Skip to content


करिब दश वर्ष पहिले देखेकी त्यही केरलाइट महिलालाई मैले फेरि त्यसै साँगुरो गल्लीबाट तीन चार वर्षको छोरो डोर्याउदै अगाडि बढेको देखें । उसमा खासै फरक नदेखिए पनि अलि उमेर त गएको हो कि जस्तो छ । शरीर पनि निकै झोलिएछ । यू ए ईको दुबई स्थित देरा भन्ने ठाउँको ठूलो मस्जिद नजिकै तिनीहरू बस्छन् । मैले उसलाई एउटा साँझमा सिल्कको साडीमा सजिएर गएको बेला देखें र आजसम्म पनि उसैलाई दिनको एक पटक हेर्न त्यो गल्लीमा चिया पिउने बहानामा बस्ने गरेको छु । मलाई ऊ त्यो बाटोबाट आउने जाने समय थाहा छ । आउने बेलाभन्दा पनि बेलुका कामबाट फर्किने बेलामा म नजानिँदो पाराले उसलाई ढुकेर बस्ने गर्छु । परबाट आउँदै गरेको देखेपछि एक टकले हेरी रहन्छु र मबाट क्रस भएर अगाडि बढ्दै परसम्म पुग्दा पनि उसलाई धित मरुन्जेल हेर्छु । बकुल्लाले एक चित्त लगाएर सानो नदीमा माछा हेरे जस्तै गरी । मलाई ऊ असाध्यै राम्री लाग्छे । हिन्दी फिल्मकी अभिनेत्री हेमा मालिनी जस्ती । अहिलेसम्म बलैले दुई तीन पटकसम्म छोटो बोलचाल भएको छ होला । फेरि पनि ऊ मेरी आफ्नै हो कि भने झैँ लाग्छ ।

एक दिन एउटा सुपर मार्केटबाट झोलाभरि सामान लिएर असजिलो गर्दै आएको देखेपछि मैले अंग्रेजी भाषामा सोधे, “मे आई हेल्प यु ?”

उसले भनी, “नो थ्यांक्स ।”

… म जिल्ल परें ।

पेशाले ऊ नर्स हो । अर्को पटक म उसको क्लिनिकमा चेकअप गराउन गएँ । मेरो दाँया हातबाट रगत निकाल्नलाई मुट्ठी पार्न लगाई । मैले मुट्ठी कसेर उसको शरीरतिर अनायासै अलिकति हात बढाएँछु । थोरै पर सरेर “कन्ट्रोल युर सेल्फ” भनी । म छाँगाबाट खसें । एक हिसाबले आफ्नै कमजोरी खोलौं भने, “महिलाहरू प्रति मेरो मनोगति अलिक लम्पट खालको छ” । जागिरको शिलशिलामा म दुई तीन वर्ष जति अर्कै देश गएँ । त्यस वीचमा पनि उसको याद आई रहन्थ्यो । पछि फेरि सरुवा भएर सोही ठाउँमा आएँ । ऊ त्यही गल्लीमा रहिछे । कहिलेकाहीं एउटा कालो धमरधुस धसिमुन्ग्रेसँग ओहोर दोहोर गर्छे । उसको श्रीमान् होला । त्यो देखेर मरो कन्पारो तातेर आउँछ । त्यो धसिमुन्ग्रेको घाँटी निमोठेर स्वाहा पारी दिउँ कि जस्तो लाग्छ । पछि होस् फिरेपछि सम्झन्छु, “ऊ मेरी स्वास्नी हो र ? त्यसको लोग्नेलाई सिलटिमुर ख्वाउँ ?”

म आफूदेखि आफैं छक्क पर्छु । मेरो विकृत मानसिकता देखेर । मेरो मनस्थितिमा ऊ एउटा बिग्रिएको झिप् झिप् झिप् झिप् गर्ने ट्युव लाइट जस्तो घरी घरी आई रहन्छे ।

एक दिनको कुरा हो, त्यही साँगुरो गल्लीबाट चार पाँच बर्षको जत्रो सुकिलो छोरो लिएर मेरो नजिकै आई र भनी, “यु आर स्टिल हियार ?”

मैले भने, “वैटिंग फर यु ।”

“ईट ईज ईम्पोसिबल,” भन्दै छोरो तिर देखाउँदै बाटो लागी ।

मैले मनमनै भनेँ, “कान्छी ! असम्भव भन्ने कुरा मेरो शब्दकोषमा छैन । पर्खन्छु, पर्खन्छु र तेरै लागि पर्खन्छु । हेरिराखेस्, एक दिन … !”

नजाने मेरो पर्खाई कहिलेसम्म हुने हो … !

1 thought on “पर्खाई”

  1. समाजमा यस्तो अबस्थाका
    समाजमा यस्तो अबस्थाका मानीसहरुको पनि कमी छैन जुन कुरालाई कथाकार ज्यू ले खुब सिल्पी ढंग बाट प्रस्तु गर्न सफल हुनु भएकोमा वहाँ लाई बधाई छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *