Skip to content


त्यस दिन एस.एल.सीको परीक्षाको नतीजा निस्केको थियो । कुन्दनको खूशीको सीमा थिएन । खूशी नहोस पनि किन । १२ वर्षदेखिको त्याग र तपस्याको वरदान पाएको दिन थियो त्यो । विशिष्ट श्रेणी सहित परीक्षामा कक्षा प्रथम हुनुको आनन्द बेग्लै थियो । हुन पनि अति नै दुःख गरेको थियो कुन्दनले त्यो नतिजा ल्याउन । कुन्दनका बुबा राजाराम पनि कम खुशी थिएनन । राजारामको रहर – दुःख–जिलो गरेर भए पनि छोरालाई अंग्रेजी विद्यालय पढाउने । आफूलाई दलित भनेर घृणित नजरले हेर्ने समाजमा ऊ चाहन्थ्यो उसको छोरो एक सफल तथा प्रतिष्ठित व्यक्ति बनोस । उसको बुबाको रहरलाई त्यसै तुहीन दिएन कुन्दनले । कक्षामा प्रत्येक वर्ष प्रथम हुन पक्कै पनि कम मेहनत गरेको थिएन उसले । विद्यालयले पनि उसको बुबाको यो रहरमा नसघाएको होइन । विद्यालयमा प्रथम हुने विद्यार्थीको हैसियतले निशुल्क पढेको थियो उसले । निजी विद्यालयको चर्को शुल्क तिरेर पढाउन सक्ने हैसियत उसको बुबामा छैन भन्ने उसले राम्रोसँग बुझेको थियो । कक्षामा सँधै प्रथम हुने भएकोले शिक्षकको पनि पृय थियो कुन्दन ।

समय बित्दै गयो एस.एल.सीको नतिजा देखेर नै एक निजी उच्च माध्यमिक विद्यालयले निशुल्क पढाउने भयो । जीवशास्त्र मुख्य विषय लिई कक्षा ११ तथा १२ पनि विशिष्ट श्रेणीमा उत्तीर्ण गऱ्यो कुन्दनले । साथै एक कुशल चिकित्सक बन्ने उच्च आकांक्षा सहित प्रवेश परीक्षामा सम्मिलित भयो । प्रवेश परीक्षामा पनि राम्रो गरेको थियो उसले ।

रमेश कुन्दनको भाइ मात्र नभई एक असल साथी पनि थियो । राजारामको भाइ रामकृष्णको छोरा रमेश प्रथम श्रेणीमा उत्तीर्ण भएको थियो । विशिष्ट श्रेणी नभएको कारण ठूला निजी विद्यालयमा निशुल्क पढ्न पाएन उसले । न्युन शुल्क तिरे पुग्ने सरकारी विद्यालयमा नै जीवशास्त्र मुख्य विषय लिई कक्षा ११ तथा १२ उच्च प्रतिशत सहित प्रथम श्रेणीमा उत्तीर्ण भएको थियो रमेश । दुवै दाजुभाइ एकअर्कालाई औधी माया गर्थे । दुवै भाइ चिकित्सा शास्त्रको प्रवेश परीक्षामा सँगै सम्मीलित भएका थिए ।

आज प्रवेश परीक्षाको नतीजाको दिन । बिहान उत्साहित हुँदै नतीजा हेर्न गएका कुन्दन र रमेश । रमेश अघि नै आइसक्यो । दलीततर्फ आरक्षण कोटामा उसको नाम प्रकाशित भएको रहेछ । अघिदेखीनै उसको घरमा खुशीयालीको वातावरण प्रष्टसँग देखिन्थ्यो ।

कुन्दनको भने कतै अत्तोपत्तो छैन । साँझपख मात्र आएको कुन्दन कसैसँग पनि नबोली एकाएक आफ्नो कोठातिर गएको देखेर राजाराम चिन्तित हुँदै कुन्दनको कोठामा छिरे ।

“नतिजा कस्तो भयो त बाबु ?” राजारामको प्रश्न ।

“म तपाईँको सपना साकार गर्न नसक्ने भएँ बुबा । दोष तपाईँको होइन, विद्यालयको पनि छैन । तपाईँको अंग्रेजी विद्यालयमा पढाउने रहर मेरोलागि अभिशाप भयो बुबा ।”

यति भन्दै घोप्टो परेर घुँक्क घुक्क रून थाल्यो कुन्दन । राजारामका हातगोडा लल्याक लुलुक भए । आँखा अगाडि अँध्यारो छायो ।

२०६९ श्रावण ३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *