Skip to content


गायिका अरुणा लामाको गायनको जीवनकाललाई संगीतका अन्वेषकहरू, नेपाली संगीतको स्वर्णिम युग भन्छन् तर यो संयोगवश होइन र काल्पनिकी पनि होइन।

संयोग त यसकारण हुन पुग्यो कि अरुणा लामाले भारतको कोलकातामा गएर आफ्ना गुरु अम्बर गुरु ङसित युगल गायनमा ‘बाँध मायाले बाँध न’ गीत पाएपछि अरुणा एक्कासि नेपाली श्रोता समाजमा प्रामाणिक स्वर बन्न पुगिन्।

गीति गायनका हिसाबले अरुणा लामाले भारतको पहाडी राज्य दार्जिलिङमा आफ्ना समकालीन कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, दिलमाया खातीले गायनको धागो उन्न सुरु गर्दा नेपालबाट प्रेमध्वज माणिकरत्न, नारायणगोपाल, नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, कोइलीदेवी माथेमा, नूरादेवी अधिकारीको गायनको जग बसिसकेको थियो।

नेपालको रेडियोबाट नारायणगोपाल र तारादेवीको युगल स्वरमा ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गुञ्जिँदा पार्वत्य शृंखला दार्जिलिङबाट अरुणा लामाका एक्कासि दुई गीत कान्छालाई सम्बोधन गर्दै गुञ्जिइन्, ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न, अम्बर गुरुङको संगीतमा रुद्रमणि गुरुङसितै गाइएको र उनका पति शरण प्रधानको शब्द र संगीतमा हेर न हेर कान्छा जितेन्द्र बर्देवासित गाइएको।

यी दुवै गीतले अरुणा लामालाई नेपाली जनस्थानमा लोकप्रियता दियो तर कान्छा र कान्छीको गीतमा अल्झिने अरुणाको स्वभाव थिएन। बिस्तारै दार्जिलिङमा स्थापित संगम समूहमा आबद्ध भए, संगममा यिनका साथ भए, प्रतिभाशाली गीतकार एव म संगीतकार शरण प्रधान र संगीतकार रञ्जितगजमेर अनि गीतकार जितेन्द्र बर्देवा।

संगममा हुँदै अरुणाले नेपाली जनजीवनका भित्री तहसँग सम्बन्धित काल र कोणका नयाँ कोलाजमा नवनित गीत गाइन्, जुन गीतले संगमका संगीतकारद्वय शरण रञ्जितलाई नयाँ उचाइ र पहिचान दियो भने प्रतिस्पर्धाको नयाँ ढोका पनि खोलिदियो।

अरुणाले शरणका शब्दमा ‘नेपाली गौरव गर्छ आफ्नैपनमा’, ‘मान्छे सबै एउटै रगतको विचार किन बेग्लाबेग्लै’, ‘म आँखैमा राखिन योग्य कहाँ छु’, ‘मेरो दुस्मनै हाँसोस्’, ‘शीतल पवनले बगाइल्यायो’, ‘यो जोवनलाई सलाम’, ‘मलाई आँखैमा राख्नु पर्दैन’जस्ता गीत गाइन्।

मेन्डोलिन बाजाका ज्ञाता शरण प्रधान र मादलका विज्ञ रञ्जित गजमेरले अरुणाका निम्ति एकसेएक गीत धुनबद्ध गरे भने पुष्प नेपाली, मणिकमल क्षेत्री आदिसित गाउने युगल गीतको नयाँ धार बनाए।

त्यतिबेला दार्जिलिङमा संगमको मात्र हैकम थिएन, संगम प्रतिस्पर्धामा थियो हिमालयन म्युजिकल ग्रुपसित। त्यसमा थिए उस्तै होनहार संगीतकारद्वय कर्म योञ्जन र गोपाल योञ्जन । ती दुवैका साथ थिए, गीतकार नगेन्द्र थापा।

दार्जिलिङमा हुने यस्तै प्रतिस्पर्धामा एउटा ऐतिहासिक घटना बन्न पुग्यो, अरुणाको एउटा कालजयी गीत: यहाँ फूल नखिलेछ बहार आउन नै भुलेछ।

विक्रमाब्द बीसको दशकमा हुने एक सांगीतिक प्रतियोगितामा हिमालयन म्युजिकल ग्रुपबाट दिलमाया खाती पनि सहभागी हुने भन्ने सुनेपछि संगीतकारद्वय शरण र रञ्जितले गीतकार जितेन्द्र बर्देवालाई लोयड् बगैंचाभित्र थुनेर त्यही दिन तत्स्थानमा गीत लेख्न लगाए। त्यही गीत त्यहीँ धुनबद्ध गरेर अरुणा लामाले प्रतिस्पर्धामा गाइन्।

परिणाम आयो, दिलमाया ‘सावन फेरि फर्की आयो’का निम्ति प्रथम। अरुणा ‘यहाँ फूल नखिलेछ’का निम्ति प्रथम।

दुवै प्रथम गायिकालाई दार्जिलिङवासीले बजारभरि सम्मानपूर्वक घुमाए। यही गीतले अरुणाको जीवनमा फूल पनि फुल्यो र बहार पनि आयो।

शरण र अरुणा एक भए, सन् १९६४ मा।

वैवाहिक जीवनपछि अरुणाले दिलमायाका विरुद्ध होइन आफ्ना पतिको संगीतका कारण आफूले गाउनेभन्दा फरक शैलीका गीत गाउन थाले। उनको शैली छिट्टै नेपाली जीवनशैलीमा नयाँ विशिष्टता लिएर आयो।

संगमबाट शरणसित सुरु भएको उनको यात्रा करिब ११ वर्ष चानचुनमा सकियो, प्रतिभाशाली पति शरणको देहान्तपछि अरुणाले चाहे जस्तो जीवन त पाइनन् तर चाहे जस्तो गीत पनि गाउन पाइनन्। उनले भाग्यलाई अर्को भाग लगाए, अब उनी दु:ख, विरह र विषाद्का गीतका निम्ति नायिका भइन्। रुसोले भने झैं जीवनलाई हामीले चुन्ने होइन, जीवनले हामीलाई चुन्ने हो, साँच्चै जीवनले अरुणालाई दुई नाबालक सपना र सुप्रीतका साथ अब एक्लोपन, भाग्यको रेखा, कर्मको खेल, अधुरो र अपूरो सपनाका गीति गेडामा मात्र छोडेर गए।

एक्कासि नेपाली संगीत जगत्मा सबैले अरुणाको जीवनलाई हेरेर गीत लेख्न थाले, एक्कासि सबै संगीतकारले अरुणा लामाको स्वरगाथासित सुहाउँदो पीडान्त संगीत सार्न थाले।

यो नेपाली समाजमा अचानक भएको घटना होइन, यस किसिमको एउटा सिक्वेल पहिले पनि तारादेवीको आगमनको बेला भइसकेको थियो, तारादेवीको गायनको ऊर्जाकालमा धेरै गीतकारले तारालाई सम्बोधन गरेर गीत लेखे, यादव खरेल, किरण खरेल, डा.राममान तृषित अनि रत्नमानले। ‘एउटा तारा झर्दा आकाश नै रित्तो हुन्छ’देखि ‘तारामात्र होइन तिमीलाई जून पनि दाइजो दिइदिउँला’ केही उदाहरण हुन्।

पतिको वियोगपछि अरुणा लामाको जीवनको एकाकीमा आँसु नै आँसुका गीत लेखिए, अम्बर गुरुङको ‘सबैले भन्थे लयालु फूल भई’, ‘तरुणीको रात सधैं रोइरहन्छ’, ‘पोहोर साल खुसी फाट्यो’देखि गोपाल योञ्जनको ‘चौतारीमा बसेर रुन पाऊँ’, अनि गणेश परियार र रत्नमान खड्गीको ‘एक्लै बस्दा सधैं मलाइ’, ‘भाग्यले खुसी खोसेर लग्यो बदला लिएर’, बालापनको आँगन त्यागेर जानु पर्‍यो पराईको घरको नौलो संघार।’

गोपाल योञ्जनको संगीत र शब्दमा नारायणगोपालसित जीवनको हरेक मोडमा तिमीले मलाई खोज जस्तो स्वच्छन्दवादी गीत गाएकी अरुणा लामाको निम्ति तीसको दशक सेकेन्ड इनिङ त भयो तर आँसु नै आँसुले भरिएको क्यान्भास जस्तो।

पहिले कि चञ्चल अरुणा लामा अब आफ्नै गायनशैलीको विरुद्धमा देखा परिन्, शब्दको छनोट अनि संगीतको शैलीमा। अनि उनी चिनिन् नारायणगोपालकै संगीत अनि भैरवनाथ रिमाल कदमको शब्दमा उदास मेरो जीवन कथा कसैलाई भनिनँ … यो जन्मभरि सहेको व्यथा कसैलाई भनिनँ।

नेपाली सुगम संगीतकी एक दीपाधार अरुणा शोक गायिका भएर देखा परिन्। यसैबेला उनले भानु पत्रिकाका भवानी घिमिरेलाई अन्तर्वार्ता दिने क्रममा भनेकी थिइन्, गाउने कला गलामा होइन, मुटुमा सिउरिएको हुन्छ।

सम्भवत: अरुणाको यो ठम्याइँ सही सावित भयो। अरुणा ओठ र गलालेभन्दा पीडाले भरिएको मुटुको उच्छवासले गाउन थालिन्, श्रोता समाजले दोस्रो पटक उनलाई यही पीडा अवतारमा स्वीकारे।

नेपाली सुगम संगीतमा अरुणाले धेरै फरक शब्द र स्वादका गीत छान्नै पाइनन्, उनलाई त्यही गीत त्यही शब्द र त्यही भावभूमिले पछ्याउँदै लग्यो।

शरण प्रधानको देहान्तपछि उनको समूह संगमको पनि एक किसिमले दुर्दान्त भयो, नामसम्म रहने गरी सबै छुट्टिए। रञ्जितले मुम्बईको बाटो तताए भने अरुणा नयाँ साथी समूहमा मिस्सिन बाध्य भइन्। अरुणाले यसपछि गोपालयोञ्जन, शान्ति ठटाल, मणिकमल क्षेत्री, दिव्य खालिङ, दीपक जंगम आदिसित सांगीतिक सहकार्य सुरु गरीन्।

चलचित्रका निम्ति उनले परालको आगोमा शान्ति ठटालको निम्ति ‘उडी जाऊँ भने म पक्षी होइन’, कान्छी चलचित्रको निम्ति ‘यी ओठ तिम्रा’, ‘हिमालसरि म आइरहेछु’, ‘कलकल सलसल निर्मल निश्चल बोली’, मायाप्रीतिको निम्ति ‘पाखा पर्वतले गुञ्जाइरहुन्’जस्ता गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाइन्, जुन अरुणाको भाव र स्वभावसित मिल्दो थियो।

अरुणा लामाले गायनमा फरक शैली भएका युवा पुस्ताका प्रतिनीधि कलाकारसित पनि आफूलाई सम्याउँदै लगे, सहयोग र स्नेह राख्दै लगे। यसको एउटा उदाहरण यो पनि मान्न सकिन्छ, छुजाङ डुक्पाको ‘असारे महिनामा पानी पर्‍यो रुझाउने’गीतका निम्ति अरुणाले कोरसमा साथ दिइन् भने गायिका मीरा राणाको ‘यो मायालाई भार ठान पैतालाको धूलो मान’मा सहगायनमा पनि साथ दिइन्।

नेपालमा रंगमञ्चको व्यवसायीकरण भर्खर सुरु भएको बेला अड ग्रुप नामक नाट्य संस्थाले सुमन खरेल लिखित नाटक आघातका निम्ति अरुणा लामालाई दार्जिलिङबाट बोलाएर गीत रेकर्ड गराएको थियो, यही गीतका कारण उनको नेपाल पुनरागमन सुरु भएको मान्न सकिन्छ।

सफल, असफल वा स्वीकार अस्वीकार जुनसुकै स्थितिमा पनि अरुणा लामाको सहायतार्थ संगीतकार अम्बर गुरुङ, गायक नारायणगोपाल मिलेर अरुणा लामा सहयोग साँझ गरेको थियो। प्राविधिक कारणले त्यो कार्यक्रम आर्थिक रूपले असफल सावित भयो भने त्यसपछि उनकै एकल साँझ ‘जब माटो बोल्छ’नामले पनि आयोजना गरियो।

पछि स्वय म नारायणगोपालले आफू सांस्कृतिक संस्थानको महाप्रबन्धकको हुँदा स्मृति कोसेली हाम्रा गीतहरू आयोजना गरे। यी सबै कार्यक्रम अरुणा लामाका लागि कमाइका दृष्टिलेभन्दा पहिचानका दृष्टिले लाभदायक हुन पुगे।

अरुणा लामाको गीतले कैयौं जीवनमा खुसी, हर्ष, विस्मात् वा परिवर्तन ल्याए हुनन् तर अरुणा लामाको गायनले उनलाई धेरै परिवर्तन दिन सकेन। तर फरक केसम्म हुन सक्यो भने उनी पहिलो पटक नेपाली चलचित्र माइतीघरको निम्ति गीत गाउन संगीतकार जयदेवसित मुम्बई जाँदा जुन उत्साहले गएकी थिइन्।

जीवनको अन्तिमकालमा उनी साइत नामक सिनेमाको निम्ति आफ्नै सहकर्मी रञ्जित गजमेरसित गीत गाउन जाँदा खालि हात फर्केकी थिइन्। भनिन्छ, अरुणाको लामाको यो अर्को गीत थियो आँसुले लेखिएको। तर फरक यतिमात्र भयो त्यो रेकर्ड भएन।

फिल्म डिजाइनर प्रतिक रायमाझीलाई उनलेपछिल्लो पटक मुम्बईबाट फर्केपछि यसो भने, ‘भाइ मलाई जति आफन्तले रुवाए अरू कसैले रुवाएनन्।’

आफ्ना स्वजनका आँसुले लेखिएका गीत गाउने अरुणा लामाले कवि भूपी शेरचनको पहिलो रेकर्ड गीतमा यसै भनेकी छिन्,

यहाँ यौवन उदास उदास छ
यहाँ वसन्त निराश निराश छ।

२०३१ को वैशाख २० पछि उनको जीवनमा उदास वसन्तको कथा लम्बिँदै गएको छ तर भाग्यलाई उनले आफैं बदल्दै गएकी पनि छिन्। देन रुदियारले भने झैं, हरेक मान्छे दुईटा भाग्य लिएर जन्मेको हुन्छ, भाग्य र अभाग्य। हामी कमसेकम अभाग्यलाई भाग्य बनाउने कोसिस गरौं।

आज कुनै नेपालीले आफूलाई आपत् पर्दा, दु:ख पर्दा अरुणा लामाका उदास गीत गर्वले गाउँछन् कमसेकम दु:ख पनि गाउन लायक बनाएर गएकी छिन्, अरुणा लामाले।

२०७० माघ २५, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *