीब जनतालाई राणातन्त्र नरक नै लागेको थियो औ यसबाट उम्केर प्रह्लाद राजरूपी प्रजातन्त्रमा पस्ने ठूलो इच्छा भएको हुँदा नाटककारले अप्रत्यक्षरूपमा युद्धको घोषणा गर्न जनतालाई उक्साएको छ| शोषकवर्गको नाशका निम्ति शोषितवर्गलाई सडकमा उत्रेर क्रान्ति गर्न आह्वान पनि नाटकमा पाइन्छ|
सम चाहन्छन् जनताको स्वतन्त्र, अनि जनता र सरकार मिलि नयॉं उन्नति| यसैले नाटकमा भनिएको ज्ञान विज्ञानको हात जोड्नुपर्छ कर्ममा २५- को तात्पर्य पनि त्यही हो| नाटकमा शोषितको प्रतीक प्रह्लादको जीतद्वारा भविष्यमा हुने नेपाली जनताको जीतप्रति संकेत गरेको पनि स्पष्ट हुन्छ| यसैले यो नाटकलाई शोषक र शोषितवर्ग बीचको द्वन्द्वका रूपमा हेरेर शोषित वर्गले भविष्यमा हुने क्रान्ति जित्ने छन् भन्ने संकेत गरेको बुझिन्छ|
अन्त्यमाः-
प्रह्लाद समको उत्कृष्ठ कृति भए पनि उच्चकोटीको दर्शन, तार्किकता, द्वन्द्व र किल्ष्ट भाषा शैलीले भरिएको शास्त्रीय नाटक हो| यसमा उनले पौराणिक विषयलाई ऐतिहासिक बनाउन खोजे पनि सफल भएका छैनन्| हुन त यस्तो किसिमको कृति नेपाली साहित्यमा कमै मात्र छन् अनि यिनीहरूको महत्त्व अति नै उत्कृष्ट छन्| प्रह्लाद-मा प्रतिपादित द्वन्द्वले यस नाटकलाई विश्‍व स्तरमा पुर्‍याएको तथ्य स्पष्ट छ | यो एउटा विश्‍वसाहित्यमा नेपाली साहित्यको प्रतिनिधि कृति हो|
पादटिप्पणी विवरण
१. रामकृष्ण शर्माः नेपाली साहित्यको प्रगति नामक निबन्ध दश गोर्खा, पृष्ठ ३९
२. पूर्ववत पृष्ठ ४७
३. बालकृष्ण सम- प्रह्लाद- सा. प्र. २०५४- प्रस्तावना-बाट
४. पूर्ववत
५. पूर्ववत पृष्ठ ९८
६. कृष्ण गौतम- आधुनिक आलोचना अनेक रूप अनेक पठन- सा. प्र. २०५०, पृ. १५
७. ताना शर्मा- सम र समका कृति, सा. प्र. २०५०- पृष्ठ १८२
८. बालकृष्ण सम- प्रह्लाद- सा. प्र. २०५४- पृष्ठ उ
९. पूर्ववत- पृष्ठ-१९
१०. पूर्ववत- पृष्ठ-५६
११. पूर्ववत- पृष्ठ -१८२
१२. पूर्ववत-पृष्ठ- १२
१३. पूर्ववत-पृष्ठ २९
१४. पूर्ववत-पृष्ठ अ
१५. पूर्ववत- प्रस्तावना-मा
१६. पूर्ववत- ७०
१७. ताना शर्मा- सम र समका कृति- सा. प्र. २०५०- पृ. १८०
१८. बालकृष्ण सम- प्रह्लाद-सा. प्र. २०५४ पृ. ६८
१९. पूर्ववत- पृष्ठ ७३
२०. पूर्ववत- पृष्ठ-१५४
२१. पूर्ववत- पृष्ठ- १५५
२२. पूर्ववत- पृष्ठ-१५७
२३. ताना शर्मा- घोत्ल्याईंहरू- रत्न पुस्तक भण्डार- सन् १९६४-पृष्ठ-१९२
२४. सम-प्रह्लाद- सा. प्र. २०५४- पृष्ठ १५७
२५. पूर्ववत- पृष्ठ- २९

सन्दर्भ ग्रन्थ सूची
१. बालकृष्ण सम- प्रह्लाद - सा. प्र. २०५४
२. कृष्ण गौतम- आधुनिक आलोचना, अनेक रूप अनेक पठन- सा.प्र. -२०५०
३. ताना शर्मा- घोत्ल्याईं- रत्न पुस्तक भण्डार सन् १९६४
४. ताना शर्मा- सम र समका कृति- सा. प्र. २०५०
५. रामकृष्ण शर्मा- दश गोर्खा

  • 1530 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    36 sec ago
  • Reply to comment | मझेरी डट कम
    42 sec ago
  • Reply to comment | मझेरी डट कम
    48 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 14 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 18 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 19 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 22 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 24 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 29 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 43 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • जब जिन्दगीको भार फूलजस्तो थियो
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • जीवनको मूल्य खोजिएका निबन्धहरू
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • खहरेको भेल-रहेछ
  • सम्झँदै डायमनशमशेरलाई
  • किताब (बाल कविता)
  • त्यै नजरको मात मीठो, पिएँ अलिकति
  • भन्सारको जागिर
  • जिन्दगी.......................(मुक्तक)
  • तिम्रा जस्तै आँसुहरू
  • हो गयी लाल
  • स्वाधीनता
  • दुई हाइकु (यादहरू)
  • उँडी जाऊँ भने
  • खाओ नेता हो,खाओ पालैपालो खाओ
  • बौलाहा मान्छे
  • मेरो दोष
  • उज्यालोमा देख्दिन आफुलाई, अँध्यारोमा हराउँछु त्यसै
  • लोकतान्त्रिक गणतन्त्र सन्देश फुकाएर
  • गजल
  • भोलिको सुन्दर भबिष्यको लागि
  • आफ्नै बाटो
  • गाउँमा गुम हुँदा
  • के के सुन्छु आजभोलि
  • म भक्त हुँ यो देशको
  • ठुलो शहरमा मान्छे
  • पहिचान
  • "आयो! नयाँ बर्ष यसरी आयो"
  • किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित