Skip to content

लाल सागरको किनारबाट


छालहरू
उठ्दै थियो सागरमा
म,
डुब्नै लागेको घाम
एक तमास हेरी पठाउदै थिए ।
लाग्थ्यो यस्तरी नै
झुल्किएपछि अस्ताउनु
बाध्यता हो घामको !
घाम जस्तै
म आँफैलाई पनि
क्रमिक झार्दै छु,
तल तल डुबाउन चुर्लुम्म सागरमा ।
हेर्दा हेर्दै दुब्यो घाम
सागर पारी,
वारी म !
एकदम बिरक्तिए !
टल्किन छाड्यो
घामको छायाँहरू सागरमा ।
मैले मन मनै पठाएँ
एउटा सन्देश -मेरो देशमा ।
मैले पठाएको खबर लिएर,
सागर पारी डुब्दै गयो घाम ।

माथि आकाशमा
टिलपिल टिलपिल तराहरू
ज्योति फ्याक्दै थिए
धर्ती सम्म ।
ठीक उसै बेला
जून टल्कियो पूर्वमा ।
एकोहोरो हेरे मैले जूनलाइ
पुर्बी आकाशमा ।
म सोच्छु उसबेला,
मेरो देशबाट,
मेरो भूमी चुमेर,
मलाई भेट्न आउँदै छ जून !
मेरो घरको खबर लिएर
झुल्किदैछ जून !
म खुशी मनाउदै हुन्छु ।
अनासयै रात छिप्पिन्दै जान्छ,
मध्यरातमा
उत्तानो परेर
लम्पसार सुतेको
लाल सागरको सेताम्मे किनरहरूमा
मसान, किचकन्ने र भूतहरू
सलबलाए झै लाग्छ ।
के के बोल्छन,
यहाँको भूतहरूको
भाषा पनि बेग्लै,
तरिका पनि बेग्लै,
झै लाग्छ मलाई ।
म बुझ्दिन,
म मेरै भाषामा फलाक्छु ।
कम्मरको सिरुपाते फुत्त निकाल्छु,
र,
फन् फन् घुमाउछु -एक्लै ।
मसान, किचकन्ने, भूतहरू
मेरो भाषा नबुझेर होला,
मेरो तरिकाहरू
मन नपराएर होला,
उनीहरू मबाट
अली पर पर भागेको भान हुन्छ ।
शायद मेरो फलाकाइ
र,
सिरुपातेमा बेग्लै एउटा शक्ती छ ।

रात उसै गरेर
बिहानिमा परिणत हुन्छ सधैं झै ।
जून उनै
सागरको डिलबाट झर्छ,
सागर पारी भएर ।
फेरी पनि मन मनै
सन्देश पठाउछु -मेरो देशमा ।
एउटा अर्को खबर लिएार जान्छ जून !
सागर पारी,
वारी म !
फेरी एक्लै हराउछु ।
नितान्त एक्लै !
एक अन्जुली
लाल सागरको नुनिलो पानीले
मुख धोएर
पूर्वमा हेर्दा
गोलाकार रातो घाम
झुल्की सकेको हुन्छ ।
त्यही कलिलो घामलाई हेरेर
मरिसकेको मन,
गली सकेको मन,
उदास उदास मन,
बाँच्न मन लाग्छ ।
अलिकती बाँकी हासो !
हास्न मन लाग्छ ।
र,
एक पाइला सार्छु चिसो बालुवामा ।
उता सान्त सुती रहेको -लाल सागर,
बेला बेला असान्त भएर
छालहरू उठाउछ ।
उसबेला, यो बुध्द मन
युध्द बोल्दै असान्त हुन्छ ।
जन्म दिन जानेर,
कर्म दिन नजान्ने -भगवानसँग,
भाग्य लेख्ने -भाग्य बिधातासँग,
वार कि पारको
सग्राम छेड्न मन लाग्छ ।

२३ अगस्ट २०१२
बिरानो देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *