Skip to content

खुशीभित्रका पीडाहरू


उफ् चैत महिनामै यस्तो असहनीय गर्मी । कतैबाट हावा पनि आउदैन । गर्मी, त्यही माथि मान्छेको चाप । क्षमताभन्दा धेरै हदले बढि । गर्मी नहोस पनि कसरी । मान्छेकै तातो सास जुधेर होला उकुसमुकुस भएको । धन्न मान्नुपर्छ यस्तो बाटोमा यसरी जोखिमपूर्वक गाडि चलाउने ड्राइभरहरूलाई । गाडिले वहन गर्न नसक्ने भीड बोकेर यस्तो पहाडको बाटोमा हुइक्याउने । शायद यतिको साहस म भए गर्थिन होला ।

भाग्यले सीट पाको’ छु । नत्रता कसरी यात्रा गर्ने उभिएर यस्तो जीर्ण सडकको यात्रा । सम्झिदै कहाली लागेर आउँछ । गन्तव्यमा पुग्न उभिएरै अप्ठ्यारासँग संघर्ष गरिरहेका यात्रुहरू नियाल्छु आँखाले भ्याएसम्म । मन केही भरिएर आउँछ । पुगिएला कि नपुगिएला भन्ने डर मिश्रित भाव पोख्ने केही अनुहारहरू । सीट पाइएला कि भन्ने आश बोकिसकेसम्मको बल सीटमा बसिरहेका यात्रुको जीउतर्फ लगाउने दुई चार जना स्वार्थीहरू । फोहोर भुईमै शिथिल शरीर बिसाएका वृद्ध बाजे । उनलाई देखेर सीट छाडौ झै लाग्छ । बाजेलाई बोलाउछु । आवाज उनको कानसम्म पुग्दैन । वृद्ध शरीर, बेकामको श्रवणशक्ति । एक मन भन्छ आफै गएर बाजेलाई लिएर आफ्नो सीटमा राखिदिउ । आँखा मेरो कुमतर्फ आफ्नो भारी जीउ बेपरवाहसँसग छाडिदिने विवेकहिन तिघ्रे सामू जुध्‍छ । बाजेको विवशता नहेर्नका लागि आँखा अन्तै डुलाउन थाल्छु ।

बस रोकिन्छ । खै कुन ठाउँ हो मलाई थाहा भएन । तर गति रोकिएसँगै गर्मी अघिकोभन्दा पाँच गुणा बढेको भने सहजै महशुस गर्न सक्छु । बस चाडै गुडोस भन्ने कामना बाहेक अरु केही गर्न सक्दिन । ओर्लिनेको संख्या धेरै रहेछ । मन केही प्रफुल्लित हुन्छ । केही शीतलताको आभाष हुन थाल्छ । सीटभन्दा बढि उभिनेको संख्या केवल दश बाह्र जना । बाजेलाई अचानक सम्झन्छु । बिचरा बुढा अघिको भीडमा झरिसकेछन् । अपरिचित वृद्ध, अनुहारसम्म पनि राम्रोसँग मस्तिष्कमा उतार्न सक्दिन । तापनी केही खल्लोपनको अनुभूति हुन्छ । बाजेसँग परिचय गर्न व्याकुल भएको छ मेरो मन यतिबेला । केही समयअघि दुई घण्‍टा जति हामी एउटै बसका यात्रु रह्‍यौ । त्यतिबेला मनको चाह मैले बुझिन । त्यो चाहना अहिले कुण्‍ठा बनेर गुम्सिएको छ म भित्र । यस्तै अप्ठ्यार । अनि असान्दर्भिक चिजप्रति मोह बढ्दो रहेछ मान्छेको । बाजे भेट्नु असम्भव झै भइसक्यो । अब आफै प्रताडित भई सयर गर्दैछु । फेरि बस रोकिन्छ मैले नचिन्ने ठाउँमा ।

न कुनै बजार, न त अनकन्टार जङ्गल । केही मान्छे बस कुरिरहेका रहेछन । शायद २०/२५ को संख्या । मैले यकिन रुपमा गन्न भ्याइन । फेरि पनि अनेकन अनुहारका अपरिचित मानिसहरू । संघर्षशील । पक्कै यी सबै सदरमुकामतर्फ जाने होलान्, म जस्तै । फरक फरक उद्धेश्य लिएर हिडेका होलान् । सबै म जस्तै जागिरको नियुक्तिको निम्ति त होइनन् होला । कोहिको के समस्या । कोहिको नागरिकताको लागि, राहदानी, जन्मदर्ता, विवाहदर्ता, मालपोत, अड्डा अदालत, मुद्धा फैसला………………. । समस्या अनेक अनि समस्या सुल्झाउन सदरमुकाम नै धाउनुपर्ने अर्को समस्या । यस्तो कठिनाईका साथ गर्नुपर्ने बाध्यात्मक यात्रा । सरकारको विकासका नीति अनि ग्रामीण जीवन भोगाइ । यस्ता कुरा सम्झिदा मन रुन्छ । रोएर के गर्नु, समस्या समाधान हुदैन । न त सरकारलाई गाली गलौज, नाराविरोध गरेर नै केही हुन्छ । सरकार योजना बनाइरहन्छ, अनि गाउँलेको दयनीय जीवन यसै गरी कष्‍टसँग गुज्रिरहन्छ । अरु के नै हुन्छ र?

भोलिबाट जागिरको प्रारम्भ । म पनि सुब्बा तहको सरकारी जागिरे । काठमाडौँबाट बस चढ्ने बेला यस्ता उत्साहमय विजयी भावहरूले मन भरिएको थियो । जति जति दुरी पार गर्दैछु त्यति नै वितृष्‍णा बढ्दैछ । छ्या! सरकारी जागिर । लाग्छ, विलासितामा रमाई जनतालाई कष्‍ट बाड्ने थलो हो यो । सरकार अनि राजनीति फरक हुन् । राजनीतिले देशमा परिवर्तन ल्याउँछ । सरकार त नाम मात्र त हो । आफैलाई बुझाउने प्रयत्न गर्छु । फेरि सरकारी जागिर खानु अरुलाई दु:ख दिनु त होइन नि । केहीले पदको दुरुपयोग गरे भन्दैमा आफूले यत्रो वर्षको परिश्रम पश्‍चात पाएको जागिरको अवहेलना गर्नु के मुर्खता होइन र? समस्या केमा छैन? समस्या र दु:ख त जीवनका पाटा हुन् ।

बस आफ्नै तवरले कुदिरहेको छ । एउटी आईमाई, आमा, नारी जे भनु आइरहेकी छिन् भीडलाई छिचोल्दै । मेरै छेउ आइपुग्छिन् । एक्लै संघर्ष गर्दै अनि संघर्षमा बाधिएका अरु तीन शरीर साथ लिएर । दुईजीउकी आईमाई अँझ तीन सन्तानका साथ । बडो आश्‍चर्यपूर्वक उनलाई हेर्छु । एउटा बच्चा ढाडमा बोकेकी पछ्यौराले बाधेर । अरु दुईजना स­-साना बच्चाले आमाको हातको सहारा लिएर उभिएका । नारी त्यो माथि आमा हुनुको कष्‍ट या सौभाग्य आफ्नै आँखा सामू देखिरहेछु अहिलेको परिस्थितिामा । उनको मुहारतर्फ दृश्‍य फैलाउँछु केही बुझ्‍ने अभिप्रायले । चिटचिट पसिना चुहिरहेको, डरलाग्दो आशंकाले घेरिएको अनुहार । शायद त्रासले चेतनालाई क्रमश: शून्यावस्थामा धकेलिरहेको छ । उनी मूर्तिसरह उभिएकी छिन् । केवल तेज श्‍वास चलिरहेको देख्‍न सक्छु । डरले श्‍वास असामान्य गतिमा फेरिरहेकी ।

उनको यो अप्ठ्यारो यात्राको उद्धेश्‍य, उनको गन्तव्य अनि यी अवोध बच्चाहरूको सहयात्रा । सबै­-सबै बुझ्‍ने इच्छा जागेर आउँछ । उनको कारुणिक भोगाइ र कष्‍ट देखेर मन साह्रै दुखेर आउँछ । उनलाई बस्न आग्रह गर्छु आफू उभिएर । केही असहज मानेर उनी सीटतर्फ बस्छिन्, जीउमा बोकेको बच्चालाई काखमा राखि । एकहिसाबले म स्वार्थी भइदिए । साच्चै सबै मानिस जन्मसिद्ध स्वार्थी हुने गर्छ । उनी उभिएको देख्‍दा साह्रै नराम्रो लागि आफूलाई पीडा भइरहेको थियो । त्यही पीडा दबाउन र दुखेको मन शान्त पार्न आफ्नो सीट उनलाई दिए । यो पनि स्वार्थको एउटा उदाहरण होइन र?

“तपाई कहाँसम्म जान लाग्नुभएको? अनि यी बच्चाहरू?”

“सानो नानीलाई ज्वरोले सिकिस्तै पार्यो । स्वास्थ्य चौकिको दिदीले यहाँ हुदैन अस्पताल लैजाऊ भन्नुभएर सदरमुकाम हिडेकी ।”

“अनि यी दुई बच्चा?” मैले देखेजति प्रश्‍न गरे तर यो प्रश्‍नको जवाफ दिन उनले अप्ठ्यारो माने जस्तो लाग्यो ।

ती दुई बच्चा सात आठ वर्षका देखिन्थे । यसरी आमालाई थप कष्ट दिन आउनूनपर्ने । अथवा उनले साथै ल्याउनु आवश्‍यक जस्तो मलाई लागेन । उनको काखको बच्चा साह्रै राम्रो रहेछ । बोकु बोकु लाग्ने । अन्दाजी दुई वर्ष जतिको हुदो हो । साह्रै रहर लागेर उनको स्विकृतिको ख्‍यालै नगरी बिना आग्रह बच्चा समाते । ओहो! शरीर सबै तातेको रहेछ ज्वरोले । डर अनि आशंकाले मलाई पनि केही हदसम्म घेर्न शुरु गर्यो । सदरमुकाम आउँन अँझै निकै समय लाग्ने होला ।

उनी केही खुल्दै गइन् । शायद कोही सहारा पाएको भान भयो होला उनलाई । उनको श्रीमान एक नम्बरको जड्याहा, जुवाडे रे । गैरजिम्मेवार लोग्ने अनि बेमतलवी बाबु । दु:ख अँझ मलाई हुन्छ । यस्ता पशु किन जन्मनु मानवभेषमा । उनका वेदनाहरू सुन्दैछु, दु:खी हुदैछु । बच्चा मेरै साथमा छ । उभिएर बच्चा बोक्न अप्ठ्यारो भएकोले उनलाई दिन्छु । रहर पुगेर होइन । उनको ओठ शब्द बर्बराइरहेको छ, म सुन्दैछु । सुनिरहन चाहन्छु । पीडाबोधको मलाई मतलव छैन । उनीप्रति करुणा जाग्छ । आत्मादेखि साथ दिन मन लाग्छ । त्यसैले त उनको दुर्दशा सुन्दै पीडा ग्रहण गर्दैछु निरन्तर ।

यात्रु ओर्लने र चढ्ने क्रम चल्दैछ । शायद अब सदरमुकाम धेरै टाढा छैन । उनको बच्चाको निधार अनि पैतला छाम्छु । सबै तातो । फेरि उनको आफ्नो कथा व्यथा जाहेर । उनी मेरो यात्राको कारण सोध्छिन् । म सबै साचो भनिदिन्छु । झूट बोल्नुको केही औचित्य छैन । साँचो बोलेर केही जित्नु पनि छैन । तापनी यथार्थ ओकलिदिए उनी सामू । मेरो प्रगतिमा केही हौसलारुपी मुस्कान छर्दछिन् । लाग्छ, म पहिलोपल्ट सम्मानित हुदैछु कोही अञ्‍जान व्यक्तिको नजरमा । त्यो पनि बनावटि नभई असली नजर । वर्तमान अवस्थामा विकराल सन्त्रास बोकि लाखौ आशंकाबिच झिनो आश अँगालेर संघर्ष गरेकी एउटी दु:खी नारीले मेरो विजयमा कामनारुपी मुस्कान दिनु साच्चै गौरवमय लाग्यो मलाई । बसका यात्रुहरू बिस्तारै एक­-एक गरी घट्दै छन् । म आफ्नो झोला च्याप्न लाग्छु । नियुक्तिपत्र भएको झोला । जीवनकै बहुमूल्य झोला ।

उनी बच्चा सम्हालेर उठ्न खोज्छिन् । उनी विवेकशून्य हुन पुग्छिन् । बच्चाको शरीर चिसो पो भइसकेछ । सदरमुकाम आइनपुग्दै श्‍वास गइसकेछ । म पनि उनी झै विवेक हराएजस्तो हुन पुग्छु । उनी पागल जस्तो यताउता कुद्‍न थाल्छिन् । मेरो दिमागले काम गर्न सकिरहेको छैन । अनिर्णयको बन्दी हुन पुगेको छु । उनी बस भित्रै रुने कराउने गर्दैछिन् । म केहीक्षण त्यो वियोगान्त दृश्‍य नियाल्छु । आँखा मेरो पनि रसाउँछ । अन्यौलताले पूर्णरुपमा घेरिदिन्छ मलाई ।

मेरो बहुमूल्य झोला अर्थात त्यसभित्र रहेको मेरो जीवन परिवर्तक नियुक्तिपत्र त्यही छोडेर म बसबाट झर्छु । उनको वेदनारुपी चिच्चाहट गुञ्‍जिरहेको छ टाढा­-टाढासम्म । बस धेरै मानिसको भीडले घेरिएको छ । म काठमाडौँ फर्किने बसको प्रतिक्षामा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *