Skip to content

राजधानीमा चुणामणि सर


अनेक पसलहरू
अनेक सामानहरू
झिलिमिली
तिरिमिरी
आहा ! राजाधानी शहर
छक्क परे चुडामणि सर…..!!

कता असन, कता इन्द्रचोक
कता ठमेल, कता बानेश्वर
कता भद्रकाली, कता टुँडिखेल
कता लगनखेल, कता जावलाखेल
हरे ! राजाधानी शहर
छक्क परे चुडामणि सर…..!!

गाउँमा तेत्तीस वर्ष पढाएर
पेन्सनपट्टा बनाउन
राजधानी छिरेका
सज्जन चुडामणि सर…..!!

कस्ता कस्ता मदिरालय
कस्ता कस्ता कार्यालय
कस्ता कस्ता पत्रिकालय
कस्ता कस्ता विद्यालय
अहो ! राजधानी शहर
छक्क परे चुडामणि सर…..!!

कस्ता कस्ता केटीहरू
कस्ता कस्ता केटाहरू
कस्ता कस्ता बूढीहरू
कस्ता कस्ता बूढाहरू
हत्तेरिका ! राजधानी शहर
छक्क परे चुडामणि सर…..!!

ठूला ठूला पोस्टरहरू
ठूला ठूला मोटरहरू
ठूला ठूला घरहरू
ठूला ठूला बाटाहरू
लौन ! राजधानी शहर
छक्क परे चुडामणि सर…..!!

कतै जुलुस, कतै नारा
कतै पदयात्रा, कतै शवयात्रा
कतै सम्मेलन, कतै विमोचन
कतै उद्घाटन, कतै समापन
जताततै भीँडभाँड
हतारो र मारामार
यता हिँड्न खोज्यो उता ठोक्किन्छ
उता हिँड्न खोज्यो यता ठोक्किन्छ
कहिले मान्छे ठोक्किन्छ
कहिले गाडी ठोक्किन्छ
कहिले लाठी ठोक्किन्छ
कहिले गोली ठोक्किन्छ
आप्पै ! राजधानी शहर
छक्क परे चुडामणि सर…..!!

‘तीनघरे’बाट ‘बार्ह-घरे’ गाउँ पस्दा
अल्मलिएको हर्केको कुकुरजस्तो
कता बसपार्क, कता रत्नपार्क
कता सिंहदर्बार, कता बागदर्बार
हत्तेरिका ! राजधानी सहर
छक्क परे चुडामणि सर…..!!

कहिले टेम्पोको ड्राइभरले तान्छ
कहिले माइक्रोको खलाँसीले तान्छ
कहिले पाकेटमारले तान्छ
कहिले पुलिसले तान्छ
बाबा ! राजधानी शहर
छक्क परे चुडामणि सर…..!!

जसलाई जे सोधे पनि ‘थाहा छैन’ भन्छ
थाहा छ भन्नेले पनि झ्याप् पारेको थाहा छ
सज्जनहरू फटाहाजस्ता
फटाहाहरू सज्जनजस्ता
बाफ् रे बाफ् ! राजधानी शहर
छक्क परे चुडामणि सर…..!!

दिउँसो उसै तिरिमिरि
राति त्यसै झिलिमिली
बैँस, लाली र उन्मादले उन्मत्त
तल्लाघरे ‘होमे’की छोरीजस्तो चन्चली भन्नु कि
माथ्लाघरे ‘माइला’को छोरोजस्तो जँड्यहा भन्नु
कि ‘नरे’को भाइजस्तो हाउडे भन्नु
रा म रा म ! खै कस्तो भन्नु यो शहर
छक्क परे चुडामणि सर…..!!

:नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_6605.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *