Skip to content

बुढेसकालले छोयो अब


बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे
आयु पनि सकियो कि सबै छाला चाउरी परे

सम्झनलाई गाह्रो भयो स्मरण शक्ति हराएर
विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे

आँखाभरि नाचे पनि विगतका ती मीठा क्षण
एकादेशको कथा हुँदै प्रीतका माला चाउरी परे

अँधेरीले ढाक्दै गयो धप्प बल्ने रोशनीलाई
सकिएछ तेल क्यारे दीपका पाला चाउरी परे

समय र प्रकृतिको अलौकिक यो रित कस्तो
बेला आएपछि आफैँ धानका बाला चाउरी परे

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *