Skip to content

अष्ट्रेलियामा मेरी चाँदनी


प्रिय चाँदनी !
तिमीलाई थाहा छ
म लोडशेडिंग देशको टुहुरो नागरिक
खोइ ! कसरी हो कसरी
फूलैफूलको देश पूर्वकी रानी
अष्ट्रेलियाको धरतीमा टेकेको छु
म तिम्रो शुभेच्छुक, प्रसंशक
सधैं तिम्रै दर्शनाभिलाषी छु ।
कोजाग्रत पूर्णिमाको रात
बोनड़ाई विच
चराहरूको चिरबिरे साँझ ढल्कने बित्तिकै
महासागर क्षितिजबाट जलपरी झैं प्रकट हुन्छ्यौ
र नवबेहुली झैं सुस्त सुस्त
स्याटेलाइट आकासको विचरण गर्छ्यौ ।

तर
तर खोइ किन हो
प्रेमीले धोका दिएर
बिरक्तिएको प्रेमिकाको जस्तै
फुंग उडेको तिम्रो चेहरा मलीन देख्छु ।

युरेनियमको उज्यालो
डलरको आतसबाजी
दिन सुतेर रात व्युंझने
अष्ट्रेलियाका नाइट क्लबहरू
तिम्रो सुन्दरताको गीत नगाउने भएर हो कि
अथवा
अबोर्जिनलहरूको हाड मासु र रगतको जगमा उभिएको
सिड्नी टावर, हार्वर्ड ब्रिज, ओपेरा हाउस
र गगनचुम्बी अटालिकाहरू देखेर हो
जे होस् अष्ट्रेलियाको क्षितिजमा
तिमी खुशी देखिन्नौ ।

प्रिय चाँदनी !
भो यहाँ
तिम्रो सम्मान नहुँदो रहेछ
खाँचो पनि नहुँदो रहेछ
लोडशेडिंगको देशमा बैंशले धपक्कै बलेकी तिमी
शायद तिम्रो महत्व पनि
लोडशेडिंगकै देशमा असीमित छ
प्रिय चाँदनी
यहाँ तिम्रो अपमान हुन्छ भने
जाउँ हिँड
मलाई पनि लोडशेडिंगकै देश प्यारो छ ।

2014-02-21 14:31:15 +0100

Leave a Reply

Your email address will not be published. Required fields are marked *