Skip to content


प्रिय सम्पादक !
तिमी सम्पादकीयमा
नेपाल लेखिरहेछौ
म, कवितामा
नेपाल लेखिरहेछु
विधा भिन्न भएर के भयो त
हामी एउटै नेपाल लेखिरहेछौँ
हाम्रो सौन्दर्य त्यही हो
कहिलेकाहीँ तिम्रो पत्रिकामा
मेरो कविता पनि छाप है !

तिमी तिम्रो रूपकमा
मुखियाको हाँसो लेख
म मेरो गीतमा
दुखियाको आँसु लेख्छु
हाँसोमा होस् कि आँसुमा
हामी नेपाली दुःखसुख लेखिरहेछौँ
हाम्रो विशेषता त्यही हो
तिम्रो पत्रिकामा यदाकदा
मेरो गीत पनि छाप है !

तिमी नेपालमा छापिएका
रामवरणहरूका कथा हेर
म नेपालमा नछापिएका
अपहरणहरूका व्यथा हेर्छु
हाम्रो सोचको चुरो नेपाल हो
नेपाल हेर्ने कोण/प्रतिकोणहरू
फरक भए पनि
केही फरक पर्दैन
त्यसैले आकलझुकल
तिम्रो लोकपि्रय पत्रिकामा
मेरो दृष्टिकोण पनि छाप है !

ठूलो कुरो त नेपाल हो
नेपालको माटो हो
यो माटोमा
तिमी वासमती विचार रोप
हिमालीहरू फापर रोप्छन्
पहाडीहरू कोदो रोप्छन्
मधेसीहरू धान रोप्छन्
र, म
यी सबै रोपाइँ र दाइँमा रमाएर
सहकालको सोरठी लेख्छु
तिम्रो पत्रिकामा सोरठीको भाका छाप है !

नेपाल साप्ताहिक ३५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *