Skip to content

हाय मेरी दिदी (लघुकथा)


आज ऊ जेलमा बसेर छट्पट्टिरहेको छ । उसले सम्झियो ।

सबैजना मिलेर गाउँघरमा भाइटीकाको रमाइलो गरिरहेका थिए । पीङमा पनि उत्तिकै रमाइलो देखिन्थ्यो । उसको घरमा एक्ली दिदी एक्लो भाइलाई टीका लगाउन आएकी थिइन् । दिदीको गलामा ठूलो हार सहितको सेटका अन्य गहनाहरूले गर्दा मुहार धपक्कै बलेको देखेको थियो । मलाई समस्या छ पैसाको तर दिदी भने छपक्कै गहनाले पुरिएर माईत आएकी छ । भिनाजुले कहाँबाट ल्याउँछन् होला यत्तिका सम्पति कारको सवारमा आउनेजाने र महंगा कपडाले सजिएकी दिदीको साजसज्जाबाट नै ऊ भिनाजुको आयश्रोतको अन्दाज लगाउन खोज्दथ्यो ।

ऊ जुवा खेलेर जब घर आयो भाइटीकाको दिनको दशबजे दिदी उसलाई टीका लगाउन तयारी गर्दै थिइन् । सेल मिठाई लगायत सयौं परिकार तयार थियो । दिदीले सप्तरंगी टीकाका साथमा महंगो राडो घडी हातमा वाँधीदिइन् । वेलायती सुटको सेट हातमा राखिदिइन् । उसले अक्मकाएर खल्तीमा हेर्‍यो । भित्रपट्टि खल्तीमा बीसको नोट अल्झेर रहेको रहेछ । टीका लगाएर त्यही पैसा दिदीलाई दक्षिणा स्वरुप दियो । दिदीले खुशी भएर आशिर्वाद दिइन् ।

उसको तास खेल्ने र रक्सी खाने आदतका कारण बावु छोराका वीच बोलचाल थिएन । बावुले छिमेकीबाट थाहा पाइसकेका थिए, छोराले रातभर कौडा खेलेर एकलाख रुपैयाँ हारिसकेको थियो । भाइटीका लगाइदिने दिदी वहिनी सबै मरिसकेका हुँदा बावुचाहिं छोराछोरीको टीकाटाला हेर्न तल झरेनन् । आमाचाहिं पल्लो टोलमा भएका दाजुभाइलाई टीका लगाइदिन त्यसतर्फ गएकी थिइन् ।

दिदीले दिएको मिष्टान्नका साथमा खाना खाएर रातभरको अनिदो ऊ सुत्न पल्टियो तर जति कोशिश गरेपनि निदाउन सकेन । फेरि एकपटक त्यही खालमा गएर कौडा हान्न पाए त सबै पैसा फिर्ता गर्न सकिन्थ्यो । अँझ बढी जितेर पनि ल्याउन सकिन्थ्यो । तर खेल्न पैसा कहाँबाट ल्याउने ? यसो नियालेर हेर्‍यो । दिदी महंगा गहनामा अर्को कोठामा निदाइरहेकिरहिछन् ।

ऊ सरासर गयो र दिदीको अनुहारमा एकपटक हेर्‍यो अनि उसले बोक्ने गरेको धारिलो चक्कुले दिदी को घाँटी छिनाल्यो र सबै गहना लिएर खालमा पुग्यो । खालमा बस्न भ्याएको पनि थिएन उसकै बावुको खवरबाट आएको पुलिसले समात्यो र त्यसै दिनदेखि ऊ कारागारमा बन्द छ ।

एकवर्षपछि आज परेको भाइटीकामा बल्ल उसले महशुस गर्दैछ । हाय मेरी दिदी ! मैले यसो किन गरें हूँला ।

चूडा निर्भिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *