Skip to content

मैले कसको लागि बाँच्नु छ ?


देख्छु क्षणभरको जिन्दगी
एउटा त्यान्द्रो आयुभित्र,
प्राणी जीवनको रुपमा,
नारी हुने सौभाग्य मेरो,
इश्वरको रचना अनमोल अहो !
जननी नामले आफूलाई धोषणा गर्न,
अमूल्य मानव जीवन पाएकी छु।

अनि,
मस्तिष्कमा उदाएका बिहानी बोकेर,
घास र दाउको खोजीमा,
बन जंगल चहार्दा पनि,
देख्छु सबै बाझो र उजाड
पसिनाले निथुर्क्क भिजेको थकित शरीर,
एकछाक आँत भराउने अभिलाष मेरो,
सन्तानको प्यासको तृष्णा मेटाउन कठिन।

जे होस
चेतनाले धपधपी रापिँदै छु,
मडारिएका वादलभित्र पनि,
मूर्खताको घामले पिल्सिँदै छु,
मेरा यी नलिका खुट्टाहरूमा,
रक्तकोष सुक्न नपाउदै,
हजारौ कठिन यात्राहरूसँग,
पीडा र चोटहरू,
वेदनाका कुठित वाणहरूले,
पलपल घोचिदै पिरोल्दा पनि।

“म”
रतिभर आत्तिएकी छैन,
पेटभरि खान नपाउदा पनि,
मेरो सँघर्षका यात्राहरू,
कम्मरमा पटुका कसेर,
आफ्नो कर्म र कर्तव्य गर्न अग्रसर छन्,
खुशी आउने छ एकदिन
जब मेरो सन्तानलाई म,
स्वाभिमानी बनाउने छु
त्यो बेला पनि म,
मात्तिने छुइनँ न खुशीले पात्तिने नै छु।

किनकि,
यी प्रकाशपूञ्ज देख्ने आँखाँहरू,
यताउता नचाउछु,
संसार निहाल्ने मनभित्रका अठोटहरू
परस्थितिसँगका चुनौतीहरूले,
संधर्ष गर्दै अगाडि बढ्न,
मेरो ब्रह्म अनि यो शरीरका अंगहरूलाई,
परिचालन गर्न लागि परेकी छु।

अनि,
समयसँग चल्नु छ र आफैमा ढाल्नु छ,
त्यसैले मेरा कर्मका गोडाहरू,
उफ्रिदै एउटा उमंग बोकेर,
मरभूमिसम्म आएका छन,
असह्यको सेवा गर्न पाउँदा
खुशीले गर्व गरिरहेकी छु
छोरी भएर जन्मिए तर,
जिम्मेवारी छोराभन्दा पनि कठिन
म रतिभर पनि नहिच्किचाई,
जीवनसँग लडिरहेकी छु ।

किनकि मलाई थाहा छ,
म धेरै बाँच्दिन,
तर जतिन्जेल बाच्छु
अरु प्राणी झैँ,
म भुसुना भएर होइन,
किरा फेटन्ग्रा भएर होइन,
एक संघर्षशील आमा बनेर,
देशको शान र गौरब बनेर मर्नु छ,
मरेर पनि जिउनु छ।

हो मलाई थाहा छ,
जन्मनुको अर्थ मर्नु हो,
त्यसैले पनि म मानवको रुपमा
एक उदाहरण जननी भएर,
आफ्नो अस्तित्व राख्दै,
म को हुँ ?
किन जन्मे नारी भएर ?
मेरो लागि बहुमूल्य प्रश्न बनेको छ,
त्यसैले म निहाल्छु कर्म र कर्तव्यलाई,
म किन यो धर्तीमा आएकी हुँ?
किन र कसको लागि जन्मेकी हुँ ?
अब मैले कसको लागि बाँच्नु छ,
मैले कसको लागि बाच्नु छ ?

1 thought on “मैले कसको लागि बाँच्नु छ ?”

  1. हो मलाई थाहा छ,
    जन्मनुको अर्थ

    हो मलाई थाहा छ,
    जन्मनुको अर्थ मर्नु हो,
    त्यसैले पनि म मानवको रुपमा
    एक उदाहरण जननी भएर,
    आफ्नो अस्तित्व राख्दै,
    म को हुँ ?
    किन जन्मे नारी भएर ?
    मेरो लागि बहुमूल्य प्रश्न बनेको छ,
    त्यसैले म निहाल्छु कर्म र कर्तव्यलाई,
    म किन यो धर्तीमा आएकी हुँ?
    किन र कसको लागि जन्मेकी हुँ ?
    अब मैले कसको लागि बाँच्नु छ,
    मैले कसको लागि बाच्नु छ ?
    Wah ! Aama hunuko mahima …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *