Skip to content


रात शीतले भिजीसकेको थियो। म बार्दलीमा उभीइरहेको थिएँ। मेरो सामुन्ने अमीनुद्दौला पार्क निद्रामा मस्त थियो। मात्र एक महिला अडेस लगाउन मिल्ने बेञ्चमा बसीरहेकी थिई। पार्कको बाहिर सडकको छेऊमा एक अन्धो पथिकहरूलाई आशिष दिँदै थियो – अल्लाह तथा रसूलको नाममा … राम अनि भगवानको नाममा – यो अन्धोमाथि उपकार गर्नुहोला।

सडकमा गाडीहरूको चाप बन्द भईसकेको थियो। एक-दुई जनामात्र देखापर्थे। अन्धोको आवाज जुन पहिले कुनै महत्त्वको थिएन, बिस्तारै खुला चौरको आवाज झैँ बढ्दै गयो। अचानक त्यो महिला उठी र यता उता सावधानीपूर्वक हेर्दै अन्धोको हातमा केही राखिदिई अनि बिस्तारै उसलाई केही भन्दै एकातिर हिँडी। अन्धोको हातमा कागजको एक टुक्रा देखा पऱ्यो जसलाई ऊ बारम्बार मुसारीरहेको थियो। के त्यो कागज त्यही महिलाले दिएकी हो?

यो के रहस्य हो? म कौतुहलताले अधीर भएर तल झरेँ अनि त्यो अन्धोको नजिकै गएर उभीएँ।

मेरो पदचाप सुनेर त्यो अन्धोले त्यो कागज मलाई देखाउँदै सोध्यो – बाबु हेर त यो के हो?

मैले देखेँ त्यो दस रूपैयाँको नोट थियो। भनेँ दस रूपैयाँको नोट हो, कहाँ पाउनुभो?

मैले अरू केही भनिन। म त्यो महिला गएको बाटो दौडेँ जुन अब अँध्यारोमा मात्र एक सपना बनिसकेको थियो। ऊ कैयन गल्लीहरू हुँदै एक जीर्ण घरको ढोकामा रोक्कीई, ताल्चा खोली र भित्र गई।

राती केही सोध्नु ठीक लागेन त्यसैले म फर्किएँ।

रातभरी ध्यान त्यसैमा रहिरह्यो। बिहान सबेरै फेरी म त्यहि गल्लिमा पुगेँ। थाहा भयो कि ऊ एक अनाथ विधुवा रहिछ। मैले ढोकासम्म पुगेर बोलाएँ – देवी, म तपाईँको दर्शन गर्न आएको छु।

महिला बाहिर आई – गरीबी र बिवशताको जिउँदो तस्वीर।

मैले अकमकिँदै सोधेँ – राती तपाईँले एक अन्धोलाई …………..

देवीले मेरो कुरा बीचमा काटदै भनी- “अरे त्यो कत्रो कुरा थियो र, मैले त्यो नोट त्यतै कतै भेट्टाएको थिएँ, मलाई त्यसको के काम।”

मैले त्यस देवीको पाउमा शीर निहुराएँ।

२०७१ भाद्र ५, सौराहाद्वार

मुन्शी प्रेमचंदको लघुकथा देवी को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
पहिलो पटक प्रकाशित – 2014-08-24 15:17:43 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *