Skip to content


एक दिन ढुङ्गामा देउता हुन्छन् भनेर मानिसहरूले ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन ।

‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ ।

हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् ।

‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ र बुबाको सिरकमा गुट्मुटिएँ ।

भोलिपल्ट म बिउँझिनुपूर्व नै चारैतिर हल्लाखल्ला मच्चिसकेको थियो । गाउँमा नास्तिकहरूको धर्मविरोधी कार्य बढ्दै गएको कुरा चल्दै थियो । कतिपयले त देवतालाई टुक्रा पार्न सक्ने तागत कुनै मनुष्यमा नरहेको दाबी गर्दै थिए । लगतै जोखाना हेरियो, धामीझाँक्रीले ढ्याङ्ग्रो ठोक्न थाले । वनकाली रिसाएर यो उपद्रो गरेकी हुन् भन्दै सात दिनभित्र कालो बोको बली दिने कबुल गरियो ।

सुरुमा म भने थुरथुरी थिएँ । मेरो उपद्रव वनकालीमा सरेकोमा प्रशन्न भएँ ।

नन्दलाल आचार्य
तपेश्वरी-१ गल्फडिया उदयपुर
हाल ः लिट्ल फ्लावर मावि राजविराज-९ सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *